रोल्पामा प्राविधिक शिक्षाप्रति आकर्षण घट्दै जान थालेको छ । स्थानीय स्तरमा चाहिने प्राविधिक जनशक्ति स्थानीय स्तरमा नै उत्पादन गर्ने भन्दै सञ्चालन गरिएका ती शिक्षण संस्थाहरू रित्तिन थालेका छन् । पालिकाहरूले प्राविधिक विषय पढ्न सक्ने गरि तल्ला कक्षाका विद्यार्थीमा लगानी नगरी, माथिल्लो तहका शिक्षण संस्था खोल्न प्रतिस्पर्धा गरेकाले यस्तो अवस्था आएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) को आंगिक शिक्षालयको रुपमा रहेको रोल्पा प्राविधिक शिक्षालयको चालु शैक्षिक सत्रमा पहिलो वर्षको कक्षामा कृषि तर्फ ११ जना, भेटेरिनरी तर्फ ३५ जना र आईटी तर्फ २५ जना विद्यार्थी भर्ना भएका छन् । त्यहाँ कृषि र पशु तर्फ ४०/४० जना र आइटी तर्फ ४८ जनाको कोटा निर्धारण गरिएको छ । जिल्ला सदरमुकामको बालकल्याण मावि लिवाङमा सञ्चालित सिभिल ईन्जिनियरिङको डिप्लोमा तहको पहिलो वर्षमा २२ जना मात्र विद्यार्थी भर्ना भएका । उक्त विषय अध्ययनका लागि ४८ जनाको कोटा निर्धारण गरिएको छ ।
त्रिवेणी गाउँपालिका ५ जुगारमा रहेको जनजागृती माविले यस वर्ष डिप्लोमा तहको पशु विज्ञानमा भर्ना लिएन । उक्त विद्यालयमा पहिलो वर्ष २२ जना, दोश्रो वर्ष २९ जना, तेश्रो वर्ष १९ जना र चौथो वर्ष २१ जना भर्ना भएका थिए । प्राविधिक विषयको पढाइ चलाउन गाह्रो भयो, विद्यार्थी कम हुदै गए विद्यालयका प्रधानाध्यापक जीवराज भण्डारीले भने । त्रिवेणी गाउँपालिका २ नुवागाउँमा रहेको अरनिको माविमा डिप्लोमा ईन प्लान्ट साईन्स पढाइ हुन्छ । यहाँबाट हालसम्म २ वटा व्याचले पढाइ सकेका छन् । अहिले पहिलो, दोश्रो र तेश्रो वर्षमा गरि ६५ जना विद्यार्थी छन । यहाँ १२० जना विद्यार्थीले पढ्न पाउँछन् ।
परिवर्तन गाउँपालिका ५ रांकोटमा रहेको नेपाल राष्ट्रिय माविले प्लान्ट साईन्स, वन विज्ञान र भेटेरिनरीमा डिप्लोमा तहको पठन पाठन गर्दै आएको छ । सो विद्यालयमा पहिलो, दोश्रो र तेस्रो वर्षमा प्लान्ट साईन्समा २० जना, भेटनरीमा ६५ जना र वन विज्ञानमा १६ जना विद्यार्थी छन । उसले यस वर्ष प्लान्ट साईन्स र वन विज्ञानमा भर्ना लिएन । परिवर्तन गाउँपालिका २ रांसीमा रहेको जनसेवा माविले डिप्लोमा तहमा वन विज्ञान र सिभिल ईन्जिनियरिङ पढाउन सम्वन्धन पाए पनि । विद्यार्थी नभएकाले यी दुवै विषयको पढाइ भएको छैन ।
प्री डिप्लोमा झन समस्या
मध्यम खालको प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले प्री डिप्लोमा तहको पठन पाठन सुरु गरेको थियो । सुरुमा २९ महिने उक्त कोर्ष अहिले १८ महिने वनाइए पनि रोल्पामा त्यस कोर्षमा पनि आकर्षण देखिएको छैन । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माविले सिभिल ईन्जिनियरिङ विषयमा प्री डिप्लोमा सञ्चालन गरेको छ । ४० जना विद्यार्थी पढाउने गरि कोटा निर्धारण भएको सो विषय अध्ययनका लागी यस वर्ष सो विद्यालयमा २० जना मात्र विद्यार्थी भर्ना भएका छन । रोल्वाङ मावि जेल्वाङले लाईभ स्टक प्रोडक्सन एनिमल साईन्स पढाउदै आएको छ । उसंग यस वर्ष ४० वटा कोटा मध्ये ३७ जना भर्ना भएका छन । ३ जना सिटिईभिटिले पठाउने भएकाले हामीले भर्ना लिएनौ विद्यालयका प्रधानाध्यापक हिमलाल पोख्रेलले भने । भेटरिनरीमा प्री डिप्लोमा तहमा पठनपाठन गराउदै आएको परिवर्तन गाउँपालिका ५ स्थित नेपाल राष्ट्रिय मावि मौलावोट रांकोटले यस वर्ष उक्त विषयमा भर्ना लिएन । उक्त विषय अध्ययन गर्ने विद्यार्थी नपाएपछि उसले भर्ना नलिने निर्णय गरेको हो । परिवर्तन गाउँपालिका २ मा रहेको जनसेवा मावि रांसीले प्रीडिप्लोमा तहमा कम्प्युटर ईन्जिनियरिङ पढाउदै आएको छ । यस वर्ष उक्त विद्यालयमा २० जना विद्यार्थीले मात्रै पठन पाठन गर्दै आएका छन ।
कक्षा ९—१२ प्राविधिक धारमा पनि घट्दो आकर्षण
रोल्पाका करिब आधा दर्जन विद्यालयहरूले कक्षा ९—१२ मा प्राविधिक विषय पढाउँदै आएका छन । परिवर्तन गाउँपालिका ५ मौलावोट रांकोटले कृषि, गंगादेव गाउँपालिकाको वुद्धि विकास मावि रांकले कम्प्युटर ईन्जिनियरिङ र रुन्टीगढी गाउँपालिकाको भीमसेन मावि सैवाङले बाली विज्ञान पढाउदै आएको छ । थवाङ गाउपालिकाको वीरवलभद्र मावि थवाङले बाली विज्ञान, माडी गाउँपालिकाको कृष्ण मावि घर्तीगाउँले बाली विज्ञान र सुनिलस्मृती गाउँपालिकाको सूर्योदय मावि सुलिचौरले कम्प्युटर ईन्जिनियरिङ विषय पढाउदै आएको छ । यी सबै विद्यालयमा कोटा संख्या भन्दा कम विद्यार्थीहरुले पढिरहेका छन् । जसको विवरण तालिकामा देखाइएको छ ।
तालिका : १, कक्षा ९—१२ मा प्राविधिक विषय सञ्चालन भएका विद्यालय र विद्यार्थी संख्या
विद्यालयको नाम | सञ्चालित बिषय | जम्मा कोटा | कक्षा ९ | कक्षा १० | कक्षा ११ | कक्षा १२ |
नेरा मावि, मौलावोट | कृषि | ४८ | ४६ | ३६ | १५ | १२ |
वुद्धि विकास मावि, राँक | कम्प्युटर ईन्जिनियरिङ | ४८ | ३० | १४ | ३२ | ३२ |
भिमसेन मावि, सैवाङ | बाली विज्ञान | ४८ | २८ | २२ | १९ | ९ |
वीर वलभद्र मावि, थवाङ | बाली विज्ञान | ४८ | ३३ | ३६ | १९ | ७ |
कृष्ण मावि, घर्तीगाउँ | बाली विज्ञान | ४८ | २८ | ३१ | ११ | ३४ |
सूर्योदय मावि, सुलिचौर | कम्प्यूटर ईन्जिनियरिङ | ४८ | ३७ | ३८ | – | – |
छात्रबृत्तिले पनि वढाएन आकर्षण
“रोल्पा नगर, एक घर एक रोजगार” नारा दिएर रोल्पा नगरपालिकाले शुरु गरेको प्राविधिक छात्रबृत्तिमा विद्यार्थीको आकर्षण देखिएको छैन । रोल्पामा सुरुमा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रबृत्ति उपलव्ध गराउदै आएको सो नगरपालिकाले वितेका ६ वर्षमा ६०० जना विद्यार्थीलाई प्राविधिक छात्रबृत्ति वितरण गर्ने लक्ष्य राखेपनि यस अवधिमा जम्मा ३२६ जनाले मात्रै सो छात्रबृत्ति लिए । नगरपालिकाले छात्रबृत्तिअन्तर्गत शिक्षण संस्थाहरूले लिने सम्पुर्ण शुल्क व्यहोर्ने गर्दछ । रोल्पा नगरपालिकाले यसै वर्ष देखि एमविविएस र अन्य प्राविधिक विषयमा स्नातक तह अध्ययन गर्नका एक छात्र र एक छात्रालाई छात्रबृत्ति दिने भएको छ ।
