रोल्पाका तीन हजार १ सय ५६ घरधुरी वर्षातको पानी चुहिने र सु्ख्खामा आगलागी हुने समस्याबाट मुक्त भएका छन् । खरको छानका सट्टा टिनको छाना लगाउनका लागि रोल्पामा संघीय र स्थानीय सरकारले ५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् ।
संघीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि रोल्पाका विपन्न समुदायका धेरैलाई राहात पुगेको छ ।
संघीय सरकारको आर्थिक सहयोगमा गत तीन बर्षअघि रोल्पामा नागरिक सुरक्षित आवास कार्यक्रम थालिएको थियो । यसका लागि सरकारले प्रतिघर रु ५० हजार दिने गर्दछ । संघीय सरकारको कार्यक्रमले सबै घरको छानो फेर्न नसिकिने भएपछि रोल्पाका पालिकाहरूले पनि फुसको छानो हटाउने कार्यक्रम अघि सारे । फुसको छानो फेर्न नसक्ने परिवारलाई छानो फेर्न लाग्ने खर्चका आधारमा बजेट दिने गर्दछन् ।
रोल्पामा खर तथा काठले घर छउने चलन पुरानो हो । थवाङ, सुनछहरी र परिवर्तन गाउँपालिकाका केही वडाहरूमा काठले छाना छाउने गर्दछन् भने अन्य पालिकामा खरले छाउने गर्दछन् । सम्पन्न व्यक्तिहरूले स्लेट ढुंगा र टिनले छाउँछन् । खर र काठले छाएका घरमा पानी चुहिने र आगलागी हुने डर हुन्छ ।
रोल्पामा हालसम्म रुन्टीगढी गाउँपालिकामा सबैभन्दा धेरै फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका एक हजार ६ सय ३१ घरमध्ये हालसम्म एक हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा यस शिर्षकमा संघीय सरकार र स्थानीय तहको पाँच करोड ६ लाख भन्दा बढी बजेट खर्च भएको छ । चालु आर्थिक वर्षमा बाँकी घरको समेत छाना फेर्न १ करोड ६९ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।
रोल्पा नगरपालिकामा एक हजार २ सय ७७ वटा घरमा फुसको छाना भएकोमा हालसम्म ६ सय २४ घरको छाना फेरिएको छ । नागरिक सुरक्षित आवास कार्यक्रमवाट २ सय ७७ र फुसको छाना विस्थापित कार्यक्रमबाट ३ सय ४७ घरको छाना फेरिएको हो । यस कार्यक्रमका लागि संघीय सरकार र नगरपालिकाको ३ करोड १२ लाख खर्च भइसकेको छ । रोल्पा नगरपालिकाले चालु आर्थिक वर्षमा थप एक सय घरको छाना हटाउन एक करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
तालिका १ : फुसको छाना हटाउन छानिएका घरधुरी, फुसको छाना हटाइएका घरधुरी र लागत खर्च
क्र.सं. | स्थानीय तहको नाम | छानिएका घरधुरी | छाना हटाइएका घरधुरी | बजेट खर्च |
१ | रोल्पा नगरपालिका | १२७७ | ६२४ | ३ करोड १२ लाख |
२ | त्रिवेणी गाउँपालिका | ५१४ | ३८८ | १ करोड ९४ लाख |
३ | रुन्टीगढी गाउँपालिका | १६३१ | १०१२ | ५ करोड ६ लाख |
४ | गंगादेव गाउँपालिका | ४४८ | २२४ | १ करोड ६८ लाख |
५ | परिवर्तन गाउँपालिका | २०० | १६४ | ५१ लख ९३ हजार |
६ | सुनछहरी गाउँपालिका | ४०१ | १०१ | ५० लाख ५० हजार |
७ | सुनिलस्मृती गाउँपालिका | ६२८ | ४०१ | २ करोड ५० लाख |
८ | माडी गाउँपालिका | २८० | ११५ | ४५ लाख |
९ | लुंग्री गाउँपालिका | ११० | ७० | ३५ लाख |
१० | थवाङ गाउँपालिका | १२१ | ५७ | २८ लाख ५० हजार |
जम्मा | ५५१० | ३१५६ | १५ करोड ६७ लाख १३ हजार |
त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनौट भएका ५ सय १४ मध्ये ३ सय ८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागी उसले संघीय सरकार र स्थानीय सरकारको १ करोड ९४ लाख खर्च गरेको छ । चालु आर्थिक बर्षमा थप घरको छाना फेर्न गाउँपालिकाले ५० लाख विनियोजन गरेको गाउँपाकिलकाका सूचना अधिकारी भरत डिसीले जानकारी दिए ।
परिवर्तन गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रम अन्तरगत २ सय घर छनौट भएका थिए । उसले छनौट भएका मध्ये एक सय ६४ घरको छाना फेर्न ५१ लख ९३ हजार दिईसकेको छ । तर कसैले पनि हालसम्म छाना फेरेका छैनन् । यस वर्ष सो गाउँपालिकाले यस कामका लागि थप ३३ लाख बजेट विनियोजन गरेको छ ।
गंगादेव गाउँपालिकामा ४ सय ४८ घरको छाना फेर्ने कार्यक्रम छ । हालसम्म २ सय २४ घरले सबै किस्ता र २ सय २४ घरधुरीले पहिलो किस्ता भुक्तानी लगेका छन् । सो गाउँपालिकाले यस काममा १ करोड ६८ लाख खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षका लागी समेत ५६ लाख बजेट विनियोजन गरेको छ ।
