घोषणापत्र नयाँ, नीति कार्यक्रम विगतकै हुवहुँ

लक्ष्मण पोखरेल २०८० जेठ बुटवल

निर्वाचनमा नयाँ कार्यक्रम घोषणा गर्दै दलहरू घरदैलोमा पुग्ने गरेपनि स्थानीय तहको नेतृत्वमा पुगेपछि गर्ने कामको शैली भने पुरानै छ । जनप्रतिनिधि परिवर्तन हुँदा नीति तथा कार्यक्रममा पनि बदलाव आउनुपर्ने हो तर अभ्यासमा त्यस्तो देखिदैन ।

संघीय सरकारले सरकारको नीति तथा कार्यक्रमका साथै आगामी आर्थिक वर्षको लागि बजेट ल्याएसकेको अवस्थामा प्रादेशिक र स्थानीय सरकारहरू नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेका छन् । संघीय सरकारले नयाँ कार्यक्रम ल्याउन नसकेको चर्चा भइरहेको बेला प्रदेश र स्थानीय सरकारको नीति तथा कार्यक्रमका साथै बजेटमा चासो हुनु स्वभाविक नै हो । तर, विगतको अभ्यास हेर्ने हो भने स्थानीय सरकारले ल्याएका नीति तथा कार्यक्रमहरू अघिल्लो सरकारकै हुवहुँ किसिमका देखिएका छन् ।

निर्वाचनमा नयाँ कार्यक्रम घोषणा गर्दै दलहरू घरदैलोमा पुग्ने गरेपनि स्थानीय तहको नेतृत्वमा पुगेपछि गर्ने कामको शैली भने पुरानै छ । जनप्रतिनिधि परिवर्तन हुँदा नीति तथा कार्यक्रममा पनि बदलाव आउनुपर्ने हो तर अभ्यासमा त्यस्तो देखिदैन । बरु, पुरानै नीति तथा कार्यक्रम हुवहु राखेर नीति तथा कार्यक्रम र बजेट आउँदा सर्वसाधारणको अपेक्षा त पुरा हुँदैन नै, सरकारी कार्यशैलीप्रति निराश हुने गरेका छन् । स्थानीय सरकारका कार्यक्रममा नविन सोच देखिदैन, परम्परा धान्ने हिसाबले कर्मकाण्डी कार्यक्रम ल्याएको देखिन्छ ।

स्थानीय सरकारले आफ्नो गाउँ ठाउँको आवश्यकता र सामथ्र्यको आधारमा नीति तथा कार्यक्रम नल्याउँदा समस्या देखिएको हो । जस्तो, रुपन्देहीको सियारी गाउँपालिकामा कृषिमार्फत जीविकोपार्जन गर्ने जनसंख्या धेरै छ । अघिल्लो कार्यकालमा नेकपा एमालेका अयोध्या थारु नेतृत्वको सरकारले ल्याएको अधिकांश कार्यक्रमलाई अहिलेको कांग्रेसबाट निर्वाचित थानेश्वर घिमिरे नेतृत्वको स्थानीय सरकारले निरन्तरता दिएको छ । निरन्तरता मात्रै होइन, अधिकांश कार्यक्रम हुबहुँ किसिमका छन् ।

स्थानीय जातका गाई, भैसी, बाख्रा, बंगुरको वंश सुधार गरी अधिकत्तम उत्पादनका लागि निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा नआएपनि हरेक वर्ष प्राथमिकताका साथ राखिने गरेको छ । कृषक परिचयपत्र वितरण गर्ने कार्यक्रमले पनि निरन्तरता पाएको छ । गाउँपालिकाका सूचना अधिकारी रोमलाल पुरीका अनुसार कृषक परिचय पत्र वितरण अहिलेसम्म भएकै छैन । ‘तथ्यांक संकलनको काम भइरहेको छ’, उनले भने । चिस्यान केन्द्र निर्माण कार्यक्रम, प्राङगारिक मलको उत्पादनमा जोड दिई गुईठा विस्थापन कार्यक्रमका लागि बैकल्पिक उर्जाको व्यवस्था मिलाइने जस्ता नारा समेत हुवहु रुपमा राखिएका छन्

