रोल्पाको स्थानीय तहका नीति तथा कार्यक्रम

कागजमा प्राथमिकता, कार्यान्वयनमा उदासिनता

महेश न्यौपाने २०७९ पौष रोल्पा

अघिल्लो कार्यकालको स्थानीय सरकारहरूले कैयौं महत्वपूर्ण नीति तथा कार्यक्रमहरू पाँच वर्षसम्म कागजमा लेख्ने काम मात्रै गरे, कार्यान्वयनमा प्राथमिकता दिएनन् । पछिल्लो पटक निर्वाचित स्थानीय सरकारको पहिलो वर्षको नीति तथा कार्यक्रममा पनि तिनै कार्यक्रमहरू दोहोरिएका छन् ।

संघीय संरचनाअन्र्तगत १० वटा स्थानीय तह रहेको रोल्पामा १ नगरपालिकासहित ९ गाउँपालिका छन् । नेपालको संविधान कार्यान्वयनसंगै तीन तहको सरकारमध्ये तल्लो र जनताको घरदैलोको सरकारको रुपमा रहेको स्थानीय सरकारले पहिलो पाँच वर्षे कार्यकाल पुरा गरी दोस्रो कार्यकाल सुरु भएको छ ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वको सवभन्दा बढी पिडा भोगेको रोल्पालीमा विकासको ठूलो तृष्णा रहेपनि अघिल्लो कार्यकालको स्थानीय सरकारहरूले कैयौं महत्वपूर्ण नीति तथा कार्यक्रमहरू पाँच वर्षसम्म कागजमा लेख्ने काम मात्रै गरे, कार्यान्वयनमा प्राथमिकता दिएनन् । पछिल्लो पटक निर्वाचित स्थानीय सरकारको पहिलो वर्षको नीति तथा कार्यक्रममा पनि तिनै कार्यक्रमहरू दोहोरिएका छन् । अहिले पनि ती कार्यान्वयन हुनेमा शंका उत्पन्न हुन थालेको छ ।

दश स्थानीय तह रहेको रोल्पामा एक मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिकामा २०७४ र २०७९ मा सम्पन्न दुईवटै स्थानीय तह निर्वाचनमा दुवै पटक नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । २०७४ सालमा नगरपालिकाको नेतृत्व पूर्ण केसीले गरेका थिए भने २०७९ को निर्वाचनपछि दोश्रो कार्यकालका लागि सुरेन्द्र घर्तीमगर नगरप्रमुखमा निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको रुपमा केसीले अघि वढाएका कतिपय नीति तथा कार्यक्रमहरू उनको ५ वर्षे कार्यकाल रहदासम्म हरेक वर्षको बजेट, नीति तथा कार्यक्रममा परिरह्यो तर कार्यान्वयन भने हुन सकेन ।

