जनप्रतिनिधि आएको ४ वर्षको विचमा तुलसीपुरमा धेरै परिवर्तन देखिएका छन् । तुलसीपुरको शैक्षिक क्षेत्रको अनुहार बदलिदै गएको छ । प्राविधिक र उच्च शिक्षाको लागि रेफर सेन्टरका रुपमा रहेको तुलसीपुर शिक्षाको हब बन्दै छ ।
तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँमा रहेको रानागाउँ प्राविमा कक्षा ५ सम्म जम्मा ५६ जना विद्यार्थी थिए । विद्यार्थीको संख्या निकै कम भएपछि तुलसीपुरले विद्यालयलाई गाभ्ने रणनीति लियो । त्यसैअनुसार विद्यालयलाई अवस्था सुधार्नका लागि अन्तिम मौका दिइयो । पालिकाले विद्यालयलाई समय मात्रै दिएको थिएन, विद्यार्थी संख्या वढाउन सके संरचना र अन्य सहयोग गर्ने प्रतिवद्धता पनि गरेको थियो । ‘विद्यालयले अभियान सञ्चालन गरेर विद्यार्थी संख्या मात्रै बढाएन तह पनि थप्यो । तीन वर्षको बिचमा विद्यालयले आधारभूत तह सञ्चालन गरिसकेको छ भने विद्यार्थी संख्या पनि ३ सय पुर्याएको छ,’ शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले भने ।
पालिकाको पहलमा अहिले महेन्द्र माविमा २ हजारको हाराहारीमा विद्यार्थीले अध्ययन गरिरहेका छन् जहाँ मुस्किलले १ हजार विद्यार्थीले मात्रै अध्ययन गर्दथे । गुरुजजुर मावि रक्षाचौर, बालपुर मावि, जनकल्याण मावि दुधरास, मावि सेन्टर लगायतका विद्यालयमा पनि ५ सय बढी विद्यार्थी थपिएका छन् ।
अंग्रेजी मोहका कारण संस्थागत विद्यालयमा भर्ना हुने विद्यार्थी अहिले सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेका छन् । तुलसीपुरका १५ वटा विद्यालयले अहिले अंग्रेजी माध्यमबाट पनि अध्यापन गराइरहेको छ । गुरुजजुर माविमा अँग्रेजी माध्यमको अध्यापन सुरु भएपछि विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ‘वोर्डिङ्ग छाडेर यहाँ आउनेको लहर चलेको छ’, प्रधानाध्यापक विष्णु केसीले भनिन् । तुलसीपुरभित्रका १० वटा सामुदायिक विद्यालयले अहिले प्राविधिक तहका कार्यक्रम सञ्चालन गरिरहेका छन् । हरेक विद्यालयमा फरक–फरक विषयको अध्यापन हुने भएकाले विद्यार्थीले चाहेको विषय अध्ययन गरिरहेका छन् । ‘मलाई फुड एण्ड डेरी पढ्ने धोको थियो अहिले पुरा भएको छ’, तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छात्रा आयुशा थापाले भनिन् ।
जनप्रतिनिधि आएको ४ वर्षको विचमा तुलसीपुरमा यस्ता धेरै परिवर्तन देखिएका छन् । तुलसीपुरको शैक्षिक क्षेत्रको अनुहार बदलिदै गएको छ । प्राविधिक र उच्च शिक्षाको लागि रेफर सेन्टरका रुपमा रहेको तुलसीपुर शिक्षाको हब बन्दै छ । गतवर्ष २१ हजार ७ सय ९३ विद्यार्थी अध्ययन गर्ने तुलसीपुरभित्र यो वर्ष २३ हजार १ सय ५५ विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘चार वर्ष अगाडीको कुरा गर्ने हो भने यो संख्या १८ हजारभन्दा पनि तल थियो’, शिक्षा महाशाखा प्रमुख भण्डारीले वताए ।
अहिले गाउँगाउँमा देशैभरका स्वयमसेवक शिक्षकहरु छरिएका छन्, परम्परागत शैलीबाट सञ्चालन भइरहेका सामुदायिक विद्यालयहरु पनि सुविधा सम्पन्न हुँदै गएका छन् । स्थानीय सरकारले गरेको पहलकदमीले सामुदायिक विद्यालयको अवस्था सुधारिदै गएको छ । सामुदायिक विद्यालयमा यस वर्ष विद्यार्थी संख्या ८ प्रतिशतले बढेको पालिकाको तथ्यांक छ ।