माडी गाउँपालिकाले ३ जना विद्यार्थीहरूलाई एच.ए र कृषि डिप्लोमा अध्ययन गर्नका लागी शतप्रतिशत छात्रबृत्ति उपलव्ध गराउने भएको छ । परिवर्तन गाउँपालिकाले एमविविएस अध्ययनका लागी कुल लागतको ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । कृषि तथा पशु तर्फको उच्च शिक्षा अध्ययनमा ५० प्रतिशत छात्रबृत्तिको व्यवस्था गरेको सो गाउँपालिकाले विज्ञान पढ्ने ३० जना विद्यार्थीलाई पनि छात्रबृत्ति दिने भएको छ ।
त्रिवेणी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालयम पढाइ हुने डिप्लोमा तहको कृषि अध्ययनका लागि छात्रबृत्ति उपलव्ध गराउने भएको छ । खेतीयोग्य जमिन तथा पशुपालनको समेत राम्रो सम्भावना रहेको उक्त गाउँपालिकाले सुरुवात गरेको कृषि र पशु प्राविधिक अध्ययनले समग्र जिल्लाको विकासमा टेवा पुग्ने गाउपालिका अध्यक्ष कर्ण वाँठामगरले वताए । गाउँपालिकाले प्राविधिक शिक्षाका लागि २ वटा विद्यालयलाई १४ लाखका दरले सहयोग गर्ने गरेको छ । परिवर्तन गाउँपालिका ५ रांकोटले कृषि डिप्लोमा अध्ययनका लागि ५ जना विद्यार्थीलाई छात्रबृत्ति सहयोग गरेको छ । सो वडाले प्रति विद्यार्थी ४५ हजारका दरले छात्रबृत्ति दिईरहेका छ । सोही गाउँपालिकाले एकजना विद्यार्थीलाई एमविविएस अध्ययनका लागि ५० लाख छात्रबृत्ति दिने भनेको छ, तर छात्रबृत्ति लिने विद्यार्थी पाएको छैन ।
लुम्बिनी प्रदेशमै विजोग
लुम्बिनी प्रदेशका प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूले धमाधम प्राविधिक विषयका कक्षा बन्द गर्न थालेका छन् । प्रदेश भित्र प्रि डीप्लोमा तहमा १ सय १० वटा शिक्षण संस्थाहरूले कार्यक्रम सञ्चालन गर्दै आएकोमा ५१ वटा शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन् । बन्द हुनेमा सबैभन्दा बढि कृषि तर्फका प्री डिप्लोमा कक्षा चलाउने शिक्षण संस्था छन् । कृषि तर्फको प्लान्ट साईन्स प्रि डिप्लोमा १३ वटाले कार्यक्रम बन्द गरेका छन् भने ३१ वटा मात्रै चालु अवस्थामा छन् । शैक्षिक सत्र २०७९ मा १ हजार २४० विद्यार्थी पढाउने क्षमता भएपनि २ सय १४ जना मात्र विद्यार्थी भर्ना भएका थिए । यस्तै भेटरिनरी साईन्स तर्फ पनि ७ वटा शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन् भने १० वटा मात्रै चालु अवस्थामा छन् । उक्त विषयमा ४०० जना विद्यार्थीको कोटा रहेपनि जम्मा ९८ जना मात्रै भर्ना भएका हुन ।
