प्रदेश पाच सरकारले करोडौं लागतका गौरवका योजना अगाडी बढाएको छ । गत आर्थिक वर्षमा प्रदेशका पहाडी जिल्लाहरु जोड्ने गरी एउटा राजमार्गलाई गौरवको आयोजनाका रुपमा अगाडी बढाएको प्रदेश सरकारले यस आर्थिक वर्षमा विभिन्न सडकहरुका अतिरिक्त यहाको एउटा अस्पताललाई समेत गौरवको आयोजनाको रुपमा अगाडी बढाएको छ ।
पाल्पाको रामपुरबाट अर्घाखाची–प्यूठान हुदै रोल्पा पुग्ने सडकलाई प्रदेशको मुख्य गौरवको आयोजनाका रुपमा लिइएको छ । यस सडकलाई जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग नामाकरण गरिएको छ । यस आर्थिक वर्षमा १० करोड भन्दा बढी रकम विनियोजन भएका विभिन्न सडक आयोजनालाई प्रदेश गौरवका आयोजनाको दर्जा दिइएको छ ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार जनतालाई विकासको अनुभुती छिटो अनुभुती दिलाउने गरी प्रदेश सरकारले विभिन्न आयोजनालाई गौरवका आयोजनाका रुपमा लिएर कामलाई तीव्र पारिएको छ ।
चौधरी भन्छन्, शुरुमा काम गर्दा अनुभवको पनि कमी थियो । त्यसैले, गत आर्थिक वर्षमा सोचेजति काम गर्न सकिएन । यस आर्थिक वर्षमा कामले गति लिन्छ । कामलाई तीव्र रुपमा अघि बढाउने क्रममा विभिन्न योजनालाई गौरवका योजनाको दर्जा दिइएको हो ।
प्रदेश सरकारले आफैले बनाएका आयोजनाबाहेक केन्द्र सरकारबाट हस्तान्तरण भइ आएका आयोजनालाई समेत गौरवका आयोजनाका रुपमा अगाडी सारेको छ ।
यी हुन गौरवका आयोजना
रामपुर–कपुरकोट सडक
प्रदेश सरकारले गत आर्थिक वर्षमा नै पाल्पाको रामपुरदेखि रोल्पाको कपुरकोटसम्म पुग्ने गरी पहाडी राजमार्ग निर्माण गर्ने गरी योजना अगाडी सारेको थियो । ३ सय किलोमिटर लामो यस सडकमा तीन वर्ष भित्रमा सवारी साधन चल्न मिल्ने गरी काम अगाडी बढाइएको प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर इश्वर गौतमले बताए । शुरुमा २ लेनको बनाइने र पछि विस्तार गर्ने योजना रहेको छ । ट्रयाक खुलेको र केही पिच गर्ने योजना सरकारको छ । यस आर्थिक वर्षमा यस सडकका लागि २० करोड बजेट रहेको छ । तीन खण्डमा ठेक्का लगाएर काम अगाडी बढाउने तयारी छ ।
वेलवास– वेथरी सडक
बुटवलको वेलवासबाट वेथरी पुग्ने सडकलाई पनि गौरवको आयोजनाका रुपमा लिइएको छ । यो सडक गत वर्ष केन्द्र सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । वहुवर्षिय सशर्त योजनाको यो सडक गत वर्ष ठेक्का लगाएर प्रदेशलाई हस्तान्तरण गरिएको थियो । यसको बजेट ३० करोड छ ।
मन्त्री चौधरी यस सडक निर्माणका क्रममा विद्युतका पोल, खानेपानीका पाइप सार्नेदेखि विभिन्न समस्या रहेकोमा ती समस्या हल गर्दै अगाडी बढेको बताउछन । पोल सार्नका लागि विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको उपस्थीतिमा छलफल गरी निकास निकालिएको थियो । पोल हटाउने खर्च एक करोड प्रदेश सरकारले उपलब्ध गराउने र पोलसहित सामान जुटाउने काम प्रधिकरणले गर्ने गरी काम अगाडी बढेको छ । पोल सार्ने कामका लागि मात्रै ४ करोड खर्च अनुमान गरिएकोमा अब प्रदेश सरकारले एक करोड लगानी गरे हुने भएको छ । सोही अनुसार काम अगाडी बढेको मन्त्री चौधरीले बताए ।
त्यस्तै खानेपानी पाइप तथा नहरको ब्यवस्थापनको काम प्रदेश सरकारले अगाडी बढाउदै सडक निर्माणलाई तीव्रता दिइने मन्त्री चौधरीले बताए ।
रुद्रवेणी–वामीटक्सार सडक
गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकको कामलाई पनि गौरवकै आयोजनाका रुपमा तीव्र पारिएको मन्त्री चौधरीले बताए । यसका लागि चालु आर्थिक वर्षमा १४ करोड बजेट छुट्याइएको छ । यो पनि केन्द्रले हस्तान्तरण गरेको योजना हो । यस सडक निर्माणका क्रममा केही जटिलता रहेकोमा ती हल गर्न मन्त्री चौधरीकै अध्यक्षतामा सरोकारवालाहरुको बैठकबाट निकास निकालिएको छ । ७ वटा ठेक्का गरेर काम अगाडी बढाइदै छ ।
चरङे–झुम्सा सडक
पहिरोको अत्यन्तै बढी जोखिम रहेको बुटवल –पाल्पा सडक खण्डको विकल्पका रुपमा अगाडी सारिएको चरङे–झुम्सा सडकलाई पनि गौरवकै आयोजनाका रुपमा अगाडी बढाइएको छ । यस सडक खण्डमा गत वर्ष पनि काम भएको थियो । यस आर्थिक वर्षमा १० करोड वजेट छुट्टाइएको छ । यस आर्थिक वर्षमा सवारी साधन गुड्न सक्ने सडक बनाउने गरी काम गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।
कुहिरेपानी–सर्रा (दाङ) दामोदर मार्ग
दाङको कुहिरेपानी–सर्रा जोड्ने सडकलाई पनि गौरवकै योजनाका रुपमा अगाडी सारिएको छ । यस सडकलाई दामोदर मार्ग पनि भनिन्छ । यस सडक निर्माणका क्रममा वीचमा एउटा पुल समेत निर्माण हुदैछ । यस आर्थिक वर्षमा यस सडक खण्डलाई १० करोड बजेट रहेको छ ।
लुम्विनी चक्रपथ
प्रदेशको गौरवको आयोजनामा गौतमवुद्धको जन्मभुमि लुम्विनीलाई पनि महत्व दिइएको छ । लुम्विनी वगैचा वरीपरी चक्रपथको योजना पद्रेश सरकारले अगाडी सारेको छ । यसका लागि चालु आर्थिक वर्षमा १२ करोड बजेट विनियोजन गरिएको छ । चक्रपथले लुम्विनीको सुन्दरता बढाउने विश्वास सरकारले लिएको छ । १२ किलोमिटर लामो चक्रपथ सम्पन्न भएपछि सडकमा धुलो उड्ने र त्यहाको वातावरणमा नकरात्मक असर पर्ने स्थीति नआउने मन्त्री चौधरीले बताए ।
लुम्विनी प्रदेशिक अस्पताल
बुटवलमा रहेको लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा विशेष महत्व दिएको छ । प्रदेश पाचका अतिरिक्त अन्य प्रदेशका विभिन्न जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने यस अस्पताल सुविधा सम्पन्न बनाउने गरी विशेष महत्व दिइएको प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले बताए ।
प्रदेश सरकारको गौरवको आयोजनामा दोश्रो नम्वरमा यस अस्पताल परेको मेडिकल सुपरिण्टेण्डेट डाक्टर कृष्ण खनालले बताए । सोही आयोजनाको काम अगाडी बढाउने क्रममा अस्पतालका सटरहरु हटाउन लागिएको उनले बताए । अस्पतालले ७२ वटा सटरहरु भाडामा लगाउदै आएको थियो । जसबाट वार्षिक ८ करोड आम्दानी गर्दै आएको थियो । ती सटरहरु खाली गर्न अस्पतालले तीन महिनाको म्याद दिइसकेको छ । अस्पतालको फोहोर ब्यवस्थापनदेखि विभिन्न सुधारका काम अगाडी बढेको अस्पतालले जनाएको छ ।
यस क्षेत्रको महत्वपूर्ण अस्पतालका रुपमा लुम्विनी प्रदेशिक अस्पताल रहेको भन्दै मन्त्री बरालले यस अस्पताललाई आधुनिक अस्पतालको स्वरुप कसरी दिन सकिन्छ भनेर गुरुयोजना बन्दै गरेको बताए । प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा काम अगाडी बढेको छ । सेवा विस्तार गुणस्तरीय वनाउने गरी काम अगाडी बढ्ने मन्त्री बरालको भनाई छ ।
यी आयोजना पनि गौरवकै आयोजना
प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका बारेमा मापदण्ड नवनाएको अवस्थामा ठूला तथा महत्वपूर्ण आयोजनाहरुलाई गौरवको आयोजनाका रुपमा लिएको जनाएको छ । गौरवका आयोजनामा यस आर्थिक वर्षमा कपिलवस्तुका कृष्णनगर–शिवपुर सडक र बनगाइ –डोहेटे सडकलाई पनि गौरवकै आयोजनाका रुपमा लिइएको मन्त्री चौधरीले बताए । यी दुवै सडकका लागि १२–१२ करोड बजेट रहेको छ ।