तालिका १: रोल्पा नगरपालिकाले पाँच वर्षसम्म नीति तथा कार्यक्रममा निरन्तर उल्लेख गरेको तर कार्यन्वयन नगरेका विषय
कृषिपशुपन्क्षी पालन र कृषिमा लगानी वढाउदै अण्डा मासु तरकारी र खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम अगाडी वढाइने । नगरपालिकास्तरमा फलफुल, तरकारी तथा कृषिजन्य उत्पादन भण्डारणका लागि एक कोल्ड स्टोर निर्माण गर्ने । रोल्पा नगरपालिकाका १० वटा वडाका प्रत्येक १ गाउँलाई प्राविधिक तालिम उपलव्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रमद्धारा प्रत्येक ग्रामीण घरमा कम्तिमा एक घर एक रोजगार सिर्जना गरिने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
पर्यटनयुद्ध पर्यटनका लागि वृहत योजना वनाइनेछ र काम अघि वढाइने छ ।अहिलेको नेतृत्वले समेत यही साभार गरेको ।
उद्योग र  घरेलु उद्योगनगर क्षेत्रमा उद्योग स्थापनाका लागी पहल गरिनेछ । नगरपालिकाको निश्चित क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने छ । रोल्पा नगरपालिकाको १० वटै वडा जोड्ने रिङरोडको योजनालाई यसै वर्षदेखी अगाडी वढाइनेछ । नगरपालिकाभित्रका सवै घरमा विजुली बत्ती पुग्ने गरि विद्युतीकरण गरिनेछ । नगरस्तरीय सडकलाई २ लेनको वनाइनेछ । एयरपोर्टको सम्भाव्यता अध्ययन गरी काम थालिनेछ । माडीचौरमा अघि वढाइएको घनावस्ती कार्यक्रमलाई अगाडी वढाउन पहल गरिने छ ।पाँच वर्ष निरन्तर र अहिलेको नेतृत्वले समेत निरन्तरता दिएको ।
शिक्षारोल्पा नगरपालिकालाई रोल्पा पोलिटेक्निक कलेज, जलजला वहुमुखी क्याम्पस, कृषि विश्वविद्यालय, नमूना विद्यालय बालकल्याण उमाविको एकीकृत समायोजनको नीति अवलम्वन गरि शैक्षिक हवको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । शिक्षकको तलव भुक्तानी प्रक्रियालाई मासिक बनाइने छ ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको
स्वास्थ्य१ वडा एक स्वास्थ्य संस्थाको नीतिलाई अवलम्वन गरिने छ । रोल्पा जिल्ला अस्पतालको पूर्वाधार निर्माण कार्य अगाडी वढाइनेछ र अस्पतालको स्तरोन्नती गरि १०० शैयाको वनाइने छ । नगरपालिकाभित्र जडीवुटी केन्द्रको रुपमा विकास गराई आयुर्वेद विद्यालय स्थापना गर्न पहल गरिनेछ । सवै वडा केन्द्र, स्वास्थ्य संस्थामा कम्तिमा १÷१ वटा एम्वुलेन्सको व्यवस्था गरिनेछ । विद्यालय स्वास्थ्य कार्यक्रमलाई अगाडी वढाइने छ । रोल्पा नगरपालिकाभरि एक घर एक खानेपानी धाराको नीतिलाई लागु गरिने छ ।अहिलेको नेतृत्वले पनि हुवहुँ साभार गरेको ।
समावेशीकरणमहिला, वालवालिका, जेष्ठ नागरिक, अपाङग तथा शहीद परिवार सम्वन्धी नीतिमा नगरपालिकाले शहीद परिवार, वेपत्ता परिवार, घाईते तथा अपाङता र द्वन्द्व पिडितहरुका लागि विशेष कार्यक्रम ल्याइने छ । छुवाछुतमुक्त नगरपालिका घोषणा अभियानलाई अगाडी वढाइने छ । युवा नीति अन्र्तगत समग्र खेलक्षेत्रको विकासका लागि एक वडा एक खेलमैदानको नीति अलवम्वन गरिने छ । सामाजिक सुरक्षा नीति अन्र्तगत खरको छाना विस्थापन कार्यक्रमलाई अघि वढाइने छ ।पाँच वर्षसम्म जस्ताको तस्तै, अहिलेको नेतृत्वले पनि त्यही साभार गरेको ।
वन तथा वातावरण र विपद् व्यवस्थापननगरपालिकालाई प्लाष्टिकमुक्त नगरपालिका घोषणा गर्ने, रोल्पा नगरपालिकालाई पूर्ण सरसफाई नगर घोषणातर्फ अभियान अघि वढाइने छ ।पाँच वर्षसम्म जस्ताको तस्तै, अहिलेको नेतृत्वले पनि त्यही साभार गरेको ।
सुशासन तथा संस्थागत सम्बन्धीटेलिफोन टावर, केवल लाईन र होडिङ वोर्डमा कर लगाईने छ । फोन तथा मोवाईल सेवाबाट कोही पनि बञ्चित हुन नपर्ने गरि नगरपालिकाका नेटवर्क नपुगेको स्थानको पहिचान गरी सेवा विस्तारको पहल गरिने छ ।पाँच वर्षसम्म जस्ताको तस्तै, अहिलेको नेतृत्वले पनि त्यही साभार गरेको ।
न्याय सम्बन्धी नीतिप्रत्येक वडा कार्यालयहरुमा मेलमिलाप केन्द्रको स्थापना गरी न्याय सेवालाई जनताको घरदैलोमा पु¥याइने छ । सभ्य र समृद्ध नगरपालिकाको लागि मदिरापान र मद्यपानको प्रयोगलाई नियन्त्रण गरिनेछ । नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गाहरूको समुचित संरक्षण गरिने छ ।पाँच वर्षसम्म जस्ताको तस्तै, अहिलेको नेतृत्वले पनि त्यही साभार गरेको ।

