सवारी मर्मतमा लुम्बिनीका मन्त्रालयमा मनपरी : एक वर्षमै डेढ करोड खर्च

बसन्त आचार्य २०८१ असोज बुटवल

लुम्बिनी प्रदेश सरकारले सवारी साधनको मर्मतका नाममा मनपरी खर्च गर्ने गरेको भेटिएको छ । लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छन् । यी मन्त्रालयमा रहेका चार पाङ्ग्रे सवारी साधनको मर्मतका नाममा गतबर्ष करिब १ करोड ४९ लाखभन्दा बढी खर्च गरेको पाइएको हो । लुम्बिनी प्रदेशका मन्त्रालयका नाममा हाल ८६ वटा चार पाङ्ग्रे सवारी साधनहरू छन् । जसमध्ये ९ वटा सवारी साधन बिग्रिएर थन्किएका छन् भने एउटा सवारी साधन पूर्वमुख्यमन्त्री र एउटा प्रदेश युवा परिषद् बुटवलले प्रयोग गरेका थिए । गत आर्थिक वर्षमा ७५ वटा चार पाङ्ग्रे सवारी साधन मर्मतको नाममा प्रदेश सरकारले १ करोड ४९ लाख ४५ हजार खर्च गरेको हो । यस हिसाबले प्रति सवारी साधन मर्मत खर्च १ लाख ९९ हजार २ सय हुन आउँछ । तर, एउटै सवारी साधनको मर्मतका लागि एक वर्षमा १० लाख १४ हजार २ सय खर्चिएको उदाहरण पनि छ । मुख्यमन्त्रीको स्कटिङको लागि प्रयोग गर्दै आएको सवारीका लागि एक वर्षमा १० लाखभन्दा बढी मर्मतमै खर्च भएको हो ।

तालिका १, आर्थिक वर्ष २०८०।०८१ मा मन्त्रालयगत सवारी मर्मत खर्च
मन्त्रालयको नामसवारी संख्यामर्मत खर्च रकम
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय१५ वटा३७ लाख ३४ हजार ९ सय
उद्योग पर्यटन तथा वातावरण मन्त्रालय५ वटा३ लाख ३३ हजार ३ सय
आर्थिक मामिला तथा योजना मन्त्रालय८ वटा१५ लाख ८९ हजार ४ सय
सामाजिक विकास मन्त्रालय६ वटा१५ लाख ५ हजार ७ सय
वन तथा वातावरण मन्त्रालय६ वटा८ लाख ९० हजार ६ सय
आन्तरिक मामिला तथा कानुन मन्त्रालय६ वटा१९ लाख ५६ हजार २ सय
स्वास्थ्य मन्त्रालय६ वटा१० लाख ५९ हजार ४ सय
सहरी विकास तथा खानेपानी मन्त्रालय५ वटा९ लाख ९२ हजार ८ सय
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय८ वटा९ लाख ४७ हजार ९ सय
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय४ वटा३ लाख ११ हजार ६ सय
भौतिक पूर्वाधार विकास मन्त्रालय६ वटा१६ लाख २२ हजार ८ सय
जम्मा७५१ करोड ४९ लाख ४५ हजार एक सय
स्रोतः सम्बन्धित मन्त्रालय
मुख्यमन्त्री कार्यालयको मात्र ३७ लाख