आफ्नै कलेज र शिक्षालय
पालिकाकै पहलमा कलेज र प्राविधिक शिक्षालय स्थापना गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा पालिकाले तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबीको अध्यापन गराइरहेको छ भने सिटिइभिटीको साझेदारीमा डिप्लोमा तहका वन विज्ञान, वाली विज्ञान, फुड एण्ड डेरी टेक्नोलोजी, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग र मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
पालिकाले सञ्चालन गरेको प्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई गरेका छात्राहरुलाई पूर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराइने गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार अहिले १ सय २६ छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा दिइएको छ ।
प्राविधिक शिक्षाको जग
पालिकामा प्राविधिक विषय पठनपाठन गराउने सामुदायिक विद्यालयहरु शुन्य अवस्थामा थिए । प्राविधिक शिक्षा आर्जन गर्न चाहने ठूलो जनशक्ति नगरबाट बाहिरिन बाध्य थिए । तर, पालिकाको सहयोगमा सञ्चालन भएका प्राविधिक धारका विद्यालयहरुले प्रति कार्यक्रम १ लाख रुपैयाँसम्ममा अध्यापन गराउन थालेका छन् । यो भन्दा अगाडी जिल्ला बाहिर जानुपर्ने वाध्यता एकातिर थियो भने शुल्क पनि २ लाख बढी तिर्नुपर्ने अवस्था थियो ।
‘सानैदेखि वनविज्ञान पढ्ने रहर भएपनि पढ्न पाउँदिन जस्तो लागेको थियो, यही नै सञ्चालन भएपछि बल्ल पढ्न पाइएको छ’, तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका तुलसीपुर–१३ का अजय नेपालीले भने । प्राविधिक शिक्षाको सर्वसुलभता र विकासका लागि उपमहानगरपालिकाले प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक शिक्षालयहरुलाई अनुदान दिने नीति अख्तियार गरेको छ । अहिले नगरभित्र ९ वटा सामुदायिक विद्यालयहरुले प्राविधिक विषय अध्यापन गराएर प्रति विद्यालय १० लाख अनुदान लिइसकेका छन् । केही विद्यालयहरु प्राविधिक विषय थप गर्ने तयारीमा जुटेका छन् ।
प्राविधिक विषय अध्यापन हुन थालेपछि बाहिर जिल्लाबाट आउने विद्यार्थीको संख्या पनि बढिरहेको छ । शिक्षा महाशाखा प्रमुख भण्डारीका अनुसार हरेक वर्ष ३ सयका दरले बाहिरबाट आउने विद्यार्थीको संख्या वढिरहेको छ । प्राविधिक विषयको अध्ययनसँगै स्थानीयरुपमा प्राविधिक जनशक्तिको माग पुरा हुँदै गएको नगरप्रमुख पाण्डेले दावी गरे । ‘हामीलाई चाहिने प्राविधिक जनशक्तिको अभाव विस्तारै पुरा हुँदै जाने देखिन्छ’, पाण्डेले भने । उपमहानगरपालिकाभित्र अहिले कृषि विज्ञान, प्राणी विज्ञान, सुचना प्रविधि, फुड एण्ड डेरी, अमिन, वन विज्ञान, सिभिल, मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङ्ग लगायतका विषय सामुदायिक विद्यालयमा अध्यापन भइरहेको छ ।
विद्यालय मर्ज
व्यवस्थापकीय समस्या र भौगोलिक कठिनाईका कारण केही विद्यालयमा विद्यार्थी संख्या न्युन थिए । ‘कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै थियो’, शिक्षा महाशाखाका अधिकृत चक्र भण्डारीले भने । भण्डारीका अनुसार विद्यार्थी संख्या कम भएका विद्यालयहरुको सिकाईस्तर निकै कम भएको हुँदा मर्जको प्रक्रिया अगाडी वढाएएको हो ।
