अहिल्लो साता अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका–९ का ७३ वर्षीय कोरोना संक्रमितको मृत्यु भयो । बुटवलबाट दाङको बेलझुन्डी अस्पताल लैजादै गर्दा ति संक्रमितको बाटोमै मृत्यु भएको हो । प्रदेश सरकारद्धारा व्यवस्थापन गरिएकोे बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि उनलाई दाङ लगिदै थियो ।
बुटवल कोरोना अस्पतालमा नवलपरासीको सुनवल नगरपालिका ४ का ७७ बर्षीय एक पुरुषको आइसियु बेडमा उपचार नपाउँदा मृत्यु भयो । उनी पनि आइसियु बेड अभावमा लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा थिए । उनलाई प्रादेशिक अस्पतालको आइसोलेसनबाट कोरोना बिशेष अस्पतालको आइसियुमा लगिदै गर्दा मृत्यु भएको थियो । कोरोना अस्पतालमा आइसियु खाली नहुदा उनि दुई दिनदेखि आइसियु पर्खिदै थिए ।
यि दुई कोरोना संक्रमितहरु आइसियु सहितको उपचार नपाएर मृत्युको उदाहरण मात्रै हुन् । यो अवस्था सर्वसाधारणका लागि मात्रै नभई स्थानीय सरकारकै कर्मचारीले पनि आइसियु बेड नपाउने अवस्था छ । गत हप्ता बुटवल उपमहानगरका एक कर्मचारीको आइसियु बेड नपाएर मृत्यु भयो । त्यसपछि बुटवल उपमहानगरपालिकाले प्रदेश सरकारलाई जनस्वास्थ्यमा थप संवेदनशील बन्न आग्रह गरिसकेको छ । उपमहानगरका कर्मचारी नायब सुब्बा नारायण ज्ञवालीको आइसियु बेड अभावका कारण मृत्यु भएपछि उसले कम्तीमा २५ आइसियु बेड थप्न भनेको हो । उपमहानगरको कार्यपालिकाको ८६ औं बैठक बसेर उक्त निर्णय गर्दै त्यसका लागि उपमहानगर समन्वय गर्न र जुनसुकै भवन पनि उपलब्ध गराउने बताएको छ ।
रुपन्देहीको बुटवल र भैरहवामा कोरोना संक्रमितले अस्पतालमा बेड पाउन छाडेको धेरै दिन मात्र होइन महिनौ भइसकेको छ । लक्षण सहितका बिरामी बढ्दै गएपछि आइसियु बेड अभाव हुँदै गएको अस्पतालका चिकित्सकहरु बताउँछन् । लुम्बिनी प्रदेश सरकारले अस्पतालको बेड क्षमता बढाउने भनेपनि बुटवल र भैरहवाको अस्पतालको क्षमता बृद्धि हुन सकेको छैन् । यसले जनताको ज्यान जोखिमा परेको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय २२ जना पुगेको छ । त्यसमध्ये ४ हजार ८ सय ८५जना संक्रिय संक्रमित छन् । प्रदेशमा १६९ जनाले ज्यान गुमाइसकेका छन् । लुम्बिनी प्रदेश सरकारले स्थापना गरेका चारवटा कोरोना बिशेष अस्पतालमा अहिलेसम्म १९७ बेड छन् । ति अस्पतालमा आइसियु बेडको संख्या ३४ छ भने मनिटरका ३३ बेड छन् । ति सबै अस्पतालमा १३ वटा भेन्टीलेटर छन् । प्रदेशभित्र अहिलेपनि २९० जना लक्षण सहितका कोरोनाका बिरामी छन् । त्यसमध्ये ४ जना आइसोलसनमा, २२४ जना आइसोलेसन अस्पतालमा र ६२ जना होम आइसोलेसनमा छन् ।
कोरोना बिशेष अस्पतालको शुरुको योजना र अहिलेको क्षमता अवस्था
कोरोना अस्पताल |
शुरुको योजना |
बेड |
आइसियु |
मेनिटर |
भेन्टीलेटर |
|
बेड |
आइसियु |
|||||
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल |
५० |
५ |
३६ |
१६ |
१६ |
५ |
भीम अस्पताल, भैरहवा |
३० |
५ |
२२ |
५ |
५ |
१ |
भेरी अस्पताल, नेपालगञ्ज |
१०० |
५ |
६४ |
८ |
८ |
२ |
बेलझुण्डी कोरोना अस्पताल, दाङ |
५० |
५ |