अघिल्लो स्थानीय सरकारले ल्याएको अत्यावश्यक नीति तथा कार्यक्रमलाई आफ्नो नेतृत्वको स्थानीय सरकारले समेत निरन्तरता दिएको रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र घर्तीमगरको भनाई छ । विगतमा नीति र कार्यक्रमको रुपमा समावेश भएका तर कार्यान्वयन हुन नसकेका त्यस्ता कार्यक्रम समावेश गरेका हौ नगरप्रमुख घर्तीमगरले भने । स्थानीय तहको निर्वाचन भएको छोटै समयमा यस वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने वाध्यताका कारण अघिल्लो स्थानीय सरकारका धेरै नीति तथा कार्यक्रम यस वर्ष समावेश गरेको नगरप्रमुख घर्तीमगरको भनाई छ ।

केही नयाँ नीति पनि छन्

अधिकांश पुरानै नीति हुवहु सारेको रोल्पा नगरपालिकाको नयाँ नेतृत्वले केही नयाँ नीति र कार्यक्रम समेत ल्याएको छ ।

तालिका २: रोल्पा नगरपालिकाको नयाँ नेतृत्वले अघि सारेका नयाँ नीति तथा कार्यक्रमहरु

कृषि

कृषि उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिने भएको छ ।

तरकारी,दुग्ध उत्पादक कृषकहरूलाई बीउ, प्रविधि सहायता, बाली तथा पशु विमा र वजारीकरणमा विशेष प्रोत्साहनको व्यवस्था मिलाइएको छ ।

पर्यटन

वेल कम टु रोल्पा कार्यक्रम अन्तरगत रोल्पा आउने पर्यटकको अभिलेख राख्ने

रोल्पाको कोशेलीलाई अभियानको रुपमा संचालन गर्ने ।

पूर्वाधार

सडक गुरुयोजना यसै वर्षभित्र तयार गर्ने ।

यसै वर्षदेखी पूर्वाधार एम्बुलेन्सको सुरुवात गर्ने ।

स्वास्थ्य

आत्महत्याका घटनालाई रोक्नका लागि विशेष पहल गर्ने ।

सुत्केरी आमालाई साविकको प्रोत्साहन रकममा नगरपालिकावाट थप ५०० दिने ।

समावेशीकरण

नगरभित्र निर्माण भएका सडकहरूको नामाकरण शहीदको नामवाट गर्ने ।

आफन्त नभई सडक पेटीमा रात गुजारेका, मानसिक स्वास्थ्य कमजोर भएका नगर क्षेत्रमा भौतारिने व्यक्तिहरूको उद्धार र स्वास्थ्योपचारका साथै संरक्षणका लागि विशेष पहल गरिने ।

नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसारको योजना कार्यान्वयनको सुरुवात गरेको बताएको छ । उसले सदरमुकाम लिवाङमा वेवारिसे जीवनयापन गरिरहेका ४ सडक मानव र २ अनाथ बालकहरूको व्यवस्थापन गरेको छ । वेवारिसे जीवन विताईरहेकोकाहरूका आफन्तको आग्रहका आधारमा सम्बन्धित वडा कार्यालयको समेत समन्वयमा उनीहरूलाई व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले २ महिला, २ पुरुषसहित ४ सडक मानव र २ अनाथ बालकको व्यवस्थापन गरेको हो । सडक मानवको रुपमा व्यवस्थान गरिएका चारै जना मानसिक सन्तुलन गुमाएका व्यक्तिहरू हुन् । मानसिक सन्तुलन गुमाएका उनीहरू रोल्पा नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट आई सदरमुकाम लिवाङमा लामो समयदेखी वेवारिसे जीवन बिताउदै आएका थिए ।

उनीहरूमध्ये रोल्पा नगरपालिका–९ का एक पुरुषलाई दुई वर्षअघि नै नगरपालिकाले व्यवस्थापन गरेको थियो । यस वर्ष २ महिला र १ पुरुषसहित थप ३ जनालाई व्यवस्थापन गरिएको छ । यस वर्ष रोल्पा नगरपालिका वडा नंं ३ को १ महिला र १ पुरुष तथा माडी गाउँपालिका वडा नं २ को १ महिलालाई मानव सेवा आश्रम वुटवलमा व्यवस्थापन गरिएको रोल्पा नगरपालिकाका उपप्रमुख गीता आचार्यले जानकारी दिईन् । उनीहरूको व्यवस्थापन गरेवापत आश्रमलाई नगरपालिकाले १ लाख ५० हजार उपलव्ध गराएको थियो ।

