विधि निर्माण गर्ने जिम्मेवारीका लागि जनताद्वारा चुनिएका प्रतिनिधिहरू संसद्को बैठकमा ‘गयल’ हुनु भनेको आफ्नो मूल जिम्मेवारीप्रति उदासीन हुनु हो । हो, यस्तै आफ्नो जिम्मेवारीप्रति उदासीन देखिएका छन् लुम्बिनी प्रदेशसभाका सदस्यहरू ।
लोकतन्त्रमा नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्छ । नीति निर्माणको तहमा सबै जनता प्रत्यक्ष रुपमा सहभागि गर्न गराउन नसकिने भएकाले उनीहरूले आफ्ना प्रतिनिधिहरूलाई निर्वाचित गराएर नीति निर्माण गर्ने निकायमा पठाएका हुन्छन् । तर, जनताले यसरी चुनेर पठाएका प्रतिनिधिहरू नियम बनाउने थलोको रुपमा रहेको संसद्को बैठकमै अनुपस्थित हुने गरेको पाइएको छ । विधि निर्माण गर्ने जिम्मेवारीका लागि जनताद्वारा चुनिएका प्रतिनिधिहरू संसद्को बैठकमा ‘गयल’ हुनु भनेको आफ्नो मूल जिम्मेवारीप्रति उदासीन हुनु हो । हो, यस्तै आफ्नो जिम्मेवारीप्रति उदासीन देखिएका छन् लुम्बिनी प्रदेशसभाका सदस्यहरू ।
शत प्रतिशत उपस्थित सांसद
लुम्बिनी प्रदेशसभाको पहिलोदखि चौथो अधिवेशनको २३ औँ बैठकसम्म आउँदा कुल ६१ वटा बैठक बस्यो । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । जसमध्ये सभामुख तुलाराम घर्ती बाहेक सबै बैठकमा उपस्थित हुने सांसदको संख्या जम्मा २ मात्रै रहेको छ । प्रदेशसभा सदस्य खड्क बस्नेत र यमबहादुर नेपाली सार्की मात्रै प्रदेशसभाका हरेक बैठक अर्थात् ६१ वटा बैठकमा नै सहभागि भएका छन् ।
धेरै वैठकमा उपस्थित सासंद
मेनुका खाँण, तुल्सीप्रसाद चौधरी, सिता शर्मा, भगवती अधिकारी र शान्ति लोध प्रदेशसभाको एउटा बैठकमा मात्रै अनुपस्थित हुने सांसदमा पर्छन् । अर्थात ५ जना सांसदहरू लुम्बिनी प्रदेशसभामा भएका ६१ बैठकमध्ये ६० वटा बैठकमा अर्थात् ९८ प्रतिशत प्रदेशसभाका बैठकमा सहभागि भएका छन् ।
तालिका हेरौँ, प्रदेशसभा बैठकमा सांसद उपस्थितीको विवरण
क्र.स. | सासंदको नाम | उपस्थित संख्या |
१ | तुलाराम घर्ती (सभामुख) | ६१ |
२ | यमबहादुर नेपाली सार्की | ६१ |
३ | खड्क बस्नेत | ६१ |
४ | तुल्सीप्रसाद चौधरी | ६० |
५ | भगवती अधिकारी | ६० |
६ | मेनुका खाँण के.सी. (उपसभामुख) | ६० |
७ | सिता शर्मा | ६० |
८ | शान्ति लोध | ६० |
९ | खेम बहादुर सारु | ५९ |
१० | भुवनेश्वर चौधरी | ५९ |
११ | मिना बुढा मगर | ५९ |
१२ | इन्द्रकुमारी गहतराज | ५८ |
१३ | जमुना ढकाल | ५८ |
१४ | दिनेश पन्थी | ५८ |
१५ | नवराज लामिछाने | ५८ |
१६ | लोकीकुमारी वि.क. | ५७ |