विद्यालय मर्जको प्रक्रिया अगाडी बढाएसँगै १३ वटा प्राविलाई वालविकास केन्द्र कायम राखी कक्षा स्थगन गरिएको छ । ८३ वटा विद्यालय भएकोमा अहिले ७० सामुदायिक विद्यालय पालिकाभित्र रहेका छन् । पहुँच र दुरी नविग्रने गरी विद्यालय मर्ज गरिएको हो ।
तोकिएको भन्दा विद्यार्थी संख्या थोरै भएका विद्यालयहरुको सिकाइस्तर कमजोर भएकाले विद्यालय मर्जमा जानुपरेको शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले बताए । मर्ज गरिएका विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई नजिकैको विद्यालयमा स्थानान्तरण समेत गरिएको उनले जानकारी दिए । ‘कतै कम विद्यार्थी शिक्षक धेरै, कतै धेरै विद्यार्थी शिक्षक कम भएपछि हामीले विद्यालय मर्जको अवधारणा अगाडी वढाएका हौं’, नगरप्रमुख पाण्डेले भने ।
कक्षा स्थगन भएका विद्यालयमा नमुना बालविकास सञ्चालन गरिएको छ । विद्यालय मर्ज भएर सिकाई प्रक्रिया प्रभावकारी भएपछि कतिपय अभिभावकहरुले संस्थागत विद्यालयबाट सन्तानहरुलाई सामुदायिक विद्यालयमा पढाउन समेत थालेका छन् । ‘हामीले विद्यार्थी संख्याको टार्गेट दिएका थियौ, कतिपय विद्यालयहरुले त्यसलाई पुरा गरेर मर्ज हुनबाट जोगिए’, पाण्डेले भने ।
सामुदायिक विद्यालयमा अँग्रेजी
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वढाउनका लागि अँग्रेजी माध्यमको सुरुवात गरिएको छ । सामुदायिक विद्यालयमै अँग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि अहिले अभिभावकहरुले वालवालिकालाई संस्थागत विद्यालयबाट छाडेर सामुदायिक विद्यालयमै भर्ना गर्न थालेका छन् । ‘सामुदायिक विद्यालयमै अँग्रेजी माध्यमको पठनपाठन भएपछि किन संस्थागतमा खर्च गर्नु, मैले त संस्थागतबाट झिकेर सामुदायिक विद्यालयमै छोरोलाई भर्ना गरेको छुँ’, गुरुजजुर माविका अभिभावक खिमराज खनालले वताए । उनीजस्ता कयौं अभिभावकहरुले अँग्रेजी माध्यमको पठनपाठन सुरुवात भएपछि सामुदायिक विद्यालयमा बालबालिकाहरु भर्ना गरिरहेका छन् ।
‘नेपाली माध्यममा अध्यापन भइरहेको सामुदायिक विद्यालयमा अँग्रेजी माध्यमको पठनपाठन सुरुवात गर्न कठिनाइ रहेको थियो तर पनि अनुदान दिएर अँग्रेजी माध्यमका शिक्षकहरु राखेपछि सहज वन्दै गएको छ’, शाखा अधिकृत भण्डारीले बताए । उनले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने कुरा सुरुमा अस्वाभाविक लागेपनि विस्तारै सहज वन्दै गएको बताए । ‘अभिभावकले पनि अंग्रेजी माध्यमका लागि मासिक शुल्कमा केही सहयोग गर्नुभएको छ’, गुरुजजुर माविकी प्राचार्य विष्णुकुमारी केसीले भनिन् ।
स्वयमसेवक शिक्षक परिचालन
शुन्य दरबन्दी हुँदा पनि समुदायले आँटेर सञ्चालन गरिएका माध्यमिक विद्यालयहरुको नतिजा निकै दयनीय थियो । शिक्षक व्यवस्थापनका लागि टिच फर नेपालसँगको सहकार्यमा विभिन्न विद्यालयमा अँग्रेजी, विज्ञान र गणितका स्वयम्सेवक शिक्षकहरु व्यवस्थापन गरिएको छ । ‘पहिलो वर्ष ९ वटा र दोस्रो वर्ष १० वटा सामुदायिक विद्यालयमा २ वटा शिक्षकका दरले यस्ता शिक्षक उपलब्ध गराइएको हो’, शाखा अधिकृत भण्डारीले भने ।
