किन रोकियो स्थानीय तहको लेखा परीक्षण ?

शंकरप्रसाद खनाल २०७८ कार्तिक नेपालगन्ज

देशभर लेखापरीक्षण नगर्ने ५९ स्थानीय तहमध्ये लुम्बिनी प्रदेशका ६ जिल्लाका १४ स्थानीय तह छन्

पाल्पाका स्थानीय तहको लेखापरीक्षण सकेर २०७६ वैशाखमा महालेखापरीक्षकको डोर नवलपरासी पश्चिम जाँदै थियो । बर्दघाट क्षेत्रमा गाडी दुर्घटना भयो । घाइते कर्मचारीलाई काठमाडौं लगियो । उपचार गर्ने क्रममा टोली सदस्यलाई कोरोना संक्रमण पुष्टि भयो । त्यही कारण नवलपरासी पश्चिमका ७ स्थानीय तहमध्ये पाल्हिनन्दन, प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका गरी ४ वटा स्थानीय तहको आर्थिक वर्ष ०७६।७७ को लेखापरीक्षण हुन सकेन । प्रतापपुर गाउँपालिकाका लेखा शाखा प्रमुख दिनानाथ ढकाल भन्छन्, ‘हामी आउँदैछौं । सबै तयारी गर्नु भनेर खबर आएको थियो । लेखापरीक्षण सम्पन्न भएका नगरपालिकाबाट हामीले फर्मेटबारे बुझेर तयारी भएर पनि बस्यौं । तर, टोली नआएकाले लेखापरीक्षण हुनसकेन ।’

वैशाखकै पहिलो सातादेखि बर्दियामा महालेखाको दुई टोली लेखापरीक्षणमा खटियो । एउटा टोलीलाई ४ वटा स्थानीय तहको लेखापरीक्षण गर्ने जिम्मा थियो । ११ वैशाखमा लकडाउन घोषणा भयो । ‘बर्दिया पुगेको हाम्रो टोली एम्बुलेन्स चढेर काठमाडौं फर्कियो’, महालेखापरीक्षकको कार्यालयका सूचना अधिकारी निर्देशक नेत्रप्रसाद पौडेलले भने, ‘यातायात, हवाइसेवा सबै ठप्प भएको थियो । एम्बुलेन्समा भए पनि फर्कायौं ।’ जिल्लाको ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिका गरी ३ स्थानीय तहको लेखापरीक्षण भएन । ठाकुरबाबा नगरपालिकाका लेखा प्रमुख युवराज अधिकारीले भने, ‘टोली आउँदैछ भनेर खबर आयो । कोरोनाको कारण हामीसँग भेट नै नगरेर फर्कियो । अब दुई आर्थिक वर्षको लेखापरीक्षण एकैपटक हुनेछ ।’
बाँकेका ८ स्थानीय तहमध्ये ४ वटाको मात्र लेखापरीक्षण भएको छ । कोहलपुर नगरपालिका, खजुरा, जानकी र राप्ती सोनारी गाउँपालिकाको लेखा परीक्षण भएको छैन । कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसी कोरोनाका कारण अन्तिम लेखापरीक्षण सम्पन्न हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘लेखा परीक्षण नभएकै कारण नगरको कामकाज गर्न कुनै बाधा हुँदैन । त्यत्ति मात्र हो, अघिल्लो वर्षको समेत गरी दुई वर्षको लेखापरीक्षण अनिवार्य रुपमा गर्नुपर्छ । लेखापरीक्षण गर्नुको विकल्प भने हुँदैन ।’

महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदन, ०७८ मा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये अघिल्लो आर्थिक वर्षमा बक्यौता रहेका ५ स्थानीय तहसहित ६ सय ९९ वटा स्थानीय तहले आव ०७६।७७ को लेखापरीक्षण गरिएको उल्लेख छ । देशभरका लेखापरीक्षण नगर्ने स्थानीय तहको झन्डै एक चौथाइ हिस्सा लुम्बिनी प्रदेशको रहेको छ । लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन् जसमध्ये ९५ वटाले मात्र लेखापरीक्षण गरेका छन् । बाँकी १४ वटाको लेखापरीक्षण हुन सकेन (हेर्नुस तालिका) । जुन देशभर लेखापरीक्षण नगर्ने स्थानीय तहको २३.७२ प्रतिशत हिस्सा लुम्बिनी प्रदेशको हुन जान्छ । प्रदेशमा भने लेखापरीक्षण नगर्ने स्थानीय तह १२.८ प्रतिशत छन् ।
महालेखापरीक्षकको कार्यालयले आफनो ५८औं वार्षिक प्रतिवेदनमा ‘कोभिड महामारी एवं सिमित जनशक्तिका कारण यसवर्ष संघ, प्रदेश र स्थानीय तहका समेत १३३ को लेखापरीक्षणको बक्यौता रहेको’ उल्लेख गरेको छ । महालेखापरीक्षकको कार्यालयका प्रवक्ता नायव महालेखापरीक्षक महेश्वर काफ्ले आव ०७६।७७ को बक्यौता रहेपनि लेखापरीक्षण गराउनुको विकल्प नरहेको प्रष्ट पार्छन् । ‘लेखा परीक्षण हुन नसक्नु कोभिडको असर मुख्य कारण हो । कर्मचारीमा कोरोना संक्रमण भयो । लकडाउनले पनि लेखापरीक्षण प्रभावित भयो’, उनी भन्छन्, ‘बक्यौता रहेपनि लेखापरीक्षण अनिवार्य रुपमा गराउनुपर्छ ।’

