कोरोनाले दैनिक जनजीवनमा संकट ल्याएपछि स्थानीय सरकारले श्रम बैंक स्थापनादेखी घर घरमै अत्यावश्यक सामाग्री पुर्याउने काम मात्रै गरेका छैनन्, राहत स्वरुप स्थानीय उत्पादन वितरण गर्नुका साथै दुरशिक्षाको कार्यक्रमलाई समेत प्रभावकारी बनाउन थालेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिले जनताको गाँसको समस्या समाधान गर्नका लागि श्रम बैंक स्थापना गरेको छ । ७ हजार ६ सय ७९ जनतालाई राहत सामग्री बाँडेको उपमहानगरले राहत बाँड्ने काम दिगो हुने नदेखेपछि श्रम बैंकको अवधारणा ल्याएको हो जसअनुसार जनतालाई कामसँगै श्रमको ज्याला दिनेछ । उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेका अनुसार यो अवधारणाले उपमहानगरको विकासमा टेवा पुग्नुका साथै श्रमबाट बञ्चित भएका र रोजगारी गुमेकाले काम पनि पाउनेछन् ।
यो अवधारणा अनुसार उपमहानगरले काम अगाडी बढाएपछि पहिले राहत बाँड्नका लागि लिएको तथ्यांकमा कमी आएको छ । वडा नं. १, १२ र १९ मा श्रम बैक अनुसार काम शुरु हुँदा तथ्याङक फरक देखिएको हो । वडा न. १ मा १९१ जनालाई राहत बाँडिएकोमा अहिले श्रम बैकमा १२ जनाले काम गरिरहेका छन् भने वडा नंं १२ मा ६६ जनाले राहत बुझेकोमा श्रम बैंकमा ८ जना मात्रै जोडिएका छन् । त्यस्तै वडा नं. १९ मा १८५ जनाले राहत बुझेकोमा अहिले श्रम बैंक अन्र्तगत राहत लिनेको संख्या १५ जना मात्रै छ । काम गर्नेलाई सरकारी दररेट दैनिक ५२५ रुपियाँ तोकिएको छ । महिला पुरुष दुबैलाई एउटै दररेट छ भने घरमा खर्च नहुनेका लागि अग्रीम ज्याला समेत दिने गरिएको सूचना अधिकारी बाबुराम न्यापानेले बताए । यसअघि उपमहानगरले राहत प्याकेजको रुपमा ३० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नून र २ पिस साबुन वितरण गरेको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने लकडाउनका कारण खाद्यन्न संकट भोगेका परिवारलाई राहत दिन भनी ‘खाद्य बैंक’ स्थापना गरेको छ । यस अवधारणाअनुसार सहयोगी जोकसैले स्वेच्छिक रूपमा खाद्य सामग्री जम्मा गर्न सक्ने नगरपालिकाले जनाएको छ । खाद्य बैंकमा दाताहरुले चामल, दाल, नुन, तेल संकलन गर्न सक्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । खाद्य बैंकको प्रधान कार्यालय नगरपालिकाको कार्यालयमा रहेको छ भने शाखा कार्यालयको रुपमा वडा कार्यालयहरुलाई तोकिएको छ । खाद्य सहयोग कार्यक्रममा सहभागिता जनाउन चाहनेहरुले आ—आफ्नो वडा वा नगरपालिका कार्यालयमा खाद्यान्न सहयोग गर्न सक्नेछन् ।
राहत कोषमा सहयोग गर्न चाहने कुनै व्यक्तिसँग नगद रकम नहुने तर जिन्सी खाद्यबस्तु हुनसक्ने भएकोले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंकको अवधारणा ल्याइएको नगर उपप्रमुख एवं खाद्य व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले बताइन् । खाद्य बैंकमा संकलन भएको खाद्यबस्तु आवश्यकता र औचित्यको आधारमा टोल विकास संस्थामार्फत् खाद्य अभाव भएका परिवारलाई वितरण गरिनेछ । सरकारले लिएको राहत वितरणका लागि एकद्वार नीतिमा नगरबासीका साथै सहयोगी सबैलाई सामेल गराउन यो अवधारणाले सहयोग पु¥याउने नगर प्रमुख घिमिरेको भनाइ छ । खाद्य बैंकको अवधारणाले चामल पर्याप्त मात्रामा संकलन हुने नगरपालिकाको अपेक्षा छ । तिलोत्तमाका अधिकांश स्थायी बासिन्दाले आफूलाई वर्षभरी चाहिने चामल अग्रिम जोहो गरेको नगरपालिकाको अनुमान छ । यहाँ झण्डै ६० प्रतिशत जग्गामा खेती हुने गर्दछ । न्यून आय भएका परिवार र मजदुरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापनाले टेवा पु¥याउने नगरपालिकाको विश्वास छ । नगरपालिकाले नगद संकलनका लागि भने यसअघि नैं छुट्टै बैंक खाता खोलेको थियो ।
