उपकरणको अभावमा कोरोना जाँच

सन्तोष अधिकारी चैत २०७६ दाङ

भारत उत्तर प्रदेश राज्यसंग सीमा जोडिएको बाँके कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । उत्तर प्रदेशमा कोरोना भाइरस देखिएका कारण जोखिम बढेको हो । तर, तयारी भने फितलो देखिन्छ । जमुनाह नाका हुँदै दैनिक सात हजार नेपाली घर फर्किरहेका छन् । सीमित स्वास्थ्यकर्मी र साधन स्रोतबाट नेपाल भित्रिनेको स्वास्थ्य परिक्षणले कोरोना सर्दैन भनेर सुनिश्चित हुन सकिएको छैन । एकातिर सीमा नियमन हुन सकिरहेको छैन भने अर्को तर्फ जिल्लामा पूर्व तयारी पनि खासै प्रभावकारी हुन नसकेको गुनासो सर्वसाधारणले गरिरहेका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नेपालमा भने अझै देखिएको छैन । नेपालमा नभित्रिए पनि सरकारले सतर्कता भने अपनाईरहेको छ । अहिले नेपालसंग खुला सिमाना जोडिएको भारतका धेरैजसो नाकाहरु बन्द गरिएका छन् । अत्यावश्यकबाहेक सवै सेवाहरु बन्द गर्न सरकारले निर्देशन समेत दिएको छ । तीनै तहका सरकारले सतर्कता अपनाइरहेको बताईरहँँदा सरकारले पर्याप्त उपकरणहरुको व्यवस्था गर्न नसकेको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

सतर्कता अपनाउने भन्दै दाङका स्थानीय तहहरुले सचेतनाका कामसंगै हेल्थडेक्स स्थापना गरेका छन् । आफ्नो तहमा प्रवेश गर्ने यात्रुहरुवाट कोरोना भित्रन नदिन उनीहरुले सावधानी अपनाएका हुन् । तर, उनीहरुको सावधानीले खासै काम नगरेको भर्खरै घोराहीमा भएको एक घटनाले प्रष्ट पार्छ । घटना विवरण यस्तो छ ः घोराही मिलनचौकका एकजना १७ बर्षिय युवक रोजगारीका लागी भारत गएका थिए । १८ दिनदेखी भारतमै उनलाई ज्वरो आईरहेको थियो । उनी नेपाल फर्कन चैत ६ गते रुपैडिया नाका हुँदै नेपालगञ्ज प्रवेश गरे । नाकामा उनको चेकजाँच त भयो तर त्यो मेसिनमा केही नदेखीएको भन्दै नेपाल प्रवेश गर्न दिईयो ।

नेपालगञ्जवाट उनी दाङको बस चढेर चैत्र ७ गते विहान घोराही आईपुगे । घर आईपुग्दा पनि उनलाई ज्वोरो आईरहेको थियो । परिवारले नजिकैको निजी अस्पताल लगे । तर, अस्पतालले कोरोनाको शंका गरेर भर्ना नगरि घोराहीमै रहेको अर्को अस्पताल राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्यो । प्रतिष्ठानका चिकित्कसले दिएको जानकारी अनुसार ती किशोरमा कोरोनाको शंका गर्न मिल्ने उच्च ज्वरो, कफ, डायरिया लगायतका समस्या छन् । उनलाई प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । बाँकेको नाका क्षेत्र तथा तुलसीपुरको दमारगाँउमा त्यहाँका स्थानीय तहहरुले हेल्थ डेस्क राखेर चेकजाँच गरेको बताईरहँदा ती युवक कसरी घोराही पुगे ? कसैलाई पत्तो छैन ।

काठमाण्डौंबाहेक अन्त कतैपनि कोरोना चेकजाँच हुँदैन । काठमाण्डौंबाहेक अन्य जिल्लावाट विरामीको नमुना चेकजाँचका लागि काठमाण्डौं पठाउनुपर्दछ । स्पेशल क्यारियरविना विरामीको स्याम्पल पठाउन संभव हुँदैन । दाङमा कोरोनाको स्याम्पल पठाउने (भिपी क्यारियर) पनि छैन । स्याम्पल लिन चिकित्सकले लगाउनुपर्ने प्रोेटेक्टिभ केयर (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एउटा मात्रै रहेको कामु रजिष्टार कैलाश देवले बताए । ‘त्यो पनि जनस्वास्थ्यले उपलब्ध गराएको हो’, उनले भने, ‘प्रोटेक्टिभ केयरविना चिकित्सकले विरामीको स्याम्पल लिन मान्दैनन् ।’ उनका अनुसार विरामीको स्याम्पल लिन समेत चुनौती छ ।

जिल्लाका स्थानीय तहहरुले गरेको आपतकालीन तयारी हेर्ने हो भने कोरोना भाईरस फैलिएमा उपचारको लागी प्रादेशिक अस्पताल पठाउनेभन्दा अरु उपाय केही छैन । उनीहरुले सञ्चालन गरेको हेल्थ डेक्समा सेनिटाईजार, मास्क, थर्मल गन समेत पर्याप्त छैन । तुलसीपुर उपमहानगरपालिकामा ३ ठाँउमा स्थापना गरिएका हेल्थ डेस्कहरुमा मात्रै थर्मलगनबाट ज्वरो नाप्ने गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।

उपमहानगरपालिकामा रहेका १९ वटा सहरी स्वास्थ्य क्लिनिकहरुमा थर्मोमिटरले नाप्ने गरेको उनको भनाई छ । ‘कसैलाई कोरोनाको शंका गरिएमा प्रादेशिक अस्पतालमा रिफर गर्नेभन्दा अरु उपाय छैन’, केसीले भने । ती शहरी स्वास्थ्य क्लिनिकहरुमा मास्क, सेनिटाईजरको समेत अभाव रहेको केसीले बताए ।

राज्य नै संकटको घडीमा रहेको समयमा अभाव हुनु स्वाभाविकै भएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बताए । तुलसीपुरमा विपद्लाई व्यवस्थापन गर्न हेल्थ डेस्कवाहेक अरु तयारी केही नभएको उनले बताए । ‘वाहिर जिल्लावाट भित्रन नदिने तयारी भएको छ, ती स्थानमा चेकजाँचमा कसैलाई शंका लागेमा तुलसीपुरकै प्रादेशिक अस्पतालमा पठाउँछौ’, मेयर पाण्डेले भने । तुलसीपुरमै रहेको प्रादेशिक अस्पतालले १० वेडको आईसोलेसन वार्ड वनाएकोले पनि अरु तयारी नगरेको पाण्डेले बताए । तुलसीपुरमा रहेको राप्ती लाईफ केयर अस्पतालले पनि १० वेडको आईसोलेसन वार्ड बनाएको छ तर स्थानीय तहले अहिलेसम्म तयारी समेत नगरेर अरुकै भर परिरहेका छन् । स्थानीय तहहरु आफै स्वायत्त भइसक्दा पनि साना अस्पताल खोलेर विपद्को तयारी गर्नुपर्ने हो तर अहिले पनि स्थानिय सरकार प्रदेश र संघिय सरकारकै भरमा छन् ।

कोरोना भाइरस संक्रमण भएको आंशका गरिएका प्यूठानका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ । ऐरावती गाउँपालिका २ बरौला प्यूठान निवासी ती यूवा भारतबाट घर आएका थिए । उनमा कोरोनाका लक्षणहरु देखिएपछि लुम्विनी प्रादेशिक अस्पताल बुटवल पु¥याइएको थियो । बुटवलमा भर्ना गरेपनि चेकजाँच गर्ने प्रयोगशाला नभएपछि राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डौँ स्याम्पल पठाईयो । ६ गते साँझ देशभरका १८ जनाको एकैपटक सार्वजनिक गरिएको रिपोर्ट अनुसार उनको पनि नेगेटिभ देखिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।
ऐरावती गाउँपालिका र स्वास्थ्य कार्यालय प्यूठानको पहलमा ती यूवालाई उपचारका लागि बुटवल लगिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । प्यूठानका एक यूवालाई संक्रमण आंशकाको खवर जिल्लाभर फैलिएपछि आम नागरिकमा त्रास छाएको थियो । जिल्लाका ९ वटै स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, स्वास्थ्य कार्यालय प्यूठान र प्यूठान अस्पतालले कोरोना संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउन थालेका छन् । तर, स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने उपकरणको त्यहाँ पनि अभाव रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्युठानले दिएको जानकारीअनुसार जिल्लामा थर्मल गन पर्याप्त छैन भने मास्क, सेनिटाईजरको अभाव छ ।

स्थानिय तहहरुले पनि सतर्कता अपनाउनेभन्दा लागिसकेमा गर्नुपर्ने पुर्व तयारी केही गरेका छैनन् । उनीहरु पनि प्रदेश र केन्द्र सरकारको नै भरमा छन् । जिल्लामा रहेको एउटा प्रादेशिक अस्पतालमा खवर गर्दा यताभन्दा बुटवल नै लैजानुस् भन्ने गरेको ऐरावती गाँउपालिकाका अध्यक्ष नविलविक्रम शाहले बताए । ‘जिल्लामा कुनै तयारी नै छैन । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर बृद्धाश्रमको नयाँ भवनलाई आईसोलेसन बनाउने निर्णय भयो तर कुरा मात्रै भयो अहिलेसम्म तयारी केही छैन’, शाहले भने । कसैलाई ज्वरो मात्रै आयो भनेपनि बुटवलको लम्बिनी प्रादेशिक अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । त्यहाँ पनि खासै तयारी नभएको उनले बताए । ‘एकजना शंकास्पद विरामी लिएर अरु ५ जना साथीहरुलाई पठाईयो तर अस्पतालले जसलाई ज्वरो आएको थियो त्यसलाई मात्रै भर्ना ग¥यो । संगै गएका अरु डरले घर फर्कन मानेनन् । उनीहरुलाई जाँच गर्नुस् भनेको अस्पतालले मानेन’, शाहले भने ।

भारत उत्तर प्रदेश राज्यसंग सीमा जोडिएको बाँके कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । उत्तर प्रदेशमा कोरोना भाइरस देखिएका कारण जोखिम बढेको हो । तर, तयारी भने फितलो देखिन्छ । जमुनाह नाका हुँदै दैनिक सात हजार नेपाली घर फर्किरहेका छन् । सीमित स्वास्थ्यकर्मी र साधन स्रोतबाट नेपाल भित्रिनेको स्वास्थ्य परिक्षणले कोरोना सर्दैन भनेर सुनिश्चित हुन सकिएको छैन । एकातिर सीमा नियमन हुन सकिरहेको छैन भने अर्को तर्फ जिल्लामा पूर्व तयारी पनि खासै प्रभावकारी हुन नसकेको गुनासो सर्वसाधारणले गरिरहेका छन् । जमुनाहमा सवारीसाधन सञ्चालनमा चैत्र ५ गतेदेखि पूर्णरुपमा रोक लगाइएको छ । नेपाल र भारतर्फका सुरक्षाकर्मीहरुले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साईकलसम्म सञ्चालनमा रोक लगाएका हुन् । तर, पैदल आवागमन भने यथावत हुँदा मानिसहरु शसंकित भइरहेका छन् ।

नेपालतर्फ चौलिकाचोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । भारतबाट घर फर्किने नेपालीको संख्या उल्लेखनीय मात्रामा रहेको छ । नेपालगञ्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिकहरु सीमामै रोकिएका छन् । भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशंकामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको छ । चैत्र ४ गते नेपालगन्जमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले चैत्र ५ देखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेका थिए । अत्यावश्यक काम प्रयोग हुने एम्बुलेन्सजस्ता सवारी साधन भने सञ्चालन गर्न दिइने छ । सवारी आवागमनमा रोक लगाएपनि जमुनाह क्षेत्रमा मानिसहरुको भिडभाडमा भने कमी आएको छैन । कामका लागि हिडडुल गर्ने मात्र होइन नाका बन्द भएको हेर्नेको भिड समेत उल्लेखनीय छ । ठूलो भिडभाडबाट कोरोना फैलिन सक्ने भन्दै नाका बन्द गर्नुपरिरहेका बेला सीमाक्षेत्रमा हेर्नेको भिड समेत बढ्दै छ ।

सवारीसाधन सञ्चालनमा रोक लगाएपछि मानिसको आवागमन कम हुने र उनीहरुको स्वास्थ्य परीक्षणको काममा सहजता थपिने नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । बुधवार बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीहरुले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेका छन् । चैत ८ गते नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा बसेको कोरोना भाइरसबिरुद्धको टास्क फोर्सको बैठकले हिमाल टेण्डल हस्पिटलमा आइसोलेसन कक्ष बनाउने, अत्यावश्यक बाहेक अन्य सबै बजार बन्द गराउने निर्णय गरेको मेयर धवलशम्सेर राणाले बताए । हेल्थडेस्कमा उपकरणको अभाव भने कायम नै छ ।

प्रदेश नं ५ सरकारले ६ वटा आइसोलेसन वार्डयुक्त अस्पताल बनाउने भएको छ । कोरोना रोकथाम तथा उपचारका लागि ¥यापिड रेस्पोन्स टिम गठन गरेर काम गरिरहेको छ । प्रदेश ५ सरकारले लकडाउनको अवस्था विश्लेषण गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीहरुलाई तोकेको छ । पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले रुपन्देहीमा ३, बाँकेमा २ र दाङमा एउटा अस्पताल बनाउने निर्णय गरेको छ । अस्पताल बनाउन रुपन्देहीको बुटवल धागो कारखाना, भैरहवाको भीम अस्पताल र देवदहमा रहेको देवदह बहुमुखी क्याम्पस तोकिएको छ । त्यसैगरी बाँकेमा क्यान्सर रोग अस्पताल र नेपाल प्रहरीको अस्पताल तथा दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पतालमा आइसोलेसनयुक्त अस्पताल बनाउने प्रदेश सरकारको तयारी छ । आइसोलेसन तथा ट्रिटमेन्ट अस्पताल निर्माणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टिम रहने छन् ।

विरामीसंग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुलाई सुरक्षीत बनाउन अहिलेसम्म प्रयास नै नभएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डाक्टर मिनचन्द्र अधिकारी बताउछन् । ‘कोही सामान्य ज्वरो वा रुघाँखोकीको विरामी अस्पताल आयो भने स्वास्थ्यकर्मी नै नजिक जान डराउने अवस्था छ’, अधिकारीले भने । कोरोनाको र सामान्य ज्वरो र रुघाखोकीको लक्षण उस्तै उस्तै भएकोले पनि त्यस्ता विरामी अस्पताल आउने वित्तिकै आईसोलेसनमा राख्नुपर्ने अवस्था रहेको उनले बताए । आइसोलेसनमा राखेकाहरुको ल्याव परिक्षण पनि यहाँ नहुने भएकोले स्थिति गम्भिर रहेको उनको अनुमान छ । राज्यको लकडाउन गर्ने निर्णय नै सवैभन्दा उपयुक्त भएको उनको भनाई छ । विरामीले पनि चेकजाँच गर्न आउदा लामो यात्रा वा देशवाहिरवाट आएको हो÷होईन स्पस्ट नभन्दा पनि विकराल समस्या आउन सक्ने स्थिति देखिन्छ । सरकारले गरिरहेको सचेतनाका कुराहरु नागरिकले अनुशरण गर्ने हो भने रोकथाम गर्न सकिने उनको तर्क छ ।

Sharing is caring!