दुर्गमले पनि पायो डाक्टरी सेवा

शंकरप्रसाद खनाल २०७७ भदौ नरैनापुर

संघीय, प्रदेश र स्थानीय सरकारले एक आपसमा समन्वय गर्दै प्रदेश ५ का दुर्गम गाउँमा करार डाक्टरबाट गुणस्तरीय सेवा दिएका छन्

बाँकेको राप्ती सोनारी गाउँपालिका ६ मा असार १९ गते एकै परिवारका १४ जनालाई झाडापखाला भयो । बिरामी कुखुराको मासु खाँदा झाडापखाला लागेका उनीहरुलाई तत्कालै बैजापुर स्वास्थ्य चौकीमा लगियो । स्वास्थ्य चौकीमा शैया नभएकाले भुँइमा राखेर उपचार गरियो । स्वास्थ्य चौकीले बिरामी भर्ना गरेर उपचार गरेको यो पहिलोपटक हो । ‘तीन चार जना त गम्भीर नै थिए । तत्कालै उपचार नपाएको भए जे पनि हुनसक्थ्यो । उनीहरुलाई तीन दिनसम्म राखेर निको बनाएर पठायौं,’ उपचारमा संलग्न डा. गोविन्दप्रसाद थारुले भने ।

नेपाल सरकारले ०७६ सालमा स्वास्थ्य चौकीको स्तरोन्नती गरेर १५ शैयाको अस्पतालको रुपमा विकास गर्ने नीतिले यो स्वास्थ्य चौकीलाई पनि समेटेको छ । राप्ती पारीको दुर्गम गाउँमा स्वास्थ्य सेवा प्रदान गर्न राप्ती सोनारी गाउँपालिकाले ६ महिनाका लागि करारमा नियुक्त गरेर डाक्टर पनि पठाएको छ । नेपालगन्जदेखि ६० किलोमिटर र कोहलपुरदेखि ४५ किलोमिटरको दुरीमा रहेको गाउँमा अब स्थानीयले गाउँमै डाक्टरसहितकोे सेवा पाउने भएका छन् । स्वास्थ्य चौकीमा दिनहुँ एक सय बिरामी उपचार गर्न आउँछन् । ‘धेरै जसो त छालाकै रोगी आइरहेका छन् । झाडापखाला, ज्वरो आएका, जोर्नी दुखेका पनि आउँछन्’, डा.थारु भन्छन्, ‘यही साउनदेखि स्वास्थ्य चौकीमा आकस्मिक (इमरजेन्सी) सेवा सुरु गर्ने तयारी छ । विद्युतको अभावमा सम्भव भएको छैन । सिडियो साबले अवलोकनमा आउँदा चाँडै विद्युत सेवा विस्तार गर्ने भनेर जानुभएको छ ।’

बैैजापुरमा डाक्टर पुगेपछि राप्ती सोनारी गाउँपालिकाको राप्ती पारीका वडा नं. ३, ४, ५, ६ र ७ का वासिन्दाहरु लाभान्वित भएका छन् । भूगोलमा देशकै ठूलो गाउँपालिकाको यो क्षेत्रका यी वडाहरु जिल्लाका अन्य स्थानीय तहभन्दा पनि ठूलो क्षेत्रफलमा छन् । राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बैजापुरमा नियुक्त गरिएका डाक्टरलाई क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा पनि काममा लगाएको बताउँछन् । राप्ती सोनारीले गाउँमै आइसोलेसन सेन्टर स्थापना गरेर संक्रमितलाई राखेको थियो ।

त्यस्तै बाँकेको अति दुर्गम कर्णाली उपमा पाएको नरैनापुर गाउँपालिकामा पनि डाक्टरसहितको सेवा नियमित भएको छ । ०५३ सालमा स्थापना गरिएको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी छ तर स्थानीयले कहिल्यै डाक्टरको अनुहार देख्न पाएनन् । नेपाल सरकारले यो प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको थियो । यो वर्ष प्रदेश सरकारले ५० शैयाको अस्पतालको रुपमा विकास गर्न बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ बताउँछिन् । नरैनापुरमा डाक्टर पनि प्रदेश सरकारले नै पठाएको हो । अस्पतालका इन्चार्ज डा. सागर पन्त दिनहुँ ४० को हाराहारीमा उपचारको लागि बिरामी आउने गरेकोे बताउँछन् । विद्युत सेवा विस्तार भएपछि स्वास्थ्य सेवामा सहजता हुने देखिन्छ । नरैनापुरमा पनि धेरै छालाकै रोगी आउने गरेको पन्तले बताए ।

यसअघि नरैनापुरवासी सधैं भारतीय ‘झोले डाक्टर’बाट उपचार गर्न बाध्य थिए । सदरमुकाम नेपालगन्जबाट पूर्वमा ४५ किलोमिटरको दुरीमा रहेको नरैनापुरमा भारतीय झोले डाक्टरकै बिगबिगी थियो । नरैनापुर–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले गत वर्ष उपचारको क्रममा दुई महिनाको अवधिमा पाँच जनाको ज्यान लिएका थिए । एकैदिन नरैनापुर –५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका–७ का मानिकराम धोबीको उपचारको क्रममा मृत्यु भएपछि प्रदेशसभा सदस्य केसीले स्थलगत अवलोकन गरी झोले डाक्टरका मेडिकलमा ताला लगाउन निर्देशन दिएकी थिइन् । मटेहियाबाटै सांसद केसीले भारतीय झोले डाक्टरका विषयमा तत्कालीन बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओली र तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको ध्यान आकृष्ट गरेकी थिइन् ।

