अर्घाखाँचीको नौमुरे जलविद्युत आयोजना, बुटवलको मेडिकल कलेज, तिनाउ कोरिडोर बजेटमा सुनिरहने तर प्रगति कम भइरहेका आयोजना हुन् । नौमुरे बहुउद्देश्यीय आयोजनाको कुनै ठोस काम शुरु भएको छैन । तैपनि बजेटमा भने नियमित लेखिने गरिएको छ ।
प्यूठान र अर्घाखाँचीको साँध नौमुरेमा बहुउद्देश्यीय जलविद्युत आयोजना बजेटमा समावेश भएको एक दशकभन्दा बढी भयो । २८१ मेगावाट क्षमताको जलविद्युत र झण्डै ८० हजार हेक्टर क्षेत्रफलमा सिंचाई हुने आकांक्षा राखिएको छ । परियोजनाको लागत अनुमान एक खर्ब ३६ अर्ब रुपैयाँ हुने र सात वर्षमा सकिने सम्भाव्यता अध्ययनबाट देखिएको छ । तर यति ठूलो आयोजनाका लागि सरकारले बजेट विनियोजनमा भने सधै कञ्जुस्याई गर्छ । यो योजना सधै अध्ययनमै सिमित छ । भौतिक काम थालिएको छैन । चालु आर्थिक वर्षमा ४ करोड ४३ लाख रुपैयाँ विनियोजन भएको छ जुन बजेटले निर्माणस्थलमा पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको पहिलो पटक २०४४ सालमा दुई वर्ष लगाएर सर्वेक्षण गरिएको थियो । त्यसको २७ वर्षपछि २०७१ सालमा राष्ट्रिय योजना आयोगले पुन: सर्वेक्षणको योजना बनाएको थियो । तर, उपलब्धीपूर्ण काम भएन ।
बुटवलको तिनाउ नदीमा जलाशय र सिंचाई योजनासहित कालीगण्डकीको पानीलाई सुरुंङमार्फत ल्याउने योजना बजेटमा परेको दशक नाघ्यो । १२५ मिटर लामो बाँध र ३८ किलोमिटर लामो एवं नौ मिटर गोलो सुरुंङ बनाउनका लागि धेरै पटक अध्ययन भए । मुलुकको बजेटको झण्डै ८ प्रतिशत लागत लाग्ने अनुमान गरिएको यो योजना हरेक वर्षको बजेटमा समावेश हुँदै आएको छ । १२६ मेगावाट विद्युत र ५४ हजार हेक्टर सिंचाई गर्ने योजना छ । आयोजनाको ०७८ असारमा बुटवलमा कार्यालयसमेत स्थापना गरिएको थियो ।
यी दुई ठूला आयोजनाजस्तै संघीय सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोडको अनुमानित बजेट प्रस्तुत गर्दा लुम्बिनी प्रदेशमा अधिकांश पुरानै कार्यक्रम समावेश गरेको छ । संघीय सरकारले हरेक आर्थिक वर्षमा घोषणा गर्दै आएका तर कार्यान्वयनमा नरहेका योजनाहरू यो पटकको बजेटमा पनि अर्थमन्त्री वर्षमान पुनले उच्चरण गरे । अर्घाखाँचीको नौमुरे जलविद्युत आयोजना, बुटवलको मेडिकल कलेज, तिनाउ कोरिडोर बजेटमा सुनिरहने तर प्रगति कम भइरहेका आयोजना हुन् । नौमुरे बहुउद्देश्यीय आयोजनाको कुनै ठोस काम शुरु भएको छैन । तैपनि बजेटमा भने नियमित लेखिने गरिएको छ । अर्थमन्त्री पुनले २ सय ८१ मेगावाटको नौमुरे जलविद्युत् आयोजना सुरु गर्ने यो बजेटमा पनि घोषणा गरेका छन् । त्यसैगरी दमौली न्यू बुटवल, न्यू बुटवल—लमही, लमही—दोधारा ४ सय केभी प्रसारण लाइनको बिस्तार गरिने उल्लेख छ । न्यू बुटवल—गोरखपुर ४ सय केभी प्रसारण लाइन सम्पन्न गर्ने घोषणा अर्थमन्त्री पुनले गरेका छन् । बुटवलमा सूचना प्रविधि पार्क बनाउने कुरा बजेटमा उल्लेख छ जुन पुरानै कार्यक्रम हो ।
