फेल भएकै हुन त ? प्रदेशका कोल्डस्टोर योजना

कृष्ण खनाल २०७८ फागुन बुटवल

लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३ करोड २६ लाख ७६ हजार रुपैयाँ खर्च गरेर पाल्पाको रामपुरमा कोल्डस्टोर (चिस्यान केन्द्र) बनाइयो । तर उक्त कोल्डस्टोरमा किसानले १ हजार ४ सय क्वीन्टल आलुको बीउ राखे । तर त्यसमध्ये झण्डै सबै बीउ स्टोरमै उम्रीए कति कुहिए । किसान राजेश रेग्मीले आलुका टुसा पलाएर रोप्ने बेलामा आलु कुहिएकाले आफुलाई मर्का परेको बताए ।
रामपुर नगरपालिकाको कृषि शाखाका प्रमुख रामहरी पाण्डेयका अनुसार चिस्यान केन्द्र बनाउन ढिलो भएर उपयुक्त समयमा आलु भण्डारण गर्न नपाउँदा यस्तो समस्या आएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका कृषि प्रसार अधिकृत तथा सूचना अधिकृत मुकेश कुमार राम्जालीले रामपुरमा रहेको कोल्डस्टोरमा प्राविधिक जानकारी विना नै आलु भण्डारण गरिएकोले कुहिएको बताए । उनले आलु राख्नुभन्दा पहिले भण्डारमा ह्युमिडिफायर राख्नुपथ्र्याे तर आलु राखिसकेपछि मात्रै उक्त मेसिन राखेकाले र आलु राख्ने समय भन्दा २ महिना ढिलो गरि राखेकाले आलु उम्रीएको बताए ।
ठूलो चिस्यान केन्द्र तैयार भएकाले भण्डार गर्न अन्त जानु पर्दैन भनेर गत वर्ष रामपुरमा २ हजार भन्दा बढी रोपनी जमिनमा व्यवासायिक रुपमा आलु खेती गरिएको थियो । नगरका प्रवत्ता एंव कृषि समितिका संयाजोक हुमनाथ न्यौपानेले प्राविधिक रुपमा गल्ती भएकाले लाखौं रुपैयाँको क्षति भएको स्विकार गरे । प्रदेश सरकारको करिब डेढ करोड रुपैयाँ अनुदानमा प्यूठानका दुईवटा पालिकाले कोल्डस्टोर बनाए । तर त्यहाँ राखिएका अधिकांश प्याज पनि कुहिए । किसानहरुले क्षतिपुर्ति मागे ।

कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय अन्र्तगतको एकिकृत पशुपन्क्षी तथा कृषि कार्यालयका प्रमुख भाष्कर पौडेलका अनुसार आलु राख्ने ठाउँमा राखेकाले प्याज कुहिएको बताए । ‘किसानले जबरजस्ती प्याज राखेको भन्ने मैले सुनेको छु ।’ अर्को बर्ष प्राविधिक सुधार गरेर कोल्ड स्टोर चलाउने उनले बताए । यसका लागि प्राविधिक र व्यवस्थापकीय पक्षमा सुधार गर्नुपर्ने उनले बताए ।
भण्डारण गरिएका आलुका बोरालाई बेला बेलामा तलमाथी पारेर राख्नुपर्ने, पहिलो वर्ष भएकाले रेखदेख गर्न नियमित दुई जना प्राविधिक हुनुपर्ने, आलु भण्डारण गर्नु अघि सरसफाइ गर्नु पर्नेमा त्यसो नभएकाले आलु उम्रने र कुहिने समस्या आएको प्राविधिहरूले बताए ।
लुम्बिनी प्रदेश सरकारले हालसम्म २० वटा कोल्डस्टोर निर्माणको लागि सम्झौता गरेको छ । यि कोल्डस्टोर बनाउन २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । एक करोड रुपैयाँभन्दा बढी अनुदान प्रदान गरिएका ११ वटा कोल्डस्टोर निर्माण भएका छन् । यि कोल्डस्टोर बनाउन विभिन्न समुह, सहकारी वा निजी फार्म हाउसलाई १२ करोड रुपैयाँ भन्दा बढी अनुदान दिइसकिएको छ ।

निर्माणपछि ठेक्का

प्रदेश सरकारको अनुदानमा निर्माण गरिएको कोल्डस्टोर रामपुर नगरपालिकाले एउटा कम्पनीलाई बार्षिक २ लाख ५० हजार रुपैयाँमा भाडामा दिएको छ । कम्पनीले प्राविधिक राखेर बिहान साँझ नियमित रुपमा निरीक्षण गरी बिहान घाम लाग्नु भन्दा पहिला २ घण्टासम्म कोल्डस्टोर भित्रको कार्वनाईअक्साईड बाहिर पठाउनुपर्नेमा त्यो समेत गरिएन । कोल्डस्टोरमा राखिएका आलुका बीउ कुहिनुको एउटा कारण यो पनि हो ।

काम विनै अनुदान

रुपन्देहीको सम्म्मरीमाई गाउँपालिकामा रहेको भवानी स्वाबलम्बन कृषि सहकारी संस्थामार्फत निर्माण गरिने भनिएको कोल्डस्टोर अहिले अलपत्र छ । केही समय पहिला काम भन्दा कयौं गुणा बढी रकम अनुदान बापत लगेको विषयमा अख्तियारले छानविन थालेपछि यो काम रोकिएको हो । यसका लागि लुम्बिनी प्रदेश सरकारले ७२ लाख ९४ हजार ८ सय १४ रुपैयाँ अनुदान दिएको थियो ।

आवश्यकता नै नभएको ठाउँमा लहर चल्यो प्राविधिक

लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयमा कृषि, खाद्य प्रविधि प्रवद्र्धन महाशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत अमराज शर्मा घिमिरे प्रदेशमा आवश्यकता भन्दा बढी कोल्डस्टोर निर्माण गर्ने, अनुदान लिने परिपाटी बढ्दै गएको बताउँछन् । उनका अनुसार, जुन ठाउँमा प्राकृतिक वातावरणले गर्दा कोल्डस्टोर आवश्यक छैन ती ठाउँमा देखाउनको लागि मात्रै चिस्यान केन्द्र निर्माण बनाइएका छन् ।

प्राविधिक छैनन्, तालिमको भर

लुम्बिनी प्रदेशमा कृषि तथा पशुपालन तर्फका प्राविधिकहरूको चरम अभाव छ । मन्त्रालयको तथ्यांक अनुसार हाल प्रदेशमा करिब २ हजार जनशक्ति प्राविधिक आवश्यक छन् । कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालययका प्रवक्ता तुलसीराम भण्डारी प्राविधिकहरूको चरम अभावले गर्दा कोल्डस्टोरहरूले उचित स्याहार पाउन नसकेको बताउँछन् । कृषि विषय अध्ययन गरेका प्राविधिक नभएर कोल्ड स्टोर बनाउने कम्पनीले दिएको एक दुई हप्ते तालिम पाएका मानिसले कोल्डस्टोर सञ्चालन गर्दा किसानले क्षति ब्यहोर्नुपरेको छ ।

प्रदेश सरकारबाट अनुदान प्राप्त गरेका कोल्डस्टोरहरू
जिल्लासंस्थाअनुदान रकमअनुदान पाउन बाँकी रकम
बर्दियाभट्टराई दुध डेरी१ करोड ७० लाख ९७ हजार१३ लाख ७४ हजार
कपिलवस्तु गुमानसिंह डेरी१ करोड २० लाख ११ हजार१९ लाख ९० हजार
कपिलवस्तु सिजन कृषि सहकारी संस्था१ करोड ५८ लाख ९१ हजार६५ लाख ३ हजार
नवलपरासीबुद्ध सिड कम्पनी६३ लाख ९५ हजार१ लाख ६३ हजार
बाँके नेपालगञ्ज कोल्डस्टोर्स८१ लाख ७९ हजार ८ सय३ लाख २० हजार
शसर्त अनुदान मार्फत प्रदेशको कोल्डस्टोरमा लगानी
जिल्लास्थानीय तहरकम  
प्यूठानप्यूठान नगरपालिका१ करोड २ लाख १२ हजार
रुपन्देहीगौडहवा गाउँपालिका२ करोड ३३ लाख ६५ हजार
नवलपरासीसुस्ता गाउँपालिका४ करोड १६ लाख ९१ हजार
प्यूठानमाण्डवी गाउँपालिका   १ करोड २ लाख १२ हजार
अर्घाखाँचीमालारानी गाउँपालिका१ करोड २ लाख १२ हजार
पाल्पारामपुर नगरपालिका४ करोड ३ लाख ६६ हजार
बाँकेखजुरा गाउँपालिका     ५ करोड
प्यूठाननौबहिनी गाउँपालिका  १ करोड २ लाख १२ हजार
स्रोत ः कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय

 

Sharing is caring!