प्रदेशका ताल तलैयाको हाल : कतै घर ठडिए, कतै खेती किसानी

कृष्ण मल्ल २०८१ पौष बुटवल

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ का प्रविण धकिकारको घर भएको ठाउँमा पाल्हिनन्दन ताल हेर्नका लागि गाडी रिजर्भ गरेर मानिसहरू आउँछन् र सोध्छन्, ताल कता छ ? उनीहरूलाई प्रविणले तोरी वा गहुँ वा धान लगाएको खेत देखाइदिन्छन् । ताल हेर्न आउनेहरू खेतीवाली देखेर अचम्म परी फर्किन्छन् । उनले सानो छदा आँखाले देखिने ठाउँसम्म ताल देखेका थिए । उनका अनुसार ताल सुक्दै गएपछि स्थानीय बासिन्दाले घाँस र बुट्यान काटेर खेती गरेका हुन् । यो ताल पहिले सय बिगाहामा फैलिएको थियो ।

पाल्पा तानसेनको प्रभास ताल माटोले पुरिदै गएको छ । त्यहाँ घर ठडिँदै छन् । प्रभास क्षेत्रलाई मनमोहक बनाउने उक्त ताल घटेर पोखरीमा परिणत हुने क्रममा छ । लुम्बिनी प्रदेशका धेरै ताल तलैया मासिदै गएका छन् । राष्ट्रिय ताल संरक्षण विकास समितिले सन् २०२१ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार सन् १९९२ यताका २०/२२ वर्षमा लुम्बिनी प्रदेशका मधेसका जिल्लामा १ हजार ४४ वटा ताल मासिएका छन् । नेपालभरमै सबैभन्दा बढी ताल मासिएको जिल्ला कपिलबस्तु यही प्रदेशमा पर्दछ । त्यहाँ सो अवधिमा कपिलबस्तुमा ३ सय २७ वटा ताल मासिएका थिए ।

नवलपरासीकै पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ को ८२ बिगाहा नामको अर्काे तालको पनि नाम निशाना नै छैन् । ताल क्षेत्रमा स्थानीय बासिन्दाले खेतीवाली लगाइरहेका छन् । बचेका तालहरू पनि खुम्चिँदैछन् । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–७, मानपुर र शिवराज नगरपालिका–३ मा पैmलिएको सखुनिया ताल यसको एउटा उदाहरण हो । यो ताल पहिले करिब एक सय बिगाहामा फैलिएको थियो । अहिले करिब २५ बिगाहामा खुम्चिएको छ । त्यसैगरी रुपन्देहीको ओमसतियाको सिलौटिया ताल, सियारीको नन्द पोखरी, सुनवलको अस्नैया ताल, महल पोखरी, कपिलवस्तुको तौलिहवाको सागर ताल, निग्लीहवा ताल, अर्घाखाँचीको डमरु दह खुम्चिदै र हराउँदै गइरहेका छन् ।

लुम्बिनीमा कहाँ कति ताल ?

लुम्बिनी प्रदेशमा १ हजार २ सय ९७ वटा ताल रहेको राष्ट्रिय ताल संरक्षण विकास समितिको सर्वेक्षण सन् २०२१ को अध्ययनले देखाएको छ । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी ताल कपिलवस्तुमा ३ सय ५१ छ भने त्यसपछि क्रमशः रुपन्देहीमा २ सय ८९, बाँकेमा २ सय ४३, नवलपरासीमा १ सय ६३ ताल छन् भने सबैभन्दा कम अर्घाखाँचीमा ३ वटा ताल रहेको उक्त अध्ययनमा देखिन्छ ।

तालिका नं. १ जिल्लाअनुसार तालको संख्या
जिल्लातालको संख्या
अर्घाखाँची
बाँके२४३
बर्दिया८२
दाङ३८
गुल्मी११
कपिलवस्तु३५१
नवलपरासी१६३
पाल्पा१२
प्यूठान१९
रोल्पा१६
रुकुम पूर्व७०
रुपन्देही२८९
जम्मा१२९७
स्रोत : राष्ट्रिय ताल संरक्षण विकास समितिको सर्वेक्षण सन् २०२१

लुम्बिनी प्रदेश सरकारले तोकेको प्रदेशका १०० वटा पर्यटकीय गन्तव्यमध्ये १६ वटा ताल छन् । तिमध्ये रुपन्देहीको कपरकट्टी ताल, मजगावा पोखरी, गैडहवा ताल, गजेडी ताल, नवलपरासीको नन्दन ताल, बुद्धमंलग ताल, कपिलवस्तुको जगदिशपुर ताल, सागर ताल, पाल्पाको सत्यवती ताल, तालपोखरा, अर्घाखाँचीको डमरु दह, बाँकेको रानी तलाउ, बनकट्टा ताल, बर्दियाको तारा ताल, दाङको बाह्कुने दह, रिहार ताल, जखेरा ताल, मयूर ताल, रोल्पाको तिलाचन दह र रुकुम पूर्वको कमल दहको अवस्था खस्केको छ । लुम्बिनी प्रदेशका १०१ तालको अध्ययनमा ५० वटा ताल मात्र राम्रो अवस्थामा देखिएका छन् ।

कसरी मासिए ताल ?

