कोरोनामा लुम्बिनी प्रदेश

हिमाल गैरे २०७८ जेष्ठ नेपालगन्ज

लुम्बिनी प्रदेशमा कोभिडका कारण सबैभन्दा बढी मृत्युदर गुल्मीमा ४.४१ प्रतिशत रहेको देखिन्छ भने सबैभन्दा कम चाहिं रुकुमपुर्वमा रहेको छ । रुकुमपुर्वमा अहिलेसम्म कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन ।

कोरोनाका कारण लुम्बिनी प्रदेशमा २.०३ प्रतिशत मृत्युदर रहेको छ । लुम्बिनी प्रदेशका कोभिड फोकल पर्सन कौशल भण्डारीका अनुसार निको हुने दर चाहिं ८३.४२ प्रतिशत रहेको छ । नेपालमा कोभिडको निको हुने दर ८९.२ प्रतिशत र मृत्युदर २.१ प्रतिशत रहेकोमा लुम्बिनीमा त्यसको तुलनामा निको हुने दरमा केही कमी देखिएको हो ।

प्रदेशको आकाडालाई जिल्लागत हिसावले विश्लेषण गर्दा सबैभन्दा बढी मृत्युदर गुल्मीमा ४.४१ प्रतिशत रहेको देखिन्छ । सबैभन्दा कम चाहिं रुकुमपुर्वमा रहेको छ । रुकुमपुर्वमा अहिलेसम्म कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन । त्यसैगरी सबैभन्दा बढी निको हुने दर प्युठानमा ९४.८६ प्रतिशत रहेको पाइन्छ । फोकल पर्सन भण्डारीका अनुसार गत वर्षको तुलनामा यस वर्षको मृत्युदर अत्याधिक बढेको हो । २०७७ बैशाख मसान्तसम्म शुन्य मृत्यु रहेको लुम्बिनी प्रदेशमा २०७८ बैशाखमा मात्रै ६ सय १४ को कोभिडका कारण ज्यान गयो । त्यसैगरी जेठ १५ सम्मको हेर्ने हो भने थप २ सय २७ को मृत्यु भएको छ । गत वर्ष जेठमा जम्मा ७ जनाको कोभिडका कारण ज्यान भएको थियो ।

लुम्बिनी प्रदेश मात्रै नभई मुलुककै सबैभन्दा बढी प्रभावित क्षेत्रको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकामा १ सय ४० जनाले ज्यान गुमाएका छन् । नेपालगन्जमा अहिले पनि ५ सय १३ सक्रिय संक्रमित छन् भने बाँके जिल्लाभरी १ हजार ८४ सक्रिय संक्रमित रहेका छन् । शुरुमा अवस्था विकराल भएपनि नेपालगन्जको अहिलेको अवस्था ‘अन्डर कन्ट्रोल’मा रहेको नगरप्रमुख डा. धवल राणाको दावी छ । ‘सबैको सहयोगले हामीले आइसोलेसन केन्द्रहरु बनाएर अहिले सेवा प्रभावकारी बनाएका छौं’, राणाले भने ।

उमेरका हिसावले विश्लेषण गर्दा मृत्यु हुनेमा ८ सय ४४ अर्थात ६२ प्रतिशत १६ देखि ५९ वर्ष उमेरका रहेका छन् भने ५ सय ९ उमेरले ६० वर्ष माथिका रहेका छन् । जम्मा २ जना बालबालिका रहेको छ । त्यसैगरी मृत्यु हुनेमा ६६ प्रतिशत पुरुष रहेका छन् ।

विगत १५ दिनदेखिको कोभिड १९ का कारण मृत्यु हुनेहरुको अवस्था विश्लेषण गर्दा क्रमिक रुपमा ओरालो लागेको देखिन्छ । गत बैशाख २५ मा १७ जनाको कोभिड १९ का कारण मृत्यु हुँदा बैशाख २९ मा एकै दिन ५५ पुगेकोमा जेठ १० गते आइपुग्दा त्यो संख्या १४ मा झरेको छ ।

गत वर्ष जेठ मसान्तसम्म ५८ मृतक संख्या रहेकोमा यो वर्ष बैशाख ३० देखि जेठ १५ गतेसम्म ४ सय ७४ को ज्यान गइसकेको छ भने १५ हजार २ सय ६३ जना निको भएका छन् । भेरी अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डे हाल संक्रमण दरमा कमी आएपनि स्वास्थ्यकर्मी एंव आवश्यक जनशक्तिको व्यवस्थापनमा राज्यले थप जोड दिनुपर्ने बताउँछन् ।

