परिवर्तनको महशुस गराउँदै स्थानीय सरकार

सन्तोष अधिकारी पुस २०७६ दाङ

लामो समयदेखि खाली रहेका दाङका दुई उपमहानगरपालिका र बंगलाचुली गाँउपालिकामा निर्वाचित सरकार आएपछि नागरिकले परिवर्तन महशुस गरेका छन् । शिक्षा, स्वास्थ्य, सिंचाई, फोहरमैला व्यवस्थापन जस्ता लोकप्रिय काम गरेकोले स्थानीय सरकारप्रति मतदाता खुशी भएकाहुन् ।

कृषि

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का नवराज रावतले टनेलमा तरकारी खेती गर्दै आएका छन् । वेमौसमी तरकारी खेतिबाट वार्षिक ७ लाखसम्म आम्दानी गरेको उनी बताउछन् । व्यवसायीक रुपमा ठुलो परिमाणमा खेतीगर्न एक्लै सम्भव नभएपछि रावतले अहिले साथीहरुसँग मिलेर १८ विगाहा जमीनमा विभिन्न तरकारी लगाएका छन् । ‘राम्रो होला भन्ने अपेक्षा छ, नतिजा आउन वाँकी छ’ उनले भने । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका ७ का भदे पुनले लामो समयदेखि च्याउँखेती गर्दै आएका छन् । उनले वार्षिक १७ हजार डल्ला च्याउँ उत्पादन गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले कृषकहरुलाई प्रोत्साहित गर्नका लागि नगरभित्रका ५ जना उत्कृष्ट कृषकहरुलाई नगद ५ हजार सहित सम्मान गरेको थियो । यसरी पुरस्कृत हुने तरकारी खेति गर्ने किसानमा नवराज रावत, भदे पुन, दोलकवहादुर खत्री, सुरज चौधरी र जनदिश भण्डारी छन् । ‘सम्मानले अझै केही नयाँ काम गर्ने उत्साह जगाएको छ’ अर्का सम्मानित कृषक जनदिश भण्डारीले भने । उनले वेसार खेति गर्दै आएका छन् ।

उपमहानगरपालिकाले १२ जना किसानहरुलाई पोशाक दिएर सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा नरनारायण खत्री, रेशम विष्ट, चन्द्रवहादुर डाँगी, धनवहादुर खत्री, हरिवहादुर रोका, ऋषिराज केसी, ओकी डाँगी, तेजवहादुर केसी, क्षेत्रवहादुर खत्री, अम्मरवहादुर डाँगी, मधुमाया जिसी र मनवहादुर केसी छन् । यसैगरी उपमहानगरपालिकाले व्यावसायिक कृषकहरुको पहिचानका लागि कृषक परिचय पत्र समेत वितरण गरेको छ । उपमहानगरपालिका भित्रका २२ जना किसानलाई यस्तो परिचय पत्र वितरण गरिएको हो ।

