नेपालगन्ज धम्बोझीको मुख्य चारलेन सडकबाट करिब एक सय मिटर पश्चिममा सिमान्तकृत, लोपोन्मुख चिडिमार समुदायको बसोबास छ । उक्त चिडिमार समुदायका बालबालिका बिस्तारै शिक्षा लिन थालेका छन् । उनीहरू पहिले चरा मारेर जिविकोपार्जन गर्थे । सरकारले चरा मार्न रोक लगाएपछि ज्याला, मजदुरी गरेर जिविकोपार्जन गरिरहेका छन् । पछिल्लो समय व्यापार व्यवसायमा अग्रसर हुन थालेका छन् । तर अझेपनि गरिबिले छोडेको छैन ।
स्थानीय तहमा जनप्रतिनिधि आएको करिब पाँच वर्ष वित्यो । बस्तीमा केही बाटाघाटा निर्माण भए । तर आफूहरूको चाहना अनुसारको काम हुन नसकेको गुड्डी चिडिमारले बताइन् ।
‘चर्को घाममा घण्टौ लाइन कुरेर भोक प्यास नभनेर भोट दियौं । काम गर्ने बेलामा जनप्रतिनिधिले आ–आफ्ना मान्छेहरुलाई मात्र हेरे ।’ बेलासपुर विद्यालय नजिकै सानो घुम्टीमा किराना पसल सञ्चालन गरिरहेकी उनले भनिन्– ‘कोरोना आएपछि देशभर लकडाउन भयो । व्यापार व्यवसाय बन्द भयो । यो समयमा खानका लागि समेत कष्ट भयो । स्थानीय सरकारले राहत त दियो । कतिपयले ५।६ बोरा चामल पाए । तर हामी खेतबारी, जग्गा नहुनेले एक किलो चामल पनि पाएनौ ।’ पछि सञ्चार माध्यममार्फत गुनासो गरे पछि मात्र एक किलो चामल, एक किलो नून, एक पोका तेल लगायतका खाद्यान्न राहत पाएको उनी बताउँछिन् । जनप्रतिनिधिहरूले निम्न वर्गभन्दा माथिल्ला बर्गकालाई प्राथमिकतामा पारेकोमा उनको दुखेसो छ ।
उनलाई यसपालिको चुनावमा भोट नदिउँ कि जस्तो लागेको छ । आफूले चाहेजस्ता, जनताको हितमा काम गर्ने उम्मेदवार यो पटक पनि नदेखेको उनले बताइन् । अबको निर्वाचनबाट गरिब, धनी नभनी सबैलाई एक समान व्यवहार गर्ने नेता आओस् भन्ने उनको चाहाना छ ।
सुनिल चिडिमारले पनि इमान्दार, जनताको हितमा काम गर्ने, आफ्नो दुःख बुझ्ने नेता चाहेका छन् । तर उनले पनि भनेजस्तो उम्मेदवार यो पटक नभएको बताए । निर्वाचनसम्म विकासप्रेमी नेता भेटिएमा उसैलाई भोट दिने उनको विचार छ ।
‘निर्वाचनका वेला यो दिन्छु त्यो दिन्छु भनेर नेताहरूले आश्वासन दिन्छन् । जितिसकेपछि जनताको घरदैलोसम्म पनि आउदैनन्’ निलम चिडिमारले भनिन् । उनले पनि यसपटक चाहेको उम्मेदवार भेटेकी छैनन् । उनलाई आफुहरू वडा, पालिकामा काम गर्न जाँदा दुःख झण्झट झेल्नु नपरोस् भन्ने लागेको छ ।
विश्लेषकहरू पनि ५ वर्षको कार्यकालमा निर्वाचित प्रतिनिधिले गरेका कामप्रति सन्तुष्ट छैनन् । नेपालको राजनीतिमा निर्वाचन खर्चिलो बन्दै गएको र यसले गर्दा जनप्रतिनिधिबाट गुणस्तरीय कामको अपेक्षा गर्न नसकिने उनीहरूको विचार छ । स्थानीय, कार्यकर्ता, राजनीतिकर्मी, समाजसेवी, वुद्धिजीवि लगायतका सरोकारवालासंग गलतलाई गलत र सहिलाई सहि भन्ने आँट नभएसम्म प्रवृति सुधार हुन नसक्ने उनीहरूको भनाई छ ।