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ३७ लाखभन्दा बढी गाडी मर्मतमा मात्रै खर्च गरेको देखिन्छ । मुख्यमन्त्री कार्यालयको नाममा रहेका २१ वटा चारपाङ्ग्रे सवारी साधनमध्ये १५ वटा सवारी साधनको मर्मतमा ३७ लाख ३४ हजार ९ सय खर्च भएको हो । मुख्यमन्त्री कार्यालयको नाममा रहेका ५ वटा सवारी साधन बिग्रिएर थन्किएका छन् भने एउटा सवारी साधन पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रयोग गरेका थिए । पूर्वमुख्यमन्त्री केसीले भदौ २३ गते यो गाडी फिर्ता गरेका छन् । पूर्व मुख्यमन्त्री केसीले प्रयोग गरेको गाडीको मर्मत खर्च मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको छैन । मुख्यमन्त्रीको स्कटीङको लागि प्रयोग भएको लु १ झ ४९८ नम्बरको पिकअपको एक वर्षको मर्मत खर्च मात्रै १० लाख १४ हजार २ सय रहेको मुख्ममन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । यस्तै मुख्यमन्त्रीले प्रयोग गर्ने बा १ झ ७८९० नम्बरको जीप मर्मत गर्दा ६ लाख ५५ हजार खर्च भएको छ भने प्रमुख सचिवले प्रयोग गर्ने गरेको सवारी साधनको मर्मत खर्च पनि ४ लाख ६ हजार रहेको छ ।

तालिका २, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ८७९०६,५५,०९२मुख्यमन्त्री
बा १ झ ३४०३२,६३२मुख्यमन्त्री, जगेडा
लु १ झ ५१५ ४,०६,०७३प्रमुख सचिव
लु १ झ  ४९३१,५४,५१७शासकीय सुधार सचिव
लु १ झ  ४९५१२,५०,९६सचिव प्रशासन
ब १ झ ९५०९८,४७५जिन्सी प्रयोजन
लु १ झ ४१४३,३२,०३५बिग्रेको, मर्मत हुँदै
लु १ झ ५१३३,३९,३७९योजना शाखा
लु १ झ ४९८१०,१४,२९९मुख्यमन्त्रीको स्कटीङ
१०लु १ झ  ६८५२५,२५०सचिवालय कर्मचारी
११लु १ झ  ५८३७९,७२९उपसचिव
१२लु १ झ ५१४ २६,०९४मुख्यमन्त्रीको सचिवालय
१३लु् १ झ ४१२१,३१,७०१काठमाडौँ सम्पर्क कार्यालय
१४लु १ झ ६७७३,८८,९१५उपसचिव
१५बि एए १२६३१६,६५८उपसचिव

उद्योग पर्यटन तथा वातावरण मन्त्रालयमा हाल ५ वटा चारपाङ्ग्रे सवारी साधन छन् । ती सवारीहरूको मर्मतमा ३ लाख ३३ हजार ३ सय खर्च भएको छ । मन्त्रीले प्रयोग गर्ने लु १ झ ७५४ नम्बरको गाडी मर्मतमा ६८ हजार ९ सय खर्च भएको छ ।

तालिका ३, उद्योग पर्यटन तथा यातायात मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ७५४६८,९४८मन्त्री
बि एए १२५९ ८७,५३८प्रदेश सचिव
बि एए १२६० ५१,४४५शाखा प्रमुख कार्यक्रममा प्रयोग
बि एए १२६१ ५०,४५०हाल उर्जा मन्त्रालयमा
बि एए १२६४ ७४,८५९महाशाखा प्रमुख

आर्थिक मामिला तथा योजना मन्त्रालयको नाममा हाल ८ वटा चार पाङ्गे सवारी साधन छन् । ती सवारी साधनको मर्मतमा १५ लाख ८९ हजार ४ सय खर्च भएको छ । यस मन्त्रालयमा रहेका गाडीमध्ये सबैभन्दा धेरै मर्मत खर्च मन्त्रीले प्रयोग गर्ने लु १ झ ७३८ नम्बरको स्कारपियोमा भएको छ । आर्थिक मामिलामन्त्री बनेको १ वर्षमा यो गाडीको मर्मतमा मात्रै ४ लाख ९६ हजार ३ सय खर्च भएको छ ।

तालिका ४, आर्थिक मामिला तथा योजना मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ७३८४,९६,३४०मन्त्री
लु १ झ ४८६१,७१,५३२मन्त्रीको सचिवालय
लु १ ब ४८०१,८८,४४२सचिव
लु १ झ ५७६१,०३,३७५महाशाखा प्रमुख
लु १ झ ९७७२३,०८,४१४महाशाखा प्रमुख
लु १ झ ७०२१९,४६९मुख्यमन्त्री कार्यालयमा फिर्ता
लु १ झ ४२४१,६१,९६८अर्थ विज्ञ
बा २ झ ६९३७१,३९,९१०कार्यालय प्रयोग

