स्थानीय सरकारहरूले स्थानीय पाठ्यक्रम निर्माणमा चासो बढाउन थालेका छन् । कतिपय स्थानीय सरकारले पाठ्यक्रम बनाएर लागू गरिसकेका छन् । भक्तपुर नगरपालिकाले २०७५ सालदेखि नै स्थानीय पाठ्यक्रम लागू गरिसकेको छ । यस्तै पाल्पाको माथागढी गाउँपालिका, रुपन्देहीको देवदह नगरपालिका र पूर्वी रुकुमको सिस्ने गाउँपालिकाले २०७६ सालदेखि स्थानीय पाठ्यक्रम लागू गरिरहेका छन् । गुल्मीको धुर्कोट गाउँपालिकाले २०७६ देखि र रुपन्ददेहीको बुटवल उपमहानगरपालिकाले २०७७ सालदेखि स्थानीय पाठ्यक्रम लागु गरेका छन् । यी बाहेक अन्य गाउँ तथा नगरपालिकाले विज्ञ समूह गठन गरी स्थानीय पाठ्यक्रम तयार गरिरहेका छन् ।
के हो स्थानीय पाठ्यक्रम ?
विद्यालय जुन ठाउँमा छ त्यहाँको समुदायको मुख्य मूल्य वा आदर्श वा महत्व बोकेको तत्व ९खबगिभम अयmउयलभलत० लाई स्थानीय पाठ्यक्रमले अङ्गिकार गरेको हुन्छ । राष्ट्रिय पाठ्यक्रमले विविधतायुक्त परिवेशलाई समेट्न कठीन हुन्छ । विश्वव्यापिकरणको वर्तमान युगमा चिन्तन विश्व स्तरको र काम स्थानीय भन्ने आदर्शलाई आत्मसात गरिएको छ । स्थानीय पहिचान, मौलिकता, संस्कृति, भाषा, सम्पदा, स्रोतसाधन आदिको मूल्य स्थानीयलाई मात्र थाहा हुन्छ । यी विशिष्ट निधिहरूको ज्ञान हरेक बालबालिकामा हुनु पर्दछ ।
नेपालमा प्राथमिक तहको पाठ्यक्रममा २०४९ देखि नै स्थानीय विषयवस्तु समेटेको थियो । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले पनि १०० पूर्णाङ्कको स्थानीय विषय वा मातृभाषा र सामाजिक अध्ययन, स्वास्थ्य शारीरिक र सिर्जनात्मक कला विषयमा २० प्रतिशत अंश स्थानीय पाठ्यक्रमको व्यवस्था गरेको थियो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले वार्षिक १२८ कार्य घण्टको स्थानीय विषय वा मातृभाषो छुट्टै विषयको व्यवस्था गरेको छ । प्राथमिक तह कक्षा (१–३) मा भने २० प्रतिशत स्थानीय पाठ्यक्रमको व्यवस्था छैन । स्थानीय विषय वा मातृभाषा स्थानीय स्तरले निर्माण वा छनोट गर्ने भएकोले नेपालमा स्थानीय पाठ्यक्रम भन्नाले स्थानीय विषय वा मातृभाषा शिक्षणका लागि स्थानीय तहबाट तयार गरिने पाठ्यक्रम भन्ने बुझ्नु पर्दछ ।
स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया
स्थानीय पाठ्यक्रम भनेको स्थानीय सरोकारवालाहरूको सहभागितामा स्थानीय आवश्यकता अनुसार र स्थानीय विषयवस्तुलाई समेटेर तयार गरिने पाठ्यक्रम हो । स्थानीय पाठ्यक्रमका लागि स्थानीय सहभागिता, स्थानीय आवश्यकता र स्थानीय विषयवस्तु नभै नहुने पक्ष हुन् । त्यसैगरी स्थानीय पाठ्यक्रम निर्माण गर्ने क्रममा निश्चित सिद्धान्त पालना गर्नु पर्दछ । पाठ्यक्रम समावेशी, सन्तुलित, स्थानीय आवश्यकता पूरा गर्ने र विद्यार्थी केन्द्रित क्रियाकलाप समेटिएको हुनु पर्दछ ।