पहिलो पटक बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायको संयोजकत्वमा औषधी व्यवस्था विभाग, प्रहरीसहितको सरकारी टोली नरैनापुर पुगेर २ जना झोले डाक्टरका औषधि जफत गरेको थियो । झाडापखाला लागेका दुई जनाको उपचार गर्दा ज्यानै लिने ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरविरुद्ध ज्यान मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्सपेक्टर मानबहादुर विसी बताउँछन् । अहिले ठाकुर फरार छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोइन खाँका अनुसार त्यतिबेला नरैनापुरमा मात्र १५ वटा ‘झोले डाक्टर’ थिए । तर, मुद्दा चलेपछि भने नरैनापुर क्षेत्रमा झोले डाक्टर आउन छाडेको स्थानीय बताउँछन् ।

विगतमा नरैनापुरका स्थानीय उपचारका लागि भारतमै निर्भर थिए । त्यसमाथि भारतीय मेडिकलले उपचारका नाममा ठगिरहेका थिए । ‘हिजो उपचार गर्न भारतमा जाने गरेका थियौं । वर्षौसम्म ठगियौं । अब गाउँमा डाक्टरको सेवा पाउँदा खुसी छौं’, नरैनापुर १ महतनियाँ गाउँका मोहमुद खाँ भन्छन्, ‘गाउँमै ठूलो डाक्टर आएको कुरा सबैलाई थाहा छैन । यही राम्रो उपचार हुन्छ, अब भारत जानुपर्दैैन भनेर प्रचार प्रसार गर्न जरुरी छ ।’

बाँकेको नरैनापुर र फत्तेपुरमा मात्र होइन, प्रदेश ५ मा धेरै दुर्गम स्वास्थ्य संस्थामा स्थानीय, प्रदेश र संघीय सरकारले एक आपसमा समन्वय गर्दै डाक्टरसहितको सेवा पु¥याएका छन् । रोल्पाको दुर्गम रुन्टीगढी गाउँपालिकाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षदेखि दरबन्दीका डाक्टर पुगेकै थिएनन् । जिल्ला सदरमुकाम लिवाङदेखि दक्षिणमा झन्डै ६० किलोमिटरको दुरीमा रहेको यो स्वास्थ्य केन्द्रमा प्रदेश सरकारले डा. आधार ओलीलाई पठाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर बुढा दैनिक ४०÷५० जनाले सेवा पाएको बताउँछन् ।

प्रदेश ५ कै केही दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाले त प्रदेश र संघीय सरकारबाटै करारका डाक्टर पाएका छन् । एउटै प्राथमिक स्वास्थ्य केन्द्रमा दुईदेखि तीनवटा डाक्टरले सेवा दिइरहेका छन् । त्यसैमध्येको एक हो, रुपन्देहीको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र । बुटवल उपमहानगरपालिकासँग सीमा जोडिएको शुद्धोधन गाउँपालिकाको यो स्वास्थ्य केन्द्रमा दरबन्दीका डा. मदन केसी छन् । संघीय सरकारबाट डा. ईश्वर घिमिरे र प्रदेश सरकारले डा. विनोद चौधरीलाई पठाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कविराज गौतमले बताए । प्रदेश सरकारले पठाए पनि डा. सीमा शर्मा भने काममा गइनन् ।

त्यस्तै, पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा पनि संघीय सरकारबाट डा.अमृत भट्टराई र प्रदेश सरकारबाट डा.अशेष रिजालले सेवा दिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुदेव खनालले बताए । यो स्वास्थ्य केन्द्रले पनि भिडियो एक्सरेसहितको सेवा दिएको छ ।

बर्दिया सदरमुकाम गुलरियादेखि ७० किलोमिटर पश्चिमको राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीमा रहेको डाक्टर एमडी अध्ययन गर्न गएपछि संघीय सरकारले डा.भानुभक्त ढकाललाई र प्रदेश सरकारले डा.सुरज श्रेष्ठलाई पठाएको राजापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशप्रसाद अर्याल बताउँछन् । दुबैतिर कर्णाली नदीले घेरिएको साबिकको ११ गाविसको राजापुर क्षेत्रमा अहिले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका वासिन्दा डाक्टरसहितको सेवा लिइरहेका छन् जहाँ भिडियो एक्सरे सेवा पनि छ । दैनिक औसत एक सय जना उपचार गर्न आउने स्वास्थ्य शाखाले जनाएको छ । दुई÷दुई जना डाक्टर भएकाले पनि कोरोना महामारीका बेलामा राजापुरले आफ्नै आइसोलेसन सेन्टर बनाएर उपचार गरेको थियो ।

प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले छात्रवृत्ति चिकित्सक परिचालन निर्देशिका–२०७१ बमोजिम गत आर्थिक वर्षमा प्रदेशका स्वास्थ्य संस्थामा २३ जना डाक्टरलाई पठाएको मन्त्रालयको प्रशासन शाखा अधिकृत सन्जय ज्ञवालीले बताए । मन्त्रालयले पठाएका चिकित्सकमा ३ जना त विशेषज्ञ नै छन् ।

  1. बाँकेको राप्ती सोनारी गाउँपालिका ६ को बैजापुर स्वास्थ्य चौकीमा झाडापखालाका बिरामीलाई भुँइमा राखेर उपचार गरिँदै । सौजन्य ः डा. गोविन्दप्रसाद थारु
  2. बैजापुर स्वास्थ्य चौकीका इन्चार्ज डा. गोविन्दप्रसाद थारु
  3. नरैनापुर गाउँपालिका २ को लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गर्दै डा. सागर पन्त । तस्बिर ः शंकरप्रसाद खनाल
  4. लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र

Sharing is caring!