१७ | अम्बिका काफ्ले | ५७ |
१८ | अर्जुन कुमार के.सी. | ५७ |
१९ | धनबहादुर मास्की | ५७ |
२० | डिल्लीराज भुसाल | ५७ |
२१ | भोजप्रसाद श्रेष्ठ | ५७ |
२२ | राजुप्रसाद श्रेष्ठ | ५७ |
२३ | विश्वप्रेम पाठक | ५७ |
२४ | हेमा बेल्वासे (के.सी.) | ५६ |
२५ | तारा थापा | ५६ |
२६ | दिलकुमारी बुढा | ५६ |
२७ | रत्नबहादुर खत्री | ५६ |
२८ | शुशिला बादी | ५६ |
२९ | भण्डारीलाल अहिर | ५५ |
३० | मिनाकुमारी श्रेष्ठ | ५४ |
३१ | कृष्णा कुश्मा थारु | ५४ |
३२ | चिन्तामणि पाण्डे | ५४ |
३३ | देविप्रसाद चौधरी | ५४ |
३४ | निर्मलादेवि थारु (चौधरी) | ५४ |
३५ | बसन्ती न्यौपाने | ५३ |
३६ | जन्मजय तिमिल्सिना | ५३ |
३७ | जानकी न्यौपाने | ५३ |
३८ | जोखबहादुर महरा | ५३ |
३९ | दुर्गाप्रसाद चौधरी | ५३ |
४० | धनलक्ष्मी श्रेष्ठ | ५३ |
४१ | धर्मबहादुर चौधरी | ५३ |
४२ | मालती सोढारी | ५३ |
४३ | सुरुल पुन | ५३ |
४४ | यमुना रोका तामाङ | ५३ |
४५ | निमा गिरी | ५१ |
४६ | मिनाकुमारी बोहोरा | ५१ |
४७ | रामजिप्रसाद घिमिरे | ५१ |
४८ | राजकुमार चौधरी | ५० |
४९ | राजु खनाल | ५० |
५० | चन्द्रकेश गुप्ता | ५० |
५१ | चेतनारायण आचार्य | ५० |
५२ | प्रचण्डबिक्रम न्यौपाने | ५० |
५३ | भगवती कुमारी थरुनी | ५० |
५४ | रेखाकुमारी शर्मा | ५० |
५५ | बादशाह कुर्मी | ४९ |
५६ | इन्द्रजीत थारु | ४९ |
५७ | तुल्सी चौधरी | ४९ |
५८ | कृष्णा के.सी. | ४९ |
५९ | विरबहादुर राना | ४८ |
६० | दिपेन्द्र कुमार पुन मगर | ४८ |
६१ | सन्जुकुमारी चौधरी | ४८ |
६२ | विष्णुप्रसाद पन्थी | ४७ |
६३ | माया पुन | ४७ |
६४ | सरोज थापा | ४६ |
६५ | सन्तोष कुमार पाण्डेय | ४५ |
६६ | सरिता पुन | ४५ |
६७ | डिल्लीप्रसाद चौधरी | ४५ |
६८ | नरमाया ढकाल | ४४ |
६९ | सुधाकर पाण्डेय | ४३ |
७० | कन्यौहा बनिया | ४१ |
७१ | धनेन्द्र कार्की | ४१ |
७२ | भुमिश्वर ढकाल | ४१ |
७३ | लिला गिरी | ४१ |
७४ | सुमन शर्मा रायमाझी | ४१ |
७५ | सायरा बानो | ४० |
७६ | आशिष कुमार चौधरी | ३९ |
७७ | वैजनाथ कलवार | ३८ |
७८ | गिरधारीलाल न्यौपाने | ३८ |
७९ | जानकीप्रसाद यादव | ३८ |
८० | धनबहादुर के.सी. | ३७ |
८१ | अब्दुल रजाक गद्धी | ३७ |
८२ | वसीउद्धीन खाँ | ३४ |
८३ | मधुसुदनशरण चौधरी कुर्मी | ३३ |
८४ | अनुराग खड्का | ३२ |
८५ | आदेश कुमार अग्रवाल | ३२ |
८६ | देवकरण प्रसाद कलवार | ३१ |
८७ | गिता गुरुङ | २७ |
के भन्छन् बैठकमा धेरै उपस्थित हुने सांसद ?
