मंसिर ४ को निर्वाचनका लागी लोकतान्त्रिक बाम गठवन्धन रोल्पाको प्रतिवद्धता पत्रमा उद्योग, पर्यटन, कृषि र पशुपालन, जलश्रोत तथा वनजन्य श्रोतबाट रोजगारी सिर्जना गर्ने उल्लेख छ । स्वदेशमै रोजगारी सिर्जना गर्न उसले यी क्षेत्रलाई प्राथमिकताको सूचीमा राखेको हो ।
जिल्लाका खानी उत्खनन् गर्नका लागी गुरुयोजना तयार गर्ने र खानीमा काम गर्न सयौं युवाहरूलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख छ । जिल्लाको प्रचुर जलसम्पदालाई उपयोग गर्दे सिंचाई तथा लिप्ट सिंचाईको व्यवस्था गरि कृषिले हराभरा बनाउने, माडी खोलामा जलाशय निर्माण गरि विद्युत उत्पादन गर्ने गरि रोल्पाका सबै वस्तीमा सस्तो दरमा विद्युत उपलव्ध गराउने तथा उद्योग धन्दा संचालन गर्ने, डायभर्सनको माध्यमबाट माडीखोलको पानी दाङ झारी दाङमा समेत सिंचाई र विद्युत उपलव्ध गराई जिल्लामा आयआर्जन बढाउने उल्लेख छ ।
रोल्पालीको गरिबी हटाउन आधुनिक कृषि प्रणाली अबलम्वन गर्ने, तरकारी तथा फलफुल उत्पादन तथा बिक्री वितरणलाई प्रोत्साहन गर्ने, उन्नत जातका पशुपालन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । धार्मिक पर्यटन, पर्यापर्यटन र युद्ध पर्यटनको काम अगाडी बढाउने उल्लेख छ । जलजला क्षेत्रको वृहत्तर विकासका लागी गुरुयोजना तयार गर्दै केवुलकार, होटल र रिसोर्ट निर्माणमा ध्यान दिने उल्लेख गरिएको छ ।
प्राविधिक शिक्षाका माध्यमबाट योग्य जनशक्ति उत्पादन गर्ने र स्वरोजगारका कार्यक्रम सञ्चालनमा विशेष प्राथमिकता दिने उल्लेख छ । रोल्पामा रहेका जडीबुटी, काष्ठउपज तथा गैंरकाष्ठ पैदावरका माध्यमबाट आयाआर्जन र रोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
अर्को मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले रोल्पाले जारी गरेको प्रतिवद्धता पत्रमा स्थानीय उत्पादनलाई प्रवद्र्धन शिर्षकमा गाँजा र भाङलाई कानूनी वैद्यता दिलाई त्यसको व्यवसायिक खेतीबाट आम्दानी गरि रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ । यसका साथै अन्न र फलफुलबाट बनेका वस्तुहरुको बजारिकरण शिर्षकमा रोल्पामा अन्न, फलफुल र जडीबुटीबाट बन्ने मदिरालाई कानूनी मान्यता दिलाउन पहल गरि स्थानीय व्राण्डको पहिचान सहित बिक्री गर्ने वातावरण बनाउने उल्लेख गरिएको छ ।
खानीहरूको प्रयोग अन्र्तगत रोल्पामा रहेका फलाम खानी, सिसा खानी, सुनखानी, तामा खानीको अन्वेशन र उत्खनन्का लागी पहल गर्ने उल्लेख गरिएको छ । जडीबुटीको प्रवद्र्धन अन्र्तगत रोल्पामा प्रशस्त मात्रामा पाईने र पहिचान नभएका जडीबुटी पहिचान गरि तिनलाई व्यवसायिकरण गर्दै आयआर्जन बृद्धि गर्न योजना बनाउने र आयुर्वेदिक औषधी प्रशोधन केन्द्र स्थापना गर्ने उल्लेख छ । रोल्पामा धर्म, भाषा संस्कृती, कृषि र प्राकृतिक पर्यटनको सम्भावना रहेकाले पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरि गुरुयोजना निर्माण गर्दै रोल्पालाई पर्यटन हव बनाउने उल्लेख छ ।