सामाजिक विकास मन्त्रालयको नाममा रहेका ९ वटा सवारी साधनहरू छन् । तर, मन्त्रालयले अहिले ६ वटा सवारी मात्रै प्रयोग गरिरहेको छ । मन्त्रालयको नाममा रहेका २ वटा सवारी साधन बिग्रिएर थन्किएका छन् भने लु १ झ ९७४१ नम्बरको गाडी प्रदेश युवा परिषद् समिति बुटवलले प्रयोग गर्दै आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रयोग गरेका ६ वटा सवारी साधनको मर्मत गर्दा १५ लाख ५ हजार ७ सय खर्च भएको छ । मन्त्रालयमा रहेका गाडीमध्ये सबैभन्दा धेरै मन्त्रीले प्रयोग गर्ने सवारीको मर्मत खर्च रहेको छ । मन्त्रीले प्रयोग गर्ने लु १ झ ५१६ नम्बरको स्कारपियोको मर्मत मात्रै ४ लाख ८१ हजार ६ सय खर्च भयो ।

तालिका ५, सामाजिक विकास मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ५१६४,८१,६१८मन्त्री
बि एए १२५८  ३,२७,९७५सचिव
लु १ झ ४३२१,०१,३०४महाशाखा प्रमुख
लु १ झ ४३१२,१९,३१०महाशाखा प्रमुख
लु १ झ ४२९२,५३,५६५महाशाखा प्रमुख
लु १ झ ४५०१,२२,०२३महाशाखा प्रमुख

वन तथा वातावरण मन्त्रालयले सवारी मर्मतमा ८ लाख ९० हजार ६ सय खर्च गर्यो । मन्त्रालयले ६ वटा सवारीको मर्मतमा गतवर्ष सो रकम खर्च गरेको हो । मन्त्रालयको नाममा रहेका गाडीमध्ये २ वटा सवारी साधन विग्रिएर बसेका छन् । मन्त्रालयको नाममा रहेको बा २ झ १३२० नम्बरको सवारी साधन अहिले भने आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रयोग गरिरहेको छ । मन्त्रालयले गतवर्ष मर्मतमा सबैभन्दा धेरै खर्च अहिले कानून मन्त्रालयले प्रयोग गरिरहेको सवारीमा गरेको हो । सो सवारीको मर्मतमा गत आर्थिक वर्षमा २ लाख २९ हजार ७ सय खर्च भएको छ । यस्तै मन्त्रीले प्रयोग गर्ने लु १ झ ७४१ नम्बरको स्कारपियोको मर्मत गर्दा ८१ हजार ३ सय खर्च भयो ।

तालिका ६, वन तथा वातावरण मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ७४१८१,३९४मन्त्री
लु बि १२८८ १,६४,९८४सचिव
लु बि १२९०१,१२,००५प्रशासन महाशाखा प्रमुख
लु वि १२८९१,६६,२४५वन व्यवस्थापन महाशाखा
लु वि १२९२ १,३६,३१९फिल्ड/कार्यालय प्रयोजन
बा २ झ १३२०२,२९,७०६हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रयोग

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६ वटा सवारी मर्मतको नाममा १९ लाख ५६ हजार २ सय खर्च गर्यो । यस मन्त्रालयले मन्त्रीले प्रयोग गर्ने लु १ झ ७४९ नम्बरको स्कारपियोमा मात्रै ५ लाख ९५ हजार ६ सय खर्च गर्यो । यस मन्त्रालयमा रहेको बा १ झ ९६५० नम्बरको गाडी अहिले वन मन्त्रालयले प्रयोग गरेको छ ।