लुम्बिनी प्रदेशसभाका शतप्रतिशत बैठकमा सहभागि भएका सासंदहरुले जनताप्रति उत्तरदायी भएर प्रत्येक बैठकमा आफुहरू जाने गरेका बताउँछन् । शतप्रतिशत प्रदेशसभाका बैठकमा सहभागि भएका सांसद यमबहादुर नेपाली सार्कीले ५ वर्षका लागि आफु जनताको सेवा गर्न भनेर निर्वाचित भएकाले हरेक बैठकमा सहभागि भएको बताए ।
यो ५ वर्षको अवधिमा आफ्ना घरायसी काम, पेशा व्यवसायको काममा भन्दा पनि सदनमा जनताका कुरा उठान गर्ने र त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने उनको भनाई छ । ‘जनताले मलाई ५ वर्षका लागि जिम्मेवारी दिएर पठाउनुभएको हो । यसकारणले मैले घरायसी काम, पेशा व्यवसायको कामभन्दा पनि सदनमा जनताका कुरा उठान गर्न र कार्यान्वयन गर्न पहल गर्नुपर्छ भनेर म हरेक प्रदेशसभाका बैठकमा सहभागि भएको हुँ,’ सासंद नेपालीले भने । यस्तै प्रदेशसभाका आगामी सबै बैठकमा पनि जाने उनले प्रतिबद्धता व्यक्त गरे ।
यस्तै प्रदेशसभाको एउटा मात्रै बैठकमा अनुपस्थित रहेकी सांसद भगवती अधिकारीले संसदको गरिमा कायम गर्नका लागि पनि सांसद प्रत्येक बैठकमा उपस्थित हुनुपर्छ भनेर हरेक जसो बैठकमा आफु जाने गरेको बताइन् । ‘म सबै बैठकमा नै गएकी छु । एक दिन अलि ढिला भएको थियो । सो बैठकमा हाजिर नगरेको हुँदा अनुपस्थित देखिएको होला । म अहिलेसम्म बसेका सबै बैठकमा नै उपस्थित छु,’ उनले भनिन् ‘संसदको गरिमा कायम गर्नका लागि सांसद उपस्थित हुनुपर्छ भन्ने सोचेर म सबै बैठकमा जाने गरेकी छु ।’
यी हुन् सबैभन्दा धेरै अनुपस्थित सासंद
प्रदेशसभाको बैठकमा सबैभन्दा धेरै अनुपस्थित हुनेको सूचिको पहिलो नम्बरमा जनमत पार्टीकी सांसद गिता गुरुङ् छिन् । सासंद गुरुङ कुल ६१ बैठकमध्ये जम्मा २७ बैठक अर्थात ४४ प्रतिशत बैठकमा मात्रै उपस्थित भएकी छिन् । यस्तै देवकरण प्रसाद कलवार प्रदेशसभाको बैठकमा अनुुपस्थित हुने सांसदको दोस्रो नम्बरमा पर्छन् । सांसद कलबार ३१ वटा वैठकमा मात्रै उपस्थित छन् ।
सांसद अनुराग खड्का र आदेश कुमार अग्रवाल पनि अनुपस्थितमा अघि छन् । सासंद खड्का र अग्रवाल समान ३२ बैठकमा मात्रै उपस्थित भएका छन् । मधुसुधन शरण चौधरी कुर्मी ३३, वसिउद्धीन खाँ ३४, सरोज थापा ३६, धनबहादुर केसी र अब्दुल रजाक गद्धी ३७ बैठकमा गयल सांसदहरू हुन् जो कम उपस्थित हुने सूचिको टप टेनभित्रैमा पर्छन् ।
त्यसो त मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री तथा मन्त्रीहरूदेखी विषयगत समितिका सदस्यहरू पनि बैठकमा त्यति धेरै नजाने गरेको पाइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्य ५० वटा बैठकमा सहभागि भएका छन् भने पूर्वमुख्यमन्त्री लिला गिरी ४१ वटा बैठकमा मात्रै सहभागि भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीप्रसाद चौधरी ४५ र माओवादी केन्द्रका संसदीय दलका नेता तथा निर्वतमान् मुख्यमन्त्री जोखबहादुर महरा ५३ वटा वैठकमा मात्रै सहभागी भएका छन् ।
के भन्छन् बैठकमा धेरै अनुपस्थित हुने सांसद ?
