दाङमा काँग्रेस र एमालेको आलोपालो ‘राज’

दीपक बोहरा २०७९, असार दाङ

२०४९ सालको स्थानीय निकायको निर्वाचनमा ४१ निकायमध्ये तत्कालिन तुलसीपुर र त्रिभुवन (हाल घोराही) नगरपालिकासहित ३६ स्थानीय तहमा नेपाली काँग्रेसले जित हात पा¥यो जतिबेला एमाले र राप्रपाले २/२ तथा जनमोर्चाले एउटा स्थानीय निकाय जितेका थिए ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा भने त्यो नतिजा उल्टियो । त्यतिबेला ४१ स्थानीय निकायमध्ये तुलसीपुर र त्रिभुवन (घोराही) नगरपालिकासहित ३१ मा एमालेले जित निकाल्यो । कांग्रेस ६ वटा स्थानीय निकायमा खुम्चियो भने स्वतन्त्रले २ र राप्रपाले २ वटा स्थानीय निकायमा जित निकाले ।

देश संघीयतामा गएसंगै दाङमा १० वटा स्थानीय तहमात्रै भए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दाङमा एमाले हावी भयो । घोराही र तुलसीपुर उपमहानगरपालिकासहित ६ स्थानीय तहमा एमालेले जित निकाल्यो । लमही नगरपालिका, गढवा, बबई र दंगीशरण गाउँपालिकामा एमालेले जितेको थियो । अन्य स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबै पदमा विजयी भएपनि दंगीशरण र लमहीमा चाहिं प्रमुख मात्रै जितेको थियो । अहिले २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले घोराही र तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ भने राप्ती गाउँपालिकाको उपप्रमुख जितेको छ ।

यता काँग्रेसले २०७४ को स्थानीय तह निर्वाचनमा शान्तिनगर, राप्ती र राजपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो भने लमही नगरपालिका र दंगीशरण गाउँपालिकामा उपप्रमुख मात्रै जित्न सफल भएको थियो । माओवादी केन्द्रले भने बंगलाचुली गाउँपालिकामा प्रमुख र उपप्रमुख जित्न सफल भएको थियो ।

अहिले २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा प्रमुख मात्रै जितेको छ । त्योबाहेक अन्य सबैमा काँग्रेसले जित निकालेको छ । यो निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा काँग्रेसले जित निकालेको छ ।

तुलसीपुर र घोराहीमा ०५४ यता एमालेकै राज

तुलसीपुरमा २०४९ सालमा काँग्रेस हावी थियो । तर, २०५४ यता एमाले हावी बन्दै गएको छ । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन तुलसीपुर नगरपालिकामा काँग्रेसका शंकर प्रसाद आचार्य मेयर थिए भने काँग्रेसकै प्रदीपबहादुर शाह उपमेयर थिए । त्यतिबेलाका फुलवारी, टरिगाउँ, उरहरी, पवननगर, हलवार, विजौरी, डुरुवार मानपुर गाविसहरू गाँभिएर तुलसीपुर उपमहानगरपालिका बनेको हो । ०४९ सालमा नगरपालिकासहित गाविसमा काँग्रेसबाट प्रमुख र उपप्रमुखमा विजेता बनेका थिए ।

२०५४ मा भने नतिजा उल्टिएको थियो । तत्कालिन तुलसीपुर नगरपालिकाको मेयरमा ढुण्डीराज लामिछाने र उपमेयरमा घनश्याम पाण्डे निर्वाचित भए । फुलवारी, टरिगाउँ, उरहरी, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविसहरुमा पनि एमालेले नै जित्यो ।
देश संघीयतामा गएसंगै २०७४ सालमा तत्कालिन नगरपालिका तथा फुलवारी, टरिगाउँ, उरहरी, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस गाँभिएर उपमहानगरपालिका बनेको थियो । त्यतिबेला एमालेले नै जित हात पारेको थियो । तत्कालिन अवस्थामा एमालेका घनश्याम पाण्डे मेयर भएका थिए भने उपमेयरमा माया आचार्यले विजयी हासिल गरेकी थिइन् । पाण्डे २०५४ सालमा २३ बर्षमै उपमेयर बनेका थिए । अहिले २०७९ मा पनि तुलसीपुर उपमहानगरपालिकामा एमालेले नै मेयर र उपमेयर जित्न सफल भएको छ । मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी निर्वाचित भएकी छिन् ।