खोटे सल्लाबाट निकालिने खोटोलाई स्थानीय रुपमै प्रशोधन गर्ने व्यवस्था गर्ने, तरकारी र पशुपालनलाई व्यवसायिकरण गर्न बीउ मलमा अनुदान, उत्पादीत वस्तुको बजारिकरण एवम कृषकहरूलाई आर्थिक प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।
२०७४ मा वाम गठबन्धनको घोषणा पत्रमा रोजगारी
तत्कालिन वाम गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले रोल्पाले जारी गरेको प्रतिवद्धता पत्रमा युवालाई क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्ने, एक घर एक रोजगारको व्यवस्था गर्ने, रोजगारीका लागि माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र प्राविधिक शिक्षा प्रति आकर्षित गर्ने, निजामती, जंगी, प्रहरी, सार्वजनिक संस्थान र नीजि कम्पनीहरूमा रोजगारीका लागि पहल र प्रेरित गर्ने उल्लेख गरिएको थियो ।
खेलाडीहरूलाई रोजगारीको व्यवस्था गर्ने, व्यापार व्यवसाय बिस्तार गरी युवाहरूलाई स्वरोजगार वनाउने, युवाहरूको क्षमता अभिबृद्धिका लागि तालिमहरूको व्यवस्था गर्ने उल्लेख गरेका थिए । शहीद परिवार र सशस्त्र द्वन्द्वका कारण ज्यान गुमाएका परिवारका एक सदस्यलाई अनिवार्य रोजगारीको व्यवस्था गर्ने, घाईते अपाङ्गहरूलाई निशुल्क उपचार, निर्वाह भत्ता र रोजगारीको व्यवस्था गर्ने उल्लेख गरेका थिए ।
आमा समूह, महिला कृषि समूह मार्फत महिलाहरूका लागि घरमै रोजगारी सृजना गर्ने बताइएको थियो । रोजगारीका लागी सीपमुलक तालिम उपलव्ध गराउने, महिलाहरूको रोजगारीका लागी अल्लो विभिन्न प्रकारका घरेलु उद्योगको स्थापना, कृषि, पशुपालनमा व्यवसायिकरण, होमस्टे सञ्चालन गर्ने उल्लेख गरेका थिए ।
माध्यमिक तह उत्तीर्ण गरेका दलित समुदायका युवालाई रोजगारीको अनिवार्य व्यवस्था गर्ने, दलित समुदायको परम्परागत सीपलाई आधुनिकरण गर्दै उद्योगको रुपमा विकास गर्ने उल्लेख गरिएको थियो ।
रोल्पाको समृद्धिको एक आधार जलविद्युत वनाउने, खुग्रींमा २५२ मेगाबाट र माडीचौरमा २४६ मेगावाटको जलविद्युत उत्पादन गरि जिल्लामा उत्पादन हुने सबै जलविद्युत परियोजनामा प्रत्येक रोल्पालीलाई शेयर मार्फत मालिक बनाउने उल्लेख गरेका थिए । जलविद्युत मार्फत प्रत्येक रोल्पालीहरूको आर्थिक जीवनमा आमूल परिवर्तन ल्याउने बताएका थिए । परम्परागत कृषि उत्पादन प्रणालीलाई आधुनिकीकरण गर्ने, युवाहरूलाई व्यवसायिक कृषिमा लाग्न र स्वरोजगार बन्न प्रोत्साहित गर्ने, व्यवसायकि कृषिमा लाग्न जनचेतना फैलाउने, व्यवसायिक कृषिका लागि अनुदान र सहुलियत ऋणको व्यवस्था गर्ने उल्लेख गरिएको थियो ।
जिल्लामा रहेका बैंकहरूलाई कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, कृषिका लागि प्रत्येक गाउँपालिकालाई पकेट क्षेत्र बनाउने र हरेक वडालाई पकेट क्षेत्रमा रुपान्तरण गर्ने उल्लेख गरिएको थियो । माछापालनलाई व्यवसायीकरण गर्ने, लिवाङ, होलेरी, घर्तीगाउँ र सुलिचौरमा चिस्यान गृह स्थापना गर्ने, बिजुली पु¥याएर हरेक गाउँपालिकामा एक एक वटा चिस्यानगृह स्थापना गर्ने उल्लेख गरिएको थियो । तर तीमध्ये थोरै कार्यक्रममात्र लागु गरिए । ती पनि प्रभावकारी भएनन् ।