मानसिक सन्तुलन गुमाएर घर छाडेपछि उनीहरूलाई आफन्त तथा परिवारले समेत वेवास्ता गरेका थिए । घर छाडेर लामो समयदेखी सदरमुकाम लिवाङ वजारमा सडक मानवको रुपमा जीवन बिताउदै आइरहेका उनीहरू खाने, वस्ने तथा सरसफाई जस्ता सामान्य कुरावाट समेत बञ्चित रहदै आएका थिए ।

नगरपालिकाले हेरचाह र पालनपोषण गर्ने आफन्तको अभावमा कुपोषणको संक्रमणमा परेका २ बालकहरूलाई समेत व्यवस्थापन गरेको छ । रोल्पा नगरपालिका वडा नं. ४ का दाजुभाई उनीहरूको पालनपोषण, रेखदेखसहित पढाउने गरी नितेन मेमोरियल स्कूल काठमाण्डौंमा भर्ना गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । विद्यालयसंग समन्वय गरी त्यहाँसम्म उनीहरूलाई पु¥याउने काममा नगरपालिकाले सहयोग गरेको थियो ।

नगरपालिकालाई सडक मानवरहित वनाउने चूनावी प्रतिवद्धता अनुसार काम गरेको रोल्पा नगरपालिकाका उपप्रमुख गिता आचार्यको भनाई छ । ‘निर्वाचित भएर आएपछि नगरपालिकालाई सडक मानवमुक्त बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गरेको हुँ’, नगर उपप्रमुख आचार्यले भनिन्, ‘अहिले रोल्पा नगरपालिका तथा सदरमुकाम लिवाङमा वेवारिसे जीवन यापन गरिरहेका सडक मानव छैनन् ।’

लुंग्रीमा पनि पुरानै कार्यक्रमको वाहुल्य

लुंग्री गाउँपालिका अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितेको रोल्पाको दशमध्ये एक मात्र स्थानीय तह हो । नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गावहादुर खड्काले वितेका ५ वर्षमा गाउँपालिकाको नीति तथा कार्यक्रमको रुपमा आर्थिक वर्ष २०७४÷०७५ देखी २०७८÷०७९ सम्म जस्ताको तस्तै साभार गरेका कतिपय नीति तथा कार्यक्रमहरू कार्यान्वय नै भएनन् । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने सो गाउँपालिका नेकपा माओवादीले जितेको छ । नेकपा माओवादी केन्द्रका भरत थापा अध्यक्ष रहेको गाउँपालिकाको चालु आर्थिक वर्षमा समेत अघिल्ला वर्षकै नीति तथा कार्यक्रमहरू जस्ताको तस्तै कपी पेष्ट गरिएको छ ।

तालिका ३: लुंग्री गाउँपालिकाले पाँच वर्षसम्म नीति तथा कार्यक्रममा निरन्तर उल्लेख गरेको तर कार्यान्वयन नगरेका विषय