उनले स्वयम्सेवक शिक्षक परिचालन गरिएका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको पनि बताए। विद्यार्थीहरु सबैभन्दा धेरै अनुत्तिर्ण हुने विषयका शिक्षकहरुको व्यवस्थापन गरेका कारण पनि गुणस्तर र नतिजा सुध्रिएको उनको भनाई छ । उपमहानगरपालिकाले साना कक्षाको सिकाईस्तर उकास्नका लागि चेन्जिङ्ग स्टोरीको सहयोगमा विभिन्न ८ वटा विद्यालयमा ३० वटा ग्रुप सञ्चालन गराएर स्वयमसेवकहरु परिचालन पनि गरिएको छ ।
शिक्षक करारनामा
सामुदायिक विद्यालयका शिक्षकलाई जिम्मेवार बनाउनका लागि उपमहानगरपालिकाले प्रधानाध्यापक र शिक्षकसँग करारनामा गरेको छ । शिक्षा महाशाखा प्रमुखका अनुसार करारनामा बमोजिम काम भएको या नभएको भन्ने बारेमा नियमित अनुगमन गरेर शिक्षकको मुल्यांकन समेत हुने गरेको छ । उपमहानगरपालिकाले प्रधानाध्यापक र प्रधानाध्यापकले शिक्षकसँग यस्तो करारनामा गर्ने गरेका छन् । करारनामामा वर्षभरी गर्नुपर्ने कामको विवरण हुने भएकाले मुल्यांकन गर्न सहज बनेको वताइन्छ ।
‘पालिकाले प्रधानाध्यापकसँग करारनामा गरेपछि अहिले जथाभावी प्रधानाध्यापकले विद्यालय छाड्ने क्रमको अन्त्य भएको छ’, शिक्षा समिति संयोजक कुमार लामिछानेले बताए । उनका अनुसार करारनामाका कारण विद्यालयको मुल्याङकन सहज भएको छ ।
इलेक्ट्रिक हाजिरी
सामुदायिक विद्यालयमा शिक्षक उपस्थितिलाई पारदर्शी वनाउनका लागि उपमहानगरपालिकाले पहिलो चरणमा सबै माध्यमिक विद्यालयहरुमा इलेक्ट्रिक हाजिरीको ब्यवस्था गरेको छ । शाखा प्रमुख भण्डारीका अनुसार इलेक्ट्रिक हाजिरीको सबै विवरण शिक्षा महाशाखामा आउने भएकाले विवरण अद्यावधिक गर्न सहज भएको छ । ‘यस किसिमको व्यवस्थाका कारण समयमा विद्यालय नआउने क्रमको अन्त्य भएको छ भने कामको बहानामा विच समयमै विद्यालय छाडेर जाने क्रम पनि रोकिएको छ’, भण्डारीले भने । उपमहानगरपालिकाले २३ वटा माध्यमिक विद्यालयमा यस्तो हाजिरी प्रणालीको सुरुवात गरेको हो । ‘सबै विद्यालयमा तत्काल विस्तारको योजना अगाडी बढेको छ’, उनले भने ।
स्थानीय पाठयक्रमको विकास
स्थानीय भाषिक समुदायलाई लक्षित गरेर उपमहानगरपालिकाले सानो कक्षामा स्थानीय भाषामै पठनपाठनको सुरुवात गरेको छ । स्थानीय भाषामा पढ्न पाउँदा विद्यार्थीहरुको आकर्षण बढेको वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले बताए । उक्त वडाको विरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सुरुवात गरिएको छ । पाठ्यपुस्तक समेत स्थानीयस्तरमा तयार गरेर कक्षा सञ्चालन गरिएको शिक्षा महाशाखाले जनाएको छ । ‘घरमा बोल्ने भाषामा स्कुलमा पढाई हुँदा रमाईलो लागेको छ’, अनिस मगरले भने । अन्य स्थानीय भाषामा पनि कक्षा सञ्चालनका लागि तयारी गरिएको महाशाखाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिरहेको छ । आगामी शैक्षिक सत्रबाट लागु गर्ने गरी तयारी पुरा भएको शाखा अधिकृत भण्डारीले वताए । भण्डारीका अनुसार अहिले विभिन्न विज्ञहरुबाट पाठ्यपुस्तक लेखनको काम भइरहेको छ । कक्षा १ देखि ८ सम्म एकैपटक स्थानीय पाठ्यक्रम लागु हुने गरी तयारी गरिएको समेत उनले बताए । पुस्तकको नाम तुलसीपुरको चिनारी राखिएको छ ।