संघीय सरकारले दुई आर्थिक बर्ष अघि शुरु गरेको नवप्रवर्तन कार्यक्रम यस वर्षदेखी प्रदेश सरकारले सञ्चालन गरेको छ । स्थानीय आर्थिक विकास, युवा रोजगार, स्वरोजगार र स्थानीय सेवा प्रवाहका क्षेत्रमा नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने जनाइएको छ । नयाँ उद्यमी र उत्पादन बृद्धि तथा रोजगारी सिर्जनामा नवप्रवर्तन कार्यक्रम सहयोग पुग्ने प्रदेश सरकारको दाबी छ । प्रदेशका १०९ वटा पालिकाबाट प्रस्ताव माग गरी ११ वटा पालिकासँग कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ ।
नयाँ उद्यमी र उत्पादन बृद्धि तथा रोजगारी सिर्जना गर्न छनोट भएका ११ पालिकाहरू
क्र.सं. | जिल्ला | पालिकाको नाम | कार्यक्रम सञ्चालन क्षेत्र |
१ | पाल्पा | रिब्दीकोट गाउँपालिका | अकबरे खुर्सानी, बेसार र सुन्तलाको मुल्य श्रृंखला विकास कार्यक्रम |
२ | पाल्पा | तिनाउ गाउँपालिका | आर्थिक तथा सामाजिक विकासका लागि समुदायमा पर्यटन (होमस्टे) संगै उद्यमशीलता कार्यक्रम |
३ | गुल्मी | गुल्मी दरबार गाउँपालिका | फलफुल तथा तरकारी खेती प्रवद्र्धन कार्यक्रम |
४ | गुल्मी | रेसुङ्गा नगरपालिका | रेसुङ्गा क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साहसिक खेल जिपलाइन र साईक्लिंग निर्माण |
५ | गुल्मी | कालीगण्डी गाउँपालिका | सुन्तलाजात फलफूल तथा तरकारी खेतीमा कृषि प्रविधि, प्रशोधन र दिगो कृषि विकास कार्यक्रम |
६ | दाङ | राप्ती गाउँपालिका | बेसार, अदुवा उत्पादन तथा प्रशोधन उद्योग स्थापना तथा सञ्चालन |
७ | अर्घाखाँची | भुमिकास्थान नगरपालिका | आर्थिक बृद्धि र रोजगारी सिर्जना गर्न कृषि जन्यवस्तु तथा हस्तकलाका सामग्रीहरू उत्पादन र बजारिकरणको लागि सुचिकृत बेरोजगार जनशक्ति परिचालन कार्यक्रम |
८ | अर्घाखाँची | सन्धिखर्क नगरपालिका | सामुदायिक विद्यालयमा आधारभूत शिक्षाको गुणस्तर सुधारको लागि ईसिकाई र डिजिटल शिक्षा |
९ | बर्दिया | बाँसगढी नगरपालिका | जैविक कृषि प्रवद्र्धन कार्यक्रम |
१० | रोल्पा | त्रिवेणी गाउँपालिका | युवा रोजगारी तथा स्वरोजगारीको लागि दिगो कृषि कार्यक्रम |
११ | रुपन्देही | गैडहवा गाउँपालिका | गैडहवाको आर्थिक तथा सामाजिक विकास कार्यक्रम |
नविनतम सोंच, अवधारण, लगानीको ढाँचा र प्रविधिको माध्यमबाट उद्यमशीलता, सीप विकास, वस्तु तथा सेवाको उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । यो कार्यक्रम पालिकाले सञ्चालन गर्छन भने त्यसको निगरानी प्रदेशले गर्छ । पालिकाबाट आएका उत्कृष्ट प्रस्ताव मध्येबाट छनोट गरी निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव निराजन घिमिरे बताउँछन् । छनोट भएका पालिकामा कार्यक्रम सञ्चालनका लागि १८ करोड ६० लाख रकम प्रस्ताव गरिएको छ । त्यसमध्ये १० करोड ८८ लाख प्रदेश सरकारले र सात करोड ७१ लाख सम्बन्धित पालिकाले बेहोर्नुपर्ने भएको छ । कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत रकम बेहोर्नु पर्छ । छनोट गरिएका पालिकामा कृषि, फलफूल, तरकारी क्षेत्रमा पाँचवटा, उत्पादन रोजगारसम्बन्धी तीनवटा, पर्यटनसम्बन्धी दुई र सेवा प्रभाव क्षेत्र एक वटा रहेका छन् । कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेशको मुख्यमन्त्री संयोजक र योजना आयोगको उपाध्यक्ष, प्रमुख सचिव, सम्बन्धित विषयगत मन्त्रालयका सचिव, शासकीय सुधार हेर्ने सचिव सदस्य रहने निर्देशक समिति बनाइएको छ ।
