स्थानीय सरकारको रोजगारी सिर्जना चुनावी नारा मात्र

महेश न्यौपाने/भरत विश्वकर्मा २०८१ कात्तिक राेल्पा

स्वदेशमा रोजगारी नपाउने भएपछि काम खोज्न विदेश जान वाध्य भएको रोल्पाली युवाहरूको दुखेसो छ । उनीहरु भन्छन्, स्थानीय सरकारहरूले गाउँमै रोजगारी सिर्जना गर्ने योजना बनाएको छैन । चुनावका बेला गुलिया भाषण गर्ने उनीहरू चुनाव जितेपछि चुपचाप लाग्छन् रोल्पा नगरपालिका १० का टिकाराम वली भन्छन् । म विगत १५ वर्ष देखी देश परदेश गरिरहेको छु, स्थानीय सरकार बनेपछि त गाउँमै रोजगारी सिर्जना होला भन्ने सोचेर केही समय यतै वसे तर पालिकाले उपलव्ध गराउने सामान्य अवसरहरूमा समेत पार्टीकरण हुन्छ थप रोजगारी सिर्जना त आकाशको फल भएको छ उनले भने । म मात्र हैन मेरा परिवारका ४ जना वैदेशिक रोजगारीमा आउने जाने गरिरहन्छौ वलीले भने ।

रोजगारी सिर्जना गर्ने भन्दै जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले रोल्पा नगर, एक घर एक रोजगारको नारा अघि सा¥यो । सो नारालाई कार्यान्वयन गर्न उसले नगरवासीहरूलाई प्राविधिक शिक्षा अध्ययन गराउने कार्यक्रम ल्यायो । कृषि, भेटरिनरी, ईन्जिनियरिङ लगायतका विषय पढ्न उसले वितेका ५ वर्षमा अघिल्लो आर्थिक बर्षसम्ममा ३ सय ४१ जना विद्यार्थीलाई छात्रबृत्ति दियो । यसबाट सिभिल ईन्जिनियरिङ तर्फ २ सय २५ जना, पशु विज्ञान तर्फ ५० जना, बालि विज्ञान तर्फ ३५ जना, सूचना प्रविधि तर्फ २८ जना, स्टाफ नर्स तर्फ २ जना र वन विज्ञान तर्फ १ जनाले लाभ पाए । यसका लागी उसले २ करोड २० लाख रुपैयाँ खर्च भयो । अघिल्लो आर्थिक वर्षसम्म ४६ जना दिक्षित भईसकेका भएपनि रोजगार पाउने निकै कम छन् । ‘हामीले पढाएकामध्ये कति रोजगारीमा छन् भनेर हेरेका छैनौ, थोरैले मात्र काम पाएका होलान, रोल्पा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कर्ण पुनले भने । रोल्पा नगरपालिका बाहेक जिल्लामा अन्य पालिकाहरूले रोजगारी सिर्जना गर्ने गरी ठोस कार्यक्रम अघि सार्न सकेका छैनन ।

रोजगारी नहुँदा जीविकोपार्जनका लागी भारत तथा खाडी मुलुक जाने युवायुवतीको चाप बढ्दै जान थालेको छ । विगतमा पुरुषहरू मात्रै विदेश जाने गरेकामा पछिल्ला वर्षहरूमा महिला पनि विदेश जान थालेका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ३ सय ५७ जनाले राहादानी लिएका थिए । यसरी राहादानी लिने मध्ये २ सय ५८ जना महिला थिए । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ४ सय ४१ जनाले राहादानी लिएकोमा ६ सय ९१ जना महिला थिए । आर्थिक वर्ष २०७९/०८० मा सात हजार ४ सय ७१ जनाले राहादानी लिएका थिए जसमा ५ हजार ९ सय ५९ पुरुष र १ हजार ५ सय १२ महिला थिए । आर्थिक वर्ष २०८०/०८१ मा पाँच हजार २ सय २७ जनाले राहादानी लिएका थिए । यसरी राहादानी लिने मध्ये पुरुष चार हजार ४ सय २६ र महिला १ हजार २ सय २७ जना थिए ।

