घोषणा पत्रमा फेरिएको विकास

महेश न्यौपाने २०७९, वैशाख रोल्पा

विकास भनेकै डाँडाकाडा भत्काउनु हो भन्ने वुझेका उनीहरूले यस पटकको घोषणा पत्रमा त्यो क्षेत्रलाई प्राथमिकतामा पारेको देखिएन ।

नेकपा माओवादी केन्द्र भूमे गाउँपालिकाले स्थानीय तह निर्वाचनका लागि १४ पृष्ठ लामो प्रतिवद्धता पत्र सार्वजनिक गर्‍यो। सार्वजनिक प्रतिवद्धता पत्रमा उसले पाँच वर्षमा गरिने कामको फेहरिस्त उल्लेख गरेको छ ।

प्रतिवद्धता पत्रमा उसले सुशासन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । साझा सम्वृद्धिका लागि सुशासन, विकास र गुणस्तरीय सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको छ । उसले भ्रष्टचारविरुद्ध शुन्य सहनशिलता राखिने उल्लेख गरेको छ । दलित अपाङ्गता र सीमान्तकृत समुदायका सेवाग्राहीको सहज सेवा प्रवाहका लागि छुट्टै सहायता कक्षा स्थापना गर्ने उल्लेख छ । शिक्षालाई दोश्रो प्राथमिकतामा राखेको उसले नगरस्तरीय क्याम्पसलाई बहुमुखी तथा आंगिक वनाउने उल्लेख गरेको छ । घोषणा पत्रमा हरेक वडामा सामुदायिक पुस्तकालय स्थापना गर्ने उल्लेख छ ।

७० वर्ष नाघेको जेष्ठ नागरिक, असक्त एवम अपाङ्गता भएकाहरूलाई मासिक रुपमा घरदैलोमा पुगी स्वास्थ्य परीक्षण र आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराउने उल्लेख छ । चिकित्सा शिक्षा अध्ययनका लागि गाउँपालिकाभित्रका विद्यार्थीलाई ऋण तथा अनुदान उपलव्ध गराउने भएको छ । उनीहरूले अध्ययनपश्चात निश्चित अवधी गाउँपालिकामा सेवा गर्नुपर्ने उल्लेख गरिएको छ । उसले एक वडा एक नमूना विद्यालयको कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको श्रोत परिचालन गरिने घोषणा पत्रमा उल्लेख छ । उसले सडक सञ्जाललाई कम महत्व दिएको घोषणापत्रबाट बुझ्न सकिन्छ । यसअघि निर्माण गरिएका सडकलाई स्तरोन्नती गर्ने घोषणा पत्रमा लेखिएको छ ।

नेपाली काँग्रेस रोल्पा नगरपालिकाले कानूनको शासनलाई पहिलो प्राथमिकतामा राखेर घोषणा पत्र जारी गरेको छ । उसले विकास र सम्वृिद्धको पहिलो शर्त कानूनको शासन भनेको छ । आवश्यकता र औचित्यतताको आधारमा नगर विकास गुरुयोजना निर्माण गरी त्यसैका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, खानेपानी, ढल निकास, उर्जा विकास, सञ्चार, पर्यावरण लगायतका क्षेत्रमा कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने भनेको छ ।

उसले दोश्रो प्राथमिकतामा शिक्षालाई राखेको छ । नेपाली काँग्रेस रोल्पा नगरपालिकाले शैक्षिक संस्थाको पुनरसंरचना र वर्गीकरण गरी विद्यालय शिक्षादेखी नै शोधमा आधारित सिकाई प्रणाली लागु गर्ने कार्यक्रम अघि सारेको छ । जसका लागी उसले नगरपालिकामा अनुसन्धान विभागको स्थापना गर्ने भनेको छ । स्थापना गरिने विभागले स्थानीय तहका विभिन्न मुद्धाको वैज्ञानिक अनुसन्धान गरी सोही अनुसारको योजना र कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने भनेको छ ।
उसले स्वास्थ्य सेवालाई तेश्रो प्राथमिकतामा राखेको देखिएको छ । उसको घोषणा पत्रमा रोल्पा अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालको रुपमा निरन्तरता दिदै रेफरल अस्पतालको रुपमा विकास गर्ने भनेको छ । नगरभित्रका स्वास्थ्य केन्द्रहरुको गुणस्तर सुधार गरी चौविसै घण्टा सेवा दिने उल्लेख गरेको छ ।