घर घरमै अत्यावश्यक सामाग्री
घोराही उपमहानगरपालिकाले लकडाउनलाई प्रभावकारी बनाई कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन दाङ जिल्ला उद्योग वाणिज्य संघसँगको सहकार्यमा अत्यावश्यक सामग्री घरघरमा पु¥याउन सुरु गरेको झण्डै एक महिना पुगिसकेको छ । अत्यावश्यक सामग्री खरिदको बाहानामा बजार क्षेत्रमा भिडभाड देखिन थालेपछि घोराही उपमहानगरपालिकाले नगरबासीको घरटोलमै सामग्री उपलब्ध गराउन थालेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । ‘घरमै अत्यावश्यक सामाग्री पाएकोले घर बाहिर ननिस्किदा लकडाउन पूर्ण रुपमा सफल भएको छ’, नगरप्रमुख चौधरीले भने । लकडाउनको छैटौं दिनसम्म विहान ७ बजेदेखी ९ वजेसम्म पसलहरु खुल्दा भिडभाड बढि हुन थालेपछि पसलहरु सातामा ३ दिन खुलाउने र प्रत्येक दिन निश्चित सवारी साधनले घरघरै सामग्री पु¥याउने काम सुरु गरेको हो । उपमहानगरपालिकाले बजार क्षेत्रभित्र पर्ने उपमहानगरपालिकाका वडा नम्वर १४, १५ र १० का घरघरमा अत्यावश्यक सामग्री पु¥याउने निर्णय गरेको थियो भने गत चैत २३ गतेदेखी प्रत्येक वडामा समेत पु¥याउन थालेको हो ।
अण्डा र मासु, फलफुल, तरकारी, खाद्यान्न, नुन, तेल, मसलाका छुट्टाछुट्टै गाडीहरु गाँउ तथा बजारका टोलटोलमा पुग्ने गरेका छन् । जुन गाडीमा जुन किसिमको सामान हुन्छ त्यसकै मुल्यसहितको माईकिङ गर्दै गाडी सडकमा गुड्छ । घर अगाडी अत्यावश्यक बस्तुको खरीद गर्न पाएपछि स्थानीयहरु बजारमा निस्कन छाडेका छन् । त्यस्तै तरकारी, मासु र दुग्धजन्य पदार्थ होम डेलीभरी गर्नका लागी किसानसँग नै खरीद गर्ने गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले जानकारी दिए । ‘किसानले दुख गरेर उत्पादन गरेको बस्तुको बजारीकरण र लकडाउनको पालना गरी घरघरमा तरकारी पु¥याउँदा नागरिकमा खुशी ल्याउन सफल भएका छौ’, भुषालले भने । दाङका किसानले उत्पादन गरेका बस्तुको बजारीकरणका लागी भने किसानले सम्पर्क गर्नुपर्ने उनको भनाई छ । यदी कसैले धेरै मात्रामा उत्पादन गरेको छ र त्यसको बजारीकरण गर्नुपर्ने छ भने दाङ जिल्ला उद्योग बाणिज्य संघको सम्पर्कमा आए किसानलाई नै होम डेलीभरी सेवा सञ्चालनका लागी अनुमती दिन सकिने उनले बताए ।
तुलसीपुर उपमहानगरपालिकाले भने लकडाउनको अवधिमा पालिकाभित्रका दीर्घरोगीहरुलाई घरमै औषधि पु¥याउने गरेको छ । तुलसीपुर उपमहानगरपालीकाभित्रका दीर्घ रोगको औषधि खाईरहेका २ हजार २ सय ३३ जना विरामीहरुलाई घरमै औषधि पु¥याउन सुरु गरेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्यशाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए । जसमा मुटुजन्य रोगका १ हजार १ सय ६८ जना, मधुमेहका ४ सय ३९ जना, दमजन्यमा ४ सय ५१ जना र अन्य १ सय ७५ जना दीर्घरोगी रहेका छन् । ‘नेपाल सरकारले निशुल्क वितरण गर्ने भनेका औषधि निशुल्क घरमै पु¥याउने र अन्य औषधि मेडिकलहरुले स्वास्थ्यशाखाको समन्वयमा घरमै पु¥याईदिने व्यवस्था गरिएको हो’, केसीले भने ।