सिभिल ईन्जिनियरिङतर्फ पनि १६ वटा शिक्षण संस्थाको कार्यक्रम बन्द छ । हाल सञ्चालनमा रहेका २३ वटा शिक्षण संस्थामा ९ सय २० जना विद्यार्थी भर्ना गर्ने क्षमता भएपनि २ सय ५२ मात्रै भर्ना भएका छन । यस्तै सर्भे ईन्जिनियरिङतर्फ पनि ८ वटामा पढाइ बन्द छन भने चालु रहेका ९ वटामा ३६० जना विद्यार्थीले पढ्न पाउने कोटा रहेकोमा १७६ जना मात्रै भर्ना भएका छन् । यस्तै कम्प्युटर ईन्जिनिरिङ तर्फ पनि ७ वटा शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन भने सञ्चालनमा रहेका ९ वटा शिक्षण संस्थामा ३६० विद्यार्थी पढ्न पाउने कोटा रहेकोमा १८३ जना मात्रै भर्ना भएका छन् । प्रदेश भित्र शैक्षिक सत्र २०७९ मा प्री डिप्लोमा तहको प्राविधिक धार तर्फ भर्ना गर्न सकिने कुल क्षमता ४ हजार ५ सय ६० विद्यार्थी रहेपनि १ हजार ५ सय ८८ विद्यार्थी मात्रै भर्ना भएका थिए । प्री डिप्लोमा तहमा वितेका तीन वर्ष भर्ना गर्न मिल्ने कोटा र खुद भर्ना भएका विद्यार्थीका विवरण यहाँ प्रस्तुत गरिएको छ ।
तालिका २ : प्री डिप्लोमा तहमा विगत तीन वर्षमा लुम्बिनी प्रदेशको कोटा र भर्ना भएका विद्यार्थी संख्या
कार्यक्रम | २०७७ | २०७८ | २०७९ | |||
कोटा | विद्यार्थी | कोटा | विद्यार्थी | कोटा | विद्यार्थी | |
अटो मोवाईल ईन्जिनियरिङ | १६० | ११२ | १६० | १०० | १६० | ११२ |
सिभिल ईन्जिनियरिङ | ८४० | ४७८ | ८४० | ३६६ | ६४० | २५२ |
कम्प्यूटर ईन्जिनियरिङ | ३६० | २१० | ३६० | २१९ | २८० | १८३ |
इलेक्ट्रिकल ईन्जिनियरिङ | ४०० | १६६ | ३६० | २१९ | ४०० | १४५ |
सर्भे ईन्जिनियरिङ | ३६० | २२७ | २८० | २३६ | ३२० | १६७ |
प्लान्ट साईन्स | ८०० | ३३८ | ६४० | २१६ | ५२० | २१४ |
एनिमल साईन्स | ३२० | १८० | ३२० | १८१ | ३२० | १६७ |
भेटेरिनरी साईन्स | ४०० | १३९ | २८० | ११६ | २८० | ९८ |
यी विषयका साथै प्रदेशका विभिन्न शिक्षण संस्थाहरूले इयर्लि चाईल्ड डेभलवमेन्ट फेसिलिटेशन, इलोक्ट्रोनिक्स ईन्जिनियरिङ, ईन्फरमेसन टेक्नोलोजी, मेकानिकल ईन्जिनियरिङ, रिफ्रेजिङ एण्ड एसी ईन्जिनियरिङ, होटेल मेनेजमेन्ट, कम्प्यूटर एप्लिकेशन र उद्यम विकासको समेत पठन पाठन गर्ने गरेका छन । प्रदेशका निकै कम शिक्षण संस्थाले मात्रै यी विषय पढाउने गरेका छन । यी विषयमा समेत विद्यार्थी संख्या निकै कम रहने गरेको पाइएको छ ।
डिप्लोमा तहमा पनि उस्तै
डिप्लोमा तर्फ पनि कुल १९० शिक्षण संस्थाले कार्यक्रम चलाएकोमा १०२ शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन् । प्रदेश भरका शिक्षण संस्थामा डिप्लोमा तहमा ७ हजार ९ सय ९० विद्यार्थी भर्ना गर्न सकिने क्षमता भएपनि जम्मा ४ हजार ३ सय ६८ जना मात्रै भर्ना भएका छन् । डिप्लोमा तर्फ सिभिल ईन्जिनियङ्गका ३१ वटा, सिएमएलटिका १६ वटा, प्लान्ट साईन्सका १९ वटा, एनिमल साईन्सका १३ वटा, वन विज्ञान ६ वटा शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन् । वितेका तीन वर्षमा प्रदेश भित्र सञ्चालित प्राविधिक शिक्षालयहरूमा डिप्लोमा तहमा भर्ना गर्न मिल्ने क्षमता र भर्ना भएका विद्यार्थीको विवरण यस्तो रहेको छ ।
तालिका ३ : डिप्लोमा तहमा विगत तीन वर्षमा लुम्विनी प्रदेशको कोटा र भर्ना भएका विद्यार्थी
