दाङको राजपुर गाउँपालिकाका ७, बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाका २/२ तथा राप्ती गाउँपालिकाका एउटा विद्यालयले एसइईमा शून्य नतिजा ल्याएको छ । दाङमा जम्मा १२ हजार पाँच सय ५९ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६ हजार ५६ विद्यार्थी उतिर्ण भएका छन् । जिल्लामा सबैभन्दा बढी ९९.६ प्रतिशत अनुतीर्ण भएका विद्यार्थी राजपुर गाउँपालिकाका छन् भने बंगलाचुली गाउँपालिकाका पनि ९५.४ प्रतिशत विद्यार्थी फेल भएका छन् ।
दाङको राजपुर गाउँपालिकाबाट एसइई परीक्षामा एक जना मात्रै उतिर्ण भए । पालिकाभित्र ८ वटा सामुदायिक विद्यालयका दुई सय ५५ जनाले परीक्षा दिएका थिए । तर, नमूना माध्यामिक विद्यालय गंगदीबाट गेहेन्द्र यादव मात्रै उतिर्ण भएका हुन् । उनले ‘वि प्लस’ ग्रेड ल्याए । त्यो विद्यालयबाट ८५ जनाले परीक्षा दिएका थिए । त्योबाहेक अन्य ७ वटा विद्यालयले एक जना पनि विद्यार्थी पास गराउन सकेनन् । राजपुर गाउँपालिकाकै जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ जना, शंकर माध्यमिक विद्यालय खरदरियाबाट ४५ जना, माध्यमिक विद्यालय दुलैयाबाट ९ जना, बाल कल्याण माध्यमिक विद्यालय खंग्रानाकाबाट १० जनाले एसइईको परीक्षा दिएका थिए । त्यस्तै माध्यमिक विद्यालय सिक्टाबाट ३० जना, गौरीशंकर मावि भैसाहीनाकाबाट ९ जना, शिवशक्ति माध्यमिक विद्यालय भौवानाकाबाट ६ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ ।
शिक्षामा लगानी गरेपनि त्यसअनुसारको नतिजा नआउँदा आफूहरू दुःखी भएको पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताउनुभयो । “भवन ठूला–ठूला छन्, हामीले बर्षेनी ५ करोड शिक्षा क्षेत्रमै छुट्याउने गरेका छौं”, बुढाथोकीले भन्नुभयो, “तर, त्यसअनुसारको उपलब्धी नहुँदा सोच्नैपर्ने बेला आएको छ ।” बुढाथोकीकाअनुसार विद्यार्थीहरूलाई ३/३ महिना टियुसन समेत पढाएको, शिक्षक नभएको ठाउँमा स्वयंसेवक शिक्षक समेत खटाएको उनले बताए । नमूना भनिएकै जनज्योति माविमा शून्य नतिजा आउनु राम्रो कुरा नभएको उहाँले बताउनुभयो । यसमा अभिभावकले चासो दिनुपर्ने, विद्यार्थीहरू लगनशिल हुनुपर्ने र शिक्षकहरू जिम्मेवार बनेमा सुधार हुन सक्ने उहाँको भनाइ छ । “हामी यो नतिजाप्रति लज्जित छौं” उहाँले भन्नुभयो, “आगामी दिनमा सिकाईको पालिकाबाट नियमित अनुगमन गर्ने योजना बनाएका छौं ।”
बंगलाचुली गाउँपालिकाले शिक्षा क्षेत्रमा १८ करोड रुपैँया बजेट छुट्याएको थियो । तर, छुट्याएको बजेटअनुसार नतिजा आउन नसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीले बताउनुभयो । उहाँका अनुसार शिक्षकको तलब भत्ता र शैक्षिक कार्यक्रममै उक्त खर्च भएको हो । लमही नगरपालिकाले गएको बर्ष १८ करोड बजेट विनियोजन गरेको थियो । शाखा प्रमुख भवानी गिरीले शिक्षामा गरिएको त्यो लगानी अनुसार उपलब्धी हाँसिल गर्न नसिकएको बताउनुभयो । दाङका अन्य पालिकाहरूका केही विद्यालयले शून्य नतिजा ल्याएका छन् । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाका २/२ तथा राप्ती गाउँपालिकाका एउटा विद्यालयले शून्य नतिजा ल्याएको छ । दाङमा जम्मा १२ हजार पाँच सय ५९ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६ हजार ५६ विद्यार्थी उतिर्ण भएका छन् । जिल्लामा सबैभन्दा बढी ९९.६ प्रतिशत अनुतीर्ण भएका विद्यार्थी राजपुर गाउँपालिकाका छन् भने ९५.४ प्रतिशत विद्यार्थी बंगलाचुली गाउँपालिकाका फेल भएका छन् । सबैभन्दा बढि तुलसीपुर उपमहानगरपालिकाले ७६.६ प्रतिशत विद्यार्थी उर्तीण गराउन सफल भएको छ ।
यी हुन्, दाङमा एसइईमा शून्य नतिजा ल्याएका विद्यालयहरू
क्र.सं. | पालिका | विद्यालय | विद्यार्थी संख्या |
१ | लमही | अर्जुन मावि हस्नापुर | २७ |
२ | लमही | मावि अमिलिया | २२ |
३ | राजपुर | मावि बेला | ५६ |
४ | राजपुर | शंकर मावि खरदरिया | ४५ |
५ | राजपुर | मावि दुलैसा | ९ |
६ | राजपुर | बालकल्यान मावि खंग्रा | १० |
७ | राजपुर | मावि सिक्टा | ३० |
८ | राजपुर | गौरी संकर मावि भैसाही | ९ |
९ | राजपुर | शिवशक्ति मावि भौवानाका | ६ |
१० | बंगलाचुली | खड्क मावि हाँसिपुर | ३१ |
११ | बंगलाचुली | सरस्वति मावि जबरकोट | ४९ |
१२ | राप्ती | मावि रुपाकोट राप्ती ९ | १३ |
प्यूठानको अवस्था त्यस्तै
दाङमा मात्रै होईन, लुम्बिनी प्रदेश अन्तर्गत प्यूृठान जिल्लाको अवस्था त्यस्तै छ । प्यूठानको ऐरावती गाउँपालिकाबाट एकजना मात्रै विद्यार्थी उर्तीण भए । ३ सय १९ जना विद्यार्थीले एसइई दिएकोमध्ये वडा नम्बर १ स्थित धर्मोदय मावि पकला जावुनेका उमेश केसी उतीर्ण भएका हुन् । त्यस पालिकाका सातवटा विद्यालयमध्ये ६ वटा पालिकाले शून्य नतिजा ल्याए । जनता मावि बिजुली, महेन्द्र मावि सरङवेसी, दाङवाङ मावि दाङवाङ, मोती मावि बरौला, मद्यमोदय मावि धुवाङ र जनकल्याण मावि ऐरावतीले शून्य नतिजा ल्याए । गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख यसप्रसाद पाण्डेले यस विषयमा आफूहरूले गम्भीर समीक्षा गर्ने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार पालिकाले आफ्नै स्रोतबाट राखेका ५८ जना शिक्षकहरूलाई तलब खुवाउँदा बार्षिक साढे दुई करोड बढि खर्च हुने गरेको छ । उहाँले धेरैजसो विद्यार्थीहरूलाई विज्ञान विषय लागेको जानकारी दिनुभयो ।
रुपन्देहीका ११ विद्यालय शून्य