विदेश जानुअघि तालिम दिने व्यवस्था भए पनि रोल्पाबाट विदेश जानेहरू मध्ये धेरै अदक्ष कामदारका रुपमा जाने र घरेलु एवम जोखिमपूर्ण काममा संलग्न हुने गरेको सुरक्षित आप्रवासन सेवा केन्द्र रोल्पाका प्रमुख शुकलाल घर्तीमगरले बताए । तालिम लिने रोल्पाली महिला झनै कम छन् । यस्तो तालिमका लागी आव २०७७/०७८ मा रोल्पाबाट १९ जनाले आवेदन दिएकोमा महिला १ जना मात्रै तालिम लिइन । आर्थिक वर्ष २०७८/०७९ मा १६ जनाले आवेदन दिएकोमा महिला २ जनाले तालिम लिए । वैदेशिक रोजगारीमा जानेहरूका लागी यो तालिम निकै महत्वपूर्ण रहेपनि श्रमिकहरूले भने यो तालिम लिदैनन घर्तीमगरले भने । कृषि र पशुक्षेत्रको व्यवसायिकरण मार्फत रोजगारी सिर्जना गर्ने काम थालेको भएपनि यसले अपेक्षाकृत सफलता पाउन नसकेको लुंग्री गाउँपालिका अध्यक्ष भरत थापाले बताए । रोजगारी सिर्जना गर्नका लागी कृषि र पशु क्षेत्रमा लगानी वढाईरहेका छौ परिणाम भने देखिन वाँकी छ अध्यक्ष थापाले भने । गाउँमा रोजगारी सिर्जना नहुदा वैदेशिक रोजगारीमा जानेको संख्या घटाउन सकिएको छैन थापाले बताए । बजेट नभएकाले रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाउन नसकिएको पनि उनले बताए । नागरिकलाई देशमै स्वरोजगार बनाउन पालिकाले विभिन्न उत्पादनमुलक कार्यक्रमलाई जोड दिएको, प्रत्येक वडाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको सुनिलस्मृती गाउँपालिका अध्यक्ष मनिराम वुढाथोकीको दाबी छ । थापाले दाबी गरेजस्तो उत्पादनमा युवाको आकर्षण भने देखिदैन । व्यवसायिक कृषिमा सम्लग्न एकाध युवाहरू पनि उत्पादित वस्तुले उचित बजार नपाउदा निरास भएर विदेशिने गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी पाउनै सकस

स्थानीय सरकारको उदासिनताले गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी भएको छैन । बेरोजगारी समस्याले जेलिएका रोल्पाली युवाहरू सुरुआतमा यो कार्यक्रम प्रति आशावादी देखिएका थिए । रोजगारीका लागी धेरैले आवेदन दिएपनि अवसर थोरै हुँदा यहाँका युवाहरूमा कार्यक्रमप्रति विश्वास घट्दै जान थालेको हो । यो कार्यक्रम रोल्पाका दश मध्ये चारवटा पालिकामा आर्थिक वर्ष २०७५/०७६ मा र ६ वटा पालिकामा २०७६/२०७७ मा शुरु भएको थियो । पोहर सालसम्म रोजगारी पाउन ५२ हजार ५ सय ३५ जनाले नाम दर्ता गराएका थिए । तीमध्ये १० हजार ५ सय ६ जना अर्थात् बीस प्रतिशत मात्रैले काम गर्ने अवसर पाए । यो रोजगारीका लागी आवेदन दिनेको करिब २० प्रतिशत मात्रै हो । सुचिकृत भएकाहरू सबैले काम पाएका छैनन् ।

तालिका १ : रोजगारीका लागी सूचिकृत भएका बेरोजगार र रोजगारीमा संलग्नहरूको विवरण
आर्थिक वर्षसूचिकृत बेरोजगाररोजगारीमा संलग्न संख्यारोजगारीमा संलग्न प्रतिशत
२०७५/०७६७७२९११८५१५.३३
२०७६/०७७८१६१२५३५३०.९३
२०७७/०७८८५३८२४९९२९.२६
२०७८/०७९१०००५२८७४२८.७५
२०७९/०८०११३०६११५११०.१८
२०८०/०८१९९९७८०२८.००
कुल जम्मा५२५३५१०५०६१९.९९
श्रोतः रोल्पाका पालिकाहरुको रोजगार सेवा केन्द्र