पाल्हीनन्दन गाउँपालिकाका प्रवक्ता कृष्णचन्द्र यादव माथिल्लो तहका सरकारलेको बेवास्ताका कारण ताल संरक्षण हुन नसकेको बताउँछन् । ताल क्षेत्र संरक्षण नहुँदा स्थानीयले खेती गर्दै आएको र अहिले ताल खेतमा परिणत भएको उनले बताए । पाल्हीनन्दन गाउँपालिकाका प्रवक्ता कृष्णचन्द्र यादव माछा मार्ने क्रममा पानीको निकासका लागि खनेको कुलो गहिरिदै जादा कालान्तरमा ताल मासिएको बताउँछन् । उनका अनुसार केही व्यक्तिले ताल अतिक्रमण गरी जग्गाधनी पुर्जा बनाउने प्रयास गरेका थिए । सर्वोच्च अदालतले तालको जग्गालाई पुर्जा दिन नमिल्ने गरी फैसला गरिदिएकाले जग्गा व्यक्तिको हुनबाट जोगिएको छ । कतैका तालमा मानिसले खेतीपाती गरे, कतै घर बनाए । कतैकतैका ताल सडक बनाउँदा पुरिए । नवलपरासीको पूर्वमा रहेको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक कार्यालय बनाउने ठाउँमा पोखरी पर्दा अदालतमा मुद्दा प¥यो । अदालतले भवन बनाउन रोक लगाएको थियो । पछि पालिकाले भवन बन्ने स्थानको दुई कित्तामध्ये पोखरी नभएको क्षेत्रमा बनाउने गरी मुद्दा मिलायो तर अहिले उक्त पोखरी सानो कुण्डमा सीमित भएको छ ।

पाल्पाको तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष प्रदीप खनालले व्यक्तिले घर बनाएकाले अहिले ताल ३४ रोपनीमा खुम्चिएको बताए । ताल मासिँदा किसानहरूलाई धेरै ठूलो असर परेको छ । शिवराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाका अनुसार कपिलवस्तुको बुद्धभुमि नगरपालिका–७, मानपुर र शिवराज नगरपालिका–३ मा पर्ने सुखानिया ताल त्यस क्षेत्रकै ठूलो ताल थियो । यसले कपिलवस्तुको दक्षिणी क्षेत्रमा सिंचाई सुविधा दिएको थियो तर त्यसको बाँध भत्कँदा तालमा पानी घटेको छ । त्यसले गर्दा हिउँदे खेतीपातीका लागि सिँचाइ सुविधा पुगेको छैन ।

ताल तलैयाको पानीले मानिस र पशुपंक्षीलाई मात्रै जीवन दिने मात्र होइन भूमिगत जलको स्तर बढाउन र स्थानीयको जीविर्कोपार्जन बढाउनमा सघाउँछ । कतिपय तालमा पानीमात्रै रोक्न सके पनि माछापालन र डुंगा शयर आदि मार्फत स्थानीय बासिन्दाको आम्दानीमा टेवा पुग्न सक्छ । भूमिगत जलस्रोतको सतह बढेर तराईमा देखिएको पानी अभाव समेत हट्छ ।

लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये चार वटा पालिकाको नाम तालसँग जोडिएर राखिएका छन् । तिनमा पाल्हीनन्दन गाउँपालिका, नवलपरासी, देवदह नगरपालिका, गैडहवा गाउँपालिका, रुपन्देही, बडैयाताल गाउँपालिका, बर्दिया रहेका छन् । ताल नभएपछि ती पालिकाको नाम पनि निरर्थक भएका छन् । पहाडमा भूक्षय, खहरे र खोलाका कारण ताल र पोखरी मासिरहेका छन् भने तराइमा अतिक्रमण र फोहरमैलाले पनि ताल पुरिदै छन् । गैडहवा गाउँपालिकाका स्थानीय चन्द्रप्रकाश दुवेका अनुसार अतिक्रमणले गर्दा गैडहवा ताल मिचिँदैछ । उनका अनुसार यो ताल पहिले ९९ सय बिगाहामा पैmलिएकोमा अहिले ६० बिगाहामा खुम्चिको छ । तालको पश्चिम, उत्तर र पूर्व भागमा २०४६ पछाडी अतिक्रमण भएको र तीन दर्जनभन्दा बढी घर ठडिएको उनले बताए । ‘मैले देख्दा यो भन्दा ठूलो थियो, यहाँको पानीले सिंचाइ गथ्र्याे, अहिले गर्दैन,’ उनले भने ।