७५ |
५ |
५ |
५ |
जम्मा |
२३० |
२० |
१९७ |
३४ |
३४ |
१३ |
स्रोतः स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश
कोरोना संक्रमितको उपचारका लागि २० करोड रुपैयाँ विनियोजन गरेको लुम्बिनी प्रदेश सरकारले १२ वटा जिल्लामा जम्मा ७ वटा भेन्टिलेटर थपेको छ । रुपन्देहीका दुई तथा बाँके र दाङका एकएक गरी ४ वटा अस्पतालमा ३४ बेडको आइसियू संचालन गरिएको छ । लक्षणसहितका तथा गम्भिर अवस्थाका संक्रमित थपिँदै गर्दा आइसोलेसनसँगै आइसियू र भेन्टिलेटर अभाव भइरहेको छ । तर प्रदेश सरकारले आइसियू र भेन्टिलेटर थप गर्ने तर्फ कुनै तयारी गरेको छैन ।
गत चैत १० गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बुटवल, भैरहवा, दाङ र नेपालगञ्जका ४ वटा अस्पतालमा भेन्टिलेटर र आइसियूसहितको आइसोलेसन तयार गर्ने निर्णय गरेको थियो । बजेट बिनियोजन भए पनि लकडाउनलाई कारण देखाउँदै भेन्टिलेटर खरिद गरिएको छैन । गम्भिर अवस्थाका कोरोना संक्रमित थपिँदै जाँदा समेत आइसियू र भेन्टिलेटर खरिद गर्नेतर्फ अस्पताल र सरकारले कामको गति बढाएको छैन् । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बुटवलमा रहेको कोरोना बिशेष अस्पतालको क्षमता बढाउनका लागि बजेट पठाइसकेको जानकारी दिए । उनले लुम्बिनी प्रादेशिक अस्पताललाई २ करोड १८ लाख बजेट असोजको १५ गतेतिर निकासा दिइएको र काम पनि शुरु भइरहेको बताए । उनका अनुसार बुटवल कोरोना बिशेष अस्पतालमा ३० बेडको हाइ डिपेडेनसी यूनिट र ५० बेडको अक्सिजन पाइपलाइनयुक्त आइसोलेसन बेड बनाइदैछ ।
नीजि अस्पतालहरुको उपचार खर्चको बिषयमा केन्द्र सरकारले प्रत्यक्ष हेरेको हुँदा त्यसबिषयमा बिरामीको रेकर्डको अवस्था मात्रै आफुहरुलाई जानकारी हुने डा. पौडेलले जनाए । तर बिरामीलाई बेड उपलब्ध गराउनका लागि भने प्रदेश सरकारले समन्वय गर्न सक्ने अवस्था रहेको उनको भनाई छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले कोरोना संक्रमणपछि सरकारले चारवटा अस्पतालमा १२ वटा भेन्टिलेटरसहित ३४ बेडको आइसियू संचालन गरेको बताए । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ५ बेटा भेन्टिलेटरमध्ये ४ वटा मात्रै प्रयोगमा छ । जनशक्ति नहुँदा १ वटा भेन्टिलेटर संचालन हुन सकेको छैन् ।
भैरहवास्थित भिम अस्पतालमा पनि एउटा भेन्टिलेटर सहित ५ बेडको आइसियू र २२ बेडको आइसोलेसन मात्रै संचालनमा छ । बुटवलको कोरोना अस्पतालमा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाको साथै प्यूठान र पूर्वी नवलपरासीका गम्भिर संक्रमित उपचारको लागि आउने रुपन्देहीमा प्रदेश सरकारले एउटा मात्रै भेन्टिलेटर उपलब्ध गराएको छ । यसले बिरामीले उपचार पाउन सकिरहेका त छैनन् नै उपचारमा संलग्न चिकित्सकलाई पनि बिरामी उपचारको व्यवस्थापनमा सकस पर्ने गरेको छ ।