पाल्पाको माथागढी गाउँपालिकाले २०७५ साल माघ १६ गते पाँच सदस्यीय पाठ्यक्रम निर्माण समिति निर्माण गरेको थियो । समितिलाई २०७६ बैशाख पहिलो सातासम्म कक्षा १ र ६ को स्थानीय पाठ्यक्रम तयार गर्ने जिम्मेवारी दिइएको थियो । त्यसपछि समितिले गाउँपालिकाका आठओटा वडामा राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवी, प्रधानाध्यापक, शिक्षक, पाठ्यक्रम विज्ञ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् प्रतिष्ठित व्यक्तिहरूसँग कार्यशाला तथा बैठक परामर्श गरेको थियो । यो पाठ्यक्रम तयार गर्दा स्थानीय पाठ्यक्रम प्रारुप २०७१ लाई आधार मानिएको थियो । पाठ्यक्रम विकास केन्द्रका विज्ञ अधिकारीहरूको सल्लाह सुझाव पटकपटक प्रात भएको समितिका संयोजक अशेष भट्टराईले बताउनु भयो ।
माथागढी गाउँपालिकाका रैथाने भाषा, कला, संस्कृति, सम्पदा र मौलिकताको संरक्षण र सम्बद्र्धन गर्ने पाठ्यक्रम निर्माण गर्ने अध्यक्ष सन्तोष कुमार थापाले बताउनु भयो । यसले गर्दा विद्यार्थीहरूले आफ्नैमौलिक सिप, कला, इतिहास र संस्कृतिलाई महत्व दिंने उहाँले बताउनु भयो ।
माथागढी नेपालको राष्ट्रिय इतिहास बोकेको ठाउँ हो । यस पालिकामा मगरहरूको बसोबास बढी छ । माडी फाँटको शीर्ष भागमा रहेको कौडेको अग्लो लेक विशेष भौगोलिक धरातल भएको स्थान हो । तसर्थ माथागढीको इतिहास, भूगोल, जातजाति, संस्कृति, कला, सम्पदा, सिप, प्रविधि, उपचार विधि, खेल पर्यटन, स्रोत र साधन लगायत विभिन्न १६ वटा क्षेत्रमा केन्द्रित रहेर पाठ्यक्रम निर्माण गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि २०७५ साल पुस २ गते कार्यदल गठन गरेको थियो । यो कार्यदलले निर्माण गरेको पाठ्यक्रम उपमहानगरपालिकाले २०७७ कार्तिक अन्तिममा सार्वजनिक गरेको थियो ।
पाठ्यक्रम निर्माण गर्ने क्रममा आवश्यकता पहिचान तथा प्राथमिकीकरणको निम्ति प्रश्नावली तयार गरी जनप्रतिनिधि, समाजसेवी, प्राध्यापक, शिक्षक, विद्यार्थी, धार्मिक साँस्कृतिक सङ्घसंस्थाका प्रतिनिधिरूबाट प्रश्नावली भराइएकोे कार्यदलका संंयोजक बुद्धिसागर भट्टराईले बताउनु भयो । विभिन्न स्थलगत अध्ययन, अन्तक्र्रिया, भेटघाट र छलफलका विषयवस्तुलाई समेत पाठ्यक्रममा समेटिएको उहाँले बताउनु भयो ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले भने कक्षा ६, ७ र ८ मा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी लागू गरेको छ । स्थानीय विषयमा आधारित पर्यटन, भूगोल, इतिहास, संस्कृति, पेशा व्यवसाय र कृषि मुख्य विषय क्षेत्र समेटेर तयार पारिएको स्थानीय पाठ्यक्रमबाट विद्यार्थीहरूमा स्थानीयताको बलियो आधार बन्ने र संघीयतामा बल पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय पाठ्यक्रममा समेटिएका विषय क्षेत्र