प्रदेशसभाको बैठकमा धेरै अनुपस्थित हुने सांसदहरूले विभिन्न पारिवारिक समस्या र बिरामी भएर उपस्थित हुन नसकेको बताउँछन् । लुम्बिनी प्रदेशसभाको बैठकमा सबै धेरै अनुपस्थित भएकी सासंद गिता गुरुङ पारिवारिक कारणले गर्दा प्रदेशसभाको धेरै बैठकमा अनुपस्थित भएको बताइन् । ‘घरमा मृगौला र पोस्टेट रोगबाट पीडित ७२ वर्षीय बुबा हुनुहुन्छ । उहाँको नियमित चेकजाँचका लागि काठमाडौँ लगिरहनुपर्छ,’ उनले भनिन्, ‘काठमाडौँ नियमित चेकजाँजका लागि जाँदा बैठकमा जान नपाएकी हुँ । अन्य समयमा नियमित रुपमा नै प्रदेशसभाको बैठकमा गइरहेकी छु ।’
प्रदेशसभाका ६१ बैठकमध्ये ३१ बैठकमा मात्रै उपस्थित भएका सांसद देवकरणप्रसाद कलवारले स्वास्थ्यमा समस्या देखिएका कारणले बैठकमा उपस्थित हुन नसकेको बताए । ‘म अहिले पनि स्वास्थ्य जाँचका लागि काठमाडौँमै छु । म प्रेसर लगायतका रोगबाट पीडित छु । यसको नियमिति चेकजाँचका लागि मलाई नियमित रुपमा काठमाडौँ आइरहनुपर्छ । चेकजाँचमा आउँदा बैठक सञ्चालन हुँदा म बैठकमा जान नसेको हुँ,’उनले भने । यस्तै प्रदेशसभाका ६१ बैठकमध्ये ३२ बैठकमा मात्रै उपस्थित रहेका सांसद अनुराग खड्काले पनि आमाको उपचारका लागि नेपाल बाहिर जानु परेकोले बैठकमा अनुपस्थित भएको बताए । ‘म सभामुख ज्यूसँग अनुमति लिएर नै ६८ वर्षीया आमाको उपचारको लागि लण्डन गएको थिए । त्यहि बेला हाउस पनि चलेकाले बैठकमा उपस्थित हुन नसेको हुँ,’ उनले भने ।
बैठकमा नजानु जनताप्रति बेइमानी
संसदलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि सबै सांसद बैठकमा अनिर्वाय उपस्थित हुनुपर्ने प्राध्यापक नुरजंग केसी बताउँछन् । यदि कुनै सांसद बैठकमा अनुपस्थित हुन्छ भने त्यो देश र जनताप्रतिको बेइमानी भएको प्राध्यापक केसीले बताए । ‘संसदलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै सांसद उपस्थित हुनुपर्छ । यदि कुनै सांसद बैठकमा अनुपस्थित हुन्छ भने त्यो देश र जनताप्रतिको बेइमानी हो,’ उनले भने । यस्तै संसदको बैठकमा अनुपस्थित भई विभिन्न प्रकारका सेवा तथा सुविधा लिनु भनेको एक प्रकारको भष्ट्राचार नै हुने प्रध्यापक केसी बताउँछन् । ‘कसैले पनि विना काम र विना योगदान सेवा सुविधा लिनु हुँदैन । बैठकमा अनुपस्थित हुने सांसदले हरेक प्रकारका सेवा सुविधा लिन्छन् भने त्यो पनि एक प्रकारको भष्ट्राचार नै हो,’ उनले भने ।
११ शिर्षकमा सेवा सुविधा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूले विभिन्न ११ वटा शीर्षकबाट सुविधा पाउँछन् । मुख्यमन्त्रीले ६० हजार ९ सय ७० मासिक पारिश्रमिक बापत रकम पाउँछन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले मासिक २४० लिटर पेट्रोल र दैनिक भ्रमण भत्ता (स्वदेश) प्रतिदिनको २ हजार ५०० तथा विदेश भ्रमण भत्ता बापत दैनिक २२५ अमेरिकी डलर पाउँछन् । साथै अतिथि सत्कारका लागि मुख्यमन्त्रीले मासिक १५ हजार रुपैयाँ प्राप्त गर्दछन् । यस्तै लुम्बिनी प्रदेश