तालिका ७, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ७४९५,९५,६६२मन्त्री
लु १ झ ४११३,९७,८८०सचिव
लु १ झ ५९१३,०२,३०३उपसचिव
लु १ झ ४६३३,१२,०७७उपसचिव
लु १ झ ५५९२,७८,२५३मन्त्रालय
बा १ झ ९६५०७०,०९८हाल वन मन्त्रालयको प्रयोगमा

स्वास्थ्य मन्त्रालयले आफ्ना नाममा रहेका ६ वटा सवारीको मर्मतमा १० लाख ५९ हजार ४ सय खर्च गर्यो । मन्त्रालयले बा १ झ ८७१० नम्बरकोे सवारी मर्मतमा सबैभन्दा धेरै खर्च गरेको छ । सो सवारीको मर्मतमा ३ लाख ७५ हजार ३ सय खर्च भएको छ । यस्तै मन्त्रीले प्रयोग गर्ने लु १ झ ७५० नम्बरको स्कारपियोको मर्मत गर्दा ३ लाख ५८ हजार ५ सय खर्च भयो ।

तालिका ८, स्वास्थ्य मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ७५०३,५८,५३२मन्त्री
लु १ झ ६६९३४,७२१सचिव
लु १ झ ७५६१,२२,१५२प्रशासन महाशाखा प्रमुख
बा १ झ ८७१०३,७५,३८४मन्त्रालय
बा १ झ ८७१३४७,३१४मन्त्रालय
बा २ झ ९४११,२१,३२६नीति तथा अनुगमन महाशाखा प्रमुख

सहरी विकास तथा खानेपानी मन्त्रालयको नाममा ५ वटा सवारी साधन छन् । मन्त्रालयले ती सवारीको मर्मतमा ९ लाख ९२ हजार ८ सय खर्च गर्यो । मन्त्रालयमा रहेका सवारीमध्ये महाशाखा प्रमुखले प्रयोग गर्ने गाडीको मर्मतमा मात्रै ३ लाख ५० हजार ८ सय खर्च भयो । यस्तै मन्त्रीले प्रयोग गर्ने लु १ झ ७११ नम्बरको गाडीको मर्मत गर्दा २ लाख ५६ हजार २ सय खर्च भयो ।

तालिका ९, सहरी विकास तथा खानेपानी मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ७११२,५६,२३१मन्त्री
लु १ झ ६७३१,०५,९२५सचिव
लु १ झ ७२७१,८१,३८८कार्यालय प्रयोजन
लु १ झ ६८६९९,३६९मुख्यमन्त्री कार्यालय
लु १ झ ५९८३,५०,८३२महाशाखा प्रमुख

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको नाममा ८ वटा चार पाङ्ग्रे सवारी साधन छन् । ती सवारीको मर्मतमा गत आर्थिक वर्ष ९ लाख ४७ हजार ९ सय खर्च भयो । मन्त्रालयको नाममा रहेको लु १ झ ४२८ नम्बरको डबल क्याप हाल मुख्यमन्त्री कार्यालयले लगेको छ । गतवर्ष मन्त्रीले प्रयोग गर्ने लु १ झ ५७७ नम्बरको स्कारपियोको मर्मतका नाममा २ लाख ७४ हजार ५ सय खर्च भएको छ ।

तालिका १०, कृषि तथा भूमि व्यवस्था मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ५७७२,७४,५५४मन्त्री
लु १ झ ६६६१,३३,९८७सचिव
लु १ झ ७५७१,३०,५६४प्रशासन महाशाखा प्रमुख
लु १ झ ४२३९१,६४१पशुपन्क्षी महाशाखा प्रमुख
लु १ झ ४२११,०२,२०६योजना तथा अनुगमन महाशाखा प्रमुख
लु १ झ ४२२८६,३८२स्मार्ट कृषि गाउँ कार्यक्रम इकाई प्रमुख
लु १ झ ४२८१,१७,२०७मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको
बा १ झ ८५९४११,७३९पशु रोग अन्वेषण शाखा, नवलपरासी