बुटवल उपमहानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा बुटवलको सेरोफेरो, पर्यटकीय स्थल, संस्कृति, आस्था, सङ्घसंस्था, योग र प्राकृतिक चिकित्सा तथा जडिबुटी गरी मुख्य सात क्षेत्रलाई समेटिएको छ । यी सात मुख्य विषय क्षेत्रलाई कक्षा १ – ८ सम्म लम्बीय तरिकाले विषयवस्तु विस्तार गरी प्रस्तुत गरिएको छ । उदाहरणका लागि बुटवलको सेरोफरो क्षेत्रमा कक्षा १ देखि ८ सम्म क्रमशः अग्लो होचो ठाउँ (कक्षा १), हिमाल, पहाड, तराई (कक्षा २), भैरहवा, गैडिहवा र गजेडी ताल (कक्षा ३), तिलौराकोट (कक्षा ४), बुटवल व्यापारिक केन्द्र र शहरीकरण (कक्षा ५), तिनाउ सभ्यता (कक्षा ६), हावापानी र जनजीवन (कक्षा ७) र चुरे संरक्षण (कक्षा ८) समावेश गरिएको छ । एउटा पृष्टमा कक्षा १ – ८ सम्मका विषयवस्तुको क्षेत्र तथा क्रम तालिका दिइएको छ । कक्षागत रूपमा विषयवस्तुको विस्तृतीकरण गरी विषयवस्तु विस्तार र शिक्षणसिकाइ क्रियाकलाप, मूल्याङ्कन र पाठ्यभारसमेत दिइएको छ ।
माथागढी गाउँपालिकाले कक्षागत रूपमा छुट्टाछुट्टै स्थानीय पाठ्यक्रम पुस्तिका मुद्रण गरेको छ । यस पाठ्यक्रममा एउटा कक्षामा रूपमा १२ देखि १६ ओटासम्म विषयवस्तु क्षेत्र समेटिएका छन् । हाम्रो माथागढी कक्षा १ मा १५ वटा पाठ छन् । यी पाठमा माथागढीको भूगोल, राजनूीति, सँस्कृति, स्रोतसाधन र यहाँका मानिसहरूको पेशा लगायतका जानकारी समेटिएका छन् । प्रत्येक पाठमा बोधमूलक अभ्यास दिइएको छ । थप क्रियाकलापका लागि शिक्षकहरूलाई निर्देशन दिइएको छ । क्षेत्रगत रूपमा अन्तरराष्ट्रिय आयाम र प्रविधिको प्रयोगसम्बन्धी वर्णन गरिएको छ । पाठ्यपुस्तकमै पाठ्यक्रमको परिचय र पाठ्यक्रमको पूर्ण पाठ समावेश गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले कक्षा १ देखि ८ सम्म शिक्षण गर्ने विषयवस्तु क्षेत्र तथा पाठ्यक्रमका अन्य अङ्ग राखेर स्थानीय पाठ्यक्रम जारी गरेको छ । पाठ्यपुस्तक अलगअलग निर्माण गरिएको छ । हाम्रो बुटवल पुस्तक प्रकाशन भएको छ । पुस्तकका हरेक पाठमा ठूला रङ्गिन चित्र राखिएका छन् । हरेक पाठको शुरूमा सिकाइ उपलब्धि दिइएको छ । पाठहरूको प्रस्तुति शैली विविध छ । पाठहरू अनुच्छेद, संवाद, बुँदागत आदि सरचनामा लेखिएका छन् । पाठ्याङ्शलाई सहयोग पुग्ने खालका चित्रले अवधारणा बुझाउन सहयोग गर्दछन् । सबै पाठमा बोधमूलक अभ्यास कार्य दिइएका छन् । कुनैकुनै पाठमा व्यवहारिक अभ्यास क्रियाकलाप दिइएको छ । पाठको अन्त्यमा शिक्षण निर्देशन सङ्क्षिप्तमा दिइएको छ । यसबाट शिक्षकहरूलाई थप सहयोग हुने देखिन्छ ।
बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय विषय हाम्रो बुटवल उपमहानगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण गर्नुपर्ने र शिक्षणको माध्यम भाषा नेपाली वा अंग्रेजी वा दुवै हुनसक्ने भनेको छ । हाम्रो बुटवल पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिएको छ ।
समीक्षात्मक टिप्पणी
