महामारीमा गुन लगाउँदै आयुर्वेद

ओम पंगेनी २०७७ भदौं बुटवल

कोरोनाविरुद्ध आधिकारिक औषधि र खोप उपलब्ध नभइसकेको अवस्थामा आयुर्वेदिक औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको छ भने रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न पनि सहयोगी भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनाललाई कोरोना संक्रमण देखियो । संक्रमण पुष्टि भएपछि उनले आफन्तमार्फत लुम्बिनी आयुर्वेद चिकित्सालयबाट अश्वगन्धा, गुडुची, त्रिकटु लगायतका आयुर्वेदिक औषधि मगाएर खाए । स्वास्थ्य समस्या जटिल बन्न नदिन उनी काठमाडौं पनि गए र हाल संक्रमणमुक्त भइसकेका छन् ।

बुटवल, भैरहवा मात्रै होइन विश्वभर नै एलोपेथिक औषधि र एलोपेथिक क्षेत्रका डाक्टरहरुको प्रभाव बढी छ । तर, संक्रमण भएकाहरुले संक्रमणबाट मुक्त हुन र जोखिममा रहेकाहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउन बुटवलका थुप्रै डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुले अश्वगन्धा, गुडुची, त्रिकटु (सुठो, पिप्ला र मरिच), च्यवनप्राश लगायतका आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेको पाइएको छ । एलोपेथिक क्षेत्रका नाम चलेकै डाक्टरहरुले अश्वगन्धा, गुडुची, च्यवनप्राश लगायतका आयुर्वेदिक औषधि आफन्तहरुमार्फत लैजाने गरेको लुम्बिनी आयुर्वेद चिकित्सालयका सूचना अधिकारी गणेश सापकोटाले जानकारी दिए ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–५ का भीष्मराज भुसाल बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेशनमा १४ दिन बसेपछि गत असार महिनामा डिस्चार्ज भए । अश्वगन्धा, गुडुची, त्रिकटु समेत मिलाएर बनाएको क्वाथ (काडा) लगायतका आयुर्वेदिक औषधिले नै आफूले कोरोना जितेको बताउँदै उनले आइसोलेशनमा रहँदा र अहिले पनि आयुर्वेदिक औषधिको प्रचार गरिरहेको बताए । ‘कोरोनाविरुद्ध एलोपेथिक औषधि बनिसकेको छैन, यस्तो अवस्थामा रोग प्रतिरोधी क्षमता बढाउने भएकाले पनि आयुर्वेदिक औषधि प्रभावकारी छ’ जनप्रतिनिधि समेत रहेका भुसालले भने ।

बुटवल–१३ निवासी दीपक पन्थीसहित १० जना आइतबार नै एन्फास्थित आइसोलेशनबाट डिस्चार्ज भएका छन् । बिहान करिब २ घण्टा योगा, प्राणायाम, नाच र अश्वगन्धा, गिलोय र त्रिकटुको क्वाथ लगायतका आयुर्वेदिक औषधिले उक्त आइसोलेशनमा बसेकाहरुले कोरोना जित्दै आएको पन्थीले दावी गरे । त्यहाँ बसेकाहरुलाई तनावमुक्त र कोरोनामुक्त गराउन योगा र औषधि वितरण गरी लुम्बिनी आयुर्वेदिक चिकित्सालयले ठूलो सहयोग पु¥याएको उनले बताए ।

लुम्बिनी आयुर्वेदिक चिकित्सालयमा कोरोना संक्रमणबाट मुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने अश्वगन्धा, त्रिकटु, गुडुची लगायतका आयुर्वेदिक औषधि लिनेहरु बढिरहेका छन् । आयुर्वेदिक चिकित्सालयका सूचना अधिकारी एवं कविराज गणेश सापकोटाका अनुसार यो चिकित्सालयले एन्फास्थित आइसोलेशनमा औषधि खुवाउने र योगा पनि गराउने भएकाले यहाँका स्वास्थ्यकर्मीलाई हिजोआज भ्याइनभ्याई छ । सापकोटाका अनुसार लकडाउनका कारण चिकित्सालयमा आउने अन्य बिरामी घटेपनि रोग प्रतिरोधात्मक शक्ति बढाउने औषधि लिन आउनेहरु बढ्दै गएका छन् ।