कार्यक्रम | २०७७ | २०७८ | २०७९ | |||
कोटा | विद्यार्थी | कोटा | विद्यार्थी | कोटा | विद्यार्थी | |
अटो मोवाईल ईन्जिनियरिङ | २४० | १३३ | २४० | ११९ | १९२ | ६९ |
सिभिल ईन्जिनियरिङ | १४४० | ११८३ | १४४० | १०४४ | १४८८ | ८२९ |
कम्प्यूटर ईन्जिनियरिङ | ३८४ | २२४ | ३८४ | २०८ | २८८ | १६३ |
जियोमेटिक्स ईन्जिनियरिङ | ३३६ | २७१ | ३८४ | ३१९ | ४८० | २५९ |
सूचना प्रविधि | २४० | १५४ | २४० | १९० | २८८ | २०२ |
एनिमल साईन्स | ५६० | ३९० | ५६० | ३९१ | ५२० | ३२० |
प्लान्ट साईन्स | ९२० | ६२९ | ८८० | ५०२ | ७६० | ३९८ |
वन विज्ञान | ३६० | २६९ | ३२० | २१५ | २४० | १०९ |
ईन्जिनियरिङ, कृषि, पशु र वन विज्ञानको तुलनामा मेडिकल साईन्स तर्फ विद्यार्थी बढी आकर्षित छन् । प्रदेश भित्र विभिन्न शिक्षण संस्थाहरूले मेडिकल साईन्स अन्तरगत रेडियोग्राफी, जनरल मेडिसिन, ल्याव्रेटोरी टेक्नोलोजी, नर्सिङ र फार्मेसी विषय पढाउदै आएका छन् । मेडिकल क्षेत्रमा लुम्बिनी प्रदेश भित्र वितेका तीन वर्ष भर्ना गर्न मिल्ने कोटा र भर्ना भएका विद्यार्थी संख्या यस प्रकार रहेको छ ।
तालिका ४ : डिप्लोमा तह मेडिकल विषय विगत तीन वर्षमा लुम्विनी प्रदेशको कोटा र भर्ना भएका विद्यार्थी
कार्यक्रम | २०७७ | २०७८ | २०७९ | |||
कोटा | विद्यार्थी | कोटा | विद्यार्थी | कोटा | विद्यार्थी | |
डाईगोनोसिस रेडियोग्राफी | ९० | ७७ | १२२ | ११९ | १५२ | ९३ |
जनरल मेडिसिन | ४०० | ३९८ | ४०० | ४०० | ५६० | ५५८ |
मेडिकल ल्याव्रेटोरी टेक्नोलोजी | ३९० | ३८० | ३८० | ३८९ | ४८० | ४१८ |
नर्सिङ | ७४० | ७३९ | १२० | १२० | १६० | १६० |
फार्मेसी | ३२० | ३१५ | ३२० | ३१९ | ३२० | ३१७ |
प्रदेशका केही शिक्षण संस्थाहरूमा आँखा, आर्किटेक, इलेक्ट्रिकल, इलेक्टोनिक्स, मेकानिकल, रेफ्रिजेरेटर एण्ड एसी, फुड एण्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट लगायतका विषयमा पनि पढाई हुने भए पनि विद्यार्थी ज्यादै थोरै छन् ।
अहिले शैक्षिक सत्र २०८० को भर्ना कार्यक्रम सकेर रजिष्टे«सन काम जारी रहेको छ । यस वर्ष भर्ना भएका विद्यार्थीको फाल्गुनको अन्तिममा विवरण आउने सिटिभिटि बुटवल कार्यालयले जानकारी दिएको छ । यस बर्ष पनि विद्यार्थीहरू थोरै भएको सिटिईभीटी लुम्बिनी प्रदेश कार्यालयका प्रवक्ता तेजप्रताप दुवेले बताए । बालि विज्ञान त करिब करिब बन्द हुने अवस्थामा छ, ईन्जिनियरिङ ठिकै ठिकै अवस्थामा चलिरहेको छ । कार्यक्रम सञ्चालनको लागी सम्भाव्यता अध्ययन विना नै हचुवाको भरमा स्वीकृती दिदा यस्तो अवस्था भोग्नु परेको दुवेले बताए । गाउँका विद्यार्थीलाई गाउँमै रोक्नका लागी पालिकाहरूले विशेष पहल गर्नु पर्नेमा गाउँका विद्यार्थी पनि शहर केन्द्रित हुदा ग्रामीण भेगमा रहेका प्राविधिकि शिक्षण संस्थाले यो हवितग व्यहोर्नु परेको उनको भनाई छ ।