अनुत्पादक क्षेत्रमा खर्च हुदै रेमिट्यान्स

प्रेमनारायण आचार्य २०८१ असार अर्घाखाँची

अर्घाखाँचीका ५५ हजार बढी मानिसहरू वैदेशिक रोजगारीमा गएका छन् । तीन बर्षमा विदेशिएका मध्ये ४७ जनाको मृत्यु र ७४ जना अंगभंग तथा बिरामी परेका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० का वसन्त रानाभाटको २०८० साल फागुन १३ गते दुबैमा मृत्यु भयो । श्रीमानको मृत्यु भएपछि उनकी श्रीमती लक्ष्मी केसी रानाभाटले नगरपालिकामा क्षतिपुर्तिको लागि निवेदन दिइन् । नगरपालिकाको रोजगार शाखाले उनलाई ७ लाख रुपैया दियो । सन्धिखर्क नगरपालिका वडा नम्वर ७ का मधुकुमार केसीको २०८० पुस ८ गते मृत्यु भयो । उनकी श्रीमती निमकला केसीले सन्धिखर्क क्षतिपूर्ति माग गरी नगरपालिकामा निवेदन दिइन् र ७ लाख रुपैया प्राप्त गरिन् ।

अर्घाखाँचीका ५५ हजार भन्दा बढी मानिस श्रमस्विकृती लिएर विदेशमा काम गर्दैछन् । युरोप, अमेरिका, अष्ट्रेलिया र जापान लगायतका देशमा जाने युवायुवतीको संख्या यसमा समावेश गरिएको छैन् । गैरकानुनी ढंगले जाने, प्रक्रिया पुरा नगरी वा पर्यटन भिषामा जाने तथा अध्ययन भिषामा जानेहरूको तथ्याङ्क कतै भेटिदैन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सुरक्षित आप्रवासन (सामी) का लुम्बिनी प्रदेश संयोजक जिया उल हकका अनुसार पछिल्लो तीन बर्षमा श्रम स्विकृती लिएर वैदेशिक रोजगारीमा गएका अर्घाखाँचीका ४७ जनाले ज्यान गुमाएको तीमध्ये ९ जनाको यसैवर्ष मृत्यु भएको हो । ७४ जना गम्भिर बिरामी परेका तथा अंगभंग भएका छन् ।

अर्घाखाँचीबाट आर्थिक वर्ष ०७९/०८० मा ६३३ जना महिलासहित ९ हजार ५२६ जना रोजगारीका लागी विदेश गएका थिए । चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ८ हजार १७५ जनाले वैदेशिक रोजगारीका लागी देश छाडेको सुरक्षित आप्रवासन (सामी) का अर्घाखाँची शाखाका सहजकर्ता अम्बिका बेल्वासेले बताईन् । अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारी सम्बन्धी ठगीका १० वटा उजुरी परेका छन् । यीमध्ये चार वटा उजुरी छिनोफानो भएका छन् भने ६ वटा प्रक्रियामा रहेका छन् । ठगी गर्नेहरूबाट १० लाख ४६ हजार रुपैंयाँ पिडितलाई फिर्ता गराइएको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए । २०६३/०६४ साल यता गएको बैशाख मसान्तसम्म ७७ लाख २० हजार ७०८ जनाले श्रम स्विकृती लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना रोजगारीका लागी विदेश गएका थिए । यो संख्या गएको १७ वर्ष यताको उच्च संख्या हो । चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ६ लाख ९ हजार ६९९ जना कामका लागि विदेश गएका थिए । अहिलेसम्म विदेश जानेहरूमध्ये ९३ प्रतिशत जनसंख्या मलेशिया तथा खाडी मुलुकमा गएका छन् । बाँकी ७ प्रतिशत नागरिक जापान, बहराईन, कोरिया र क्रोयसिया लगायतका देशमा छन् । विदेशबाट पठाएको पैसाको ७२ प्रतिशत रकम घर खर्चमा गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यस्तै १५.८ प्रतिशत रकम ऋण तिर्न, ४.६ प्रतिशत छोराछोरीको अध्ययन र १.९ प्रतिशत रकम घरजग्गामा खर्च भएको छ । यसको १.९ प्रतिशत रकम बचत गरिएको छ । नेपालभरका ५६ प्रतिशत घरपरिवार र लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले रेमिटन्स प्राप्त गर्छन । अर्घाखाँची विदेशबाट पैसा आउने जिल्लामध्ये अग्रपक्तिमा आउँछ । तर त्यो पैसा उत्पादनशिल क्षेत्रमा लगाउने वातावरण नहुदा श्रम बेच्ने मानिस उत्पादन गर्ने काम मात्र भइरहेको छ । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाले दुइ बर्ष अघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिटान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ ।