महेन्द्र बहुमुखी क्याम्पसका उप–प्रध्यापक, भुवनेश्वर लामिछाने भन्छन्– ‘जनप्रतिनिधिले जनताका गुनासो सुनिदेउन भन्ने चाहेका छन् । वडामा सेवा लिन जाँदा झुलाउने प्रवृति छ । समयमै काम होस्, समुदायमा आएका समस्या सकेसम्म चाडै समस्या समाधान होस्, पार्टीगत भन्दा पनि वडामा आफ्नो पहुँच हुने गरी उम्मेदवार आवस् भन्ने सबैको चाहाना हुन्छ ।’ टाठाबाठा ठेकेदारले भोट किन्ने प्रवृती देखिएको उनको भनाई छ ।
‘हाम्रो नेतृत्व जनताका चाहना पूरा गर्ने खालको भएन । नो भोट सिष्टम भए हुन्थ्यो भन्ने कतिपय नागरिकको चाहना पनि देखिएको पाइयो । तर भोट त दिनैपर्छ’ उनले अगाडी थपे ‘आगामी निर्वाचनमा मतदाता सामू रहेको एक मात्र उपाय भनेको नराम्रा मध्येको राम्रो अर्थात कम नराम्रो उमेदवार छान्नु हो । उम्मेदवार यही समाजका मानिसमध्येबाट हुने हो । ’
जुनसुकै राजनीतिक दलले पनि जनताबीच लोकप्रिय भएको व्यक्तिलाई उम्मेदवार बनाउन खोज्छन् । पछिल्लो समय वडाध्यक्षसम्मको उमेदवार खोज्दा धनी र खर्च गर्न सक्ने व्यक्ति खोज्ने चलन छ । जनतामा भिजेकोे तर खर्च गर्न नसक्ने व्यक्तिलाई दलहरूले पत्याउदैनन् । ‘यो विकृती हो, हाम्रो निर्वाचन प्रणाली र दलहरू गलत ट्रयाकमा गइरहेका छन् । भोट किनेबेच गरेपछि विकासको अपेक्षा गर्न सकिदैन । त्यसैले आगामी निर्वाचनमा भोट किनबेच गर्नु हुँदैन’ उनले भने ।
राजनीतिक विश्लेषक जर्नादन आचार्य (शर्मा) का अनुसार हरेक नागरिक राम्रो व्यक्ति उम्मेदवार होस भन्ने चाहन्छन् । निर्वाचित हुने मान्छे कत्तिको सफल हुन्छ भन्ने हेर्नलाई उसको विगत पनि जान्नुपर्ने हुन्छ । उ जनस्तरमा कत्तिको भिजेको हो ? कति इमान्दार, नैतिकवान छ भन्ने कुरा पनि मतदाताले थाहा पाउनुपर्छ ।
‘अर्को महत्वपुर्ण पक्ष उ कति प्रेरक छ भन्ने हो । यसको अर्थ केही सुधारेर लैजान्छु भन्ने सोंच भएको, काम गर्ने उर्जा भएको मानिस छान्नुपर्छ । यस्ता उम्मेदवारका पक्षमा हामी बोल्नुपर्छ । मिडिया, हामीजस्ता बौद्धिक, वुद्धिजीविहरूले पनि यसरी मतदान गर भनेर जनतालाई वुझाउनुपर्छ । यसरी मात्रै जनचाहना भएको मान्छे आउने हो ।’ ‘भोट हाल्न नगएर हुदैन । मतदातालाई प्रभाव पारेर निर्वाचन भयो भने फेरी आगामी ५ वर्ष पनि अहिलेको जस्तै हुन्छ’ उनले भने ।
पछिल्लो समय चुनाव खर्चिलो बन्दै गएको उनी पनि बताउँछन् – ‘यसमा सबैभन्दा पहिला दलहरू सुध्रिनुपर्छ । दलहरूले चुन्दा सहयोग लिने मामलामा निश्चिम मापदण्ड अपनाउने हो भने मात्रै पनि ५० प्रतिशत भ्रष्टाचार घट्छ । कार्यालयमा प्रमुखले भ्रष्टाचार नगरे त्यो कार्यालयमा ५० प्रतिशत भ्रष्टाचार स्वत घट्छ ।’
चुनाव खर्चिलो बन्दै गएपछि इमान्दार, उर्जावान तर पैशा खर्च गर्न नसक्नेलाई राजनीति गर्न अप्ठेरो भएको उनको भनाई छ – ‘उम्मेदवारले कम खर्च गर्न सक्छ, तर यही निर्वाचनमा यो सम्भव नहुनसक्छ । अधिकारकर्मीहरूले पनि यस्ता कुरा पर्दाफास गर्नुपर्छ । यति कुरा भन्न गैरसरकारी संस्थाको मुख ताक्नुपर्दैन ।’