घोराहीमा पनि २०४९ को निर्वाचनमा काँग्रेस हावी भएको थियो भने २०५४ यता एमाले हावी हुँदै आएको छ । घोराही (तत्कालिन त्रिभुवन नगरपालिका) मा २०४९ सालमा मेयरमा काँग्रेसका यज्ञबहादुर बुढाथोकीले जितेका थिए भने उपमेयरमा अर्जुन कुमार श्रेष्ठले जितेका थिए । त्यस्तै हाल घोराही उपमहानगरपालिकामै गाँभिएका हापुर, लक्ष्मीपुर, रामपुर, धर्ना, नारायणपुर, ढिकपुर, सौडियार पनि काँग्रेसले नै जितेको थियो भने सैघामा एमालेले जितेको थियो ।

२०५४ सालमा घोराही (तत्कालिन त्रिभुवन नगरपालिका) मा एमालेले कब्जा जमायो । मेयरमा एमालेका अमरबहादुर डाँगी र उपमेयरमा दामोदर शर्मा अधिकारी विजयी भएका थिए । त्यस्तै धर्नामा काँग्रेसले जितेको थियो भने हापुर, लक्ष्मीपुर, रामपुर, सैघा, नारायणपुर, ढिकपुर, सौडियारमा एमालेले जितेको थियो ।

देश संघीयतामा गएपछि घोराहीमा घोराही (त्रिभुवन नगरपालिका) सहित हापुर, लक्ष्मीपुर, रामपुर, धर्ना, नारायणपुर, ढिकपुर, सौडियार मिसाएर घोराही उपमहानगरपालिका बनाईएको थियो । त्यो उपमहानगरपालिकामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका नरुलाल चौधरी मेयरमा निर्वाचित भएका थिए भने उपमेयरमा सिता सिग्देल न्यौपाने विजयी भएकी थिईन् ।

हाल २०७९ सालमा भएको निर्वाचनमा पुनः नरुलाल चौधरी विजयी भएका छन् भने उपप्रमुखमा हुमा डीसी विजयी भएकी छिन् । मेयर चौधरी २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पनि रामपुर गाविसको अध्यक्ष थिए ।

लमही नगरपालिकामा कहिले एमाले कहिले काँग्रेस

सतबरिया, सोनपुर, चैलाही र हाँसिपुर मिलेर लमही नगरपालिका बनेको हो । २०४९ सालको स्थानीय निर्वाचनमा एमालेले हाँसिपुर गाविसमा जितेको थियो । त्योबाहेक अन्य तीनवटा गाविसमा काँग्रेसले जितेको थियो । २०५४ सालमा सतबरियामा काँग्रेसले जितेको थियो भने सोनपुर र चैलाहीमा एमालेले जितेको थियो । २०७४ सालमा लमही नगरपालिकाको प्रमुखमा एमालेले जितेको थियो भने उपप्रमुखमा काँग्रेसले जितेको थियो । २०७९ सालमा भने दुबैमा काँग्रेसले जितेको छ ।

दंगीशरणमा काँग्रेस–एमाले आलोपालो

संघीयता पछि गोल्टाकुरी, हेकुली र श्रीगाउँ गाविस मिलाएर दंगीशरण गाउँपालिका बनाईएको हो । २०४९ सालमा यी तीन वटै गाविस काँग्रेसले जितेको थियो । २०५४ सालमा फेरी यी गोल्टाकुरी स्वतन्त्रले जित्न सफल भएको थियो, भने अन्य दुई गाविस एमालेले जितेको थियो । २०७४ सालमा दंगीशरण गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसले जितेको थियो । अहिले २०७९ मा भने दुबै पदमा काँग्रेसले जित्न सफल भएको छ ।

शान्तिनगरमा काँग्रेसकै गढ

धनौरी, शान्तिनगर र बाघमारे मिलेर शान्तिनगर गाउँपालिका बनेको हो । २०४९ सालमा शान्तिनगरमा यी तीनवटै गाविसमा काँग्रेसले जितेको थियो । २०५४ सालमा शान्तिनगर र बाघमारेमा काँग्रेसले नै जित्न सफल भएको थियो भने धनौरीमा एमालेले जितेको थियो । संघीयतापछि २०७४ सालमा भएको निर्वाचनमा शान्तिनगरमा काँग्रेसले नै जितेको थियो भने २०७९ सालमा भएको निर्वाचनमा पनि काँग्रेसले नै जितेको छ ।