नयाँ पुस्ताको माग गाउँमै रोजगारी
रोल्पा नगरपालिका ४ का सन्दीप पोख्रेल मंसिर ४ को निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन । राहादानी बनाएर विदेश जान लागेका उनलाई राजनैतिक दलको घोषणा पत्रले तान्न नसके पनि छिपछिपे विश्वास भने कायमै छ । युवा पलायन रोक्न देशमै रोजगारीका अवसर सिर्जना गर्ने दलको घोषणा पत्रले उनको मनको एक कुनामा विश्वासको त्यान्द्रो मरिसकेको छैन ।
सन्दीपमात्र हैन रोल्पाका धेरै युवाहरू दलका घोषणा पत्र प्रति विश्वस्त छैनन् । विगतका निर्वाचन घोषणा पत्रमा समावेश भएका गुलिया आश्वासन उनीहरूका लागी आकाशको फल भएको थियो । अब निर्वाचित हुनेले गाउँमै रोजगारीका अवसर सिर्जना गर्नु पर्ने रोल्पा नगरपालिका ३ का विजय नेपालीले भने । पहिलो पटक मतदान गर्दै गरेका उनले छुवाछुत मुक्त, धुम्रपान, मद्यपान हटाउने र बालविवाह अन्त्य गर्ने उम्मेदवार आफ्नो रोजाईमा पर्ने बताए । विगतमा ठूलठूला सपना देखाएर काममा माखो नमार्ने प्रवृद्धी देखियो उनले भने ।
रोल्पामा बेरोजगारीको समस्या आत्यधिक छ । खेतीयोग्य जमिन, उद्योग धन्दा र प्राविधिक शिक्षाको अभावले गर्दा वर्षेनी धेरै युवा जिल्ला छोड्ने गर्दछन् । उनी काठमाण्डौका ईट्टा भट्टाका साथै पोखरा, वुटवल जस्ता शहरहरूमा श्रमिकको रुपमा काम गर्दछन् । धेरै युवा भारत र खाडी मुलुक जान्छन् । यहाँका ३५ हजार मानिस कामका लागि बाहिर जाने गरेको अनुमान गरिन्छ । जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकार नवराज सापकोटाका अनुसार एक हातले नागरिकता र अर्को हातले राहदानी लिएर जाने युवाको संख्या ठूलो छ ।
जिल्ला प्रशासन कार्यालय रोल्पा परिसरमा रहेको आप्रवासन सूचना केन्द्रका श्रोत केन्द्रका प्रमुख स्मृती रोकामगरका अनुसार आर्थिक वर्ष २०७७।०७८ मा ५ सय १ महिला र २ हजार ९८ पुरुष सहित २ हजार ५ सय ९९ जनाले कामका लागि विदेश जान राहदानी लिएका थिए । आर्थिक वर्ष २०७८।०७९ मा अघिल्लो वर्षको तुलनामा झण्डै दोव्बरले राहदानी लिएका थिए । सो वर्ष महिला ९ सय ६ र पुरुष ३ हजार ८ सय ८७ सहित ४ हजार ७ सय ९३ जनाले राहादनी लिएका थिए । चालु आर्थिक वर्षको कार्तिक तेश्रो सातासम्म महिला ४ सय ४१ र पुरुष १ हजार ८ सय ३० सहित २ हजार २ सय ७१ जनाले राहादानी लिएका छन् ।
रोजगारीका लागी भाङ खेतीलाई वैधानिकता देऊ
रोल्पाको हावापानी भाङ खेतीका लागी उत्तम मानिन्छ । अन्न बाली खासै नहुने रोल्पाको उत्तरी भेगका अधिकांश मानिसहरू भाङ खेती गर्ने गर्दछन् । नेपालको कानूनले भाङ खेतीलाई अवैध मानेकाले उनीहरू भाङ खेती र बिक्री लुकीपिछी गर्दछन् । यस क्रममा धेरै रोल्पाली प्रहरीको निसानामा परेर जेलको चिसो छिडीमा दिन बिताई रहेका छन् ।
