रोल्पा नगरपालिका १० का टिकाराम वली विगत १५ वर्ष यता वैदेशिक रोजगारीमा छन् । उनी अहिले साउदी अरबको एक कम्पनीमा काम गर्छन । उनी मात्र हैन उनको परिवारका अन्य तीन भाई पनि वैदेशिक रोजगारीमा छन् । माहिलो भाई वीरवहादुर वली र कान्छो भाई सुभान वली पनि साउदी अरबमै रहदा माहिलो भाई भने वैदेशिक रोजगारीकै क्रममा साउदी रहेको बेला बिरामी परे । किड्नीमा समस्या देखिएपछि स्वेदश फर्किएका उनी अहिले घरमै आराम गरिरहेका छन । टिकाराम ११ वर्षको छँदा बुबा सेते वलीलाई ४ कार्तिक २०५७ मा प्रहरीले हत्या ग¥यो । माओवादीेको पूर्णकालिन कार्यकर्ता सेते वली घरमै आएको बेला प्रहरीले छोपेर गोली हानि हत्या गरेको थियो । बुबाको हत्या हुदा टिकाराम ११ वर्ष, वीरवहादुर ८ वर्ष, दुर्गा ५ वर्ष, सुभाव ३ वर्ष र बहिनी गोमा वली गर्भमा थिईन । गोमाले अहिले स्नातक तहमा अध्ययन गरिरहेकी छिन । बुबाको हत्या पछि बाजे बज्यैको सहारामा वाँचेका उनीहरू सानैदेखी माओवादी समर्थक बने । सशस्त्र युद्ध अवधिभर उनीहरूले माओवादीलाई सहयोग गरिरहे । सानैमा अभिभावक गुमाएका उनीहरूलाई पार्टी नै सबथोक थियो । टिकाराम भन्छन शान्ति प्रकृयामा आएपछि माओवादीले आफन्तलाई चेप्न थाल्यो ।
युद्धमा सबथोक गुमाएकाहरू पार्टीबाट वहिष्कृत हुदै गए, अवसरवादी र नवप्रवेशीहरूको पार्टीमा हालिमुहाली चल्न थाल्यो । द्वन्द्व पिडितहरू किनारामा पर्दै गए, साँझ के खाउ, बिहान के खाउको अवस्थामा पुगे पछि देश बदल्न हिडेकाहरू बाटो वदल्न विवस भए । धेरैको गन्तव्य बन्यो वैदेशिक रोजगारी । टिकाराम रोजगारीका लागी खाडी जान बाध्य भए । गाउँकै साहुसँग मासिक ३ प्रतिशत व्याज दिने गरि १ लाख २३ हजार ऋण लिए । घरको आर्थिक अवस्थाका कारण भाईहरूले पनि विद्यालय जान सक्ने अवस्था नभएपछि क्रमशः विदेशिदै गए । गाउँकै साहुसँग ऋण लिएर उनीहरु सबै चार भाई विदेशिएका थिए ।
राज्य सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र द्वन्द्वमा रोल्पा द्वन्द्वको केन्द्र थियो । दशक लामो द्वन्द्वमा रोल्पामा ९६९ जनाको मृत्यु भयो । ३३ जना अझै वेपत्ता छन् । रोल्पामा मात्रै विशिष्ट श्रेणी र प्रथम श्रेणीका ७७ जना र ५९५ जना अन्य घाइते गरि जिल्लामा कुल ६७२ जना घाइते छन् । द्वन्द्वका क्रममा २०१ जना अपहरणमा परेका थिए । द्वन्द्वमा श्रीमान गुमाई एकल भएका ३२३ र हालसम्म श्रीमान वेपत्ता भई एकल जीवन विताईरहेका ७ गरि ३३० जना एकल महिलाहरू छन । सो द्वन्द्वमा राज्य पक्षबाट ७६२ जना, विद्रोही पक्षबाट १६५ जना, दोहोरो भिडन्तमा ८ जना र पक्ष नखुलेका ११ जना गरि ९४६ जनाले ज्यान गुमाएका थिए । सो अवधिमा राज्य पक्षबाट ६ जना र विद्रोही पक्षबाट २७ जना गरी जम्मा ३३ जना अझै पनि वेपत्ताको सूचीमा छन् ।
शान्ति प्रकृया पछि नेकपा माओवादी पटक पटक सत्तामा गयो । २०६३ यताका १७ वर्षमा झण्डै १५ बर्ष सरकारमा रहेको नेकपा माओवादीले ३ पटक सरकारको नेतृत्व समेत ग¥यो । यस अवधिमा रोल्पाका नन्दबहादुर पुन २ अवधि उपराष्ट्रपति भए । ओनसरी घर्तीमगर र कृष्णवहादुर महरा सभामुख भए । लुम्बिनी प्रदेश सरकारमा रोल्पाका कुलप्रसाद केसी र जोखबहादुर महरा पालैपालो मुख्यमन्त्री भए । वर्षमान पुनले २ पटक र कृष्णबहादुर महराले १ पटक अर्थमन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाले ।