‘चुनावलाई प्रभावित पार्ने धेरै कुरा हुन्छन् । टिकट पाउन पार्टीलाई चन्दा दिने परम्परा हाम्रो देशमा छ । अघिल्लो निर्वाचनमा सदस्य उम्मेदवार हुनलाई पार्टीलाई ५० हजारसम्म दिएको मैले सुनेको थिए । ’ यस प्रवृतिले काम गर्ने क्षमता र उर्जा भएकालाई अवसरबाट बञ्चित गर्न सक्ने बताउदै उनले भने –‘युवालाई राजनीतिक दलले सदुपयोग गर्न सकेका छैनन् । युवा उमेरमा जोस, जागर भएको बेलामा राजनीतिक दलले जिम्मेवारी दिदैनन् । उमेर ढल्केपछि जिम्मेवारी दिंदा काम गर्ने जोस सकिसकेको हुन्छ । दौडधुप गर्न सकिदैन ।’ यसले पनि जनचाहना अनुसारको काम नहुने उनको भनाई छ ।
‘अंग्रेजीमा एउटा भनाई छ राम्रा मान्छेले बोल्न छाडे भने अपराध अथवा खराब कुरा फैलिन्छन् । अहिले नेपालमा राम्रा मान्छेहरू बोल्न छाडे । भ्रष्टाचार गरेका मानिसहरूलाई साथ दिन थाले । गलतलाई गलत र सहिलाई सहि भन्ने आँट छैन । किनकी हामी मानसिक रुपमा पहिल्यै कमजोर भइसकेका छौं कि हामी केही काम गर्न सक्तैनौ । त्यो मान्छे पनि काम लाग्छ, यो पनि काम लाग्छ कि भन्ने सोंच छ ।’ सबैले यसविरुद्ध आवाज उठाउनुपर्नेमा उनको जोड छ –‘एकपटक फेरि देशले साह्रै दुःख पायो । सबै मानिस लागेर यो अवस्थालाई परिवर्तन गरौं ।’
यता एकै दलका धेरै मानिस आफू नेपालगन्ज उप–महानगरपालिकाको नेतृत्व हाँक्न सक्ने भन्दै पार्टीले आफूलाई उमेदवार बनाउनु पर्ने दावी गर्छन् ।
नेकपा एमाले
एमालेबाट अहिलेसम्म पशुपतिदयाल मिश्र एकमात्र मेयरका दाबेदार देखिएका छन् । तर मिश्र पार्टीभित्र अरु पनि दाबेदार भएको नकार्न नसकिने बताउँछन् । कांग्रेस, तमलोपा हुँदै हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक विचार समूहमा पुगेका मिश्रलाई एमालेका अध्यक्ष केपी वलीले गत १ मंसिरमा पार्टीमा भित्र्याएका थिए । मिश्र पनि आफूले एमालेका मतदातालाई जोड्ने काम गरेको र आफूसँग नेपालगन्जका लागिस्पष्ट योजना आफूसँग भएकाले आफू बलियो दाबेदार भएको बताउँछन् ।
नेपाली कांग्रेसबाट आकांक्षी
नेपाली कांग्रेसबाट उपमेयरमा विजयी उमा थापामगर, डा. सुरेशकुमार कनोडिया र प्रशान्त विष्टलाई मेयरका मुख्य दाबेदार मानिएको छ । थापामगर आफूले उपमेयर भएर पाँच वर्षमा गरेको काम, संगालेको अनुभव र महिला प्रतिनिधित्वका हिसाबले आफ्नो दाबेदारी बलियो रहेको बताउँछिन् ।
डा. कनोडिया पार्टीले काम गर्न सक्ने र उपमहानगरपालिकाको नेतृत्व हाँक्न सक्ने नेता चुन्ने भएकोले आफ्नो दाबी बलियो रहेको बताउँछन् । मेयरको जिम्मेवारी पाए नेपालगन्जको सर्वांगिण विकासका लागि स्पष्ट खाका आफूसँग रहेको उनको दाबी छ । कांग्रेसका तर्फबाट मेयरका अर्का आकांक्षी विष्ट कांग्रसको नेपालगन्ज नगरसभापति हुन् । उनी तेस्रो पटक पार्टीको नगरसभापतिमा निर्वाचित भएका हुन् । युवा पुस्तालाई अवसर दिने र सबै पार्टीसँग राम्रो सम्बन्ध भएकाले आफ्नो दाबेदारी बलियो रहेको बताउँछन् । यसबाहेक कांग्रसबाटै सुरेन्द्र हमाल, अच्युत प्रसाई लगायतहरू पनि मेयरका दाबेदार रहेका बताइएको छ ।