विचौलियाहरू भाङबाट बन्ने चरेश ओसारपसारमा रोल्पाली महिलाहरू प्रयोग गर्ने गर्दछन् । फलतः उनीहरू प्रहरीको निसानामा पर्दछन् र जेल जान बाध्य हुन्छन् । लागुऔषध उत्पादन र ओसारपोसारमा संलग्न भएको आरोपमा पक्राउ परेका मध्ये अहिले ३ कैदी र ८ थुनुवा गरि ११ जनाले रोल्पा कारागारमा कैद भुक्तान गरिरहेका छन् । कारागारमा रहेका मध्ये पुरुष २ कैदी र ३ थुनुवा गरि ५ जना र महिला १ कैदी ५ थुनुवा गरि ६ जना रहेका छन् । प्रहरीका अनुसार लागुऔषधको उत्पादनमा अधिकांश पुरुषहरूको र ओसारपसारमा महिलाको संलग्नता देखिन्छ ।
नेपालको कानूनले उत्पादन, ओसारपोसार र बिक्री वितरणमा प्रतिबन्ध लगाएको लागु औषध लुकीछिपी उत्पादन र ओसारपोसारमा संलग्न भएका उनीहरूलाई पक्राउ गरि कानूनी कारवाही गरिएको प्रहरीको दावी छ ।
पक्राउ परेकाहरूलाई हेर्दा उत्पादनमा पुरुष र ओसारपोसारमा महिलाको प्रयोग भएको देखिन्छ । कतिपयलाई आफुले उत्पादन गरेको वस्तु लागुऔषध हो भन्ने थाहा नपाएको पाइयो । अरुनै प्रजातीको बीउदिएको भन्दै लागुऔषधका संकलकहरूले लागुऔषधको बीउ दिएर उत्पादन गराएको समेत अनुसन्धानका क्रममा भेटिएको प्रहरीको भनाई छ ।
पुरुषको तुलनामा महिलाहरू सिधासाधा हुने र भनेको पनि सहजै मान्ने भएकाले ओसारपोसार जस्तो जोखिमपूर्ण काममा महिला प्रयोग भएको देखिन्छ । लागुऔषधका यस्ता घटनामा ३० देखी ४० वर्ष उमेर समुहका महिलालाई प्रयोग गरेको देखिन्छ।
जघन्य र संगठित अपराध मानिने लागुऔषध ओसारपसारमा समूहगत संलग्नताको आवश्यकता पर्दछ । उत्पादनको काममा महिलालाई कम प्रयोग गरि ओसारपसार जस्तो जोखिमपूर्ण काममा बढी मात्रामा प्रयोग हुदा उनीहरू कानूनको फन्दामा समेत परेको देखिन्छ ।
लाटा सोझा रोल्पाली महिला र युवाहरू फस्ने र खास व्यक्ति पक्राउ नपर्ने यस्तो लुकामारी लामो समय देखी चल्दै आएको प्रति रोल्पाली युवाहरू सन्तुष्ट छैनन् । युवाहरूको माग छ भाङ खेती वैधानिक वनाउनु पर्छ । थवाङ गाउँपालिका ५ रोल्पाका धनराज घर्तीमगरका अनुसार गाँजा खेती वैधानिक बनाउनु पर्छ । निर्दोष मानिस पक्राउ पर्ने र दोषीले उन्मुक्ती पाउने कारण नै गाँजा सम्बन्धि नेपालको कानून हो, यसलाई संशोधन गरि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ घर्तीमगरले भने । औषधीका रुपमा प्रयोग गर्न सकिने गाँजा खेतीलाई वैधानिकता दिए सयौं युवाहरू देशमै स्वरोजगार हुने उनको भनाई छ ।
विदेशी महँगा रक्सी नेपालका गाउँ गाउँ निर्वाध पुग्ने तर गाउँघरमा उत्पादन हुने रक्सीलाई प्रतिबन्ध लगाउने कानून संशोधन गर्नु पर्नेमा घर्तीमगरले जोड दिए । स्थानीय रक्सी वैंधानिक ढंगले बिक्री गर्ने वातावरण वने धेरै युवायुवती गाउँघरमै स्वरोजगार हुने घर्तीमगरको विचार छ ।
युवाहरूको चाहानालाई नेकपा एमाले रोल्पाको प्रतिवद्धता पत्रमा सम्बोधन गर्ने प्रयास गरिएको छ । नेकपा एमालेले जारी गरेको प्रतिवद्धता पत्रमा रोल्पा गाँजा र भाङमा लगाइएको प्रतिबन्ध हटाएर यसबाट लाभ लिने कुरा उल्लेख छ । त्यस्तै अन्न, फलफुल र जडीबुटीबाट बन्ने रक्सीलाई कानूनी मान्यताका लागि पहल गरि स्थानीय व्राण्ड स्थापित गर्न पहल गर्ने उल्लेख गरिएको छ।