बुटवलमा कोरोना संक्रमित बढ्दै जाँदा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले संक्रमितहरुलाई घरघरमै पुगेर भेट गरे । केही दिनपछि नगर उपप्रमुख गुमादेवी आचार्यले पनि संक्रमितहरुलाई भेटेर उत्साह जगाउने कामलाई निरन्तरता दिइन् । जनप्रतिनिधिहरु कोरोना संक्रमितलाई भेट्न जाँदा अश्वगन्धा, गुडुची, च्यवनप्राश लगायत लैजाने गर्छन् ।

यसैगरी शुद्धोधन गाउपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कंडेलको नेतृत्वको टोलीले वितरण गरेको औषधिहरुमा च्यवनप्राश, शक्तिबद्र्धक जडीबुटीहरु समावेश थिए । तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरुले आइसोलेशनमा बसेकाहरुलाई भेटेर अश्वगन्धा चूर्ण, च्यवनप्राश लगायतका विभिन्न आयुर्वेदिक औषधीहरु दिने गरेका छन् । यसैगरी हिजोआज आइसोलेशन वा होम आइसोलेशनमा बसेकाहरुलाई भेट्न जानेले लैजाने औषधि प्रायः आयुर्वेदिक नै हुने गरेको छ ।

बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेशन सेन्टरमा आइसीयू र भेन्टिलेटर नचाहिने अवस्थाका कोरोना संक्रमितहरुलाई राखिन्छ । त्यहाँबाट भदौ १२ गतेसम्म रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी १ सय ४२ जनालाई राखिएकोमा १ सय ५ जना निको भएर घर फर्किसकेका छन् । उनीहरुलाई दिइएको औषधि आयुर्वेदिक नै हो ।

सो आइसोलेशनमा आयुर्वेदिक औषधि र योगाको व्यवस्थापन लुम्बिनी आयुर्वेदिक चिकित्सालय बुटवलले गरिरहेको छ । बिहान ५ बजेदेखि ७ बजेसम्म योगा गराइन्छ, ८ बजे नास्तापछि च्यवनप्राश दिइन्छ, दिउसो १ बजे गुडुची (गिलोय) र त्रिकटुको क्वाथ दिने गरिएको छ’ सापकोटाले भने ‘साझ ८ बजे खानापछि अश्वगन्धा र च्यवनप्राश दिने गरिएको छ, यो प्रक्रिया नियमित छ ।’ संक्रमितलाई खोकी लाग्दा सेतोपिलादी, रोग प्रतिरोधी क्षमताका लागि क्वाथ, अश्वगन्धा, च्यवनप्राश लगायतका औषधि दिने गरिएको सापकोटाले बताए ।

बुटवल बेलबास निवासी रोशन घिमिरेले साउन २९ गते बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गरेकोमा ३१ गते पोजेटिभ रिपोर्ट आयो । घरमै आइसोलेसनमा बसेका उनले ३१ गतेदेखि भैरहवाका आयुर्वेदिक डाक्टर बद्री गौतमले तयार पारेको कोरोनाको औषधि अर्कबटी खान सुरु गरे । साथै निम र तुल्सीको तातो बाफ, गुर्जोको पानी, बेसार पानी र सुत्ने बेलामा बेसार र दुध नियमित खान थाले । उनले औषधि खान थालेपछि तुरुन्तै प्रभाव दोखियो । आयुर्वेद विज्ञको सुझाव अनुसार रोशनले औषधिको २० डोज पुरा गरेपछि परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आयो ।

