‘चुनाव आयो भने नेताहरू गाउँमा आउँछन्, तिमिहरूलाई लालपुर्जा दिन्छम् भन्छन्, तर जितेर गए भने सवै विर्सन्छन् । सरकार चलाउने जनप्रतिनिधिसंग हाम्रो धेरै माग पनि छैन, शिक्षा, स्वास्थ्य निशुल्क गराईदिए हामी जस्तो गरिबलाई धेरै राहत हुने थियो ।’– राम वहादुर नेपाली
घोराही उपमहानगरपालिका १६ को सुकुम्बासी बस्तीका रामबहादुर नेपाली दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्छन् । उनको परिवारमा २ छोरा र १ छोरी छन् । रामबहादुरले छोराछोरीलाई नजिकैको सरकारी स्कुलमा पढाएका छन् । ऐलानी बस्तीमा रहेको सानो घरबाहेक उनको अरू सम्पत्ती छैन । उनले उपयोग गरिरहेको जग्गाको लालपुर्जा पाउने आसमा उनी प्रत्येक निर्वाचनमा भोट दिनका लागी जाने गरेको बताउँछन् । ‘चुनाव आयो भने नेताहरू गाँउमा आउँछन्, तिमिहरूलाई लालपुर्जा दिन्छम् भन्छन्, तर जितेर गए भने सबै विर्सन्छन्’, रामबहादुरले भने, ‘सरकार चलाउने जनप्रतिनिधिसंग हाम्रो धेरै माग पनि छैन, शिक्षा, स्वास्थ्य निशुल्क गराईदिए हामी जस्तो गरिबलाई धेरै राहत हुने थियो ।’ निर्वाचनमा सवै दलका उम्मेदवारले सुकुम्बासी समस्या समाधान गर्नेदेखी शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने प्रतिवद्धता व्यक्त गर्ने गर्छन् तर व्यवहारमा भने त्यसको कत्ति पनि कार्यान्वयन छैन जसको कारण जनतामा निराशा देखिएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले बस्तीका केही बाटोमा ग्राभेल गरे तर आफूहरूको चाहना बाटोमा ग्राभेल नभई लालपुर्जा पाउनुपर्ने रामवहादुरको भनाई छ । ‘चुनावमा घाम पानी, भोक प्यास नभनी घण्टौ लाइन कुरेर भोट दियौ, काम गर्ने बेलामा जनप्रतिनिधिले बाचा सवै विर्सिए’, उनले भने । यसपालिको चुनावमा उनलाई भोट नदिउँ कि जस्तो लागेको छ । आफूले चाहेजस्ता, नागरिकको हितमा काम गर्ने उम्मेदवार यो पटक पनि नदेखेको उनले बताए । ‘हामीले लालपुर्जा माग्न थालेको धेरै भयो, तर नेताहरूले सुनेको नसुन्यै गर्छन्, तिनलाई भोट किन दिने ?’, प्रतिप्रश्न गर्दै उनले भने । अबको निर्वाचनबाट सुकुम्वासी समस्या समाधान गर्ने नेता आओस् भन्ने उनको चाहाना छ ।
अबको निर्वाचनमा नागरिकका समस्या समाधान गर्ने नेता भेटिएमा उसैलाई भोट दिने घोराही उपमहानगरपालिका ६ का भूमिहिन लाल बहादुर चौधरीको भनाई छ । ‘निर्वाचनका वेला यो दिन्छु त्यो दिन्छु भनेर नेताहरूले आश्वासन दिन्छन्, जितिसकेपछि जनताको घरदैलोसम्म पनि आउदैनन्’, चौधरीले भने । वडा नं ६ प्रतिभा टोलको ऐलानी बस्तीमा उनी जस्तै २० घर परिवारको समस्या ज्यु का त्यु छ । ‘अहिले त स्थानीय सरकारले पनि हाम्रो समस्या समाधान गर्न सक्छ भन्छन्, जसले हाम्रो समस्या समाधान गर्छ त्यसलाई भोट दिईन्छ’, चौधरीले भने । वितेको ५ वर्षमा जनप्रतिनिधिहरूले गरेका कामप्रति मतदाता नै सन्तुष्ट छैनन् । मतदाताको अपेक्षाअनुसार काम गर्न नसकेको उनीहरूको आरोप छ ।
समस्या लिएर आउने नागरिकको काम तुरुन्तै गर्ने खालको जनप्रतिनिधि हुनुपर्नेमा महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा राजनीतिशास्त्र प्राध्यापन गर्ने प्रविण शर्माको भनाई छ । ‘स्थानीयस्तरका नेताबाट नै काम होस् भन्ने चाहाना नागरिकको छ’, सुवेदीले भने । कार्यकर्ता, नजिकको मान्छे, ठेकेदार, व्यापारी जहाँबाट आफुलाई फाईदा हुन्छ त्यो नै जनप्रतिनिधिको नजिक भएको मतदाताको बुझाई रहेको शर्माको भनाई छ । ‘जुनसुकै राजनीतिक दलले पनि जनताबीच लोकप्रिय भएको व्यक्तिलाई उम्मेदवार बनाउन खोज्छन् । पछिल्लो समय वडाध्यक्षसम्मको उमेदवार खोज्दा धनी र खर्च गर्न सक्ने व्यक्ति खोज्ने चलन चलेको छ’, शर्माले भने, ‘जनतामा भिजेकोे तर खर्च गर्न नसक्ने व्यक्तिलाई दलहरूले पत्याउदैनन् । यस्तो प्रबृत्ति अंगालेका हाम्रा दलहरूले नागरिकको पक्षमा काम गर्छन् भन्ने विश्वास मतदातामा छैन ।’
राजनीतिक विश्लेषक सर्जन गौतमका अनुसार हरेक मतदाता राम्रो व्यक्ति उम्मेदवार होस् भन्ने चाहन्छन् । ‘उम्मेदवार हुने मान्छेले कति काम गर्छ भन्ने हेर्नलाई उसको विगत पनि जान्नुपर्ने हुन्छ, जनस्तरमा कत्तिको भिजेको हो ? कति इमान्दार, नैतिकवान छ भन्ने कुरा पनि मतदाताले थाहा पाउनुपर्छ’, गौतमले भने, ‘यो निर्वाचनमा विजयी भएपछि आफ्नो कार्यकालमा गर्ने योजनाहरू के के हुन् अर्थात केही सुधारेर लैजान्छु भन्ने सोंच भएको, काम गर्ने उर्जा भएको मानिस छान्नुपर्छ । यस्ता उम्मेदवारका पक्षमा सवै बोल्नुपर्छ ।’
नेकपा एमालेबाट घोराही उपमहानगरपालिकाका मेयरका उमेद्वार नरुलाल चौधरी चुनावी मैदानमा छन् । चौधरी नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् भने निवर्तमान मेयर पनि हुन् । गठबन्धनका तर्फवाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हेमराज शर्मा पोख्रेल मेयरको प्रतिष्प्रर्धामा छन् । गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिका माओवादी केन्द्रलाई परेपछि माओवादी केन्द्रबाट शर्मा मेयर पदको चुनावी माहोलमा होमीएका छन् । २०७४ सालमा नेपाली कांग्रेसले १७ हजार ४ सय ८४ र माओवादी केन्द्रले १२ हजार ८२ मत पाएपनि एमालेका चौधरी विजयी भएका थिए ।