स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिटान्सको पैशा बाहिर जाने गरेको छ । केहि गर्ने खालको युवा जनशक्तिलाई अर्काको देश पठाएर आएको पैशाको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको छैन । बार्षिक झण्डै साढे सात अरब रुपैयाँ अर्घाखाँची भित्रने गरेको छ । त्यसमध्ये तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटर साइकल, कार, इन्धन, लत्ताकपडा, मोवाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ । ४० प्रतिशत रकम अर्थात् ३ अर्ब उत्पादन नहुने क्षेत्र अर्थात् घडेरी र घरमा खर्च हुने गरेको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए । उनका अनुसार जिल्ला सदरमुकाम, कपिलबस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा , दाङ, चितवन र काठमाण्डौमा घर घडेरी किन्नेमा खर्च भएको छ । विदेशबाट आएको रकमको २० प्रतिशत मात्र कृषि फर्म, साना होटल, किराना पशल र ट्याक्सी तथा बस जस्ता उत्पादन शिल क्षेत्रमा खर्च भइरहेको छ । तर यस्तो व्यवसाय गर्नेहरूले पनि बिचैमा व्यवसाय छाड्ने गरेका छन् । वैदेशिक रोजगारीमा गएका युवाहरूले कमाएको पैशा विलासिता र दैनिक उपभोग्य सामग्रीमा खर्च भएकोले उक्त रकम उत्पादन मुलक कार्यमा खर्च गर्नुपर्ने खालको नियमनै बनाएर अगाडी बढ्न सकेमा मात्र उत्पादन शिल क्षेत्रमा खर्च हुने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीमा युवाहरूलाई जानबाट रोक्न स्थानीय सरकारहरूले पनि काम गरिरहेका छन् । विदेशबाट फर्किएर गाउँमै कृषि र पशुपालन गर्ने युवाहरूलाई नगरपालिकाले प्राविधिक सहायताका साथै विभिन्न अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । परम्परागत कृषि पेशालाई आधुनिक र प्रविधियुक्त बनाउन मिनी टिलर, कुटानी पिसानी मिल लगायतका सामग्रीहरू कृषकलाई हस्तान्तरण गरेको छ । बिभिन्न तरकारीका बिऊ र मल आदी प्रदान गर्दै आएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताएका छन् । शितगंगा कृषि र पशुपालनको लागि सम्भावना राम्रो भएको नगर हो । तराईका जिल्लासँग सीमामा जोडिएको यहाँको उत्पादन बुटवल, कपिलवस्तु र दाङसहित भारतीय सीमा नाका कृष्णनगर हुँदै भारत निर्यात हुन्छ । जंगली मौवाको फुल, स्थानीय रैथाने वाली र फलफुलबाट बनाइने रक्सीको ब्रान्डिंग गरिने लक्ष्य रहेको योजना अधिकृत नुमलाल खनालले बताए । नगरपालिकाले कृषिजन्य बस्तु उत्पादन र बजारिकरणका लागि नयाँ योजना सञ्चालन गरेको छ । प्रत्येक वडामा कृषि संकलन केन्द्र निर्माण गरिने नगर प्रमुख पौडेलले बताए ।

Sharing is caring!