सरकारका मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४९ हजार र सहायकमन्त्रीले ४८ हजार १०० रुपैयाँ मासिक पारिश्रमिक पाउँछन् । यस्तै मन्त्रीले आवास सुविधा अन्तर्गत मासिक ३० हजार, राज्यमन्त्री र सहायकमन्त्रीले २५ हजार पाउँछन् । राज्यमन्त्री र सहायक मन्त्रीले सरकारी घरको बन्दोबस्त नभएमा फर्निचरको व्यवस्थापनका लागि ७५ हजार रुपैयाँ, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले १/१ वटा सवारी साधन पाउनुका साथै मासिक २०० लिटर पेट्रोल र १० लिटर मोबिल पाउँछन् । मन्त्रीले टेलिफोन इन्टरनेट र पत्रपत्रिकाको लागि मासिक ३ हजार पाउँछन् भने राज्यमन्त्री र सहायकमन्त्री २ हजार पाउने व्यवस्था छ । यस्तै मन्त्रीले धारा र बिजुलीको शुल्क बिल अनुसार तथा राज्यमन्त्री र सहायकमन्त्रीले मासिक २ हजार रुपैयाँ पाउँछन् । मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दैनिक तथा भ्रमण भत्ता (स्वदेश) प्रतिदिनको २ हजार तथा विदेश भ्रमण भत्ता बापत दैनिक २२५ अमेरिकी डलर पाउँछन् । साथै अतिथि सत्कारका लागि मन्त्रीले मासिक १५ हजार रुपैयाँ र राज्यमन्त्री र सहायकमन्त्रीले मासिक ५ हजार प्राप्त गर्दछन् ।
यस्तै सभामुखको मासिक पारिश्रमिक ५३ हजार, उपसभामुख र विपक्षी दलको नेताको ५० हजार, सत्ता पक्ष, प्रतिपक्षका प्रमुख सचेतक, विषयगत समितिका सभापति र दलको प्रमुख सचेतकले ४८ हजार रुपैयाँ पाउँछन् भने प्रदेशसभा सदस्यले ४५ हजार रुपैयाँ पाउँछन् । प्रदेशसभा सदस्यदेखि सभामुखले प्रति बैठक भत्ता १ हजार पाउने व्यस्था रहेको छ । आवास सुविधा अन्तर्गत विपक्षी दलको नेता मासिक २५ हजार, सत्तापक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति, दलको प्रमुख सचेतक र प्रदेशसभा सदस्यले मासिक १७ हजार रुपैयाँ पाउँछन् । यस्तै सरकारी घरको बन्दोबस्त नभएमा फर्निचरको लागि ४५ हजार पाउँछन् । सभामुखलाई मासिक २४० लिटर पेट्रोल, उपसभामुख र विपक्षी दलको नेताले २०० लिटर, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति, दलको प्रमुख सचेतकलाई १५० लिटर पेट्रोल र मोविल १० लिटर पाउँछन् भने प्रदेशसभा सदस्यले बैठकको दिन यातायात खर्च बापत ५०० प्राप्त गर्दछन् । साथै सत्ता पक्षको सचेतक र दलको प्रमुख सचेतकले यातायात खर्च वापत मासिक १५ हजार पाउँछन् । बिजुली धारा वापत सभामुख र उपसभामुले बील अनुसार र विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले मासिक १५ सय पाउँछन् । सञ्चार सुविधा अन्तर्गत सभामुखले बील अनुसार र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले मासिक २ हजार प्राप्त गर्छन् । आन्तरिक भ्रमण खर्च बापत सभामुखले २ हजार ५०० र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले दैनिक २ हजार पाउँछन् भने वैदेशिक भ्रमण खर्च वापत सभामुखले २२५ अमेरिकी डलर र उपसभामुख र विपक्षी दलको नेताले दैनिक १७५ अमेरिकी डलर प्राप्त गर्छन् ।