आर्थिक विकासगाउँपालिकालाई तरकारीजन्य वस्तुमा पुर्ण रुपमा आत्मनिर्भर बनाउने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
   एक घर एक करेसावारी र एक गाउँ एक उत्पादन कार्यक्रमलाई सफल बनाउनका लागि एक गाउँ एक प्राविधिक नपुगेका वडाहरूमा तत्कालै आवश्यकता पुर्ती हुने गरि व्यवस्था मिलाइने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
कृषि एम्बुलेन्स संचालनको लागि आवश्यक पहल गर्ने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
भौतिक विकास  ७ वटै वडाहरूलाई जोड्ने गरी बाहिरी तथा भित्रि रिङरोडको योजनालाई प्राथमिकताका साथ तीव्र रुपमा अगाडि बढाइने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
एक घर एक धारा अन्र्तगत गा.पा.का सम्पूर्ण वडाहरूमा खानेपानीको व्यवस्था मिलाइने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
५ वर्षभित्र गाउँपालिकाभित्रका सम्पुर्ण घरमा विजुलीबत्ती पुग्ने गरी विद्युत लाइन बिस्तार गर्नेअहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
स–साना बजार क्षेत्रमा सौर्य बत्तीको व्यवस्थापन समेत मिलाउने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
 रोल्पा जिल्लाकै एक मात्र विमानस्थलका रुपमा रहेको बडाचौर बिमानस्थल पहिले सञ्चालनमा आएपनि विगत २८ वर्षदेखी विभिन्न कारणले गर्दा बन्द भएकोले पुनः सञ्चालनमा ल्याउन यथाशिघ्र सञ्चालन गर्ने कार्यलाई आवश्यक पहल गर्ने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
सूचना तथा संचारगाउँपालिकाको सम्पूर्ण वडाहरूका वस्तिहरूमा सञ्चारको पहुँच सहज रुपमा पु¥याउनको निमित्त पाङ ऐपेको दरखानी लेक, नम्जाको सम्भावित डाडाँ लगायतका ठाउँहरूमा नेपाल टेलिकमसँग समन्वय गरि टेलिफोन टावरको स्थापनाको निमित्त तीव्र रुपमा पहल गर्ने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
शिक्षा  गाउँपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयहरूको भौतिक संरचनाहरूलाई १० वर्षभित्रमा पुर्ण रुपले भुकम्प प्रतिरोधी बनाउन आवश्यक कदम चालिने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
गाउँ शिक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने र स्थानीय पाठ्यक्रमको माध्यमवाट परम्परागत ज्ञान, सीप र संस्कृतीको संरक्षण, सम्वद्र्धन गर्दै माध्यमिक शिक्षामा जोड दिने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
सामाजिक अभियान  गाउँपालिकाको सामाजिक अभियान अन्र्तगत पूर्ण खोप र पूर्ण सरसफाई कार्यक्रम संचालन गर्ने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
जाँड रक्सी जुवातासजस्ता सामाजिक विकृति तथा विसंगतीहरूलाई नियन्त्रण तथा गाउँपालिकालाई बालमैत्री घोषणा अभियान संचालन गर्ने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
खेलकुदगाउँपालिकामा एक वडा एक खेल मैदानको अवधारणा लागु गर्ने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।
सार्वजनिक जग्गा व्यवस्थापनगाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरूको समुचित संरक्षण गर्ने ।अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

लुग्रीमा नयाँ कार्यक्रम न्यून

लुंग्री गाउँपालिका सरकारको नेतृत्व गरेका भरत थापाले चालु आर्थिक वर्षका लागी मेडिकल अधिकृतको व्यवस्था गर्ने नीति तथा कार्यक्रम ल्याएका छन् जुन विगतको नीति तथा कार्यक्रमभन्दा नयाँ हो । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम घोषणा र कानूनअनुसार नीति तथा कार्यक्रम पेश गर्ने निर्धारित मिति निकै छोटो भएकाले यसबीचमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको लुंग्री गाउँपालिका अध्यक्ष थापाले बताए । वितेका वर्षमा नीति तथा कार्यक्रममा समावेश कैयौं कार्यक्रम कार्यान्वयन गर्न वाँकी रहेकाले यस वर्ष ती कार्यक्रमले निरन्तरता पाएको थापाले बताए ।

रुन्टीगढीमा पुराना निरन्तरतासंगै नयाँ कार्यक्रम

२०७४ सालको स्थानीय तह निर्वाचनमा रुन्टीगढी गाउँपालिका नेकपा एमालेले जितेको थियो । गाउँपालिका अध्यक्ष वालाराम बुढाले आफ्नो कार्यकालको सुरु वर्षदेखी अन्तिम वर्षसम्म धेरै नीति तथा कार्यक्रम हुवहु ल्याएका थिए । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका जनक पुन प्रमुखको रुपमा विजयी भएका छन् । त्यसपछि गाउँपालिकाल ल्याएको कतिपय नीति तथा कार्यक्रमहरु पुरानै र कतिपय नयाँ रहेको छ ।

तालिका ४: रुन्टीगढी गाउँपालिकाले पाँच वर्षसम्म नीति तथा कार्यक्रममा निरन्तर उल्लेख गरेको तर कार्यान्वयन नगरेका विषय