बबईमा ०४९ मा फर्कियो काँग्रेस

पुरन्धारा र पञ्चकुले गाविस मिलेर बबई गाउँपालिका बनेको हो । २०४९ सालमा यी दुबै गाविसमा काँग्रेसले जितेको थियो । २०५४ सालमा भने त्यो नतिजा उल्टिएको थियो । त्यतिबेलाको निर्वाचनमा दुबै गाविस एमालेले जितेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा एमालेले जितेको थियो । तर, २०७९ मा त्यो नतिजा उल्टियो । त्यहाँ काँग्रेसले जित्न सफल भएको छ ।

गढवामा हरायो राप्रपा, झुल्कियो माओवादी

गोबरडिहा, गढवा, गंगापरस्पुर र कोइलाबास मिलाएर गढवा गाउँपालिका बनाईएको हो । २०४९ सालमा गोबरडिहा र कोइलाबासमा राप्रपा तथा गढवा र गंगापरस्पुरमा काँग्रेसले जितेको थियो ।
त्यस्तै २०५४ सालमा गोबरडिहामा एमाले, गंगापरस्पुरमा स्वतन्त्र र कोइलाबासमा राप्रपाले जितेको थियो । २०७४ सालमा गोबरडिहा एमालेले जितेको थियो । त्यतिबेला सहजराम यादवले विजयी हासिल गरेका थिए । उनी गोबरडिहा गाविसको २०५४ सालमा पनि अध्यक्ष भएका थिए ।
अहिलेको निर्वाचनमा उनी त्यो गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार भएपनि हार ब्यहोरे । अहिले माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने उपाध्यक्षमा काँग्रेसले विजयी हासिल गरेको छ ।

राजपुरमा काँग्रेसकै राज

संघीयता पछि बेला र राजपुर मिलाएर राजपुर गाउँपालिका बनेको थियो । यी दुबैमा २०४९ सालको निर्वाचनमा काँग्रेसले जितेको थियो । २०५४ सालमा राजपुरमा एमालेले जितेको थियो भने बेलामा काँग्रेसले जितेको थियो । २०७४ सालमा राजपुर गाउँपालिकामा काँग्रेसले जितेको थियो भने अहिलेको निर्वाचनमा पनि राजपुरमा काँग्रेसले नै जितेको छ ।

बंगलाचुलीमा माओवादीको ‘कब्जा

संघीयतापछि काभ्रे, लोहारपानी, स्यूजा र हाँसिपुरका केही वडा मिलाएर बंगलाचुली गाउँपालिका बनाईएको थियो । २०४९ सालमा भएको स्थानीय निर्वाचनमा काभ्रे र स्यूजामा काँग्रेसले, लोहारपानीमा जनमोर्चा तथा हाँसिपुरमा एमालेले जितेको थियो । त्यस्तै २०५४ सालमा हाँसिपुर र लोहारपानीमा एमाले, काभ्रेमा काँग्रेस र स्यूजामा राप्रपाले जितेको थियो ।

त्यस्तै २०७४ सालमा यी गाविस मिलेर बनेको बंगलाचुलीमा माओवादी केन्द्रले जितेको थियो । अध्यक्षमा जितेका भक्तबहादुर वलीले २०४९ सालमा लोहारपानीमा जनमोर्चाबाट जितेका थिए भने २०५४ सालमा एमालेबाट जितेका थिए । अहिले २०७९ सालमा भएको निर्वाचनमा अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन र उपाध्यक्षमा काँग्रेसका भक्तबहादुर जीसीले जितेका छन् ।

राप्तीमा काँग्रेस, एमाले र माओवादीको आलोपालो

मुलुक संघीयतामा गएपछि २०७४ सालमा लालमटिया, सिसहनिया र हाँसिपुरको १ र २ नम्बर वडालाई मिलाएर राप्ती गाउँपालिका बनाईएको थियो । २०४९ सालको स्थानीय निर्वाचनमा लालमटिया र सिसहनियामा काँग्रेसले जितेको थियो भने २०५४ सालमा दुबै गाविसमा एमालेले जितेको थियो । २०७४ मा काँग्रेसले जितेको थियो । २०७९ सालमा अध्यक्षमा माओवादीले जितेको छ भने उपाध्यक्षमा एमालेले जितेको छ ।

Sharing is caring!