सुनछहरी गाउँपालिकाले हालसम्म एक सय एक घरमा खरको सटो टिनको छाना लगाउन सहयोग दिने भएको छ । यस काममा हालसम्म सो गाउँपालिकाले ५० लाख ५० हजार खर्च गसिकेको छ । चालु आर्थिक वर्षमा २० लाख यस कामका लागि छुट्याएको गाउँपालिकाले जनाएको छ ।
माडी गाउँपालिकाका २ सय ८० मध्ये ६५ घरले दुवै किस्ता र ५० घरले पहिलो किस्ता भुक्तानी लिएका छन । यसका लागी गाउँपालिकाले ४५ लाख खर्च गरेको छ । यस शिर्षकमा उसले चालु आर्थिक वर्षमा समेत २९ लाख बजेट विनियोजन गरेको छ ।
सुनिलस्मृती गाउँपालिकाले हालसम्म ४ सय १ घरमा फुसको छानाका साटो टिनको छानो लगाएको छ । संघीय सरकारको सहयोगमा २ सय ३६ घर र गाउँपालिकाको कार्यक्रम अन्तरगत १ सय ६५ घरमा टिनको छाना हालिएको हो । यसका लागी सो गाउँपालिकाले २ करोड ५० हजार भन्दा वढी खर्च गरि सकेको छ । चालु आर्थिक वर्षमा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिदै निकट भविष्यमै गाउँपालिकालाई फुसको छाना मुक्त बनाउने गाउँपालिका उपाध्यक्ष मीना थापाले बताइन् ।
लुंग्री गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रम अन्तरगत ७० घरमा टिनको छाना लगाएको छ । छनौट भएका १ सय १० घर मध्ये ७० घरमा टिनको छाना लगाई सकिएको छ । वाँकी घरमा पनि टिनको छाना लगाउन सहयोग गर्ने गाउँपालिकाले बताएको छ ।
थवाङ गाउँपालिकाले नागरिक सुरक्षित आवास अन्तरगत काठको छानाका सट्टामा टिनको छाना लगाउन छनौट भएका १ सय २१ घरमध्ये ५७ घरको छाना फेरिएको छ । यसका लागी सो गाउँपालिकाले २८ लाख ५० हजार खर्च गरिसकेको छ । वाँकी घरको पनि छाना फेर्नका लागी उसले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।
फुसको छानो हटाएपछि आगोले जलेको घरमा जस्तापाताको मल्हम लगाएजस्तो भएको कुरा रोल्पा नगरपालिका ५ का कमल वुढाथोकीले वताए । फुसको छानाको घरमा पटक पटक आगलागीको समस्या भोगेको उनले बताए । २÷३ वर्षको अन्तरालमा छाना फेरिरहनु पर्ने समस्याका साथै पानी चुहिने समस्या समेत भोग्दै आएका थियौं अहिले समस्या हल भएको छ वुढाथोकीले भने ।
सशस्त्र युद्धका मृतक तथा वेपत्ता परिवारको घरमा पनि जस्तापाता
सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तथा वेपत्ता भएकाहरूका परिवारलाई समेत जस्तापाता वितरण गरिएको छ । सांसद सुरक्षित आवास कार्यक्रम अन्तरगत पूर्वमन्त्री वर्षमान पुनको पहलमा जस्तपाता वितरण गरिएको हो । रोल्पामा यस कार्यक्रम अन्तर्गत तीन सय ६९ घरको छाना फेरिएको हो । पूर्वसभामुख ओनसरी घर्तीमगर अध्यक्ष रहेको रोल्पा फाउण्डेशन मार्फत वितरण गरिएको थियो । पालिकाको सिफारिसका आधारमा जस्तापाता वितरण गरिएको थियो ।
सशस्त्र युद्धका क्रममा रोल्पामा नौ सय ६९ को मृत्यु भएको थियो भने ३३ जना वेपत्ता भएका थिए । यसरी मृत्यु र वेपत्ता भएकाहरूका परिवारमध्ये करिब आधा जति फुसको छानामा बस्दै आएको छन् ।
बिपन्नलाई आर्थिक भार
घरमा जस्तापाता लगाउन बढिमा हरेक घरलाई ५० हजार दिइएको छ । विपन्न परिवारलाई अन्य नपुग रकम नदिदा आर्थिक भार परेको छ । छाना फेर्नका लागी सरकारले दिने टिन भन्दा अन्य सामग्री महँगो भएको लाभग्राहीको भनाई छ । सरकारले १८ हातको घरका लागी २५ पाता टिन दिएपनि अरु सबै खर्च ऋण गरेर जुटाए सुनछहरी गाउँपालिका ५ थनवाङकी ललिता विष्टले भनिन् । छाना फेर्नका लागी काठ खरिद, किला काँटा तथा मिस्त्री खर्च सरकारले दिएको भन्दा बढि खर्च भयो विष्टले भनिन् ।
कतिपय पालिकाले बील भर्पाइका आधारमा अन्तिम भुक्तानी दिने गरि लाभग्राहीसंग सम्झौता गरेका छन् । पहिलो किस्ता स्वरुप लाभग्राहीलाई पेश्की दिने गरिएको छ । अन्तिम भुक्तानी काम सकिएपछि मात्र दिने गर्दछन । जस्तापाता खरिदका लागी आधा बजेट आफैले जुटाउनु पर्दा उनीहरूले समयमै काम नसक्ने र ऋणको बोझ बोक्नु पर्ने समस्या देखिएको छ ।
यो झन्झटिलो प्रकृयाले गर्दा संघीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम अपेक्षाकृत सफल हुन सकेको छैन । त्यसैले परिवर्तन गाउँपालिकामा हालसम्म एक जनाले पनि फुसको छाना हटाएर टिनको छाना लगाएका छैनन् ।