लुम्बिनी प्रदेशमा गम्भिर अवस्थाका संक्रमितको चाप बढ्दै गएपनि प्रदेशका अस्पतालमा पूर्वाधार र उपकरण थपिएका छैनन् । रुपन्देहीमा भेन्टिलेटर अभाव भएपछि बाहिरका जिल्लामा लैजाँदै गर्दा संक्रमितहरुको बाटोमै मृत्यु हुने गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमका अनुसार बुटवलमा बनाइएको आइसियूमा हालसम्म करिब २ सय ८ जना कोरोना संक्रमितले उपचार सेवा लिइसकेका छन् । तीमध्ये १५ जना अहिले पनि उपचाररत छन् भने ५९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २६ भन्दा बढीको भेन्टिलेटरमा उपचार गरिएको छ । तीमध्ये पनि दुईजना निको भएर घर फर्किएको गौतमले जानकारी दिए ।
बाँकेमा रहेका आइसोलेसनले कोरोना संक्रमितको संख्या थेग्न नसकिने अवस्था सिर्जना भएको छ । भेरी अस्पताल नेपालगन्ज मेडिकल कलेजका आइसोलेसन भरिभराउको अवस्था छ । ठूलो संख्यामा संक्रमित थपिदै जाने हो भने थेग्न मुस्किल पर्ने निश्चित छ । अझ कोरोना संक्रमण पछि जटिल बिरामीको उपचारका लागि पश्चिमका जिल्लाबाट रेफर गरेर बिरामी पठाइने भएकाले यहाँ आइसोलेसन बेड तत्काल थप्नुपर्ने देखिन्छ । आईसियु, मोनिटर र भेन्टिलेटर समेत थप्न चासो नदिने हो भने अवस्था भयावह हुने निश्चित छ ।
बाँकेमा कोरोना संक्रमित भएर उपचारत २३ जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा उपचाररत कोरोना संक्रमित २३ जनाको अवस्था गम्भीर रहेकोछ । जिल्लामा गम्भीर अवस्थामा रहेका कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत १६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ सहित २३ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जिल्लामा गम्भीर बिरामीमध्ये एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको हाल उपचार भईरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले तत्काललाई बाँकेमा थप ७५ बेडको आवश्यक रहेको बताए । उनले त्यसका लागि सहयोगको अपील गरेका छन् भने सहयोग जुट्ने क्रममा रहेको बताए । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारको लागि २० करोड रुपैयाँ विनियोजन गरेको भए पनि पर्याप्त आइसियू र भेन्टिलेटर नहुँदा गम्भिर अवस्थाका कोरोना संक्रमितलाई आइसोलेसनमै उपचार गर्न बाध्य भएको चिकित्सकहरु बताउँछन् ।
बुटवल कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले थप आइसोलेसनका लागि पनि स्रोत साधनको अभाव भइरहेको बताए । त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले अस्पतालमा बिरामीको चाप भएको बताए । दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा ५६ आइसोलेसन बेड, २४ मोनिटर र ५ आइसियु बेडहरु रहेका छन् । अहिले आइसियुमा २ जना र आइसोलेसन बेडमा ८ जना उपचाररत रहेको अस्पतालको व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।
नीजि अस्पतालमा बेड छन बिरामी छैनन्
लुम्बिनी प्रदेश भित्रका नीजि अस्पतालको भौतिक अवस्था देखाइएपनि बेड संख्याका आधारमा बिरामीको संख्या भने देखिदैन । नेपालगन्ज मेडिकल कलेजमा ४२ जना आइसोलेसनमा, १६ जना आइसियुमा र १ जना जना भेन्टिलेटरमा छन् । युनिभर्सल मेडिकल कलेज, भैरहवामा आइसोलेसनमा १२ र आइसियुमा ७ जना, देवदह मेडिकल कलेज, रुपन्देहीमा आइसोलेसनमा ९ जना, क्रिमसन अस्पताल, रुपन्देहीमा आइसोलेसनमा २ जना, युनाइटेड अस्पताल, पाल्पामा आइसोलेसनमा ३ जना र लुम्बिनी मेडिकल कलेज, पाल्पामा आइसोलेसनमा २१ गरी ८९ जना छन् । त्यसैगरी ति नीजी ६ अस्पतालमा आइसियुमा २३ जना र भेन्टिलेटरमा १ जना बिरामी उपचाररत छन् । जबकी ति अस्पतालमा ४०३ वटा आइसोलेसन बेड, ४६ वटा आइसियु बेड, ४६ वटा मोनिटर बेड र ११ वटा भेन्टिलेटरको क्षमता देखाइएको छ ।