तालिका १ : सियारी गाउँपालिकाको दुई आर्थिक वर्षमा हुवहु कार्यक्रमहरू
  आव ०७८/७९ का कार्यक्रमआव ०७९/८० का कार्यक्रम
स्थानीय जातका गाई, भैंसी, बाख्रा, बंगुरको वंश सुधार गरी अधिकत्म उत्पादनका लागि निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम गर्ने ।गाई, भैंसी र बाख्रामा नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्ने ।
कृषकहरूको तथ्यांक संकलन गरी मापदण्डका आधारमा किसानलाई कृषक परिचयपत्र वितरण गर्ने ।कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाई कृषिमा आश्रित जनताको जीवनस्तर सुधार गर्न युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषकहरूको तथ्यांक संकलन गरी मापदण्डको आधारमा कृषि परिचय पत्र वितरण गर्ने ।
तरकारी तथा फलफूलको संरक्षणको लागि कृषकको सहभागितामा नेपाल सरकार, प्रदेश सरकार समेतको सहयोगमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरिनेछ ।कृषकको सहभागितामा नेपाल सरकार, प्रदेश सरकार समेतको सहयोग र समन्वयमा तरकारी तथा फलफूलको संरक्षणको लागि शितभण्डार (कोल्डस्टेर) निर्माण गरिनेछ ।
शिक्षक दरबन्दी मिलान, कक्षा कोठामा ह्वाइटबोर्ड तथा इन्टरनेट पहुँच बिस्तार कार्यक्रम ।सबै सामुदायिक विद्यालयमा ह्वाइट बोर्ड राखिनेछ । विद्यालयलाई रंगरोगन गरिनेछ ।
सियारीमा १५ शैंयाको अस्पताल निर्माण गरी स्वास्थ्य सेवाको पहुँच बिस्तार गरिनेछ ।सियारी गाउपालिकाको वडा नम्बर ४ मा १५ शैयाको अस्पताल निर्माणमा आवश्यक बजेट विनियोजन गरी समयमै सम्पन्न गरिनेछ ।
स्वास्थ्यका लागि खेदकुद, योग, व्यायममा जोड दिइनेछ ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यताका साथ खेलकुदमार्फत सियारीको पहिचान बढाउन खेलकुदको विकास गरिनेछ ।
सियारी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक परेमा ब्लड बैंकबाट निःशुल्क रगत उपलब्ध गराइनेछ ।सियारी गाउँपालिकाभित्रका नागरिकलाई ब्लड आवश्यक परेमा सरल र सहज तारिकाले निशुल्क रुपमा ब्लड बैंकबाट उपलब्ध गराइनेछ ।
बुटवलमा पनि धेरै कार्यक्रमको निरन्तरता

बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा मन्तव्य समेत करिब हुवहुँ किसिमको छ । बुटवलमा यसअघि एमालेबाट निर्वाचित शिवराज सुवेदी मेयर हुँदा जे जस्ता कार्यक्रम ल्याइएको थियो अहिले नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयर हुँदा पनि त्यस्तै कार्यक्रमले निरन्तरता पाएका छन् । पाण्डेयले प्रस्तुत गरेको पहिलो नीति तथा कार्यक्रममा अधिकांश अघिल्लै आर्थिक वर्षको नीतिहरूलाई राखिएको छ ।

तालिका २ : बुटवलका हुवहु नीति तथा कार्यक्रम
अहिले  पहिले
प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिने नीति अवलम्बन गरिनेछ ।प्राविधिक तथा व्यवसायिक शिक्षालाई सर्वसुलभ एवं जीवनोपयोगी बनाउन स्नातक तहमा थप शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयसँग सहकार्य गरिनेछ ।
सबै विद्यालयलाई प्रविधिमैंत्री बनाउन जोड दिइनेछ ।शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ । विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याबको व्यवस्था गरिनेछ ।
वेसहारा आश्रयहिन अविभावकविहिन सडक आश्रित मानवहरूलाई व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिइने छ ।मानवताको शहर, बुटवल उपमहानगर बनाउने लक्ष्यका साथ सञ्चालित अभियानलाई निरन्तरता दिइनेछ ।
बेरोजगारी न्यून गर्ने, स्वरोजगारिता बृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्ने कार्यका लागि विभिन्न संघसंस्था दातृ निकायसंग समन्वय सहकार्य गर्ने नीति अनुरुप गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गरिनेछ । बेरोजगारी न्यून गर्नका लागि स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्ने कार्यका लागि विभिन्न संघसंस्था दातृनिकायसंग समन्वय सहकार्य गर्ने नीति लिइनेछ ।
श्रम बैंक र श्रम डेक्स सञ्चालन गरी श्रमिकहरूलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनेछ । रोजगार मेला सञ्चालन गरिनेछ ।श्रम बैंक र श्रम डेक्स सञ्चालन गरी श्रमिकहरूलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनेछ ।
उत्पादक सहकारीको बजारीकरणमा सहयोग र बहुउद्देश्यीय सहकारीहरूलाई प्रोत्साहन गरिनेछ ।सहकारी बजारीकरणलाई प्रवद्र्धन गर्ने नीति लिइनेछ ।
युवा बेरोजगारी समस्यालाई न्यून गर्न, विदेश पलायन हुनबाट रोक्न र स्वदेशमै काम गर्ने वातावरण सृजना गर्दै युवा वर्गलाई कृषि, पशुपालन क्षेत्रमा आकर्षित गरिनेछ ।युवा वर्गलाई कृषि, पशुपालन क्षेत्रमा आकर्षित गरि युवा बेरोजगारी समस्यालाई न्यून, विदेश पलायन हुनबाट रोक्न र स्वदेशमै काम गर्ने वातावरण सृजना गरिनेछ ।
प्रकोप व्यवस्थापन कोषलाई थप मजबुद बनाइनेछ ।प्रकोप व्यवस्थापन कोषलाई थप मजबुद बनाइनेछ ।
किसानलाई उत्पादनमा आधारित अनुदान दिने नीति लिइनेछ ।  उत्पादनका आधारमा अनुदान दिई किसानलाई व्यवासयिकतामा जोड दिन प्रेरित गरिनेछ ।
भूमि आयोगसंगको सहकार्य र समन्वयमा भुमिहिन, दलित, अव्यवस्थित तथा सुकुम्वासीसंग सम्बन्धित समस्या समाधान गर्न आवश्यक पहल गरिनेछ ।भुमिहिन, दलित, अव्यवस्थित तथा सुकुम्वासीसंग सम्बन्धित समस्या समाधान गर्न भूमि आयोगसंगको सहकार्य र समन्वयमा आवश्यक पहल गरिनेछ ।