रोल्पामा गुरिल्ला ट्रेल र लुम्बिनी क्षेत्रमा बुद्ध परिपथ बनाउने पुरानै कार्यक्रम बजेटमा राखिएको छ । रोल्पाको बडाचौर, दाङको टरिगाउँ र नेपालगञ्ज विमानस्थल स्तरोन्नती गर्ने अर्थमन्त्री पुनले बजेटमा बताएका छन् । लामो समयदेखि सुस्त भएको बुटवलको मोतीपुर र बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माण अघि बढाउने घोषणा पनि अर्थमन्त्री पुनले गरेका छन् । दुई वर्षअघि तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले यी औद्योगिक क्षेत्र दुई वर्षमा सक्ने भनी बजेट राखेका थिए । तर, अहिलेसम्म कुनै काम शुरु नै भएको छैन । विमानस्थल र औद्योगिक क्षेत्र बनाउने योजनाह पनि पूरानै हुन् । गुल्मीको कंके देउराली जलाशययुक्त खानेपानी आयोजना अघि बढाउने योजना बजेटमा छ । पूर्वपश्चिम राजमार्ग बिस्तारअन्तर्गत गोरूसिंगे—बुटवल, भालुवाङ—लमहीको काम सुरु गर्ने अर्थमन्त्री पुनले बताएका छन् । यी सडकको भने टेण्डर प्रक्रिया पूरा भई निर्माण व्यवसायी छनौट भएका छन् । पूर्वपश्चिम राजमार्ग बिस्तारका लागि २० अर्ब ८८ करोड रुपैयाँ संघीय सरकारले राखेको छ ।
कालीगण्डकी करिडोरको गैडाकोट—राम्दी—मालढुंगा खण्डको ५० किमी सडक पक्की गर्ने बजेटमा घोषणा गरिएको छ । शहीद मार्गअन्र्तगत होलेरी—दारबोट खण्डमा २० किमी पक्की गर्ने, दारबोट घर्तीगाउँ—दुइखोली खण्डमा ग्राभेल गर्ने योजना बजेटमा छ । दाङको घोराही—होलेरी सडक पक्की शुरु गर्ने उल्लेख छ । यी सडकको लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पुनले बताए । त्यसैगरी सालझण्डी—ढोरपाटन सडक स्तरोन्नति गर्न पनि बजेट विनियोजन गरिएको छ । नारायणी र तिनाउमा सिग्नेचर ब्रिज निर्माण सुरु गर्ने त्यसका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । बुटवलको जितगढी छेउको पक्की पुल हटाएर सिग्नेचर ब्रिज बनाउने योजना छ जुन पूरानै योजना हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी प्रादेशिक अस्पताललाई ५ सय शंैयामा स्तरोन्नति गरिने भएको छ । भैरहवामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ । यो काम भइरहेको आयोजना हो । सिंचाइअन्तर्गत सिक्टाको क्षेत्र बिस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने बताइएको छ । सिक्टा सिंचाईका लागि १ अर्ब ६० करोड विनियोजन गरिएको छ । बबई सिँचाइ अयोजना पूर्वी तथा पश्चिममा मूल नहरबाट शाखा विस्तार गरेर थप १ हजार हेक्टरमा सिँचाइ गर्न यसको लागि १ अर्ब ७० करोड बजेट विनियोजन गरिएको छ ।
भेरी—बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवक्स र विद्युतगृहका लागि २ अर्ब विनियोजन भएको छ । यो लामो समयदेखि चलिरहेको आयोजना हो । कालीगण्डकी—तिनाउ डाइभर्सनको काम अघि बढाइने गरी बजेट राखिएको छ । यो योजनाको नाम बजेटमा आउन थालेको झण्डै दशक पुगेको छ, काम भने भएको छैन । सिद्धबाबा सुरुङमार्गको काम तीब्र ढंगले अघि बढाउने गरी बजेट राखिएको छ ।
लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गर्न बजेट राखिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हब बनाउने पुरानै योजनालाई यो पटकको बजेटमा पनि राखिएको छ । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । यो भने नयाँ योजना हो । अर्थमन्त्री पुनले एकीकृत विकासको अवधारणाअनुसार नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने बताए । अर्थमन्त्री पुनका अनुसार परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिनेछ ।
गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडक खण्डको बिस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाए । बुटवल—पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा बिस्तार गरिने पनि मन्त्री पुनले बताए । त्रिभुजका तीनवटै कोरिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले जानकारी दिए । पाल्पाको ब्रर्तुङ लिफ्ट खानेपानी आयोजना, बुटवलको झुम्सा खानेपानी आयोजना, अर्घाखाँची र दांङ नारायणपुरको विमानस्थल बजेटमा देखिने योजना यो बजेटमा पनि समावेश छन् । रुकुमपूर्वको राजधानी निर्माण बजेटमा छ । बुटवल धागो कारखाना भने यो वर्षको बजेटमा उल्लेख गरिएको छैन । लुम्बिनी र लुम्बिनी कोरिडोरमा रहेका नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास गर्ने नयाँ कार्यक्रम बजेटमा रहेको छ ।
नौमुरे बहुउद्देश्यीय आयोजनाका प्रमुख बीरबहादुर बोहोरा पहुँचमार्ग निर्माणको काम अघि बढेको बताउँछन् । आयोजना निर्माणका लागि जग्गा अधिग्रहणसहित कामहरूको अध्ययन भइरहेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्दराज पोख्रेलले महत्वपूर्ण आयोजनालाई सरकारले महत्व नदिदा यस्तो भइरहने बताए । ‘योजनाको महत्व र गाम्भिर्यता सरकारको नेतृत्वमा बस्नेमा छैन, योजनाको पूर्वअध्ययन नै नगरी बजेट राख्दा कामै नहुने हुन्छ’, उनी भन्छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल बजेटमा सुनिने तर कार्यान्वयन नहुने आयोजनामा बजेट राख्नु गलत भएको बताउँछन् । ‘अहिले अर्थतन्त्र चलायमान बनाउने गरी उत्पादनमूलक कार्यमा सरकारको लगानी हुनुपर्ने हो’, उनी भन्छन्, ‘तर, बजेटमा कहिल्यै ती विषयलाई सम्बोधन गरेको देखिएन ।’
विगतदेखि बजेटमा दोहोरिएका तर काम नभएका आयोजनाहरू
- लुम्बिनीलाई बर्थिङ हब बनाइने
- कालीगण्डकी तिनाउ डाइभर्सन
- बुटवल—पोखरा डेडिकेटेड लाइन
- बुटवलको तिनाउमा सिग्नेचर पुल
- बुटवल मेडिकल कलेज
- नौमुरे जलविद्युत आयोजना
- सिक्टा आयोजनाको क्षेत्रबिस्तार
- कंकेदेउराली जलाशययुक्त खानेपानी आयोजना
- बडाचौंर, टरिगाउँ र नेपालगञ्ज विमानस्थल स्तरोन्नती
- गुरिल्ला ट्रेक
- लुम्बिनी बुद्ध परिपथ
- लुम्बिनी विकास गुरुयोजना
- तिलौराकोटलाई विश्वसम्पदा सूचिमा राख्ने
- मोतिपुर औद्योगिक क्षेत्र
- नौबस्ता औद्योगिक क्षेत्र
- गौतमबुद्ध विमानस्थल दोस्रो टर्मिनल