लेखापरीक्षण गर्न गएको महालेखाको डोर फिल्डमै संक्रमणको शिकार भएपछि त्यही क्वारेन्टाइन र आइसोलेसनमा बसेर पनि फर्केको थियो । प्राविधिक समस्याबाहेकको अवस्थामा लगातार अटेर गरेर दुई।दुई वर्षको लेखापरीक्षण नगर्ने स्थानीय तहलाई भने महालेखाले अनुदान रोक्काको लागि मन्त्रालयमा पत्राचार पनि गरेको कार्यालयका सूचना अधिकारी निर्देशक नेत्रप्रसाद पौडेलले जानकारी दिए । ‘लेखापरीक्षण गर्ने जिम्मा महालेखापरीक्षकको कार्यालयलाई तोकिएको छ । यो तीनवटै तहका सरकारका लागि बाध्यकारी हो । स्थानीय तहले चाहेको बेलामा वा महालेखा परीक्षकको कार्यालयलाई डाकेर गर्ने होइन । महालेखापरीक्षकको कार्यालयको वार्षिक कार्यसूची अनुसार हुन्छ’, सूचना अधिकारी पौडेलले प्रष्ट पारे ।
सामान्यतः स्थानीय तहले आन्तरिक लेखापरीक्षण सम्पन्न गरेपछि महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण गर्छ । महालेखाले एउटा जिल्लामा कम्तीमा ५ सदस्यीय टोली खटाउँछ । सबै कागजातहरु तयारी अवस्थामा भेटिएको अवस्थामा एउटा स्थानीय तहमा कम्तीमा दुई तीन दिनमा लेखापरीक्षण सम्पन्न हुन्छ । पर्याप्त जनशक्तिको अभाव भएकाले पनि समयमै लेखापरीक्षण सम्पन्न गर्न ढिलाइ भएको महालेखापरीक्षकको कार्यालयले पनि स्वीकार गरेको छ ।

सामान्यतः भदौदेखि माघ महिनाभित्र लेखापरीक्षणको काम हुन्छ । यो आर्थिक वर्षमा भने भदौमा मात्र महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेश गरेकाले भदौको १८, १९ र २० गतेबाट महालेखाको डोर ३३ जिल्लाको लेखापरीक्षण गर्न खटेको छ । असोजको दोस्रो सातामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम लेखापरीक्षण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । स्थानीय तहमा जनप्रतिनिधिले कानुन विपरितको पारिश्रमिक, भत्ता, यातायात, सञ्चार र इन्धन खर्चका नाममा अर्बौं राज्यकोषको दोहन गरेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएपछि मन्त्रालयको आर्थिक प्रशासन शाखाले आव २०७७।०७८ को लेखापरीक्षण, बक्यौता लेखापरीक्षण र विगतको बेरुजुको सम्परीक्षण गर्न खटेको डोर टोलीलाई आवश्यक कागजात तथा आर्थिक विवरण राखी समयमा आर्थिक वर्ष २०७७।०७८ को आन्तरिक लेखापरीक्षण गराउनुपर्ने र सोको प्रतिवेदनसमेत संलग्न गरी अन्तिम लेखापरीक्षण गराउनुपर्ने उल्लेख गरेको छ । केही जिल्लाका स्थानीय तहले लेखापरीक्षण गर्न अटेर गरेकाले मन्त्रालयले पत्राचार गरेर सहजीकरण गरेको हो । समयमै लेखापरीक्षण गर्न सकेमा स्थानीय तह हिसाब किताब दुरुस्त राखेर सुशासन कायम गर्न मद्दत पुग्छ । ‘समयमै लेखापरीक्षण नगर्दा बेरुजु असुल गर्न अप्ठारो हुनसक्छ’, किन समयमै लेखापरीक्षण गर्ने भन्नेबारे सूचना अधिकारी पौडेलले प्रष्ट पारे, ‘कर्मचारीको सरुवा हुन्छ । यो वर्ष फागुनमा जनप्रतिनिधिको पनि कार्यकाल सकिँदैछ । समयमै लेखापरीक्षण नगर्दा सरुवा भएर जाने कर्मचारी र कार्यकाल पूरा भएका जनप्रतिनिधिबाट असुल गर्नुपर्ने बेरुजु भए जोखिममा पर्नसक्छ ।’

लुम्बिनी प्रदेशका लेखापरीक्षण नगर्ने स्थानीय तहहरु

जिल्लापालिका
बाँके  कोहलपुर नगरपालिका
 खजुरा गाउँपालिका
 जानकी गाउँपालिका
 राप्तीसोनारी गाउँपालिका
बर्दियाठाकुरबाबा नगरपालिका
 मधुवन नगरपालिका
 गेरुवा गाउँपालिका
नवलपरासी पश्चिमपाल्हिनन्दन गाउँपालिका
 प्रतापपुर गाउँपालिका
 सुस्ता गाउँपालिका
 सरावल गाउँपालिका
पाल्पारामपुर नगरपालिका
प्युठानस्वर्गद्वारी नगरपालिका
रोल्पादुईखोली गाउँपालिका
स्रोत ः महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदन, ०७८

Sharing is caring!