नेपाल सरकारले विगतमा स्रोत केन्द्र स्तरसम्म स्थानीय पाठ्यक्रम निर्माणको व्यापक अभ्यास गरेको थियो । कतिपय स्रोत केन्द्रले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेका थिए । तर केही वर्ष अभ्यास गरे पछि पाठ्यक्रम निर्माण र परिमार्जन, शिक्षक तालिम र छपाइ तथा वितरणमा स्रोत नजुटेकोले यो काम निरन्तर भएन । विकल्पका रूपमा ऐच्छिक अंग्रेजी वा गणित विषय शिक्षण गर्न शुरू गरियो । मातृभाषा शिक्षणसम्बन्धमा पनि केही वर्ष सरकारले ठूलो लगानी गरी मातृभाषामा शिक्षणका लागि प्रोत्साहन ग¥यो । केही विद्यालयमा मातृभाषामा पाठ्यपुस्तक आपूर्ति गरी शिक्षण पनि भयो । अहिले नवलपरासीको मदरटङ्ग बोर्डिङ्ग स्कूलमा कक्षा १ देखि ५ सम्म मगर वा गुरुङ भाषा र दाङको शंकर मा. वि. मा कक्षा ४ र ५ मा थारु भाषामा एउटाएउटा विषय शिक्षण भइरहेको छ ।
छलफलका क्रममा शिक्षक, प्रधानाध्यापक, अभियन्ता, पुस्तक लेखकहरू स्थानीय पाठ्यक्रम र मातृभाषा दुवैका बारेमा सकारात्मक चासो व्यक्त गर्नुहुन्छ । तर पाठ्यक्रम र पाठ्यपुस्तक सजिलै उपलब्ध नहुनु, शिक्षक तालिमको अभाव हुनु र अंग्रेजी भाषामा शिक्षण होस् भन्ने अभिभावकको चाहनाले विद्यार्थी संख्यालाई ध्यानमा राखी अंग्रेजी विषय र माध्यम पनि अंग्रेजी रोज्नु परेको उहाँरूले बताउनु हुन्छ । अहिले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण, छपाइ र वितरणमा स्थानीय सरकार लागिरहेको स्थानीय पाठ्यक्रम लागू भइरहने भैरहने देखिएको छ ।
स्थानीय सरकारले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा देखाएको चासोको प्रशंंसा गर्नु पर्दछ । तथापि पाठ्यक्रम र पाठ्यपुस्तकका विषयवस्तु, क्रियाकलाप, मूल्याङ्कन र समग्र गुणस्तर पक्षको समीक्षा गर्नु आवश्यक छ । पाठ्यक्रम निर्माणका क्रममा स्थानीय शिक्षक, विज्ञ बुद्धिजीवी, जनप्रतिनिधि लगायतको सहभागिता राम्रो रहेको छ । स्थानीय महत्व र चासोका भूगाोल, इतिहास, सँस्कृति, पर्यटन, जलवायु, पर्यावरण, पेशा, व्यवसाय आदि पक्ष समेटिएका विषयवस्तु छनोट गरिएको छ । विविध सामाजिक साँस्कृतिक पक्षका विषयवस्तु बढी छन् ।
स्थानीय पाठ्यक्रममा निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति अँगालिएको छ । राष्ट्रिय पाठ्यक्रममा भएको परिवर्तन अनुसार कक्षा १–३ मा एकिकृत पाठ्यक्रम लागूू गरिएको छ । यसमा स्थानीय पाठ्यक्रमको प्रावधान छैन । मातृभाषिक सिप वा स्थानीय विषयवस्तुमा आधारित क्रियाकलापका लागि ५ पाठ्यघण्टा अर्थात् १६० कार्यघण्टा तोकिएको छ । मुख्य विषयवस्तु क्षेत्र बहुविषयक वा अन्तरविषयक एकिकृत ढाँचामा तयार गरिएको छ । परीक्षा लिने चलन बन्द गरी प्रत्येक सिकाइ उपलब्धि हासिल भए नभएको रुब्रिक्स्का आधारमा परीक्षण गरी सुधारात्मक शिक्षणसमेतको व्यवस्था गरिएको छ । तसर्थ अहिहले यो विषयमा बहस हुनु आवश्यक छ ः परिवर्तित पाठ्यक्रम लागू हुँदा अहिले धमाधम तयार भइरहेका स्थानीय पाठ्यक्रमको अवस्था के हुन्छ ? पाठ्यक्रमको व्यवस्था र कक्षा शिक्षणसिकाइका दृष्टिकोणले समेत अन्य चार मुख्य विषय र यसका विच कस्तो सम्बन्ध रहन्छ ? स्थानीय पाठ्यक्रम निर्माणका क्रममा राष्ट्रिय पाठ्यक्रममा भएको व्यवस्था र भावनालाई कति आत्मसात गर्न सकियो ?