सविधान जारी भएपश्चात भएका २ वटा स्थानीय तह निर्वाचनमा रोल्पाका १० मध्ये ७ स्थानीय तह जितेको नेकपा माओवादी केन्द्रले बलियो उपस्थिति सहित स्थानीय सरकार सञ्चालन ग¥यो । २०७९ सालमा सम्पन्न दोश्रो स्थानीय तह निर्वाचनमा समेत उसले ७ वटा स्थानीय तहमा निर्वाचित भएर सरकार सञ्चालन गरिहेको छ । शान्ति प्रकृया पछि नेकपा माओवादीले ठूलो अवसर लिए पनि माओवादीलाई साथ र सहयोग गर्ने सशस्त्र युद्धका घाईते अपाङ्ग मृतकका परिवारलाई भने त्यो सरकार कागलाई वेलपाक्यो हर्ष न विस्मात हुन पुग्यो । सशस्त्र युद्धका घाईते अपाङ्ग तथा मृतकका परिवारहरूका लागी माओवादी नेतृत्वको तीनै तहका सरकारले कुनै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा उनीहरू खाडीमा रगत पसिना वगाउन वाध्य हुन पुगेका छन । अमेरिकी सामाज्यवाद विरोधी स्कूलिङले दिक्षित तिनै कार्यकर्ता अवैध बाटो हुदै अमेरिका जाने क्रम समेत बढ्दै जान थालेको छ । रोल्पाका वस्ती तथा घरहरू बिस्तारै रित्तिदै जान थालेका छन् ।
सात हजार १३३ घरधुरी रहेको रोल्पा नगरपालिकाबाट मात्रै २ हजार ८८१ घरधुरीका तीन हजार १६४ युवा वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा रहेका नगरबासीको यो संख्या पालिकाको कुल घरधुरी संख्याको ४० प्रतिशत हो । उनीहरू मध्ये करिब ७० प्रतिशतको गन्तव्य मलेसिया र खाडी मुलुक हुने गरेको छ । जसमा करिब ६ प्रतिशत महिला रहेका छन् । जसमध्ये ८९ प्रतिशत अदक्ष कामदारको रुपमा जाने गरेका छन । जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेख अनुसार आर्थिक वर्ष २०७९/०८० मा रोल्पाबाट ५ हजार ९५९ पुरुष र १ हजार ५१२ गरि कुल ७ हजार ४७१ युवाले राहादानी लिए । अघिल्लो बर्ष पुरुष ४ हजार ४२६ र महिला १ हजार २२७ गरि कुल ५ हजार ६५३ युवायुवतीले रोल्पा छोडे । यो संख्या राहादानी लिनेहरुको मात्रै हो । कतै अभिलेखिकरण नभएपनि रोल्पाबाट ठूलो संख्याका युवायुवती रोजगारीका लागी भारत जाने गर्दछन । त्यतिमात्र हैन रोजगारीको कुनै विकल्प नभएपछि काठमाण्डौका इट्टा भट्टा मात्र हैन अन्य शहरहरूमा समेत काम गर्ने रोल्पाली युवायुवतीको संख्या निकै ठूलो रहेको बताइन्छ ।
रोल्पाका पालिकाहरूले सशस्त्र द्वन्द्व वा शहिदको फुर्को झुण्याएर हरेक बर्ष विनियोजन गर्ने बजेट निकै नगण्य हुने गरेको छ । चालु आर्थिक वर्षका लागी जिल्लाका एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले द्वन्द्व पीडित, विपन्न, एकल महिलाहरूका लागी वाख्रापालन प्रवद्र्धन कार्यक्रम शीर्षकमा २ लाख, विपन्न, एकल र द्वन्द्व पीडित सुनौला हजार दिनका आमा लागि कुखुरा सहयोगमा ३ लाख विनियोजन गरेको छ । यसैगरि शहिद स्मृती भ्यूटावरका लागी १० लाख, शहिद स्मृती कपका लागी १२ लाख, शहिद, अपाङ्ग, घाइते र द्वन्द्व पीडितहरूको स्वास्थ्य बीमाका लागी १५ लाख विनियोजन गरेका छन ।