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको नाममा ४ वटा गाडी छन् । ती गाडीको मर्मतमा गत वर्ष ३ लाख ११ हजार ६ सय खर्च भयो । मन्त्रालयमा रहेका सवारीमध्ये मन्त्रीले प्रयोग गर्ने लु १ झ ४६५ नम्बरको टाटा गाडीको मर्मतका लागि १ लाख २० हजार १ सय खर्च भएको छ ।

तालिका ११, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ४६५१,२०,१०५मन्त्री
वि एए १२६१५१,७३४सचिव
वि एए १३१६७०,५७२सिडिहाजी
बा २ झ १४१३६९,२१२सिडिई

भौतिक पूर्वाधार विकास मन्त्रालयसँग ६ वटा गाडी छन् । ती सवारीको मर्मतमा गत आर्थिक वर्षमा १६ लाख २२ हजार ८ सय खर्च भएको छ । मन्त्रालयमा रहेका गाडीमध्ये मन्त्रीले प्रयोग गर्ने लु १ झ ७१० नम्बरको स्कारपियोको मर्मतका नाममा ४ लाख ९१ हजार २ सय खर्च भएको छ ।

तालिका १२, भौतिक पूर्वाधार विकास मन्त्रालयको विवरण
क्र.सं.सवारी नं.मर्मत खर्चप्रयोगकर्ता
लु १ झ ७१०४,९१,२४८मन्त्री
वि एए १३०९२,१७,१५४सचिव
वि एए १३१६८२,४८९सिडिहाजी
बा २ झ १४१३१,९६,३०३सिडिई
वि एए १३१०२,६७,८२३सिडिई
वि एए १३१२३,६७,८५४उपसचिव

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग अहिले चारपाङ्गे सवारी साधन छैन । मन्त्रालयकी सूचना अधिकारी कमला पौडेल पोखरेलले मन्त्रालयको स्थापना भएको धेरै नभएकाले मन्त्रालयसँग अहिले सवारी साधन नभएको बताइन् । केही समय मन्त्री हुँदा सामाजिक विकास मन्त्रालयको सवारी प्रयोग गरिएको बताइन् । ‘मन्त्रालयको स्थापना भएको धेरै समय भएको पनि छैन् । केही समय मन्त्री हुँदा आन्तरिक मामिला मन्त्रालयको सवारी प्रयोग गर्नु भएको थियो,’ उनले भनिन् । यो मन्त्रालय पूर्वमुख्यमन्त्री जोखबहादुर महराले भागबन्डा मिलाउनका लागि गत बैशाखमा थप गरेका थिए । केही समय एकीकृत समाजवादीकी भगवती अधिकारी मन्त्री बनिन् । सरकार परिर्वतनसँगै अहिले यो मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री चेतनारायण आचार्यले लिएका छन् ।

प्रदेश सभामा पनि मनपरी

मन्त्रालयले मात्रै होइनन्, प्रदेश सभाले पनि गाडी मर्मतका नाममा मनपरी खर्च गर्ने गरेको पाइएको छ । प्रदेश सभा स्थापनादेखी आर्थिक वर्ष २०८०।८१ सम्म चार पाङ्गे सवारी साधानको मर्मतका नाममा १ करोड ८३ लाख ३० हजार ९ सय खर्च भएको छ । यो अवधिमा सबैभन्दा धेरै बा १ झ ९७२९ नम्बरको फोर्ड एभरेष्ट गाडीको मर्मतमा २० लाख १२ हजार ६ सय खर्च भएको छ । यो गाडी सभामुख तुलाराम घर्तीमगरले प्रयोग गर्छन् । उनले यो सवारी प्रयोग गरेको आर्थिक वर्ष २०७९।८० देखि हो । यसभन्दा अघि यो गाडी पूर्व सभामुख पूर्णबहादुर घर्तिमगरले प्रयोग गरेका थिए । अघिल्लो आर्थिक वर्षमा मात्र यो सवारी मर्मतका नाममा २ लाख ९३ हजार ४ सय खर्च भयो । लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८०।८१ मा मात्रै गाडी मर्मतका नाममा ३९ लाख ३३ हजार ७ सय खर्च गरेको छ ।

लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८०।८१ मा उपसभामुख मेनका खाँण केसीले प्रयोग गर्ने लु १ झ ४४८ नम्बर टाटा सफारी स्ट्रोम मर्मतका नाममा एक वर्षमा ६ लाख ८९ हजार ९ सय खर्च गरेको छ । त्यस्तै सभामुख तुलाराम घर्ती मगर चढ्ने प्रदेश ३–०१–००२ झ ५२४४ नम्बरको गाडी मर्मतमा १ लाख १ हजार ७ सय खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा चढ्ने बि एए १३०६ नम्बरको गाडी मर्मतमा ६ लाख १३ हजार २ सय खर्च भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रयोग गरेको लु १ झ ६८६ नम्बरको गाडी मर्मतमा ४८ हजार १ सय, नेकपा एमालेका तत्कालीन संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लीला गिरीले प्रयोग गरेको लु १ झ ७५३ नम्बरको गाडी मर्मतमा ६० हजार ५ सय खर्च भएको छ ।

सार्वजनिक लेखा समितिका सभापति माया पुनले प्रयोग गरेको बि एए १३०३ नम्बरको गाडी मर्मतमा ३ लाख १५ हजार ३ सय खर्च उठेको छ । विशेषाधिकार समितिका सभापति गिरिधारीलाल न्यौपानेले चढ्ने बि एए १२९७ नम्बरको गाडी मर्मतमा २ लाख २७ हजार ९ सय, प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमार बुढा चढ्ने बि एए १२९८ नम्बरको गाडी मर्मतमा १ लाख २१ हजार १ सय खर्च भएको छ । कृषि वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक चढ्ने बि एए १३०१ नम्बरको गाडी मर्मतमा २ लाख ७६ हजार ९ सय खर्च भएको छ । माओवादी प्रमुख सचेतक इन्द्रजीत थारू चढ्ने बीएए १२९६ नम्बरको गाडी मर्मतमा २ लाख २० हजार २ सय खर्च भएको छ । कांग्रेस प्रमुख सचेतक (हाल राजीनामा) जन्मजय तिमिल्सेना चढ्ने बि एए १३०५ नम्बरको गाडी मर्मतमा ४ लाख ६० हजार ८ सय, सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली चढ्ने लु १ झ ४५७ नम्बरको गाडी मर्मतमा ४१ हजार ४ सय, नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी चढ्ने बि एए १२९९ नम्बरको गाडी मर्मतमा २ लाख २७ हजार ८ सय भएको छ । लुम्बिनी प्रदेश सभाले सभामुख, उपसभामुख, संसदीय दलका सभापति, दलका प्रमुख सचेतक र सचिवका लागि सवारी साधन दिने गरेको छ ।

तालिका १३, आर्थिक वर्ष २०८१।८२ मा प्रदेश सभाबाट सवारी साधन मर्मत खर्च विवरण
क्र.स.सवारी साधनको नम्बरमर्मत खर्चप्रयोगकर्ताको नाम
बि एए १२९६ २,६०,२६३इन्द्रजीत थारु
बि एए १२९७ २,२७,९८५गिरधारीलाल न्यौपाने
बि एए १२९८ १,२१,१५९दिलकुमारी बुढा
बि एए १२९९ २,२७,८५९तुल्सीप्रसाद चौधरी
बि एए १३०१२,७६,९३१विश्व प्रेम पाठक
बि एए १३०२१,९४,७२१राजुप्रसाद श्रेष्ठ
बि एए १३०३३,१५,३६९माया पुन
लु १ झ ४४८६,८६,९७०मेनुका खाँण केसी
१०बि एए १३०५४,६०,८८८जन्मजय तिमिल्सीना
११बि एए १३०६६१,३,२८५जोखबहादुर महरा
१२लु १ झ ४५७४१,४००यमबहादुर नेपाली सार्की
१३लु १ झ ६८६४८,१३४डिल्लीप्रसाद चौधरी
१४लु १ झ ७५३६०,५७३लिला गिरी (हाल फिर्ता)
१५प्रदेश ३–०१–००२ झ ५२४४१,०१,७३८तुलाराम घर्तीमगर, सभामुख
१६बा १ झ ९७२९२,९३,४९३तुलाराम घर्तीमगर, सभामुख
स्रोत : प्रदेश सभा सचिवालय
कानुन विपरीत खर्च