उल्लेखित यी घटना प्रतिनिधिमूलक मात्र हुन् । कोरोनाविरुद्ध आधिकारिक औषधि र खोप उपलब्ध नभइसकेको अवस्थामा आयुर्वेदिक औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको छ भने रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न पनि सहयोगी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले गत जेठको अन्तिम साता जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान ग¥यो । कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध ग¥यो । ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात थिए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद चिकित्सा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस एवम् शिक्षण अस्पतालले संयुक्त रूपमा तयार पारेको निर्देशिकामा नीमको पात, तुलसीको पात, घ्यूकुमारी, तितेपातीको पात र फिटकिरीको धूलो प्रयोग गरी स्यानिटाइजर बनाउन सकिने उल्लेख छ ।

त्यसैगरी प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयले भदौ २ गते आयुर्वेद ड्रग म्यानुअल प्रकाशन गरेको छ जसमा कोभिड १९ को लागि उपयोगी १० जडीबुटीमा अश्वगन्धा, गुडुची (गिलोय), हरिद्रा, तिल, तुलसी, त्रिकटु, मरिच, पिप्पली, शुण्ठी र यष्टिमधु उल्लेख गरिएका छन् ।

बुटवल–११ देवीनगरस्थित लुम्बिनी आयुर्वेद चिकित्सालय प्रदेश सरकार अन्तर्गत रहेको छ । सो चिकित्सालयले शुरुमा विभिन्न आइसोलेशन तथा क्वारेन्टिनहरुमा गएर योगा र आयुर्वेदिक औषधिहरुको व्यवस्थापन ग¥यो । अहिले उक्त चिकित्सालय एन्फास्थित आइसोलेशनमा केन्द्रित रहेको छ । संघीय संरचनाअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाहरुको सञ्चालन स्थानीय तहहरुले नै गर्दै आएका छन् ।

आयुर्वेद क्षेत्रका विज्ञ आयुर्वेद डाक्टर समेत रहेका प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेल कोभिड–१९ को औषधि र खोप पत्ता नलागिसकेको अवस्थामा प्रतिरोधात्मक क्षमता भएका आयुर्वेदिक औषधि महत्वपूर्ण हुने बताउँछन् । ‘क्वारेन्टिनहरुलाई बन्दीखानाजस्ता बन्न नदिन, मानसिक तनाव व्यवस्थापनका लागि योगा निकै उपयोगी बन्यो’ पौडेलले भने ‘घरमै भएका चीजहरु, रोग प्रतिरोधात्मक क्षमता भएका जडीबुटीबाट राम्रो परिणाम देखिएकाले यसलाई व्यापक बनाउन जरुरी छ ।’ प्रदेश सरकार सामाजिक मन्त्रालयले आयुर्वेदिक स्रोत सामग्रीबारे आयुर्वेद ड्रग म्यानुअल नै प्रकाशन गरी प्रभावकारी ढंगबाट काम अघि बढाउन लागिपरेको उनले बताए ।

प्रदेश सरकारको निर्देशनमा लुम्बिनी आयुर्वेद चिकित्सालयले रुपन्देहीका १६÷१७ ठाउँमा योगा गराउने, अश्वगन्धा, गुडुची, त्रिकटु, च्यवनप्राश लगायत औषधि वितरण गर्दै आइरहेको चिकित्सालयका प्रमुख डा. नलिन तिवारीले बताए । गत वर्षको बजेटबाटै केही औषधिको व्यवस्थापन गरेको भन्दै उनले हाल प्रदेश सरकारले सहयोग गरिरहेको बताए ।

आयुर्वेद क्षेत्रमा २५ सय वर्ष पहिल्यैदेखि घातक रोगहरुमा प्रयोग हुँदै आएको औषधि कोरोना नियन्त्रणमा पनि अति नै उपयोगी देखिएको डा. बद्री गौतमले बताए । आफूले बनाएको अर्कबटी नामको औषधि हालसम्म १ सय ५० जनाले प्रयोग गरेकोमा सबैजसोले स्वास्थ्यलाभ गरेको उनको दावी छ । भैरहवामा रही २९ वर्षदेखि जडीबुटीको क्षेत्रमा काम गर्दै आएका गौतमले आफूले ठूलो मात्रामा औषधि नबनाएको र आवश्यकता अनुसार बनाउँदै जाने बताए ।