विषयगत क्षेत्र

५ वर्षसम्म निरन्तर समावेश भएका तर कार्यान्वयन नभएका नीति तथा कार्यक्रम

हालको अवस्था

पूर्वाधार

एक घर एक धारा

३ वर्षभित्र रुन्टीगढी गाँउपालिकाकाभित्रका सवै घरमा बिजुली बत्ती पु¥याउने लक्ष्य अनुरुप आगामी २ वर्षभित्र सबै बस्तिहरुमा विद्युतिकरण गर्ने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

पर्यटन

रुन्टीक्षेत्रको बृहत गुरुयोजना आगामी आर्थिक वर्षमा निर्माण गरी भौतिक पूर्वाधार निर्माणको कार्य अगाडी वढाइने नीतिका साथै होलेरी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरु स्वर्गद्वारी महाप्रभुको तपोभुमि तथा ऐतिहासिक गढी रहेको गढी क्षेत्र, भारत देखिने मुरुल्ले लेक, शिव पार्वती गुफा, पहिलो पटक प्रहरी चौकी आक्रमण गरी जनयुद्ध सुरु भएको स्थान, शान्ति प्रकृया सुरु भएपछि जनमुक्ति सेनाहरू बसेको क्यान्टोनमेन्ट, द्वन्द्वको समयमा निर्माण सुरु भई हाल यस क्षेत्रको मेरुदण्डको रुपमा रहेको सहिद मार्ग लगायतका क्षेत्रको समुचित र समग्र विकासका लागि डिपिआर निर्माण पर्यटन प्रर्वद्धनको कार्य तीव्ररुपमा अगाडी वढाइने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

होलेरी क्षेत्रलाई हिल स्टेसनका रुपमा विकास गर्दै लगिने

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

स्वास्थ्य

होलेरीलाई रिफ्रेस सेन्टर, कन्फ्रेन्स हव, अर्गानिक टेष्टसेन्टर, प्राकृतिक उपचार केन्द्र तथा आध्यात्मिक साधाना स्थलको रुपमा योजना तयारी गरी कार्यक्रम संचालन गर्ने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

अस्पतालसम्म सबैको पहुँच होस् भन्ने अभिप्रायका साथ आगामी वर्ष गाउँपालिकाले आवश्यक विधि वनाएर एम्बुलेन्स संचालन गरिने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा आगामी आर्थिक वर्षदेखि फार्मेसी सञ्चालन गर्ने ।

चालु आर्थिक वर्षमा यो संख्या वृद्धी गरी तीनवटा एम्बुलेन्स पु¥याइएको छ । 

शिक्षा

होलेरीमा क्याम्पस स्थापना गरिने कार्यलाइ प्राथमिकताका साथ अगाडी बढाइने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

खेलकुद

एक वडा एक खेलमैदान ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

महिला तथा वालबालिका

हिंसा पिडित महिला तथा वालबालिकाका लागि होलेरीमा अल्पकालिन सुरक्षित आवास गृह सञ्चालन गर्ने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

बालमैत्री गाँउपालिका घोषणा अभियान ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

वन तथा वातावरण

एक वडा एक नमूना वन कार्यक्रम ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

सन् २०२१ सम्म रुन्टीगढी गाउँपालिकालाई पूर्ण सरफाईयुक्त गाउँपालिका घोषणा गर्ने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

बजार क्षेत्रलाई क्रमशः प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्दै लगिने छ र गाउँपालिकाको कार्यालय र नौवटै वडा कार्यलयहरूलाई प्लाष्टिक मुक्त कार्यालय घोषणा गर्ने ।

वर्तमान स्थानीय सरकारले २०२४ सम्म गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त घोषणा गर्ने ।

आगामी २ वर्षभित्र भान्साकोठा धुवाँमुक्त गाउँपालिका घोषणा गर्ने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

घरेलु उद्योग

गाउँपालिका क्षेत्रमा एक औद्योगिक ग्राम निर्माणको कार्य सुरुवात गर्ने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

सूचना तथा संचार

फोन तथा मोवाइल सेवाबाट कोही पनि बञ्चित हुन नपर्ने गरी गाँउपालिकाका नेटवर्क नपुगेका स्थानहरूको पहिचान गरी टेलिफोन टावर विस्तार कार्यक्रम ।