लुङ्ग्री गाउँपालिका ४ की बिरमा सुनारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि तीन पटकसम्म फाराम भरिन, काम पाउन सक्नेहरुको सूचीमा पनि तर उनले हालसम्म काम पाएकी छैनन् । सुनछहरी गाउँपालिका ३ का गामका नरजित कामी पनि रोजगारी पाइने आशामा २ पटक सुचिकृत भए । तर उनले पनि हालसम्म काम पाएका छैनन । अघिल्लो वर्ष वजेट नपुगेको भनेर काममा लगाएनन यस वर्ष के गर्छन हेरौ विकले भने । सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि बजेट कम आउने भएकाले सुचिकृत मध्ये थोरैले मात्रै काम पाउने गरेको वताउँछन । माग धेरै र वजेट कम हुदा कार्यक्रमलाई प्रभावकारी वनाउन नसकिएको अध्यक्ष पुन बताउँछन् । हरेक वर्ष रोजगारीमा पुरानै मान्छे दोहोरिने जनगुनासो थियो त्यसलाई हामीले कडाइ गरेका छौ उनले भने । राजनीतिक आस्थाकै आधारमा रोजगारी दिने र रोजगारीबाट बञ्चित गरिएको पाइए पालिकामा उजुरी गर्न सकिने अध्यक्ष पुनको भनाई छ ।

यसरी सुचीकृत हुनेहरूले एक सय दिनको रोजगारी पाउँछन् । त्यस वापत उनीहरूले पालिकाबाट दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पाउँछन । कार्यक्रममा छनोट हुनका लागि वेरोजगार व्यक्तिहरूले वडा कार्यालयमा फाराम भरी वुझाउँछन् । वडा कार्यालयहरूले संकलन भएका फारमहरूको प्रारम्भिक छानविन गरी ती निवेदन रोजगार सेवाकेन्द्रमा पठाउँछन । रोजगार सेवा केन्द्रहरूले वडावाट प्राप्त फारमहरू स्थानीय निर्देशक समितिमा पेश गर्दछन । स्थानीय निर्देशक समितिहरूले फारमको छानविन गरी पालिकामा स्वीकृतीका लागी सिफारिस गर्दछन । कार्यपालिकाले बेरोजगार व्यक्तिको सूची स्वीकृत गर्दछन । रोजगार सेवाकेन्द्रले स्वीकृत सूचीका बेरोजगार व्यक्तिहरूको प्राथमिकता निर्धारण गरी सोको विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरिन्छ । आफ्नै खेतवारीको आम्दानी वा रोजगारीले तीन महिना पनि खान नपुग्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा दिइन्छ ।

तालिका २ : पालिका अनुसार आ.व २०७५/०७६ देखी २०८०/०८१ सम्म रोजगारीमा सूचिकृत र संलग्नहरूको विवरण
स्थानीय तहको नामसुचिकृत संख्यारोजगारीमा संलग्न संख्यारोजगारीमा संलग्न प्रतिशत
सुनिलस्मृती गाउँपालिका६५१५२८१४.३१
थवाङ गाउँपालिका२७२२६७४२४.७६
त्रिवेणी गाउँपालिका६७०८२१२४३१.६६
सुनछहरी गाउँपालिका४०१२७९११९.७१
रोल्पा नगरपालिका६८५४१८४७२६.९४
माडी गाउँपालिका४५०९६९८१५.४८
परिवर्तन गाउँपालिका७१४६१२२९१७.१९
लुंग्री गाउँपालिका५२१५८६९१६.६६
गंगादेव गाउँपालिका४७४५१२३९२५.९
रुन्टीगढी गाउँपालिका४१०९७५४१८.३४
कुल जम्मा५२५३५१०५०६ 
स्रोत : सम्बन्धित पालिका

Sharing is caring!