उब्जाउनेलाई ‘राहत’ खोई ?

कृष्ण खनाल बैशाख २०७७ बुटवल

व्यवसायीक किसानहरुले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बजारीकरण गर्न पाएका छैनन् । करिव एक महिना लामो लकडाउनको कारण कतिपय किसानहरुको तरकारी खेतबारीमा नै कुहिने अवस्थामा छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ मा रहेको पण्डीत एग्रो फर्ममा केही दिन पहिला ६ सयभन्दा बढी अण्डा उत्पादन गर्ने लेर्यस कुखुरा थिए । फर्म सञ्चालक गंगाराम पन्थीका अनुसार अहिले फर्म करिव खाली छ । लामो समयदेखी जारी लकाउनको कारण दाना अभाव भएपछि कतिपय कुखुरा आफै मरे भने कतिलाई सस्तो मुल्यमा विक्रि गर्नुपर्ने बाध्यता आइपरेको पन्थी बताउँछन् । सञ्चालक पन्थी किसानहरुलाई सबैभन्दा बढि समस्या भएको बताउँदै भन्छन्, ‘दाना पाउनै गाहे, पाए पनि महंगो । यो अवस्थामा कतिपय कुखुराले अण्डा दिन छाडे, कतिपय चाहिं सस्तोमै बेच्नुप¥यो ।’ यो लकडाउनपछि फर्ममा करिव १२ लाखको घाटा लागिसकेको उनले बताए । त्यसमाथि अहिलेको अवस्थामा फर्म नै बन्द गर्नुपर्दा त्यो घाटा करिव ५० लाख पुग्ने पनि पन्थीले बताए ।

पाल्पाको तानसेन नगरपालिका १२, बौघापोखराथोकका खुमबहादुर रानाले दैनिक ४० लिटर दुधको महि पार्ने र गाउँमा विक्री गर्दै आएका थिए । ५ वटा दुहुना र १ वटा व्याउने गाई उनको गोठमा छन् । गत चैत ११ गतेदेखि लकडाउनका कारण डेरीले दुध नलिएपछि उनले दुध विक्रि गर्न पाएका छैनन् । रानाले गाईको लागि दाना र भिटामिनमा मात्र मासिक २० देखि २५ हजार खर्च हँुदै आएको बताए । लकडाउन अवधीमा करिव ३० हजार रुपैयाँ जतीको दुध विक्रि रोकीएको छ भने दाना, घाँस परालको गरी कुल ६० हजार रुपैयाँ जती घाटा लागेको किसान रानाको भनाई छ । त्यसो त तानसेन नगरपालिकामा करिव ४५ जना किसानहरुले व्यवसायीक रुपमा पशुपालन गर्दै आएका छन् । तर, ती सबै किसानहरुको उत्पादन हाल बजारसम्म जान पाएको छैन ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ मा रहेको शाह व्रर्दश एग्रो फर्ममा अहिले टमाटर, काक्रो, लौका, खुर्सानी, बोडी, घिरौला लगायतका तरकारीहरु लटरम्म फलेका छन् । फर्म सञ्चालक नुरुद्धीन शाहका अनुसार लक डाउनभन्दा पहिला व्यवसायीहरु फर्ममा नै आएर तरकारी खरिद गर्ने गरेका थिए । तर, अहिले उनीहरु फर्ममा आउन छाडेका छन् । दैनिक ९ हजार रुपैयाँ बराबरको तरकारीजन्य बस्तु कुहीएर गएको पनि शाहले बताए ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ मुरहीका किसान मिन बहादुर सेनले उत्पादन भएको तरकारीजन्य उपज बजार पु¥याउन पाएका छैनन् । विगत लामो समयदेखी तरकारी उत्पादन गरी विभिन्न हाट बजारमा विक्रि वितरण गर्दै आएका सिकान सेनले उत्पादीत बस्तु बजार पु¥याउन नपाउँदा खेतमा नै विग्रीएको बताउँछन । उनका अनुसार गाउँका अधिकांस किसानहरुले आफुले उत्पादन गरेका कृषिजन्य उत्पादन बजारीकरण गर्न पाएका छैनन् ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–४ पटौटी निगालीमा रहेको छुर्पी उद्योग बन्द हुने अवस्थामा पुगेको छ । लकडाउनको समय अवधि लम्बिएपछि छुर्पी उद्योग बन्द हुने अवस्थामा पुगेको हो । १५ दिन बन्द गरेर पुनः सञ्चालन गरेको भएपनि पुन बन्द गर्ने अवस्था आएको उद्योगका व्यवस्थापक तिलक गैरेले बताए । दैनिक १ हजार ७ सय लिटर दूध जम्मा हुने उद्योगमा ६ ठाउँबाट दूध आउने गर्दथ्यो । दूध संकलनका लागि क्यान एउटै हुने, गाडीको आवातजावात एउटै हुने हुनाले संक्रमित हुन सक्ने भएकाले उद्योग बन्द गर्नुपरेको व्यवस्थापक गैरेले बताए । तयारी भएको ३० क्वीन्टल करिव ३० लाख रुपैयाँ बराबरको छुर्पी अहिले तयारी अवस्थामा छ । जुन लकडाउनकै करण विक्रि वितरण हुन सकेको छैन । यो उद्योग बन्द भएपछि उद्योगी र किसानहरुलाई गरी दैनिक करिव २ लाख घाटा लाग्ने गरेको पनि उनले बताए ।

यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । प्रदेश ५ का १२ वटा जिल्लाहरुमा व्यवसायीक किसानहरुले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बजारीकरण गर्न पाएका छैनन् । करिव एक महिना लामो लकडाउनको कारण कतिपय किसानहरुको तरकारी खेतबारीमा नै कुहिने अवस्थामा छ । खासगरी रुपन्देही जिल्लाको तरकारी उत्पादनको लागि विशेष पकेट क्षेत्रको रुपमा रहेको सुर्यपुरा क्षेत्रका किसानहरुले आफुले उत्पादन गरेको बस्तु बजार पठाउन नपाएको गुनासो गरे ।

स्थानीय स्तरमा उत्पादन हँुदै आएका किसानहरुको कृषिजन्य उत्पादनलाई बजारीकरण गर्नको लागि स्थानीय तहहरु मुकर्दशक जस्तै बनेका छन् । खासगरी अन्य विपन्न तथा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएका व्यक्तिहरुलाई लाखौं रुपैयाँको कोष खडा गरी राहत वितरण गर्ने स्थानिय तहका व्याक्तिहरुले कृषि जन्य बस्तु उत्पादन, उब्जाउ गर्ने किसानहरुलाई राहत दिन कुनै पनि ठोस कदम चालेका छैनन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले लकडाउनको कारण दैनिक गुजारा चलाईरहेकाहरुलाई राहत दिने काममा ध्यान केन्द्रित भएकाले किसानहरुको विषयमा ध्यान दिन नसकेको बताए । किसानका समस्याको विषयमा पनि छिट्टै निर्णय हुने उनले बताए । कृषि विज्ञ तथा पुर्व कृषि उपसचिव सुवासराज उपाध्याय किसानहरुलाई राहत दिने काममा ढिलाई गर्न नहुने बताउँछन । केही समय पहिला किसानहरुले उत्पादन गरेको कृषिजन्य बस्तु विक्रि वितरणको लागि असहज भएकोमा प्रदेश ५ सरकारले किसानको उत्पादन बजारीकण गर्नको लागि सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले केही सिमित क्षेत्रमा मात्रै राहत प्रदान गरेको भएपनि पर्याप्त मात्रामा नभएको बताउँछन् । किसानहरुलाई अहिलेको अवस्थामा राहत वितरणको लागि ठोस कदम चाल्न नसके भविश्यमा ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी पनि उनले बताए । उपाध्यायका अनुसार अहिले किसानहरुले खेती स्याहार्ने र विउविजन संरक्षण गर्ने बेलामा ध्यान दिन नसके निकट भविष्यमा समस्या आउने छ ।

प्रदेश ५ मा कुल भूभागको २२ दशमलव ७ प्रतिशत खेतीयोग्य जमिन छ । तर, त्यसमध्ये एक चौथाइ जमिन बाँझो छ । १७ हजार ८ सय १० वर्गकिलोमिटरमा फैलिएको यो प्रदेशमा ४ लाख ४ हजार ५ सय ४१ हेक्टर खेतीयोग्य जमिन छ । राष्ट्र बैंकको तथ्यांकअनुसार त्यसमध्ये ७४ दशमलव ८ प्रतिशत क्षेत्रफलमा मात्र खेती हुन्छ । २५ दशमलव २ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । प्रदेश नं ५ मा ४५.६ प्रतिशत प्रादेशिक कूल गार्हस्थ्य उत्पादन कृषि क्षेत्रले ओगटेको छ । चार लाख चार हजार ५ सय ४१ हेक्टरमा खेती गरिन्छ । सिँचित क्षेत्र ३९.६९ प्रतिशत रहेको छ । धान र तेलहन उत्पादमा सातवटै प्रदेशमा पहिलो नम्बरमा पर्ने प्रदेश ५ सरकारको स्थिति पत्रमा उल्लेख छ ।

५ नम्बर प्रदेशमा लेयर्स (अण्डा दिने) कुखुरा ३९ लाख रहेका छन् । ५०० भन्दा कम ब्रोइलर कुखुरा पाल्ने किसान १ हजार ५०० जना छन् । १ हजार देखि ३ हजारसम्म ब्रोइलर कुखुरा पाल्ने किसान ३ हजार ५०० छन् । कुखुराको मासु उत्पादन गर्ने ५८ वटा पकेट क्षेत्र छन् । प्रदेशमा दैनिक ११३.५९ क्विन्टल कुखुराको मासु उत्पादन हुँदै आएकोमा हाल लकडाउनले गर्दा ६० प्रतिशतसम्म घटेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय प्रमुख तुलसीराम भण्डारीले हाल २ लाख ९० हजार वटा (२ किलोभन्दा माथि तौल पुगेको कुखुरा) बजारमा जान नसकेको बताए । प्रदेशमा ५ लाख १८ हजार गोटा दैनिक अण्डा उन्पादन हुन्छ ।

मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडैलले मासुको खपतमा ९० प्रतिशतसम्म कमी आएको बताए । ‘सबै क्षेत्र बन्द छ । माछामासु बढी खपत हुने साना ठूलो सबै होटल बन्द छन् । किसानदेखि मासु व्यवसायी चौपट भएको अवस्था छ,’ अध्यक्ष पौडेलले भने । एक हप्तामा ४ करोड ५० लाख बढी नोक्सानी प्रदेश ५ को ह्याचरी उद्योगमा व्यबसायीहरुले व्यहोरीरहेको नेपाल ह्याचरी उद्योग संघ प्रदेश ५ का अध्यक्ष बासु बडालले जानकारी दिए । बडालका अनुसार प्रदेश ५ मा मात्रै ५५ ह्याचरी उद्योग छन् ।

यसरी चुके जनताका सरकार

प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले लकडाउन सुरु भएको करिव एक महिनापछि मात्रै कृषि एम्बुलेन्स चलाउने निर्णय ग¥यो । करिव १ महिनाको अवधीमा किसानले उत्पादन गरेको बस्तु बजारीकण हुन पाएन भने अधिकांस किसानको उत्पादन खेतबारीमा नै सड्यो ।

रुपन्देहीको शुद्धाधेन गाउँपालिका ७ बेलवाका किसान चौधरी हरिजनले सरकारले किसानहरुलाई राहत दिन ढिलाई गरेकै कारण आफुहरुको खेतबारीको तरकारी नष्ट भएको बताए । १० कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका उनले केही समय पहिला काउली, बन्दा तथा, भान्टा, तरकारी लगायतका बस्तु खेतमा नै फालेका छन् ।

प्रदेश ५ सरकारले लकडाउनको करिव १ महिनापछि सञ्चालनमा ल्याएको ४४ वटा कृषि एम्बुलेन्स पनि पर्याप्त मात्रामा छैनन् । यी कृषि एम्बुलेन्सहरु सहर केन्द्रीत रहेको किसानहरुको आरोप छ । ठुलो स्केलमा खेती गर्दै आएका किसानहरु, स्मार्ट कृषि गाउँ सञ्चालन गरिएको क्षेत्रमा यी कृषि एम्बुलेन्स सञ्चालन भएपनि स–सानो स्केलमा खेती गर्दै आएका किसानहरुको खेतबारीमा पुग्न सकेका छैनन् । एक कठ्ठा जग्गामा खती गर्दै आएका शुद्धोधन ७ बेलवाका किसान रामबरण लोधले आफु जस्ता किसानहरलाई कृषि एम्बुलेन्सले कुनै पनि काम नगरेको बताए ।

विपत व्यवस्थापन कोषमा किसानलाई पाखा

प्रदेश ५ का सबैजसो स्थानीय तहले विपत व्यवस्थापन कोष बनाएका छन् । तर, त्यो कोषमा किसानहरुलाई राहत प्रदान गर्ने विषयमा कुनै पनि कार्ययोजना नै छैन । यता, प्रदेश ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले किसानहरुलाई राहत दिन तत्काल उनीहरुले उत्पादन गरेको बस्तु बजारीकरण गर्न कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको जानकारी दिए । उनले यसबाट किसानले उत्पादन गरेको बस्तु विक्रि वितरणको लागि सहज हुने अपेक्षा मन्त्रालयले लिएको जानकारी दिए । घिमिरेले यस विषयमा प्रदेश सरकारले विशेष निर्णय गर्ने योजना रहेको जानकारी दिए । यस विषयमा स्थानीय तहले पनि विशेष पहल गर्नुपर्ने उनको भनाई छ ।

Sharing is caring!