चालु आर्थिक वर्षमा आउँदा डिपिआरअनुसार घरेलु तथा साना उद्योगहरूलाई सोही ठाउँमा व्यवस्थापन गर्ने ।

सार्वजनिक जग्गा व्यवस्थापन

गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरूको समुचित संरक्षणको व्यवस्था गर्ने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

सामाजिक सुधार

गाउँपालिका क्षेत्रभित्र जुवातास पुर्ण रुपमा बन्द गर्ने र गाउँपालिका क्षेत्रभित्र मदिराको बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने ।

अहिलेको नेतृत्वले पनि निरन्तरता दिएको ।

रुन्टीगढी स्थानीय सरकारले अघिल्लो सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै केही नयाँ नीति तथा कार्यक्रमहरू पनि ल्याएको छ ।

तालिका ५: रुन्टीगढी गाउँपालिकाको नयाँ नेतृत्वले अघि सारेका नयाँ नीति तथा कार्यक्रमहरू

शिक्षा

गुणस्तरीय, अनिवार्य तथा निशुल्क शिक्षाका लागी विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने ।

प्रत्येक विद्यालयमा खेलकुद क्लब गठन गर्ने, स्मार्ट स्कूल, स्मार्ट शिक्षक र स्मार्ट विद्यार्थी कार्यक्रम सञ्चालनमा गर्ने र कक्षा कोठालाई प्रविधिमैत्री वनाउने ।

माध्यमिक तहसम्म पढाई हुने सवै विद्यालयमा एक जना खेलकुद शिक्षकको व्यवस्था गर्ने ।

माध्यमिक विद्यालयमा हप्तामा एक दिन सीपमुलक शिक्षा उपलव्ध गराउने ।

विद्यालयमा कक्षा १० पढ्ने विद्यार्थीहरूलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त ६ महिने सीपमुलक तालिम व्यवस्था गर्ने । तालिममा हाउस विल्डिङ, व्यूटिसियन, फेसन डिजाईनर, डल तथा कुसन मेकिङ, टेलरिङ, प्लम्बिङ, हाउस वायरिङ, फर्निचर लगायत बिषय छनौट हुने छन् । तालिम हरेक हप्ताको १ दिन २ घण्टाको हुने ।

स्वास्थ्य

पाँच वर्षभित्र पालिकालाई पूर्ण स्वास्थ्य बीमित पालिका बनाउने ।

भौतिक पूर्वाधार

होलेरी बजारलाई स्मार्ट सिटीको अवधारणा अनुरुप व्यवस्थित गर्ने ।

कृषि

गाउँपालिका अन्र्तगत उत्पादन भएका कृषि उपजहरूमा लगाईदै आएको पैठारी कर खारेज गरी निशुल्क गर्ने ।

उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन गर्ने ।

एक पालिका एक कोल्डस्टोर निर्माण गर्ने ।

प्रत्येक वडामा तरकारी संकलन केन्द्र स्थापना गर्ने ।

उत्पादित कृषि उपजको बजार मूल्य नभएको अवस्थामा किसानहरूलाई क्षतिपूर्ती दिने ।

विपन्नमुखी कार्यक्रम

२० यूनिटसम्मको विद्युत महसुल निशुल्क गर्ने ।

गाउँपालिकाका सवै वडा समावेश हुने गरि विपन्नता स्तरीकरण गर्ने र त्यसैका  आधारमा कार्यक्रम छनौट गर्ने ।

पर्यटन

माओवादी सेनाका लडाकु वसेको उघा र खस्रै व्यारेकलाई व्यवस्थापन गरी उत्कृष्ट लिभिङ डिजिटल पार्क निर्माण गर्ने ।

विगतमा आएका नीति तथा कार्यक्रममध्ये केही कार्यान्वयन गर्न वाँकी रहेको र केही नयाँ नीति तथा कार्यक्रम पनि समावेश गर्नुपर्ने भएकाले रुन्टीगढीको केही पुराना र केही नयाँ नीति तथा कार्यक्रमहरू आएको गाउँपालिका उपाध्यक्ष सरिता केसीले बताइन् । जनताको अपेक्षा सम्बोधन गर्ने गरी केही नयाँ नीति तथा कार्यक्रम अघि सारेको उनको भनाई छ ।

Sharing is caring!