अर्कोतिर कोरोना बिशेष अस्पतालको रुपमा जिल्लाभित्रै संचालित सरकारी र नीजि अस्पतालबीच समन्वय नभएको पाइएको छ । रुपन्देहीकै नीजि अस्पतालमा आइसियु बेड अभाव रहदा पनि रुपन्देहीकै सरकारी अस्पतालबाट बिरामी पठाउने गरिएको छैन् । गत हप्ता बुटवलका दुइ अस्पतालमा आइसियु नपाएर दुई जना कोरोना संक्रमितको मृत्यु भयो । एक जना लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनबाट धागो कारखानामा रहेको आइसियुमा खाली भएपछि सार्ने क्रममा भने अर्को बुटवलबाट दाङको कोरोना अस्पतालमा लैजादै गर्दा । तर बुटवलबाट भैरहवामा रहेको यूनिभर्सल मेडिकल कलेजको अस्पतालमा १० बेडको आइसियु क्षमता रहेकोमा ७ जना मात्रै आइसियुमा उपचारत रहेको देखिन्थ्यो ।
नीजि अस्पतालको भौतिक क्षमताको अवस्था
क्र.स. | अस्पतालको नाम | बेड | आइसियु | मोनिटर | भेन्टिलेटर |
१ | नेपालगन्ज मेडिकल कलेज, कोहलपुर | ५५ | १५ | १५ | २ |
२ | युनिभर्सल मेडिकल कलेज, भैरहवा | १६० | १० | १० | ४ |
३ | देवदह मेडिकल कलेज, रुपन्देही | ७ | ५ | ५ | २ |
४ | क्रिमसन अस्पताल, रुपन्देही | ५ | ५ | ५ | १ |
५ | युनाइटेड अस्पताल, पाल्पा | १२ | ० | ० | ० |
६ | लुम्बिनी मेडिकल कलेज, पाल्पा | १६० | ५ | ५ | २ |
७ | चौराहा हस्पिटल | ४ | ६ | ६ | १ |
जम्मा | ४०३ | ४६ | ४६ | १२ |
मन्त्री संयोजक भएकै अस्पतालको हाल बेहाल
प्रदेशका चार ठाउँमा प्रदेश सरकारले चार वटा सरकारी अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा विकास गरी कोरोना संक्रमितको उपचार गर्ने योजना बनायो । ति चार अस्पतालको व्यवस्थापनको लागि चार मन्त्रीलाई तोकेरै संयोजकको जिम्मेवारी दिइएको छ । तर पनि ति अस्पतालको क्षमता बृद्धि हुन सकेको छैन् । लुम्विनी प्रदेश सरकारले बुटवलको कोरोना बिशेष अस्पतालको संयोजकको रुपमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीलाई, भैरहवाको भीम अस्पतालमा सामाजिक विकास मन्त्री सुदर्शन बराललाई, बाँकेको भेरी अस्पतालको भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई तोकिएको छ । तर ति अस्पतालकै क्षमता बृद्धि हुन सकेको छैन् ।
प्रदेश सरकारकै शुरुको योजनालाई हेर्ने हो भने उक्त योजना चार कोरोना अस्पतालमध्ये तीन वटा अस्पतालमा अहिलेसम्म पूरा भएको देखिदैन । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल र भेरी अस्पतालमा लक्ष्य भन्दा अहिलेसम्मको काम कम देखिन्छ भने दाङको बेलझुण्डी कोरोना अस्पतालमा लक्ष्य भन्दा बढी काम भएको देखिन्छ । दाङको बेलझुण्डी अस्पतालका लागि आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई संयोजक तोकिएको छ । तर दाङको बेलझुण्डीमा भन्दा बाँकेको भेरी अस्पताल र रुपन्देहीको लुम्बिनी र भीम अस्पतालमा बिरामीको चाप बढी छ ।