नेकपा (माओवादी केन्द्र)
माओवादी केन्द्रबाट व्यवसायिक पृष्ठभूमीका नन्दलाल वैश्य र आदेश अग्रवाल बलिया दाबेदार मानिएका छन् । वैश्य व्यवसायिकदेखि सामाजिक र धार्मिक संघसंस्थाको नेतृत्व गरेको, नेपालगन्जको पीडा र समस्या बुझेको, नगरवासीहरूले पत्याएको र नेताहरूले विश्वास गरेकोले आफ्नो दाबेदारी बलियो रहेको बताउँछन् ।
अग्रवाल पार्टीका लागि गत निर्वाचनदेखि नै खटिएको, संगठन निर्माण र व्यवसायिक नेतृत्वमा अब्बल काम गरेका कारण आफू बलियो दाबेदार रहेको बताउँछन् ।
जनता समाजवादी पार्टी
कमरुद्धिन राई जसपा बाँकेका अध्यक्ष हुन् । मधेसवादी राजनीतिबाट परिचित भएका उनी गएको निर्वाचनमा पनि उम्मेदवार थिए । त्यतिबेला आफूले सन्तोषजनक मञ्च पाएको राई बताउँछन् । उनी अहिले पार्टीमा आफू एकमात्र दाबेदार भएको बताउँछन् । पार्टीको संगठन बिस्तारमा विगत पाँच वर्षमा आफूले उल्लेख्य काम गरेकोले मेयरको टिकट पाउने सम्भावना बलियो रहेको उनी बताउँछन् ।
नेकपा (एकीकृत समाजवादी)
०५४ मा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाको मेयर रहेका समसुद्धिन सिद्धिकीलाई अहिले नेकपा (एकीकृत समाजवादी)का बलिया दाबेदार मानिन्छ । एमाले विभाजनपछि सिद्धिकी नेकपा एकीकृत समाजवादीतर्फ लागेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय निर्वाचन–२०७४ को नतिजा
स्थानीय तहको निर्वाचन २०७४ मा नेपालगन्ज उप–महानगरपालिकाको मेयरका लागि ४ जना स्वतन्त्रसहित १६ जना उम्मेदवार थिए । तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशमशेर राणा सर्वाधिक मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडिया धवलभन्दा ३ हजार ७ सय ८५ मतले पछि थिए ।
राजनीतिक दल | उम्मेदवार | मत |
राप्रपा | डा. धवलशमशेर राणा | १२,५१५ |
नेपाली कांग्रेस | डा. सुरेश कुमार कनोडिया | ८,७३० |
नेकपा (माओवादी केन्द्र) | दामोदर आचार्य | ७,१९८ |
नेकपा एमाले | समसुद्धिन सिद्धिकी | ६,९६५ |
संघीय समाजवादी फोरम | कमरुद्धिन राई | ५,४४१ |
गठबन्धन नभएमा आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेससँग कुन दल प्रतिस्पर्धामा आउँछ त्यसको आधारमा नतिजा भर पर्ने टिकाटिप्पणी भइरहेका छन् । गठबन्धन भएमा सत्ता गठबन्धन स्वतः बलियो हुनेछ ।
बाँके जिल्लामा सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ । जिल्ला सभापति नारायणप्रसाद गौडेलले सभापति निर्वाचित भएपछि जिल्लामा कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेको बताउदै आएका छन् । कांग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशसरण महतले नेपालगन्जमा आउदा बढी सिट कांग्रेसले पाउने अवस्थामा मात्रै गठबन्धन हुने र उक्त निर्णय जुन तहको हो त्यही तहका नेताको रायका आधारमा तय हुने बताएका थिए । यता गठबन्धनको साझेदार माओवादी केन्द्रका जिल्ला इन्चार्ज आइपी खरेलले उप–महानगरपालिकाको उम्मेदवारीको निर्णय केन्द्रले गर्ने भएकोले त्यसलाई पर्खिनुपर्ने बताएका छन् ।