नवलपरासी पाल्हीनन्दन गाउँपालिका सोनइ गाउँका महेन्द्र चौधरीले आफुले पटक पटक नन्दन तालको ठेक्का लिइ माछाको बिक्री गरेको सम्झन्छन् । उक्त तालमा पानीको भाग मात्रै नभई दलदल क्षेत्र पनि थियो । चौधरीले तालमा माछा मात्रै नभइ बाक्लै चरा पनि आउने गरेको सुनाए । छेउका खेतमा सिँचाइ पनि हुन्थ्यो, उनले भने । कपिलवस्तुको शिवराज नगरपालिकाका स्थानीय कृषक अमिन मोहम्मद मुसलमानका अनुसार सखुनिया तालबाट खरेन्द्रपुरदेखि भारतीय सिमानाको कजरहवासम्मका हजारौं किसानको सयौं हेक्टर जमिनमा सिंचाइ हुन्थ्यो । तर अहिले स्थानीयले ताल अतिक्रमण गरेपछि ताल खुम्चिएको छ । भएको तालमा ठेक्का गरि माछा पालन भएको छ । ठेकेदारले आफु अनुकूल पानी राख्ने र फाल्ने गरेको हुँदा खेती गर्नमा असुविधा त परेको छ नै पानीले नोक्सानी समेत गरेको मुसलमान बताउँछन् ।

ताल मासिदा बन्यजन्तु पानी खानकै लागि बस्ती पस्ने, वनमा डडेलो फैलने गरेको वातावरण विज्ञ युवराज कंडेल बताउँछन् । ताल मासिदै जादा तराइमा सिंचाईको स्रोत घट्दै जानुका साथै जैविक विविधतामा नकारात्मक असर पुग्दा जलचर मासिने खतरा बढेको कंडेलले बताए । उनले तराई क्षेत्रमा तालसँग संस्कृति समेत जोडिएकोले ताल सभ्यतामा (पुजाआजा) मा असर परिरहेको बताए । विकास निमार्णको क्रममा संरचना निर्माणमा ध्यान नदिदा पनि ताल तलैयाहरू पुरिदै गएको वातावरण विज्ञ कंडेल बताए ।

पोखरी हेर्दे, ताल बिर्सिदै प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले आ.व.२०७५/०७६ देखि नै आफ्नो नीति तथा कार्यक्रममा ‘एक गाउँ एक पोखरी’ निर्माणका लागि स्थानीय सरकारसँग सहकार्य गर्ने भन्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, लुम्बिनीका प्रवक्ता प्रभात सापकोटाले २०८१/०८२ मा पनि जलवायुु परिवर्तन अनुकुलन कार्यक्रम अन्तर्गत एक वडा एक पोखरी कार्यक्रमलाई क्रमशः सबै वडामा बिस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार ‘एक गाउँ एक पोखरी निर्माण’ अभियानअन्तर्गत प्रदेश सरकारले १ सय १६ वटा पोखरी निर्माण गरेको छ । पर्यावरण जोगाउने उद्देश्यले प्रदेशका १२ वटा जिल्लामा करिब पाँच हजार २०० घनमिटर क्षमताका पोखरी बनेका छन् । प्रवक्ता सापकोटाका अनुसार पोखरी निर्माण र संरक्षणमा अभियानकै रुपमा प्रदेश सरकारले काम गरिरहेको भएपनि ताल संरक्षणमा भने त्यति धेरै काम हुन सकेको छैन् । त्यसैले प्रदेश सरकारको काम ‘ताल मासी पोखरी’ भने जस्तै भएको छ ।

घोराही उपमहानगरको प्रयास सहनिय

दाङको घोराही उपमहानगरपालिकाले आव २०७५/०७६ मा ताल संरक्षण गर्न शुरु गरेको हो । उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीका अनुसार अहिलेसम्म ४३ वटा बनाइसकेको छ भने २ वटा बन्ने प्रक्रियामा छन् । तालबाट वर्षाको पानी जम्मा गरि हिउँदमा खेतीमा सिँचाइ गर्नमा सजिलो हुनुका साथै स्थानीयको आयआर्जनमा सहयोग पुगेको नगरप्रमुख चौधरी बताउँछन् । ताल हेर्नका लागि आउने र त्यसबाट होटल पसल राम्रो चल्नुको साथै माछा पालन भइरहेको उनले बताए । उनले तालबाट जमिन मुनिको पानीको सतह रिचार्ज समेत भएको बताए । ‘हरित क्रान्ति आत्मनिर्भरता, सहभागिता र समता–मानव विकास स्वस्थ र स्वच्छ घोराही उप–महानगरपालिका’ नारा तय गरेको छ । पोखरीमा जम्मा गरिएको पानीले बाह्रै महिना सिंचाइ हुने भएपछि घोराही २ सुर्केडाँगीका सुशीला चौधरीले तरकारी खेती गरिरहेकी छिन् । काउली, बन्दा, गोलभेँडासँगै मौसमी र बेमौसामी तरकारी बेचेर राम्रो आम्दानी भइरहेको बताइन । सिंचाइसँगै तालमा डुंगा चलाएर पनि स्थानीय बासिन्दाले रोजगारी र कमाइ गरिरहेका घोराही १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राममणि पाण्डेले बताए ।

Sharing is caring!