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले प्रदेश सरकार कोभिडको रोकथाम तथा प्रतिकार्यमा अनवरत लागिरहेको बताए । ‘हामी कोभिड प्रतिकार्यका सन्दर्भमा विभिन्न संस्थागत आइसोलेशन, क्वारेन्टाइन र स्थानिय तहलाई आर्थिक, भौतिक र प्राविधीक सहयोगमा कुनै कसर राखेका छैनौं’, डा.पौडेलले भने । ४ सरकारी अस्पतालमा पीसीआर ल्याब संचालनमा ल्याएको र प्रदेशका कोभिड अस्पतालको स्तरोन्नत्ती गरेको उनको भनाई छ ।

बर्दिया जिल्लाको सबैभन्दा प्रभावित स्थानिय तहका रुपमा रहेको बढैयाताल गाँउपालिका प्रमुख लाल बहादुर श्रेष्ठले लकडाउन ढिला गरेकै कारण परिस्थिती विग्रीएको बताउँछन् । श्रेष्ठका अनुसार २२ जनाको मृत्यु भैसकेको गाँउपालिकामा सबैको परिक्षण गर्न सकिएको छैन । ‘शुरुमा नै भारत वा विदेशबाट आएका व्यक्तिहरुलाई पहिलो चरणमा जसरी क्वारेन्टाईनमा राख्न नसक्दै उनै व्यक्तिबाट संक्रमण थप फैलियो । यो नै हाम्रो कमजोरी भयो’, उनले भने, ‘तर, हामीले अक्सिजनसहितको आइसोलेसनको व्यवस्था भने गरिसकेका छौं ।’

केन्द्रले ठूला अस्पताललाई र प्रदेशले जिल्ला अस्पताललाई सहयोग गर्नु जायज भएपनि पालिकामा जाने सशर्त बजेटलाई कोभिड रोकथाम र प्रतिकार्यका निम्ती रकमान्तर गर्न समयमा नै अख्तियारी दिएमा प्रभावकारी हुने उनको सुझाव छ । अन्तिम पटक जेठ १० गतेका दिन १० दिनका लागि निषेधाज्ञा थपिएपछि क्रमिक रुपमा संक्रमित पहिचानमा कमी आएको प्रमुख श्रेष्ठले बताए ।

गुल्मी सत्यवति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविश्वर रेग्मीले प्रदेश सरकारबाट महसुस हुने गरी सहयोग प्राप्त नभएको गुनासो गरे । ‘यो एक्कासी आएको बाढी जस्तो भयो । सामाजिक क्रियाकलाप, जमघटलाई बेलैमा रोक्न पाएको भए यस्तो विकराल अवस्था आउने थिएन’, रेग्मीले भने ।

पाल्पा जिल्लाको रिब्दीकोट २ का वडा अध्यक्ष रामचन्द्र नेपालले २० वटा वेडसहितको स्वास्थ्यचौकीबाट कोरोना प्रभावितलाई सेवा प्रवाह गरेको बताए । तर, अघिल्लो वर्षको झैं व्यवस्थित गर्न नसकिएको नेपालले स्वीकारे । डा पौडेलको भनाईमा खुल्ला सीमाक्षेत्रको आगमनलाई थप व्यवस्थीत गर्न सकिएको भए क्षति कम हुने थियो ।

त्रिवेणी गाँउपालिका, रोल्पाका प्रमुख प्रशासकिय अधिकृत निम बहादुर केसी भारतमा अवस्था भयावह हुँदै गरेको एंव जनस्वास्थ्य विज्ञहरुले नेपालमा समेत यसको जोखिम हुन सक्न्े भनी सचेत गराएको समय पुर्वतयारीमा लाग्न नसक्नुले नै अवस्था विकराल बन्न पुगेको बताउँछन् ।

यता, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी चाहिं जिल्ला अस्पतालस्तरबाट समेत गरी १३ स्थानमा कोरोना परीक्षण भएकाले औषतमा परिक्षण दर बढी भएको र त्यसैका कारण अन्य प्रदेशको तुलनामा बढी संख्या देखिएको दावी गरे । शुरुमा अक्सिजनको अभावले केही असजिलो भएपनि कर्मचारी समायोजनका क्रममा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट र फिजिसियन केन्द्रमा जाँदा विशेषज्ञ चिकित्सकको अभाव खड्किएको हो । ‘यसको सम्बोधन संघीय सरकारबाट गर्न आवश्यक छ’, गिरीले भने ।

रेखाचित्र स्रोतः स्वास्थ्य निर्देशनालय, बुटवल

Sharing is caring!