नवप्रवर्तन कार्यक्रम गत आर्थिक बर्ष लुम्बिनी प्रदेशका १० पालिकाले सञ्चालन गरेका थिए । कपिलवस्तुको यशोधरा, मायादेवी र विजयनगर गाउँपालिका, अर्घाखाँचीको सन्धिखर्क र रुपन्देहीको तिलोत्तमा नगरपालिका, गुल्मीको कालीगण्डकी, रूरूक्षेत्र र धुर्कोट, रोल्पाको त्रिवेणी र पाल्पाको माथागढी गाउँपालिका गतबर्षका कार्यक्रम सञ्चालन गरेका पालिका हुन् । रुपन्देहीको तिलोत्तमाले सूचना प्रणली र राजमार्ग सुधार, सन्धिखर्कले एकीकृत नगरप्रणाली, त्रिवेणीले रोजगारी प्रवद्र्धन, रूरूक्षेत्रले विद्यालयमा डिजिटल प्रणाली, धुर्कोटले चक्लाबन्दी, यशोधराले लैंगिक समानता सहित अन्य पालिकाले डिजिटल सूचना प्रणाली, कृषि प्रवद्र्धन तथा स्वरोजगार प्रवद्र्धनका कार्यक्रम गरेका थिए ।
दोहोरिएका पालिकाहरूको योजना
अघिल्ला बर्ष नवप्रवर्तनका क्षेत्रमा काम गरेका केही पालिका यसबर्ष पनि दोहोरिएका छन् । दोस्रो पटक काम गर्न थालेपनि योजना भने फरक राखेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गतबर्ष एकीकृत नगर प्रणालीमा काम गरेकोमा यसबर्ष सामुदायिक विद्यालयमा शिक्षाको विषयमा काम गर्ने गरी प्रस्ताव गरेको छ । यसअघि डिजिटल प्रणाली सफ्टवेयरका काम गरेर नगरभित्र सबै कार्यालयमा अनलाइन सिस्टममा काम थालेको र सबै वडा कार्यालय र बजार क्षेत्रमा सिसिटिभी जडान गरेको सूचना अधिकारी मन्जु अधिकारीले बताइन् । सो नगरपालिकाले आधारभूत तहको शिक्षामा डिजिटल प्रणाली लागू गर्न १ करोड ४२ लाख पाएको हो । यसअघिको योजना समयमा सफल र सक्षम भएका कारण दोहोरिएको पालिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाले यसबर्ष कृषिको विविधिकरणका लागि योजना पाएको छ । गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले अघिल्लो आर्थिक वर्षमा राम्रो काम गरेकाले यो पटक दोहोराएर योजना पाएको बताए । ‘बाख्र्रापालन र मौरीपालन पकेट एरिया बनाउन कार्यक्रम फलदायी भयो, ६० जनाले बाख्रापालन सुरु गरे, ५० जना किसानले व्यवसायिक रुपमा माहुरी पालनगरे, आन्तरिक स्रोत नभएको बेला यो कार्यक्रमले निकै ठूलो उपलब्धी दिएको छ’ थापाले भने । सो पालिकाले यसबर्ष सुन्तलाजातको फलफूल तथा तरकारी खेतीमा कृषि प्रविधि, प्रशोधन र दीगो कृषि विकास परियोजनामा बजेट परेको हो ।
रोल्पाको त्रिवेणी गाउँपालिकाले युवा रोजगारको विषयमा काम गर्न यसबर्ष पनि बजेट पाएको छ । गाउँपालिकाका सूचना अधिकारी भरत डिसीका अनुसार अघिल्लो आवमा डेढ करोड योजनामा अबका उम्दा महिला अर्थात् सबल महिला शीर्षकमा यो बजेट खर्च भएको थियो । २१० जना महिलालाई व्यवसायिक तालिम दिइएको यो कार्यक्रममा अधिकांश महिला व्यवसायिक रुपमै काम गर्न तयार भएको र केही सफल हुन नसकेकाले यसबर्ष ती सूचकहरूलाई समेत हेरेर कार्ययोजना बनाइएको छ । पालिकाले उम्दा महिला नामको प्लेस्टोर बनाएर यसको मनिटरिङ बनाउने सम्यन्त्र बनाएको छ । यसमा धेरै महिला सफलताको कथा, आन्तरिक सूचना प्रणाली सबै राखिएको छ । यसबर्ष त्रिवेणीमा युवा रोजगारी तथा स्वरोजगारीको लागि दीगो कृषि परियोजनामा योजना परेको छ ।