अति जटिल र संवेदनशिल रोगहरू मुटु, मृगौला, क्यान्सर, अटिजम, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूलाई औषधी उपचार खर्चमा तोकिए बमोजिम अनुदान दिने नीति गत वर्षको हुवहु हो । गुणस्तरीय शिक्षामा समतामुलक अवसर सिर्जना गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सिकाई उपलब्धीलाई मापनयोग्य बनाउँदै लैजाने नीति गएको आर्थिक वर्षमा समेत समावेश छ ।

सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने, बेरोजगारी न्यून गर्ने, स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्ने कार्यका लागि विभिन्न संघसंस्था दातृ निकायसंग समन्वय सहकार्य गर्ने नीति अनुरुप गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने, श्रम बैक र श्रम डेक्स सञ्चालन गरी श्रमिकहरूलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, रोजगार मेला सञ्चालन गर्ने जस्ता कार्यक्रम हुवहु राखिएको छ ।

बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले पार्टी फरक भए पनि विगतमा अनुभवलाई आधार गर्दै नीति कार्यक्रम ल्याइएको बताए । ‘हिजोको नेतृत्वका राम्रा कामहरूलाई निरन्तरता दिनुपर्छ, फरक नेतृत्व आउँदैमा सबै कार्यक्रम हटाउनुपर्छ भन्ने हुदैन । हामीले पनि त्यसै गरेका छौं’, उनले भने, ‘आगामी वर्ष अध्ययन गरेर नयाँ नीति बन्नेछन् ।’ स्वास्थ्य, शिक्षा, सामाजिक विकासमा नयाँ तथा पूराना नीति कार्यक्रम कार्यान्वयन भइरहेको उनले बताए । बुटवल उपमहानगरले स्वास्थ्य, शिक्षासहितका अधिकांश कार्यक्रमलाई जस्ताको तस्तै निरन्तरता दिएको छ ।

तालिका ३ : बुटवल उपमहानगरका नयाँ कार्यक्रम
क्र.सं.नीति कार्यक्रम
समानता, अवसर र स्वाभिमान स्वस्थ्य बटुवलवासीको पहिचानको नारालाई कार्यान्वयनमा लिइनेछ ।
बुटवल उपमहानगरभित्रका स्थायी बासिन्दाहरूलाई सेमलार स्वास्थ्यचौकी, आम्दा अस्पताल र प्रादेशिक अस्पतालमा प्रसुती भई २ सन्तानसम्म बच्चा जन्माउने आमाहरूका लागि पोषण खर्च उपलब्ध गराइनेछ ।
क्षयरोगमुक्त बुटवल अभियान सञ्चालन गरी समुदायमा रहेका विरामीहरूको खोजी गरी उपचार गरिनेछ ।
वालविकास शिक्षक र विद्यालय कर्मचारीहरूका लागि नेपाल सरकारले तोकेबमोजिमको न्यूनतम सुविधा उपलब्ध गराइनेछ ।
विद्यालय परिसरलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलग गर्ने तथा दुबो लगाई हरियाली बनाइनेछ ।
बुटवलमा लर्निङ सेन्टरको स्थापना गरी युवा विकासका लागि आवश्यक तालिमको व्यवस्था मिलाइनेछ ।
बुटवलमा रहेका खेलमैदानलाई वर्गीकरण गरी स्तरोन्नती गरिनेछ ।
  बुटवल १६ डहरगाउँस्थित खेलमैदानमा राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिनेछ ।
बुटवलको चिनारी झल्किने नगर गीत र बुटवलको मायाको चिनोलाई स्थापित गरिनेछ ।
१०परम्परागत पेशा, सीप र व्यवसायलाई प्रोत्साहित गरिनेछ ।
११नगरभित्रका मुख्य नाला तथा खोल्सीहरूको सरसफाई गर्ने नीति लिइनेछ ।
तिलोत्तमामा ०७५/७६ कै निरन्तरता

