विपद ब्यवस्थापनका लागि नीति कार्यक्रममार्फत जे जसरी जोड दिइएको छ, त्यसअनुसार बजेट विनियोजन गरेको भने देखिदैन जसले विपद व्यवस्थापनको विरोधाभाषलाई देखाउँछ ।
नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले प्रकाशित गरेको आर्थिक बर्ष २०७६।०७७ को बार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिकामा विपद ब्यवस्थापनसम्बन्धि १० बुदे नीति कार्यक्रम उल्लेख गर्दै विपद ब्यवस्थापनमा नगरप्रहरीलाई समेत प्रशिक्षित गरेर परिचालन गर्ने नीति लिएको छ ।
विपद ब्यवस्थापनका लागि नीति कार्यक्रममार्फत जे जसरी जोड दिइएको छ, त्यसअनुसार बजेट विनियोजन गरेको भने देखिदैन जसले विपद व्यवस्थापनको विरोधाभाषलाई देखाउँछ । नीति तथा कार्यक्रमलाई लागु गर्न ३ वटा शीर्षकमा विपद ब्यवस्थापनका लागि ९० लाख बजेट विनियोजन गरिएको छ । जसमा दैवी प्रकोप उद्धार विशेष कोषका लागि १० लाख, बारुणयन्त्र खरिदका लागि ६५ लाख र विपद ब्यवस्थापन खर्च भनेर १५ लाख मात्रै विनियोजन गरिएको छ । तर यो बजेट कुल बजेट (९७ करोड २८ लाख ९७ हजार) को ०.९७ प्रतिशत मात्र हो । विनियोजित बजेट बाढी पहिरो, आगलागी, हुरी बतासमा लक्षित देखिन्छ । तर, अहिले अकल्पनिय रुपमा आएको कोरोना भाईरस जस्तो महामारीबारे सोच्ने कुरा त परै जाओस्, मौसमी रुपमा देखापर्ने रोगको संभावित क्षति न्यनीकरणको विषयमा समेत सोचेको देखिदैन ।
वर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ का लागि ल्याएको नीति तथा कार्यक्रममा विपद ब्यवस्थापनसम्बन्धी ७ बुँदा उल्लेख गरेको छ जसमा नगर र वार्डस्तरसम्म विपद ब्यवस्थान समिति गठन गरी उद्धार, राहत र पुनस्र्थापनाका लागि कोष खडा गर्ने उल्लेख गरिएको छ । सोही आर्थिक बर्षका लागि ६५ करोड ५ लाख ७२ हजार बजेट कार्यक्रम बनाए पनि विपद ब्यवस्थापनतर्फ २१ लाख ७ हजार बराबरको बजेट मात्रै विनियोजन गरिएको छ जुन कुल बजेटको ०.३२ प्रतिशत मात्र हो । यसरी नीति र कार्यक्रममा विपद ब्यवस्थापनका कुरा उल्लेख गरेपनि त्यसअनुसार बजेट विनियोजनमा भने स्थानीय सरकार उदासिन देखिएको छ । विपद ब्यवस्थापनका लागि बजेट न्युन नै रहेको कुरा नगरपालिकाले पनि स्वीकार गरेको छ । अगामी दिनमा विपद व्यवस्थापनका लागि प्राथमिकता दिने नगरप्रमुख धिरज शर्मा बताउँछन् ।
सुनवल र वर्दघाट नगरपालिका मात्रै होईनन्, जिल्लाको पुरानो नगरपालिका रामग्राम नगरपालिकाको अवस्था त्योभन्दा अझै दयनीय छ । रामग्रामले विपद ब्यवस्थापनका लागि दुई बर्ष पहिला नै ऐन बनाए पनि त्यो ऐनको कार्यान्वयनका लागि बजेट भने विनियोजन नै गरेन । विपदका लागि शुन्य वजेट रहेको नगरस्तरीय विपद व्यवस्थापन ईकाईका सदस्यसचिव समेत रहेका नगरपालिकाका शहरी शाखा प्रमुख भगौती यादवले बताए । समितिका तत्कालिन संयोजक समेत रहेका वार्ड नं.४ का अध्यक्ष मदन यादवले नगरप्रमुख तथा नगरपालिकासमक्ष विस्तृत योजना बनाउनका लागि विपद ब्यवस्थापन तथा वातावरण सम्मेलनको धारणा अगाडी सारेका थिए । तर, उनको त्यो धारणाप्रति कसैले वास्ता गरेनन् । पछि उनलाई त्यो समितिबाट हटाई अर्का वार्डका अध्यक्ष धनपद यादवलाई संयोजक तोकिएको छ । तर, उनी पनि नगरपालिकाको कार्यशैली कर्मकाण्डी मात्रै भएको बताउँछन् ।
सुनवल, वर्दघाट र रामग्रामको अवस्थाले नै नवलपरासीका स्थानिय सरकार विपद ब्यवस्थापनप्रति उदासिन भएको प्रष्ट हुन्छ । त्यसो त कोरोना भाईरस महामारीको बेला विभिन्न दातृ निकायबाट आउने सहयोग रकम संकलन गर्दै सुनवलले आफनो विपद कोषमा डेढ करोडभन्दा बढि रकम जुटाएको नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको दावी छ । तर, बन्दाबन्दीको समयमा गरिब मजदुरलाई राहत, क्वारेन्टिन ब्यवस्थापनका लागि यो रकम पर्याप्त नभएको नगरपालिकाको भनाई छ ।