नेपाली कांग्रेस रोल्पा नगरपालिकाले चूनावी घोषणा पत्रमा स्थानीय श्रोतमा आधारित आर्थिक प्रणालीको विकास गर्ने भनेको छ । सामाजिक सुरक्षा, भ्रष्टाचार नियन्त्रण र सुशासन नगरभित्रका सडकहरूको गुणस्तर सुधारका लागि एक विशेष कार्यदल निर्माण गर्ने भनेको छ । कार्यदलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग सहकार्य गरि विज्ञ ईन्जिनियरको नेतृत्वमा एक विशेष कार्यदल गठन गरी नगरभित्रका योजनाको अनुगमन, प्रोत्साहन र कारवाहीको सिफारिस गर्ने भनेको छ ।

नेकपा माओवादी केन्द्र रोल्पाले आफ्नै पार्टीको नेतृत्वमा यसअघि वनेको स्थानीय सरकारले उल्लेख्य काम गरेको मूल्यांकन छ । उसले गाउँगाउँमा सिंहदरबारको नारा औचित्य पुष्टी भएको वताएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र आर्थिक विकासको आधार तयार रहेको बताउँदै यसैको जगमा टेकेर अघि वढ्ने उल्लेख छ ।

उसले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ । नगर रिङरोड, वडा वडाका मूल र सहायक सडकको स्तरोन्नती, केही रणनैतिक सडक कालोपत्रे र नगरपालिकाको केन्द्रबाट वडा कार्यालयसम्म पुग्ने सबै सडकलाई बाह्रै महिना गाडी चल्ने गरि ग्राभेल सडकको रुपमा विकास गर्ने भनेको छ ।

सो पार्टीको दोश्रो प्राथमिकतामा पुल परेको छ । स्वास्थ्यलाई तेश्रो प्राथमिकतामा राखेको उसले सहिद परिवारलाई निशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम अघि सारेको छ । शिक्षालाई चौथो प्राथमिकतामा राखेको माओवादी केन्द्रले शैक्षिक हवको योजनालाई निरन्तरता दिने भनेको छ । नगरपालिकाभित्र स्नातक तहको ईन्जिनियरिङ कलेजको स्थापना गर्ने भनेको छ । उसले खानेपानी, कृषि, सञ्चार लगायतका १६ विषय समेटेर प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

पर्यटनको नाममा ६ करोडभन्दा वढी रकम खर्चेर अग्लो डाँडामा भ्यूटावर बनाएको भन्दै आलोचना खेपेको नगरको हालको नेतृत्वको योजनालाई पछ्याउदै माओवादी केन्द्र रोल्पा नगरपालिकाले पर्यटन शीर्षकमा जनयुद्ध स्मृती टावर, रक गार्डेन, गुरुङ गाउँ गुरिल्ला ट्रेल, गुरुङ गाउँ सामुदायिक होमस्टे तथा डर्कवाङ जलासयलाई प्रोत्साहन गर्ने उल्लेख छ ।

आफ्नो घोषणा पत्रबारे जानकारी दिदै त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उमेदवार कर्णवहादुर वाँठामगरले सम्वृद्धिको लागि स्वरोजगारीलाई जोड दिएको बताए । ‘पूर्वाधारका आधारभूत काम भईसकेकाले यसपटक रोजगारीलाई मुख्य प्राथमिकतामा राखेका छौं’, वाँठामगरले भने । स्वरोजगारीका लागि गाउँपालिकाले विकासे कार्यकर्ता परिचालन गरी किसानलाई फिल्डमै गएर सहयोग गर्नेछन् । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक वनाउने काम हुन्छ अध्यक्षका उमेदवार वाँठामगरले भने । ‘यसअघि शिक्षामा गरिएको सुधारका कामलाई निरन्तरता दिदै शैक्षिक विकासलाई थप लगानी गर्छौ’, घोषणा पत्रको दोश्रो प्राथमिकतामा शिक्षालाई राखेको बताउदै वाँठामगरले भने, ‘सडक सुधार गर्नेबाहेक यसका लागि थप लगानी हुदैन ।’

राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन घोषणा पत्रमा भ्यूटावर, प्रवेशद्धार, शहीद स्मारक र सडकलाई प्राथमिकतामा राखेका थिए । सोही अनुसार रोल्पा नगरपालिकाले ६ करोडभन्दा वढी बजेट खर्च गरेर जनयुद्ध टावर स्थापना गरेपछि निकै विवादित भएको थियो । सामाजिक आर्थिक रुपान्तरणका मुद्धा छोडेर रोल्पामा मात्रै ५ वर्षभित्र ३ वटा भ्यूटावर निर्माण गरिएको थियो । दर्जनौ प्रवेशद्धार र शहीद स्मारकमा वजेट खर्चिएका उनीहरूले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन घोषणा पत्रमा त्यस्ता कुरालाई प्राथमिकताको सूचीबाट हटाएका छन् । यस पटकको निर्वाचन घोषणा पत्रमा भने उनीहरूले सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य तथा आर्थिक विकासलाई प्राथमिकताको विषय वनाएका छन् ।

‘भ्यूटावर, प्रवेदशद्धार जस्ता विषय घोषणा पत्रमा समावेश नगर्ने पार्टी निर्देशन छ’, नेपाली काँग्रेस रोल्पाका सचिव शेरवहादुर थापाले भने, ‘पुरा गर्न सकिने कुरा मात्रै घोषणा पत्रमा समावेश भएका छन् । जनतालाई अनावश्यक सपना देखाउँदा नैराश्यता वढ्छ ।’ स्थानीय सरकारको श्रोतलाई आधार मानेर घोषणा पत्र जारी गरिएको रोल्पा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार समेत रहेका थापाले भने ।

स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरूले जारी गरेका घोषणापत्रले शिक्षा स्वास्थ्यमा रुपान्तरण आउने अपेक्षा गर्न सकिने सरोकारवालाहरूको भनाई छ । विकास भनेकै डाँडाकाडा भत्काउनु हो भन्ने वुझेका उनीहरूले यस पटकको घोषणा पत्रमा त्यो क्षेत्रलाई प्राथमिकतामा पारेको देखिएन सामाजिक विकास स्थानीय सरकारको प्राथमिकता पर्नु निकै सकारात्मक भएको महिला अगुवाहरुको भनाई छ । विकास नै सडक हो भन्ने मान्यताबाट उनीहरू विस्तारै परिवर्तन हुदै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने अवस्थामा आइपुगेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन् ।

रोल्पामा १ नगरपालिका सहित १० र रुकुम पूर्वमा ३ स्थानीय तह छन् । रोल्पालाई मध्य पहाडी र रुकुमलाई हिमाली जिल्ला मानिएपनि दुवै जिल्लाको विकासका मुद्धा मिल्दाजुल्दा छन् । दश वर्ष लामो सशस्त्र द्वन्द्वबाट अत्यधिक प्रभावित यी जिल्लामा अघिल्लो निर्वाचनमा १३ मध्ये १० स्थानीय तह नेकपा माओवादी केन्द्र, २ स्थानीय तह नेकपा एमाले र १ स्थानीय तह नेपाली काँग्रेसले जितेको थियो । रुकुम पूर्वका ३ र रोल्पाका ७ स्थानीय तह माओवादी केन्द्रले र रोल्पाका २ नेकपा एमाले र रोल्पाकै एक स्थानीय तह नेपाली काँग्रेसले जितेको थियो ।

Sharing is caring!