राहतमा स्थानीय उत्पादन
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले लकडानले मर्कामा परेका विपन्न परिवारलाई स्थानीय स्तरमा उत्पादित खाद्यवस्तु राहत दिने भएको छ । वडा कार्यालयमार्फत मकै, जौ, कोदो लगायतका स्थानीय उत्पादनको लगत लिई संकलन गरेको गाउँपालिकाले जनाएको छ । स्थानीय उत्पादनको मौज्जाद के कति छ भनेर घरघरमै पुगेर तथ्यांक संकलन भइरहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बुढा क्षेत्रीले जानकारी दिए ।
चामल ल्याउनका लागि ढुवानीमा समस्या हुने र स्थानीय उत्पादनले बजार नपाएकाले मकै, गहुँ, जौं, कोदो किनेर राहत वितरण गरिने उनको भनाई छ । स्थानीय खाद्यान्न स्वस्थकर र पोषणयुक्त हुने भएकोले स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको पनि बुढाले बताए । अहिले नै राहत वितरण गर्नुपर्ने अवस्था नरहेको भएपनि वडागत रुपमा राहत दिनुपर्ने अवस्थाका घरपरिवार हुनसक्ने भए त्यसको लागि तयारी गरिएको उनको भनाई छ ।
रोल्पा नगरपालिकाले किसानले स्थानीय स्तरमा उत्पादन गरेका तरकारीजन्य बस्तुहरु कुहिन नदिन बाहिरी जिल्ला तथा भारतवाट आउने तरकारी बन्द गरेको छ । रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले स्थानीय किसानका तरकारी खेतवारीमै कुहिने र वाहिरी जिल्लाका तरकारीले बजार पाएको देखेपछि अहिले आयात बन्द गरिएको बताए । पालिकाभित्रका किसानले उत्पादन गरेका तरकारी बजारक्षेत्रमा ल्याउनका लागी सवारीसाधनको व्यवस्था गरी बजारमा ल्याउन सुरु गरेको पनि नगरपालिकाले जनाएको छ । रोल्पा नगरपालीकाको ७ नं वडाका माडिचौर, रेउघाँ र मुलपानी क्षेत्र तरकारीको पकेट क्षेत्रको रुपमा चिनिन्छ । अहिले त्यहाँ उत्पादन भएको तरकारी लिवाङ भित्रन सुरु भएको रोल्पा नगरपालीकाका मेयर केसीले जानकारी दिए ।
लकडाउनमा कुन स्थानीय तहले के गरे
क्र.स. | स्थानीय तह | अभ्यास |
१ | तुलसीपुर उपमहानगरपालिका, दाङ | श्रम बैंक संचालन÷घरघरमै औषधी |
२ | तिलोत्तमा नगरपालिका, रुपन्देही | खाद्यान्न बैंक संचालन |
३ | घोराही नगरपालिका, दाङ | खाद्यान्नको घुम्ती पसल |
४ | पुथा उत्तरगंगा गाउँपालिका, पूर्वी रुकुम | राहतमा मकै, जौ, गहुँ कोदो जस्ता स्थानीय उत्पादन |
५ | रोल्पा नगरपालिका, रोल्पा | भारतीय तरकारी आयातमा रोक |
६ | तानसेन नगरपालिका, पाल्पा | एसईई रेडियो पाठशाला |
७ | ठाकुरबाबा नगरपालिका, बर्दिया | एफ एमबाट एसईई तयारी कक्षा |
दुरशिक्षा पाठशालाको अभ्यास
तानसेन नगरपालिकाले एसईईका विद्यार्थीलाई लक्षित गरि रेडियो कार्यक्रम एसईइ पाठशाला शुरु गरेको छ । एसईई परीक्षा अनिश्चित भएपछि नगरपालिकाले स्थानीय सामुदायिक रेडियो मदनपोखरासँगको सहकार्यमा कार्यक्रम शुरु गरेको हो । दूरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशाला हरेक दिन विहान सवा १० बजेदेखि ३ बजेसम्म प्रसारण हुने नगरपालिकाका शिक्षा प्रमुख रेशमलाल न्यौपानेले बताए । त्यसका लागि सामुदायिक रेडियो मदनपोखरा र तानसेन नगरपालिकाले