वास्तविक कामभन्दा दस्तावेजमा देखाउनका लागि मात्र समिति गठन, नीति कार्यक्रम र ऐनको ब्यवस्था गरिएको देखिन्छ । ‘जब काम गर्नका लागि आवश्यक बजेट नै नभएपछि ती समिति, नीति कार्यक्रम र ऐनको के काम ?’, संयोजक यादव भन्छन् । यादवको भनाईमा कारोना भाइरस महामारीको बेला समितिको बैठक नै नबसी नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको ठाडो आदेशमा प्रशासकिय अधिकृत लगायतका कर्मचारीले राहत सामाग्री खरिद गरेपनि राहतमा वितरण गरेको चामल नै सरकारले तोकेको मापदण्डभन्दा कम गुणस्तरको भएपछि नगरपालिकाको आलोचना भएको हो । विपद ब्यवस्थापनका लागि बजेट नछुट्टयाएपनि राहतका लागि नगरपालिकाले अन्य स्रोतबाट ३० लाख रुपैयाँ बराबरको राहात सामाग्री खरिद गरेको हो जुन सरोकारवाला समितिलाई थाहै भएन ।
पहिला विपद ब्यवस्थापनका कुरालाई सामान्य रुपमा लिने हँुदा नीति कार्यक्रममा समेटिए पनि बजेट विनियोजनमा महत्व नपाएको सुनवल नगरपालिकाकी उपप्रमुख रम्भा कुवँरले स्वीकार गरिन् । अगामी दिनमा विपद ब्यवस्थापनलाई महत्व दिएर बजेट विनियोजन गरिने उनले बताइन् । ‘वार्डस्तरबाट वजेट कार्यक्रम माग गर्दा सडक, पुर्वाधारलाई नै प्राथमिकता भएर आउने गरेको छ’, उनी भन्छिन्, ‘सिमित स्रोत भएको हुँदा प्राथमिकतामा रहेका योजनाहरु समेटदा समेटदै रकम नपुगेका कारण पनि विपद व्यवस्थापनमा वजेट नराखिएको हो ।’ तर, अहिले कोरोना महामारीले पाठ सिकाएको बताउँदै कुँवरले भनिन्, ‘यस्तो महामारी जुनसुकै प्रकारको र जुनसुकै वेला आउन सक्ने हँुदा कार्यक्रमसहित वजेट विनियोजन गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।’ चालु आर्थिक बर्षको कुल बजेट ७५ करोड ८ लाख ४४ हजार २ सय ७६ रुपैयाँ भएकोमा विपद व्यवस्थापनको लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ जुन ०.०३९ प्रतिशत हुन आउँछ । (जिल्लाका स्थानीय तहको विवरणको लागि हेर्नुस तालिका) ।
प्रतापपुर गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ४ बुँदामा विपद ब्यवस्थापनका कुरालाई समेटेको छ । गाउँपालिका तथा वडा स्तरीय विपद व्यवस्थापन समितिलाई प्रभावकारी एवं व्यवस्थित गरिने, गाउँपालिकामा भूकम्प, असिना, आगलागी, बाढी, सर्पको टोकाई, चट्याङ्ग जस्ता प्रकोप, दुर्घटना आदिको व्यवस्थापन गर्न स्थापित विपद व्यवस्थापन कोष व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालनको लागी कार्यविधि वनाई छिटो तरिकाबाट काम गरिने उल्लेख छ । त्यस्तै, प्रत्येक वडामा विपद् व्यवस्थापन समितिमार्फत आईपर्ने विपदको तत्कालिन उद्धार तथा सहयोगमा सहजिकरण गरिने, जोखिमयुक्त आवासीय क्षेत्रलाई जोखिमरहित क्षेत्रमा पूर्वाधार निर्माण गरी स्थानान्तरण गरिने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख छ । चालु आर्थिक वर्षको कुल बजेट ५७ करोड ८१ लाख १३ हजार ६ सय ७७ रुपैयाँ रहेकोमा दैवि विपद ब्यवस्थापनका लागि २ लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ जुन ०.०३ प्रतिशत हुन आउँछ । प्रकोपको हिसाबले गण्डक नदीसंग जोडिएको र धेरैजसो भाग गण्डक प्रभावित क्षेत्र रहेको सुस्ता गाउपालिकामा पनि बिपद ब्यवस्थापनका लागि कुनै प्रभावकारी योजना देखिएको छैन ।
नवलपरासी जिल्लाको स्थानीय तहका बजेट र विपद व्यवस्थापन बजेट
जिल्ला | स्थानिय तह | चालु बर्षको बजेट | विपद ब्यवस्थापन | प्रतिसत |
नवलपरासी(पश्चिम) | सुनवल नपा | ९७,२८,९७,००० | ९०,००,००० | ०.९७ |
नवलपरासी(पश्चिम) | वर्दघाट नपा | ६५,०५,७२,००० | २१,०७,००० | ०.३१ |
नवलपरासी(पश्चिम) | रामग्राम नपा | ७५,०८,४४,२७६ | ३,००,००० | ०.०३९ |
नवलपरासी(पश्चिम) | प्रतापपुर गापा | ५७,८१,१३,६७७ | २,००,००० | ०.०३४ |
नवलपरासी(पश्चिम) | सुस्ता गापा | ५४,२१,१८,००० | १,५०,००० | ०.०२७ |
नवलपरासी(पश्चिम) | सरावल गापा | ५५,१६,५३,००० | ३०,००,००० | १.३ |
नवलपरासी(पश्चिम) | पाल्हीनन्दन गापा | ११,९८,७५,००० | ५४,८८,५८० | ४.५ |