सवारी साधन सञ्चालन तथा निर्देशिका २०७२ को ८ नम्बरमा सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीले नयाँ सवारी साधन भए ३ वर्षसम्म मासिक ५ हजार मर्मत सम्भार लागि रकम उपलब्ध गराउने भनिएको छ । यस्तै ३ वर्षभन्दा माथिको सवारी साधन प्रयोय गर्ने विशिष्ठ श्रेणीका पदाधिकारीलाई मासिक १० हजार र प्रथम श्रेणीका पदाधिकारीलाई ७ हजार मर्मत वापत रकम उपलब्ध गराउने व्यवस्था छ । यसैगरी, ऐनमा सवारी दुर्घटना भएमा बीमा कम्पनीसँग दाबी गरी मर्मत सम्भार गराउने भनिएको छ । प्रदेश सरकारले सवारी मर्मत सञ्चालन निर्देशिका नबनाएका कारण संघीय सरकारको निर्देशिका स्वतः लागू हुन्छ । तर, यसको बेवास्ता गर्दै गाडी मर्मतका नाममा जनप्रतिनिधिले मनपरी रकम लिइरहेका छन् । गाडीको बीमा हुँदा–हुँदै पनि मर्मतमा यति धेरै रकम किन खर्च भइरहेको छ भनेर कसैले पनि प्रश्न नगर्दा मर्मतका नाममा मनपरी रुपमा मर्मतका नाममा रकम लिइरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा सरकारका प्रवक्ता दिनेश पन्थीले सबै क्षेत्रमा मितब्ययिता अपाउने गरी काम गरिरहेको बताउँछन् । मुख्यमन्त्रीले आचारसंहिता पनि जारी गरिसकेको र अहिले बनेको सरकारको नीति नै सकेसम्म अनावश्यक खर्च कटौती गर्नेमा केन्द्रित रहेको दाबी गरे । साथै उनले सवारी मर्मतका नाममा हुने अनावश्यक खर्चलाई रोक्न पनि सरकार प्रतिबद्ध रहेको बताए । ‘गत वर्ष के कति खर्च भएको थियो यसबारे मलाई केही जानकारी थिएन । अहिले तपाईले भनेपछि मात्रै थाहा पाएँ । यसमा के कसो भएको रहेछ । यस बारेमा म बुझ्छु । सरकार खर्च कम गर्नका लागि प्रतिबद्ध छ भन्ने कुरा त मुख्यमन्त्रीज्यूले जारी गरेको आचारसंहिताबाट नै स्पष्ट हुन्छ,’ प्रवक्ता पन्थीले भने ।

आवश्यकता अनुसार नै खर्च भएको हो

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी मोहन अर्यालले सवारी मर्मतमा आवश्यकता अनुसार नै खर्च भएको दाबी गर्छन् । प्रदेश सरकारका गाडी पुराना हुँदै जाँदा मर्मत खर्च स्वाभाविक रुपम धेरै हुने गरेको बताए । ‘आवश्यकता अनुसार नै खर्च भएको छ । मन्त्रीज्यूहरू धेरै हिडिरहनुपर्ने र गाडी पनि पुराना हुँदै गएकाले खर्च धेरै भएको हो,’ उनले भने । यता लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले पनि गाडी पुरानो भएकाले मर्मत खर्च केही बढी हुने गरेको बताए । मर्मतका लागि पदाधिकारीले निवेदन दिएपछि आवश्यक देखेमा मात्रै प्रदेश सभाले मर्मत गरिदिने गरेको सचिव पुनले बताए ।

Sharing is caring!