कांग्रेसभित्र गठबन्धन नगर्ने मत बलियो भयो र केन्द्रले त्यसैलाई सदर गर्यो भने अघिल्लो निर्वाचनको उपविजेता कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धी हुने एक पक्षको आँकलन छ भने कांग्रेस र जसपाबीच प्रतिस्पर्धी हुनसक्ने अर्काे पक्षको आँकलन छ । नेपालगन्ज उप–महानगरपालिका समेटिएको क्षेत्र नम्बर २ बाट गत संघीय संसदको निर्वाचनमा हाल जसपामा रहेका नेता इश्तियाक राई विजयी भएका थिए । त्यस आधारमा नेपालगन्जमा जसपाको पकड बलियो रहेको मानिन्छ । मधेशी र मुस्लिम मतदातामा जसपाको पकड बलियो रहेको नेताहरू बताउँछन् ।
नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. राणाले गत निर्वाचनमा पाएको मतको ठूलो हिस्सा मधेसी तथा मुस्लिम मतदाताको पनि थियो । अब उक्त मत तान्न सक्ने नेता राप्रपामा नदेखिएको अरु पार्टीका नेताहरू बताउँछन् ।
डा. राणाले उप–महानगरपालिकामा फेरि उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । यस अवस्थामा राप्रपालाई डा. धवलशमशेरको विकल्प छान्न सकस हुने देखिएको छ । आफूलाई धवलशमशेरको विकल्पको रुपमा गौरव शाह, तेजविक्रम शाह लगायतका व्यक्तिहरूले दाबेदारी प्रस्तुत गरेका छन् । तर, राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋिषिराज देवकोटा भन्छन्, ‘दाबेदारी आ–आफ्नै तरिकाले प्रस्तुत गर्नुभएको होला । तर पार्टीले योग्य व्यक्तिलाई छान्छ । पार्टीको निर्णय पर्खनुपर्छ ।’
राप्रपाले बलियो उम्मेदवार छान्न नसकेमा वा कुनै दलसँग गठबन्धन गरेमा अघिल्लो निर्वाचनमा धवलको पक्षमा गएका मतदाता जसपाको पक्षमा जान सक्ने प्रवल सम्भावना छ । जसपाबाट मेयरका लागि एकमात्र दाबेदार मानिएका कमरुद्धिन राई भन्छन्, ‘हामीले विगत पाँच वर्ष संगठन निर्माणमै बिताएका छौँ । यसका साथै हाम्रो पार्टीका माननीयज्यूको पहलमा नेपालगन्जमा भएको विकासले पनि जनताले हामीलाई पत्याउँछन् भन्ने विश्वास छ ।’
तर एमालेका तर्फबाट दाबेदार मानिएका पशुपतिदयाल मिश्रलाई बलियो मान्नेहरू पनि धेरै छन् । केही समय अघि स्वतन्त्र राजनीतिक विचार समुहबाट धेरै कार्यकर्ता सहित एमालेमा भित्रिएका मिश्रसँग मधेशी र मुस्लिम समुदायलाई तान्न सक्ने क्षमता रहेको बताइन्छ ।
यस्तै दाबी माओवादी केन्द्रका तर्फबाट दाबेदार मानिएका नन्दलाल वैश्यको पनि छ । उनी व्यवसायिक अगुवाको पृष्ठभूमी हुँदै राजनीतिमा आएका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष वैश्य मधेशी र पहाडी मूलका समुदायमा आपूm लोकप्रिय रहेको दाबी गर्छन् । यस्तै दाबी माओवादीकै तर्फबाट बलिया दाबेदार मानिएका आदेश अग्रवालको पनि छ ।
यसैगरी एर्कीकृत समाजवादीबाट मेयरका एकमात्र दाबेदार मानिएका समसुद्धिन सिद्धिकीको पनि मधेशी बहुल क्षेत्रमा राम्रो पकड भएको बताइन्छ ।