पाल्पामा रोकिएन बालविवाह : १३ प्रतिशत किशोरी आमा

रामचन्द्र रायमाझी २०८१ असोज पाल्पा

पाल्पाको निस्दी गाउँपालिका मित्यालकी शान्ती सारु (परिवर्तित नाम) को १५ वर्ष हुँदा मागी विवाह भयो । अहिले उनी २३ वर्षकी भइन् । सारुका चार वर्षका छोरा छन् । उनलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ । उमेर नपुगी विवाह भएकाले उनले आफ्ना धेरै चाहनाहरूलाई मनभित्रै खुम्च्याउनु परेको छ । ‘बिहे गर्दिन भन्न कहाँ पाइन्थ्यो र घरपरिवारको चाहनाअनुसार विहे गर्नुपथ्र्यो, आफूलाई परेका हिंसा बारेमा पनि बोल्न सक्दिनथेँ । आफूसरहका धेरैजसो साथीहरूको सानैमा विवाह भएको थियो । मेरो बालविवाह भएको अहिले बल्ल महशुस हुन्छ’, उनले भनिन् ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार सारु जस्तै पाल्पाका गर्भवती महिलामध्ये करिब १३ प्रतिशत बिहे गर्नका लागि नेपालको कानुनले तोकेको न्यूनतम उमेर २० बर्ष भन्दा कमका छन् । बितेका तीन आर्थिक बर्षमा कूल १३ हजार ९ सय ९८ गर्भवती महिला मध्ये एक हजार ७ सय ८१ जना २० बर्ष मुनिका अर्थात् १२ दशमलव ७२ प्रतिशत थिए । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तथा तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलका अनुसार स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाहरूको उमेर हेर्दा यो अवस्था देखिएको हो । कति गर्भवतीहरू स्वास्थ्य संस्थामा नआएका हुनसक्ने भएकाले यो मात्रा बढ्न सक्ने पोखरेलले बताए । यी तीन वर्षमा भएका गर्भवतीमध्ये उमेर नपुगेका निस्दी गाउँपालिकामा सबैभन्दा बढी अर्थात् २५ प्रतिशत थिए । तिनाउ गाउँपालिकामा २३, माथागढी गाउँपालिकामा २१, रैनादेवी छहरा गाउँपालिकामा १९, रामपुर नगरपालिकामा १५, रिब्दीकोट गाउँपालिकामा १४, पूर्वखोला गाउँपालिकामा १३, रम्भा गाउँपालिकामा ११, बगनासकाली गाउँपालिकामा ८ र तानसेन नगरपालिकामा ८ प्रतिशत किशोरीहरू आमा बनेका हुन् ।

तालिका १ : २० वर्ष मुनीका गर्भवती किशोरीहरूको तथ्यांक
आ.व.रामपुरपूर्वखोलारम्भाबगनासकालीतानसेनरिब्दीकोटरैनादेवी छहरातिनाउमाथागढीनिस्दीजम्मा
२०७८/०७९९०४०२६२२२०२१९७८८५६५७२६९९
२०७९/०८०१०४१९२७२०२०९२७६४४५७४८३६७२
२०८०/०८१८०२५२०१२८०२३५४४३३२४१४१०
स्रोतः जिल्ला स्वास्थ्य कार्यालय
बालविवाह रोक्न पालिकाको प्रयास असफल

स्थानीय तहले बालबालिकाको हितका लागि भनेर कार्यक्रम तय गरेका त छन् तर ती सबै असफल जस्तै भएका छन् । उनीहरूले आप्mनो पालिकालाई ‘बालमैत्री’ घोषणा गर्ने होडबाजी गरेका छन् । बालबालिकाका नाममा पाल्पाका पाँचवटा पालिकाले ३ करोड ८ लाख भन्दा बढी बजेट खर्च गरेका छन् । तर उपलब्धी भने शून्य जस्तै छ ।

चैत्र १४, २०७७ मा लुम्बिनी प्रदेशमै पहिलो ‘बालमैत्री’ गाउँपालिका घोषणा गरेको बगनासकाली गाउँपालिकाले अहिलेसम्म ‘बालमैत्री’ कार्यक्रमका लागि १ करोड १९ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरिसकेको छ । तर यहाँ बालविवाह रोकिएको छैन । जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर उमेर नपुगी बिहे गर्ने चलन रोक्ने प्रयास भए पनि बालबिबाह रोकिएको छैन । यस्तै, रम्भा गाउँपालिकाले आप्mनो पालिकालाई २० पुस, २०७८ मा बालमैत्री गाउँपालिका घोषणा गरेको थियो । यहाँ यससम्बन्धी कार्यक्रमका लागि अहिलेसम्म ५६ लाख ५० हजार रुपैयाँ रकम खर्च भएको छ । बालविवाह घटाउन चेतनामूलक कार्यक्रम गर्ने गरेको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालविवाह हुने दर घटाउन सफल भएको दाबी गरे । तर पनि यहाँ अझै पनि लुकीछिपी बालविवाह भइरहेका छन् । सबै भन्दा बढी किशोरी आमा बनेको निस्दी गाउँपालिकाले २०७९ भदौदेखि ७ वटै वडामा विभिन्न बालमैत्री कार्यक्रम चलाएको छ । त्यसका लागि अहिलेसम्म ८७ लाख रकम खर्चि सकेको छ । बालविवाह केही मात्रामा घटे पनि रोकिएको छैन । ‘हामीले जुन अठोट गरेका थियौं त्यसको प्रतिफल प्राप्त भएको छ,’ गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले भने । अघिल्लो आर्थिक वर्ष पालिकाका ७ वटा वडाबाट बालविवाह गर्ने ७ जोडीलाई फिर्ता गरिएको थियो । यहाँ मागी भन्दा भागी विवाह बढी गर्ने प्रचलन छ ।

