लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको फोहोर तिनाउ नदी किनारमा अस्थायी रुपमा फाल्न थालेको करिव दुई दशक भयो । जनप्रतिनिधि विहिन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारेका थिए । तर फोहर तह लगाउने उचित तरिका अहिलेसम्म पनि अपनाइएको छैन ।
बुटवलमा एक दिनमा २५ टन फोहोर निस्कने गरेका बेलादेखि फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल साईट) बनाउने चर्चा हुन थालेको हो । तर, स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर कार्यकाल पूरा हुने बेलासम्म पनि शहरको फोहोर तह लगाउने काम योजनामै सिमित हुने छाँट देखिएको छ । बुटवल उपमहानगरपालिकाका अनुसार यहाँ दिनैपिच्छे ५० देखि ६० टनसम्म फोहोर निस्कन्छ ।
जनप्रतिनिधि निर्वाचित नहुँदै एसियाली विकास बैंक (एडिबि)को अनुदानमा सन् २०१४ मा बुटवलमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता भयो । यसको लागत करिव २७ करोड थियो । तर, फोहोर प्रशोधन केन्द्र बनाउने ठाउँ चरङ्गे भनभने खोँचका बासिन्दाको विरोध र उपमहानगरको वेवास्ताले गर्दा यो योजना विफल बन्यो । एडिबिको यो योजना फिर्ता भएपछि फोहर तह लगाउने अर्को विकल्प अझै भेटिएको छैन ।
जनप्रतिनिधि निर्वाचित भएर आएपछि फोहोरमैला व्यवस्थापन सम्बन्धि नियम बनाउने काम मात्रै भएको छ । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले छिमेकी पालिकाहरुसँग मिलेर संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको बताए । ‘तिनाउको छेउमा अस्थायी रुपमा फोहोर तह लगाइएको छ, यसको स्थायी समाधानका लागि हामी लागि परेका छौं’ नगरप्रमुख सुवेदीले भने । बुटवल उपमहानगरले फोहोर संकलनमा भने टोल विकास समितिलाई परिचालन गरेको छ । तर, संकलन गरिएको फोहोर बस्तीसँगै जोडिएको तिनाउ नदी किनारमै फ्याँकिन्छ ।
त्यहाँ फालिएको फोहोर माटोले पुर्ने गरिएको छ । तर, अहिले माटोले समेत पुर्न छाडेकाले पवित्रानगर र माझगाउँ बस्ती फोहोरको दुर्गन्धबाट पीडित छन् । ‘नगरको फोहोरको स्थायी समाधान खोजिनुपर्ने होे, अहिले बस्ती छेउमा फोहोर फ्याकिएको छ, फोहर नपुरेकाले दुर्गन्ध फैलिएको छ’ पवित्रानगर बस्ती विकासका अध्यक्ष जिवलाल अधिकारीले भने । शहर सफा त देखिएको छ, फोहोर विर्सजन गतिलोसँग नहुँदा स्थानीय सरकार निरिह जस्तो देखिएको छ ।
बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको संयुक्त लगानीमा फोहोर प्रशोधन केन्द्र बनाउने योजना अघि बढेको छ । यहि योजनालाई बुटवल उपमहानगरले दीर्घकालिन फोहोर व्यवस्थापनको योजनाका रुपमा लिएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की संयोजक, बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्य सहसंयोजक रहने गरि समिति गठन गरिएको छ । प्राङगारिक मल कारखाना बनाउने उदेश्य भएको फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना भए पनि यो योजना पूरा हुन भने बर्षो लाग्ने देखिएको छ । सैनामैना नगरपालिका वडा न.१० को खोरमोरमा निर्माण गर्ने गरि प्रारम्भिक काम शुरु भएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । उनका अनुसार प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ ।
स्थानीय सरकारले निकै अधिकार पाएका छन् । तर, सहरको फोहोर तह लगाउन उनीहरु चुकेका छन् । भैरवहामा पनि फोहोर अव्यवस्थित तरिकाले फाल्ने गरिएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकको प्रवेशद्धार भैरहवाको फोहोर डण्डा नदीको किनारमा फाल्ने गरिएको छ । सिद्धार्थ नगरपालिकाका योजना प्रमुख शैलैन्द्र कुमार श्रेष्ठका अनुसार एसियाली विकास बैंकको अनुदानमा अत्याधुनिक फोहोर व्यवस्थापन गर्ने गरि ल्याण्डफिल साईट निर्माण गर्ने योजना थियो ।
सिद्धार्थ नगरपालिकाले ओमसतयिा गाउँपालिका, पट्खौली गौरीगाउँमा १ करोड २ लाखमा ६ बिगाहा जग्गा समेत खरिद गरेको थियो । तर, यहाँ पनि राजनितिक र अन्य कारणले योजना विफल हुँदा फोहोर तह लगाउन सकिएन । ‘ओमसतिया र रोहीणी गाउँपालिकाको समेत फोहोर तह लगाउन सक्ने योजना गुम्यो । अहिले फोहोर तह लगाउने उपायबारे छलफल भइरहेको छ’ योजना प्रमुख श्रेष्ठले भने ।
बढदो जनघनत्व र तिव्र सहरीकरणले गर्दा फोहोर बढिरहेको छ । अन्र्तराष्ट्रिय उडान गर्ने गरि विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । तर, यहाँ नदी छेउमा अव्यस्थित रुपमा फोहोर फाल्दा स्वास्थ्यसँगै पर्यटन क्षेत्रमा असर पर्छ । अहिले डण्डा नदीको छेउमा फोहोर फालिएको छ जसको असर बस्तीसम्म पुगेको छ । नदी छेउमा असरल्ल फोहोर देखिन्छ । सिद्धार्थनगर नगरपालिकाकाका उपप्रमुख उमा काफ्लेले पहिलेको योजना असफल हुनु नै भैरहवाबासीका लागि दुर्भाग्य भएको बताईन । ‘हाम्रो नगरपालिका भित्र जग्गा छैन, जहाँ जग्गा खरिद गरिएको छ, त्यहाँ विरोध भयो, अहिले तत्काल फोहोर प्रशोधन स्थलबारे कुनै योजना छैन’ उनले भनिन ।
लुम्बिनी प्रदेशका सहरी क्षेत्रमध्ये पाल्पाको तानसेनमा पनि फोहोर व्यवस्थापनको काम निकै जटिल बनेको छ । सेतीपोखरी भन्ने ठाउँमा बनाइएको ल्याण्डफिल साइट स्थानीय बासिन्दाको विरोधले गर्दा प्रयोग विहिन बन्न पुगेको हो । तानसेनमा पनि हाल जंगलको विचमा खाल्डो खनेर फोहर फालिएको सरसफाई शाखा प्रमुख शंकर भण्डारीले बताए । उनका अनुसार यसरी फोहोर फाल्दा समस्या हुने भएकाले विकल्पको खोजी भइरहेको छ ।
तानसेन नगरपालिकाले विश्व वैंकको ऋण अनुदानमा फोहोरबाट उर्जा निकाल्ने योजना अघि बढाएको जनाएको छ । विश्व बैंक र निजि क्षेत्रको ५०÷५० प्रतिशत लगानी हुने यो योजनाको लागत करिव १४ करोड रुपैयाँ छ । यसमा कुहिने र नहुकिने फोहोर छुट्याउने योजना छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको तानसेन नगरपालिकाका प्रवक्ता दामोदर प्रसाद घिमिरेले बताए । उनले फोहर स्थायी रुपमा तह लगाउन र त्यसबाट स्थानीय बासिन्दालाई समेत लाभ पु¥याउने गरि काम भइरहेको बताए ।
घरबाटै फोहोरको वर्गिकरण गर्नुपर्ने
फोहोर संकलनमा मात्रै केन्द्रीत हुदा लुम्बिनीका ठूला सहरमा फोहोरको विर्सजन चुनौतीपूर्ण बनेको बताउछन वातावरणका जानकार यूवराज कँडेल । उनका अनुसार फोहोर संकलनमा बढि केन्द्रीत हुने तर त्यसलाई राम्रोसँग तह लगाउनेबारे अध्ययन र नितिगत निर्णय नहुँदा बुटवल, भैरहवा जस्ता सहरमा समस्या देखिएको हो । उनले सहरको फोहोर नदी र जंगलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा समेत असर पारेको बताए । ‘नदी र जंगलको विचमा फोहोर फालेर यो समस्याको दीगो समाधान हुँदैन’ उनले भने –‘जबसम्म उपभोक्तालाई फोहोरमा मोहोर छ भन्ने बुझाउन सकिदैन, तवसम्म यो समस्या चुनौतीपूर्ण भइरहन्न्छ ।’
नकुहिने खालको प्लाष्टिक र सिसा भएका बस्तुमा ‘प्रदुषण कर’ लगाउँदा त्यस्ता बस्तुको फोहर घट्ने कंडेलले बताए । ‘त्यस्ता कम्पनी वा उद्योगसँग स्थानीय पालिकाले प्रदुषण कर लिएर त्यसरी उठेको रकम फोहर सफा गर्नेलाई दियो भने त्यही खर्चमा नकुहिने र पुन प्रयोग गर्न सकिने फोहोर तह लाग्छ’ उनले भने । उनका अनुुसार स्थानीय सरकारले कुहिने र नकुहिने गरि छुट्टाउने बानी उपभोक्तामा बसाल्न सके मात्रै पनि आधाभन्दा बढि फोहोर घरमै तह लाग्छ ।
अहिले केही नगरबासीले यसो गर्ने गरेका पनि छन् । बुटवलको कालिकानगरका रामबहादुर रानाले भान्साबाट निस्कने फोहोर कुहाएर मल बनाउने गरेका छन् । ‘तरकारी र फलफूलबाट निस्कने फोहोरलाई कुहाएर मल बनाउँछु, त्यहि मल हालेर तरकारी फलाएको छु’ रानाले भने । उनले फोहोरलाई घरमै सजिलै थन्क्याएका मात्रै छैनन् वर्षभरि तरकारी किन्ने पैसा समेत बचत गरेका छन । ‘स्वास्थ्यलाई पनि फाइदा भयो, फोहोर के गर्ने भन्ने चिन्ता भएन’ रानाले भने ।
बुटवलमा फोहोरबाट प्राङगारिक मल बनाएर कुहिने फोहोरको विर्सजन गर्ने निति समेत लिएको थियो । तर, यसको पालना सबैले गर्न सकेनन । घरको फोहोर घरमै तह लगाउन सके शहरको फोहोरको सकस कम हुने थियो ।