५७ आयुर्वेद चिकित्सालयमा २ सय ८७ स्वास्थ्यकर्मी

प्रदेश नं. ५ मा प्रादेशिक स्तरको एउटा प्रादेशिक आयुर्वेद चिकित्सालय, प्रदेश सरकार अन्तर्गतको दुई वटा आयुर्वेद चिकित्सालय, प्रदेश सरकारले नै हेर्ने गरी ८ जिल्लामा ८ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र प्रदेश नं. ५ भित्र ४६ वटा आयुर्वेद औषधालय गरी ५७ वटा आयुर्वेद चिकित्सालय रहेका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रत्येक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा एक जना डाक्टर, दुई जना वैद्य, एक जना कविराज, अन्य तीन जना गरी सात जनाको दरबन्दी रहने गरेको छ । त्यसैगरी प्रादेशिक अस्पतालमा पाँच जना विशेषज्ञ, दुई जना आयुर्वेद डाक्टर, चार जना वैद्य, तीन जना कविराज, दुई जना स्टाफ नर्स, एक जना रेडियोलोजिष्ट र ल्याब टेक्निसियनका साथै केही चिकित्सालय विकास समितिबाट राखिने स्वास्थ्यकर्मीसमेत गरी ३५ जना, प्रदेश सरकार अन्तर्गतका दुई आयुर्वेद चिकित्सालयमा डाक्टर, वैद्य र कविराज एक जना र अन्य ४६ आयुर्वेद औषधालयमा चार जना गरी प्रदेश ५ मा आयुर्वेद क्षेत्रमा २ सय ८७ जनाको दरबन्दी रहेको छ ।

प्रदेश नं. ५ मा ५७ सरकारी तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा दर्ता भएका २१ वटा निजी आयुर्वेदिक स्वास्थ्य सेवा प्रदायक संस्था रहेका छन् ।

आयुर्वेद क्षेत्रलाई सहयोग गर्दै प्रदेश सरकार

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशभित्रै आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी अनुसन्धान र आयुर्वेदिक औषधिहरुको उत्पादन समेत गर्ने योजनासहित काम गरिरहेको बताए । जिल्लास्तरका आयुर्वेद केन्द्रहरुको लागि एक लाख बजेट निकासा दिइसकिएको र अरु थप बजेटको व्यवस्था पनि प्रदेश सरकारले गर्न लागेको मन्त्री बरालले जानकारी दिए । कोरोना संक्रमण बढ्दै जाँदा सामाजिक विकास मन्त्रालयले आयुर्वेद ड्रग म्यानुअल नै तयार गरी काम गरिरहेको, सिंहदरबार वैद्य खानाबाट प्रदेश सरकारले औषधि खरिद गरी वितरण गरिरहेको समेत उनले बताए ।

स्थानीय तह अन्तर्गतका आयुर्वेद औषधालयहरुको सञ्चालन व्यवस्थापन स्थानीय तहहरुले गर्दै आएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले केन्द्रले बनाएको स्वास्थ्यसम्बन्धी निर्देशिका र स्थानीय तहले बनाएका निर्देशिका अनुसार नगरपालिकाले अश्वगन्धा, च्यवनप्राश, तुलसी चिया लगायतका औषधिहरु खरिद गरी आइसोलेशन र क्वारेन्टिनहरुमा वितरण गरिरहेको बताए । आवश्यकता अनुसार बजेट व्यवस्था गरी आगामी दिनमा पनि त्यस्ता औषधि वितरणलाई निरन्तरता दिइने उनले बताए । प्रदेश सरकारले आ.व. २०७७÷०७८ का लागि चिकित्सालय भवन निर्माण, आयुर्वेद सूचना प्रणाली व्यवस्थापन, तालिम, औषधि खरिद लगायतका लागि ८ करोड ८९ लाखको योजना अघि सारेको छ ।

Sharing is caring!