रामपुर नगरपालिकालाई २०८३ मंसिरभित्र बालमैत्री घोषणा गर्ने तयारी छ । यससँग सम्बन्धित कार्यक्रमका लागि पालिकाले अहिलेसम्ममा २५ लाख रकम खर्च गरिसकेको छ । माथागढी गाउँपालिकामा बालविवाह चुनौतीको रुपमा रहेको छ । यहाँ पनि सानै उमेरमा छोरीहरुलाई अर्काको घरमा पठाइदिने परम्पराले गर्दा यसो भएको हो । तिनाउ गाउँपालिकामा पनि बालविवाह पहिलेदेखि नै हुँदै आएको देखिन्छ । पालिकाले आगामी २०८३ भित्र बालमैत्री पालिका घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाएको छ । उसले कार्यक्रमका लागि १ करोड १२ लाख २० हजार रुपैयाँको खर्च अनुमान गरेको छ । पूर्वखोला गाउँपालिकामा बालविवाहको अवस्था अत्यन्त चुनौतिपूर्ण रहे पनि त्यसलाई घटाउन सकिएको छैन । पालिका अध्यक्ष नुनबहादुर थापाले विगतदेखि नै बालविवाहले जरा गाडेकाले त्यसलाई घटाउन चुनौति रहेको बताए । यहाँ करिव ८० प्रतिशत मगर समुदायका नागरिकको बसोबास छ । मगर समुदायमा छिटै विवाह गर्ने पुरानो परम्परा अझैपनि हट्न नसक्दा बालविवाह न्यूनिकरणमा अप्ठ्यारो परेको अध्यक्ष थापा स्वीकार्छन् ।

तानसेन नगरपालिकाले पनि बालबालिकाको क्षेत्रमा लाखौं रकम खर्च गरे पनि बालविवाह रोक्न सकेको छैन । यहाँका ग्रामीण क्षेत्रमा अझैपनि बालविवाह कायमै छ । रैनादेवी छहरा गाउँपालिकाभित्र पनि बालविवाह हुने गरेको छ । यो अवस्थालाई गाउँपालिकाले नियन्त्रण गर्नतर्फ ध्यान नै दिएको छैन । यहाँ जनजाति, दलित, ब्राह्मण, क्षेत्रीको बसोबास छ । जनजाति, दलित समुदायभित्र करीब ४० प्रतिशत उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको गाउँपालिकाले जनाएको छ । बालविवाह अन्त्य गर्नका लागि रिब्दीकोट गाउँपालिकाले खासै चासो देखाएको छैन । केही वर्षअघि उमेर नपुग्दै विवाह भएका करिब सात जोडीलाई भने अभिभावकको आग्रहमा छुटाएको थियो ।

तालिका २ : बालमैंत्री कार्यक्रममा स्थानीय सरकारले गरेको खर्च विवरण
स्थानीय तहआ.व २०७७/०७८आ.व २०७८/०७९आ.व २०७९/०८०आ.व २०८०/०८१
बगनासकाली गाउँपालिका५५ लाख२५ लाख१९ लाख ५० हजार२० लाख
रम्भा गाउँपालिका२० लाख२० लाख१६ लाख ५० हजार
रामपुर नगरपालिका५ लाख५ लाख५ लाख१० लाख
निस्दी गाउँपालिका३५ लाख५२ लाख
माथागढी गाउँपालिका१० लाख१० लाख
तिनाउ गाउँपालिकाएक करोड १२  लाख २० हजार (अनुमानित खर्च)
स्रोत : सम्बन्धित पालिका
बालविवाह व्याप्त, प्रहरीमा भने उजुरी नगण्य

जिल्ला प्रहरी कार्यालयमा बालविवाहका मुद्दा नगण्य मात्र छन । बितेका तीन आर्थिक वर्षमा बालबिबाहसम्बन्धी २ वटा मात्रै उजुरी परेका थिए । बालविवाह भइरहे पनि प्रहरीमा उजुरी नपरेकाले यसो भएको हो । धेरै जसो बालविवाह आपसी समझदारीमै हुने भएकाले प्रहरी समक्ष खासै उजुरी नपर्ने गरेका हुन् । प्रहरीमा उजुरी नआए पनि समाजमा व्याप्त रहेको बालविवाहलाई रोक्न प्रहरीले प्रयास भने गरेको छ । समुदाय र विद्यालयस्तरमा पुगेर बालविवाह सम्बन्धी चेतना जगाउने काम गरिएको डिएसपी सुगन्ध श्रेष्ठले बताए । उनले भने ‘बालविवाह रोक्न प्रहरी एक्लैले केही गर्न सक्दैन यस्ता विषयमा हरेक नागरिक सचेत हुन जरुरी छ ।’

तालिका ३ : जिल्ला प्रहरी कार्यालय पाल्पामा परेको बालविवाह उजुरी संख्या
क्र.सं.आर्थिक वर्षउजुरी संख्या
२०७८/०७९
२०७९/८०
२०८०/०८१
 जम्मा

सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यका साथ सरकारले ल्याएको ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, ०७२’ लागू भएको छ । केन्द्रदेखि स्थानीय तहसम्म बालमैंत्री शासनको अवधारणा अघि सारिएको छ । तर, बालविवाहलाई अन्त्य गर्न सरकारले कानून र यस्ता सरकारी लक्ष्य लिएर मात्रै पुग्दैन । परिवारमा चेतना बढाउनुपर्छ । अशिक्षा, गरिबी जस्ता समस्या हटाउनुपर्छ ।

Sharing is caring!