सहकार्य गरेका हुन् । एसइई दिने तयारीमा रहेका बिद्यार्थीका लागि यो कार्यक्रम फलदायी हुने तानसेन नगरपालिकाका नगर प्रमुख अशोक शाहीले बताए । स्थानीय शिक्षकहरु रेडियो स्टेशनमा आउँनेछन् र अग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन र कम्प्यूटर बिषय रेडियोबाट बोलेरै सिकाउनेछन् । एक विषयको कक्षा सकिएपछि अर्को कक्षाको बीचमा १० मिनेट जति पढाई हुँदैन । त्यो बेला विद्यार्थीहरु फ्रेस हुन सक्नेछन् । रेडियोले शिक्षकसँग टेलिफोन र फेसबुकमार्फत् पनि प्रश्न सोध्न सकिने व्यवस्था मिलाएको छ ।
सामुदायिक रेडियो मदनपोखरा एफएम १०६ थोप्लो ९ मेगाहर्जबाट चैत्र २५ गतेदेखि हरेक दिन विहान सवा १० बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ५ वटा कक्षा सञ्चालन गरिरहेको छ ।
शिक्षकका लागि रेडियोको स्टेशनबाट भिडियोको माध्यमबाट बैठकका साथै सहजीकरण कार्यक्रम समेत सकिएको स्टेशन म्यानेजर अर्यालले बताए । त्यसैगरी रेडियोले आफ्ना छोराछोरीलाई रेडियोमार्फत् पढ्ने अवसर मिलाइदिनका लागि पनि अभिभावकहरुसँग आग्रह गरेको छ । रेडियो सेट नजिकै बसेर पढ्न मिल्छ, नबुझेका प्रश्न शिक्षकसँग सोध्न मिल्ने व्यवस्था गरिएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले पनि स्थानिय रेडियो टाइगरको ९९.२ मेघाहर्जबाट दिनको ११ देखि १२ बजेसम्म एसईइ तयारी कक्षा शुरु गरिसकेको छ । एसईइ लक्षित रेडियो कार्यक्रम दैनिक रुपमा १ घण्टाको रहने नगरपालिकाका शिक्षा प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत रामहरि रिजालले जानकारी दिए । रेडियोबाट ठाकुरबाबा एसईइ प्रिपिरेशन २०७६ नाम दिइ संचालन गरिएको कार्यक्रम फेसबुक पेजमा पनि विद्यार्थीले हेर्न सक्न्ेछन् । यो कार्यक्रम चैत्र २३ गतेदेखि शुरु भएको हो । शिक्षा प्रमुख रिजालका अनुसार रेडियोमा ५ बिषयलाई लक्षित गरि १०÷१० पूणांक गरी ५० पूर्णाकको पढाई र प्रश्नोत्तर हुने गर्दछ । प्रश्नहरु टिपाएपछि अघिल्लो दिन दिएको प्रश्नको उत्तर रेडियोबाट प्रसारण गर्ने गरिन्छ । उक्त उत्तरहरु फेसबुक पेजमा पनि राखिने रिजालले बताए । विद्यार्थीहरुले प्रश्नको उत्तर रेडियोमा सुनेर चेकजाँच वा फेसबुक पेजमा हेरेर पनि चेक गर्न सक्छन् । त्यसैगरी फेसबुक पेजमा पनि प्रश्न र गृहकार्य पठाउन सक्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले प्रत्येक विद्यालयमा माध्यमिक तहको शिक्षक संख्या र एसईई दिने विद्यार्थी संख्याको अनुपात मिलाएर विद्यार्थीको फ्लोअपको जिम्मेवारी बाडिदिएको छ । रेडियोबाट प्रसारित कार्यक्रम अनुसार विद्यार्थीको घरको अध्ययन प्रक्रिया मिलेको छ वा छैन र अध्ययनमा परेको अप्ठ्यारोलाई ती शिक्षकहरुलाई सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । त्यस्तै नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयका बिषयगत शिक्षकलाई पालोगरी एक घण्टाको रेडियो कार्यक्रम बनाउने जिम्मेवारी पनि दिइएको छ । एक घण्टाको कार्यक्रम बनाउँदा सामुदायिक र संस्थागतका १÷१ शिक्षक सहभागी हुने गर्दछन् । नगरपालिकाभित्र ६ वटा सामुदायिक र ८ वटा संस्थागत विद्यालय छन् । ठाकुरबाबा नगरपालिकाबाट ६ सय ४७ विद्यार्थीले एसईइका लागि परिक्षा फारम भरेका छन् ।