नगरपालिकाले विनियोजन गरेको बजेट मध्ये घाईते, अपाङ्ग र मृतकका आफन्त प्रत्यक्ष लाभान्बित हुने बजेट निकै कम हुने गरेको वताईन्छ । द्वन्द्व पिडितहरूले प्रत्यक्ष फाईदा पाउने कार्यक्रम भन्दा पनि स्मृतीकरणका लागी विनियोजित बजेट धेरै हुदा त्यसको फाईदा प्रत्यक्ष रुपमा घाईते अपाङ्ग र मृतकमा परिवारले पाउदैनन् रोल्पा नगरपालिका २ की द्वन्द्व पिडित मिना विकले भनिन् । विनियोजन गरेको वजेटमा पनि विभेद हुन्छ, पार्टी, जाती र क्षेत्र हेरेर व्यवहार हुन्छ द्वन्द्वमा विद्रोही पक्षबाट श्रीमान गुमाएकी विकले भनिन् । द्वन्द्व पिडितहरूका लागी खासै कार्यक्रम ल्याएको देखिदैन, मुख बुजो लगाउन ल्याइएका साना तिना कार्यक्रम पनि नेताका आफन्त र आसेपासेले दोहो¥याई तेहे¥याइ पाउछन विकले भनिन ।
द्वन्द्व पीडितको नाममा आफ्ना समर्थक र कार्यकर्तालाई मात्र अवसर दिने काम भएको छ द्वन्द्व पीडित श्रीकुमारी घर्तीमगरले भनिन् । जुन पार्टीले जितेको छ त्यही पार्टीका कार्यकर्ताले मात्रै द्वन्द्व पीडितको नाममा सेवा सुविधा पाएका छन । सवै द्वन्द्व पीडितले आवश्यकताका आधारमा अवसर पाउने वातावरण वनाउनु पर्छ घर्तीमगरले भनिन् । बलात्कार तथा यौन हिंसा पीडितहरूलाई सरकारले नै सौतेनी व्यवहार गरेको छ । उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण समेत राम्रो बन्न सकेको छैन उनले भनिन । द्वन्द्व पीडितलाई विभेद गर्ने कुनै पनि तहका सरकारलाई छुट नभएको सुनछहरी गाउँपालिका अध्यक्ष धनवहादुर पुनको भनाई छ । आफु पालिकामा निर्वाचित भएर आएपछि सवै द्वन्द्व पीडितलाई समान व्यवहार गरेको अध्यक्ष पुनको भनाई छ ।
गाउँपालिका अध्यक्ष पुनका अनुसार सुनछहरी गाउँपालिकाले अघिल्लो वर्ष १९९ घर परिवारको स्वास्थ्य बीमाका लागी करिव ७ लाख खर्च गरेको थियो । यस वर्ष स्वास्थ्य बीमालाई निरन्तरता दिनुका साथै द्वन्द्व पीडितहरूको साझा चौतारी निर्माण गरि उनीहरूकै अगुवाईमा सीपमुलक तालिम सञ्चालन गर्ने योजना छ । जसका लागी पालिकाले दश लाख बजेट विनियोजन भएको छ । पालिकामा रहेका एम्वुलेन्समा द्वन्द्व पीडितहरूका लागी पचास प्रतिशत छुट छ । चालु आर्थिक वर्ष स्मृतीकरणका लागी वजुधुरीमा शहीद गणतन्त्र पार्क बनाउने गरी संघीय सरकारवाट ४५ लाख बजेट विनियोजन भएको छ । जिल्लाका अधिकांश पालिकाहरूले द्वन्द्व पिडितहरूको स्वास्थ्य बीमा वनाउन बजेट विनियोजन गर्ने भएपनि लक्षित वर्ग भने यस कार्यक्रम प्रति खासै आकर्षित भएको पाईदैन । सुनछहरी गाउँपालिको अघिल्लो वर्ष सबै शहीद परिवारका सदस्यलाई स्वास्थ्य बीमा गराएको भए पनि अर्को वर्ष भने निकै थोरैले मात्रै स्वास्थ्य बीमा गरेका थिए । सुनछहरी गाउँपालिका अध्यक्ष पुनका अनुसार स्वास्थ्य बीमा प्रति लक्षित समुदायको आकर्षण देखिदैन ।
रोल्पाका स्थानीय तहहरुमा नेकपा माओवादी केन्द्रको वलियो उपस्थिति रहेपनि उनीहरूले सशस्त्र युद्धका घाइते, अपाङ्ग तथा मृतकका परिवारलाई लक्षित कार्यक्रम, रोजगारी तथा सीप विकासका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेका छैनन । सरकारको यस्तै निरिहताले रोल्पाली युवायुवतीहरू असुरक्षित रुपमा वैदेशिक रोजगारीमा जानुका साथै अवैधानिक बाटोबाट अमेरिका जाने क्रम समेत बढ्दै गईरहेको छ । स्थानीय सरकारहरूले प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा र भएका सानातिना कार्यक्रम पनि आफ्नालाई मात्रै अवसर दिदा आफुहरू वैदेशिक रोजगारीमा जानुको विकल्प नभएको रोल्पा नगरपालिका १० घर भई हाल रोजगारीका शिलसिलामा साउदी अरबमा रहेका टिकाराम वलीले भने ।