शिक्षा

सामुदायीक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न तुलसीपुर उपमहानगरपालिकाले रणनीतिक योजना बनाई लागु गरेको छ । पहिलो चरणमा विद्यार्थी संख्या कम भएको १३ वटा सामुदायिक विद्यालयको १ देखी ५ सम्मका कक्षा बन्द गरेको छ । विद्यालयमा विद्यार्थी कम भएका र नजिकै दुरीमा दुई वटा सामुदायिक विद्यालय भएकोले त्यस्ता विद्यालयको विद्यार्थी भर्ना अभियान रोकीएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले बताएको छ । विद्यार्थी बढाउन तथा भौतिक पुर्वाधार सुधारका लागी उपमहानगरपालिकाले अघिल्लो बर्ष नै म्याद तोक्दा पनि विद्यार्थी नबढेपछि कक्षा स्थगन गरेको जनाएको छ । ती विद्यालयमा कार्यरत स्थायी, अस्थायी र राहत दरबन्दीका शिक्षकलाई अन्य विद्यालयमा गाभिएको छ । कार्यालयका अनुसार कक्षा स्थगन गरिएका विद्यालयहरुमा बालबिकास कक्षा भने सञ्चालन भईरहेको छ । आगामी बर्षमा ती विद्यालयहरुका लागी मापदण्ड तयार गरी कक्षा भर्ना गर्न अनुमति दिने वा नदिने भन्ने विषयमा छलफल गरिने उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका ७० वटा सामुदायिक विद्यालय मध्ये ५ वटा लाई नमुना विद्यालय बनाउने योजना उपमहानगरपालिकाले तय गरेको छ । शिक्षा महाशाखाका प्रमुख भाष्कर गौतमका अनुसार सिकाई उपलब्धि सवैभन्दा कमजोर भएका विद्यालयलाई छनौट गरी नमुना बनाउन लागीएको हो । “नमुना विद्यालयका विद्यार्थीलाई खाजा तथा अतिरिक्त कक्षा र विषयगत शिक्षक उपलब्ध गराएको छौ” गौतमले भने । गौतमका अनुसार नमुना बनाउन छनौट गरिएका विद्यालयका शिक्षकले पाठयोजना बनाएर त्यसकै आधारमा पढाउनु पर्छ । नमुना स्कुलका गतिविधिको नियमित अनुगमन गरिने कुरा पनि गौतमले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य पनि लिएको छ । यसका लागि बहुप्राविधिक शिक्षालय स्थापना गरी कक्षा सञ्चालन गरेको छ । उपमहानगरपालिका आफैले सञ्चालन गरेको मेट्रो कलेजमा यस वर्ष ३ वर्षे वन विज्ञानको पढाई भैरहेको छ । कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटीबाट स्वीकृति लिएको छ । शिक्षालयका लागि तुलसीपुर १२ हरिपौरीमा भवन निर्माण गरीएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नका लागि उपमहानगरपालिकाले वहुप्राविधिक शिक्षालय सञ्चालनको अवधारणा अगाडि वढाएको मेयर घनश्याम पाण्डेले बताए । पाण्डेका अनुसार आगामी दिनमा थप विषय अध्यापन गराइने छ ।

तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गरेको छ । अहिलेसम्म १५ सय ५ जनाले सुत्केरी भत्ता लिएको तुलसीपुर उप महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले वताए । डाक्टर दाहालका अनुसार स्वास्थ्य महाशाखाले बनाएको नियम पुरागरेका १ हजार २ सय ३२ जना हरेकले ४१ सय, नियम पुरा नगरेका २ सय ४२ जना हरेकले २५ सय र ३१ जना हरेकले १ हजारका दरले प्रोत्साहन भत्ता पाएका छन् । उनका अनुसार नियमानुसार सुत्केरी हुनुभन्दा पहिले ४ पटक मान्यताप्राप्त स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको, मान्यताप्राप्त स्वास्थ्य संस्थामा सुत्केरी गराएको, वच्चा जन्मेको ३५ दिन भित्र जन्मदर्ता गरेको र वच्चालाई विसिजी खोप लगाएकोलाई ४१ सय, गर्भ चेक नगराएर अन्य प्रक्रिया पुरा गरेको भए २५ सय र घरमै वच्चा जन्माए पनि अन्य प्रक्रिया पुरा गरेको भए १ हजार दिइने छ । सुत्केरी महिलाहरुले आवश्यकता अनुसार स्वस्थ्य जाँच गराउन्, पोषिलो खानेकुरा खाउन् र न्यानो कपडा लगाउन सकुन् भन्नका लागि सुत्केरी भत्ता वितरण गरिएको पाण्डेले वताए । पाण्डेले निम्न वर्गका जनतालाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रम निकै प्रभावकारी भएको समेत दावि गरे । अर्को वर्षदेखि वडाबाटै सुत्केरी भत्ता वितरण गर्ने उनले वताए ।