प्रदेशको उत्कृष्ट शैक्षिक क्षेत्रका रुपमा रहेको रुपन्देही जिल्लाकै ११ विद्यालयले शून्य नतिजा ल्याएका छन् । रुपन्देहीलाई शैक्षिक क्षेत्रमा मोफसलको उत्कृष्ट सहरका रूपमा चिनिन्छ । तर, यस जिल्लाको ११ वटा विद्यालयको नतिजा शून्य भएको शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका शाखा अधिकृत विष्णु बेल्वासेले जानकारी दिए । नमूना विद्यालयको रूपमा देशभरि नै कहलिएको बुटवलको कालिका मानविज्ञान माविकै नतिजा समेत खस्किएको छ । जहाँबाट ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य छ । ६ सय ७५ विद्यार्थीले परीक्षा दिएकोमा ७१ जना विद्यार्थी अनुतिर्ण रहेका छन् । सोही विद्यालयबाट सबैभन्दा बढी ३.९६ ल्याउने विद्यार्थी संख्या ६ जना छन् । जिपिए ३.४ देखि ३.६ ल्याउने विद्यार्थी संख्या ६६, जिपिए ३.२ देखि ३.४ सम्म ल्याउने विद्यार्थी २१२ जना, जिपिए २.८ देखि ३.२ ल्याउने विद्यार्थी १३८ जना छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले भने यो नतिजालाई सन्तोषजनक भएको दावी गर्नुभयो । “देशभरकै नतिजा खस्किएको अवस्थामा छ”, उहाँले भन्नुभयो, “त्यो तुलनामा हामीले ल्याएको नतिजा सन्तोषजनक छ ।”
बर्दियामा सात विद्यालयको नतिजा शून्य
बर्दियामा सातवटा विद्यालयको एसइई नतिजा शून्य छ । बाँसगढी नगरपालिकाको जनता मावि बेलवा, लक्ष्मी मावि, जनता मावि बठुवा, पृथ्वी माविको नतिजा शून्य छ । त्यस्तै, बढैयाताल गाउँपालिकाको जगदम्बिका मावि, बारबर्दिया नगरपालिकाको अमर सहिद दशरथ चन्द मावि र गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश माविको नतिजा शून्य छ । जनता मावि बेलवामा ११२, नेपाल राष्ट्रिय गणेश माविमा १०९, लक्ष्मी माविमा ८२, जनता मावि बठुवाबाट ५३, अमर सहिद दशरथ चन्द माविबाट ४७ जनाले एसइई दिएका थिए । त्यस्तै जगदम्बिका मावि शान्तिपुरबाट २१ जना तथा पृथ्वी मावि लखनाबाट ३४ जनाले एसइई परीक्षा दिएका थिए ।
लुम्बिनीमै खस्कियो नतिजा
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार लुम्बिनीमा बढी अनुतिर्ण भएका छन् । परीक्षामा सहभागीमध्ये ४९ हजार २ सय २४ जना विद्यार्थी ‘एनजी’ भएका हन् । लुम्बिनीबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागि थिए । लुम्बिनीमा केही विद्यार्थी कम उतिर्ण भएपनि देशभरकै नतिजा खस्किएको शिक्षाविज्ञ विष्णुप्रसाद आचार्यले बताउनुभयो । मुलुकको नीति, अस्थिरताजस्ता कुराले शिक्षामा असर गरिरहेको उहाँको भनाई छ । ‘विगतमा अनुगमनको पाटो सशक्त थियो, परीक्षा प्रणाली राम्रो थियो’, उहाँले भन्नुभयो, ‘त्यसले गर्दा शिक्षक र विद्यार्थीमा जोस जाँगर थियो तर अहिले पठन सस्कृति हराईरहेकाले यो नतिजा आएको हो ।’ शिक्षकहरूले अनिवार्य १५ प्रतिशत विद्यार्थी उतिर्ण गराउनुपर्ने विगतको नीतिगत अभ्यास नै प्रभावकारी रहेको उहाँको भनाई थियो । त्यस्तै अहिले परीक्षा हलमा मोवाइल लगे पास भइन्छ, भन्ने विद्यार्थीमा मनोविज्ञान तयार भएकाले यस्तो समस्या निम्तिएको हुन सक्ने उहाँको भनाई छ ।
बिषय शिक्षक नहुँदा समस्या