तिलोत्तमा नगरपालिकामा कतिपय कार्यक्रम आर्थिक वर्ष २०७५/७६ कै हुवहुँ छन् । तत्कालीन नगरप्रमुख बासुदेव घिमिरेले ल्याएको दोस्रो नीति कार्यक्रम अहिलका प्रमुख रामकृष्ण खाणले पनि हुबहँु प्रस्तुत गरेका हुन् । ‘स्वस्थ नगरबासीः स्वस्थ नगर’ नारासहितको कार्यक्रम पहिलो पटक २०७५/७६ मा नीति तथा कार्यक्रममा समावेश भएको छ । यो कार्यक्रम चालु आर्थिक वर्षमा समेत हुवहुँ राखिएको छ । तत्कालिन एमाले नेतृत्वको जनप्रतिनिधिले ल्याएको कार्यक्रमले कांग्रेस नेतृत्वमा समेत निरन्तरता पाएको छ ।

सामुदायिक र संस्थागत विद्यालयबीच कायम रहेको अन्तर र त्यसले समाजमा निम्त्याएको विषमतालाई नियमन गरिने कार्यक्रम पनि चालु आर्थिक वर्षमा राखिएको छ । सामुहिक सहकारी खेती प्रणालीलाई नमुनाको रुपमा विकास गर्नका लागि अनुदानको व्यवस्था गर्ने कार्यक्रम २०७५/७६ देखि निरन्तर रहदै आएको छ । ‘एक घर एक धारा’ कार्यक्रम पनि निरन्तर नीति तथा कार्यक्रममा राखिएको छ । राजनीतिक नेतृत्व परिवर्तन भएपनि दीर्घकालीन नीतिलाई भने फेरिएको छैन । यद्यपी, यी कार्यक्रम ५ वर्षसम्म पनि पूरा गर्न भने नगरपालिकाले सकेको छैन । नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले महत्वपूर्ण कार्यक्रमहरूलाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताइन् । ‘चलिरहेका कार्यक्रमहरू हटाउन मिल्दैन, नीतिहरू फेरिरहने होइन’, उनले भनिन् ।

तालिका ४ : तिलोत्तमा नगरपालिकाको आव ०७९/०८० को नीति कार्यक्रम
क्र.सं.नीति कार्यक्रम
विषादीमुक्त खानपान, तिलोत्तमाको पहिचान नारासहित अर्गानिक उत्पादनमा प्रोत्साहन ।
गर्भवती पोषणमा सुधार ल्याउन गर्भवतीसंग उपमेयर कार्यक्रम, सुत्केरीलाई १ हजार भत्ता ।
आर्थिक रुपमा विपन्न नागरिकको उपचारका लागि नगरप्रमुख विपन्न नागरिक सहायता कोष स्थापना गरिनेछ ।
नगर प्रमुख छात्रवृत्ति कोष ।
छात्राहरूलाई सेनेटरी प्याड निशुल्क र दिवा खाजा कार्यक्रममा रु १० थपि २५ बनाइएको ।
दुध, अण्डा र मासुमा आत्मनिर्भर नगर निर्माण ।
नगरप्रमुख किसान कार्यक्रम ।
परदेशको ज्ञान, तिलोत्तमाको माटोमा योगदान नारासहित विदेशबाट फर्किएकालाई कृषिमा प्रोत्साहन ।
नगरस्तरीय युवा परिषद् बनाई स्वरोजगार कार्यक्रम ।
१०नगरस्तरीय कोशेली घर ।
११विभेदमुक्त नगरः समतायुक्त नगर ।
१२युवा तथा महिलासंग उपमेयर कार्यक्रम ।
१३एक वडा एक जेष्ठ नागरिक विश्रामस्थल ।
१४मुख्य सडकलाई ५ वर्षभित्र दुई लेनको सडकमा स्तरोन्नती, सहायकलाई कालोपत्रे ।
१५जन्मदिनमा बृक्षारोपण कार्यक्रमसहित हरेक वर्ष २५ हजार विरुवा रोपिने ।
१६पुँजीगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौताः जेष्ठ मसान्तभित्र भुक्तानी कार्यक्रम ।

Sharing is caring!