घोराही उप महानगरपालिकाले आगामी एक बर्ष भित्रमा फोहोरबाट खाना पकाउने ग्याँस निकाल्ने तयारी गरेकोे छ । उपमहानगरपालिकाको १६ नम्वर वडामा रहेको ल्यान्डफिल साइटमा फोहोरबाट ग्याँस निकाल्न लागिएको हो । उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको सहकार्यमा यो काम भैरहेको छ । ग्याँस उत्पादन गर्न करिब २० करोड लगानी लाग्ने अनुमान गरीएको छ । २ हजार घन मिटरको प्लान्टबाट ग्याँस उत्पादन भएपछि सिलिन्डरमा भरेर बजारमा पठाउने बताइएको छ । ग्याँस उत्पादनका लागि अहिले भौतिक संरचना निमार्ण भइरहेको नेपाल ऊर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । उनका अनुसार अबको ६ महिनामा भौतिक निर्माणको काम सकिने र त्यसको अर्को ६ महिनाभित्र ग्याँस उत्पादन गर्नेगरी काम अगाडि बढाइएको छ । “प्राविधिक समस्या भएमात्र केही ढिलाई हुन सक्छ” प्लान्ट म्यानेजर श्रेष्ठले भने । गत मंसिरमा सम्झौता भएपनि ल्याण्डफिल साईटको दुर्गन्धले स्वास्थ्यमा असर पुग्ने भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि काममा केही समय ढिलाइ भएको थियो ।

कम्पनीले स्थानीयवासीलाई पोखरामा निर्माण गरिएको ग्याँस प्लान्ट देखाएपछि ग्याँस प्लान्ट निर्माण गर्न दिन उनीहरु सहमत भएको श्रेष्ठले बताए । ग्याँस उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिकाले साढे दुई बिगाह जग्गा उपलब्ध गराएको हो । कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता समेत भएको छ । त्यसपछि संरचना सहित सबै पुर्वाधार चालु अवस्थामा घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेगरी सम्झौता गरिएको घोराही उपमहानगरपालीकाका मेयर नरुलाल चौधरीले बताए । नेपाल उर्जा विकाश कम्पनीले ग्याँससंगै कम्पोष्ट मल पनि उत्पादन गर्ने योजनामा छ । फोहोरबाट ग्याँस उत्पादन भएपछि ग्याँसको मूल्य घट्ने आशा स्थानिय बासिन्दाले गरेका छन् । यस अघि दाङमा फोहोरबाट उर्जा उत्पादन गर्ने प्रयास गरिएको थिएन । यसबाट उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सजिलो हुने अपेक्षा गरिएको छ । अहिले त्यहाँ बजार क्षेत्रमा गल्ने र नगल्ने फोहर घरमै छुट्टाउनु पर्ने नियम बनाईएको छ । फोहर वोक्ने गाडिहरुले गल्ने र नगल्ने फोहर छुट्टाछुट्टै उठाउने गरेका छन् ।

त्यस्तै वंगलाचुली गाँउपालीकाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रयत्न गरेको छ । पाँच नम्वर प्रदेशमै १५ सैयाको अस्पताल सञ्चालन गर्ने पहिलो गाँउपालीका बन्न पुगेको छ बंगलाचुली । “सामान्य विरामी भएपनि २ सय रुपैया एकतर्फी भाडा तिरेर उपचारका लागी घोराही जानुपर्ने समस्याको अन्त्य गरेका छौ” गाँउपालीकाका अध्यक्ष भक्तबहादुर वलीले भने । अस्पतालमा एक जना एमविविएस डाक्टर, ३ जना नर्स, २ जना अहेव र एक जना ल्याव असिस्टेन्ट छन् । अस्पतालमा कार्यरत डाक्टर बसन्त शाहका अनुसार दैनिक १० देखी १५ जना सम्म विरामी सो अस्पतालमा आउने गरेका छन् ।

Sharing is caring!