विषय शिक्षकहरू नहुँदा विकट क्षेत्रका विद्यालयहरूमा यस्तो समस्या बढी देखिएको राप्ती गाउँपालिका ९ स्थित मावि रुपाकोटका प्रधानाध्यापक लक्ष्मण बुढाथोकीले बताउनुभयो । ‘हाम्रोमा ८/९ महिनादेखि गणितको विषय शिक्षक हुनुहुन्न”, उहाँले भन्नुभयो, “उहाँको ठाउँमा आविको शिक्षकले पढाउनुपर्ने अवस्था छ, त्यसले गर्दा नतिजा शून्य आएको हाम्रो समीक्षा छ ।” शिक्षक अभावमा यसरी नतिजा खस्किने गरेको छ । रुपाकोट माविमै पटक–पटक शिक्षकका लागि आवेदन आह्वान भए । तर, त्यहाँ आवेदन नपर्ने समस्या छ जसले गर्दा आधारभूत विद्यालयका शिक्षकले मावि कक्षा पढाउनुपर्ने अवस्था छ । त्यति मात्रै होइन, विकटका विद्यालयहरूमा शिक्षक जान समेत नमान्ने गरेको उहाँको भनाई छ । यदि त्यहाँ शिक्षकहरू गएपनि लामो समय बस्न नसक्ने समस्या रहेको राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास वि.क.ले बताउनुभयो । यो कुरालाई बंगलाचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीले पनि स्वीकार गर्नुभयो । विकट क्षेत्रमा अभिभावक र विद्यार्थीको चेतनास्तर त्यही प्रकारको हुने र शिक्षक उपलब्ध नहुने जस्ता समस्याले नतिजा खस्किने गरेको छ । लमहीस्थित मावि अमिलियामा शिक्षक अभावकै कारण नतिजा खस्किएको शाखा प्रमुख भवानी गिरीको तर्क छ । प्रस्तावित हुँदा केन्द्रले जनशक्ति नदिने र नगरपालिकाले जनशक्ति दिन नसक्ने अवस्था हुँदा आधारभूत विद्यालयको जनशक्तिले मावि चलाईरहेको उहाँले बताउनुभयो । त्यसले गर्दा नतिजा खस्किने अवस्था रहेको उहाँको भनाई छ । “विषयगत शिक्षक हुनुहुन्न, हाम्रो नियमित अनुगमन हुन सकेन”,उहाँले भन्नुभयो, “त्यसले गर्दा नतिजा खस्किएको अनुमान छ ।”
अभिभावकको चासो
अभिभावकहरूले विद्यालयको पढाईप्रति चासो नदिने खालका कुराले नतिजा बिग्रिने गरेको बंगलाचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीले बताउनुभयो । आफ्ना बालबालिकाको पढाईको अवस्था के छ ?, कसरी पढिरहेका छन् ?, शिक्षकहरुले कसरी पढाईरहेका छन् भन्ने कुराको मात्रै चासो दिन सके धेरै सुधार हुने उहाँको भनाई छ ।
विद्यार्थीमा रुची कम
विद्यार्थीहरूले पढाईप्रति रुची राख्नुपर्छ । विद्यार्थीहरूकै लागि अतिरिक्त कक्षाहरु लिने गरेको भएपनि त्यसअनुसार विद्यार्थीले ध्यान नदिएको रुपाकोट माविका प्रधानध्यापक बुढाथोकीले बताउनुभयो । आर्थिक अवस्था कमजोर, शिक्षाको महत्व बुझाईमा कमी, एसइई पास गरेर विदेश जानुपर्ने मनोविज्ञान बोकेकै कारण यसरी नतिजा खस्किएको उहाँको तर्क छ । अर्कोतर्फ कोभिडताका विद्यार्थीहरूले अहिले एसइई दिएकाले नतिजा खस्किएको उहाँ बताउनुहुन्छ । “अहिलेको ब्याच भनेको कोभिडताकाको ब्याच हो, विगतभन्दा कमजोर ब्याच थियो”,उहाँले भन्नुभयो, “त्यसले गर्दा नतिजा शून्य भएको हो ।” ब्याच नै कमजोर हुनु र प्रस्ताबित मावि भएकाले लमहीमा नतिजा कमजोर आएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताउनुभयो ।