खोज पत्रकारिताका लागि नेपाल उर्वर भूमि बन्दै गएको छ । राज्यका संयन्त्रहरू खुकुलिंदै गएको र नियम–कानून मिच्न सक्नुलाई नै पद, शक्ति एवं प्रभुत्वको मापदण्ड मानिन थालेको वर्तमान धरातलीय यथार्थका बीच खोज पत्रकारिताका निम्ति विषय खोज्न भौंतारिनुपर्ने अवस्था छैन । एउटा विषय खोज्न चाहँदा दशवटा विषय तँछाडमछाड गर्दै हाजिर हुन आइपुग्छन्; आशिकों की कमी नहीं गालिब, एक ढूँढो हजार मिलते हैं भने झैं । र, यो बेथितिमा रजगज गर्नेहरू जति शक्तिशाली र तिनको संजाल जति व्यापक भए पनि देश तथा समाजलाई घात गर्नेहरूले उन्मुक्ति पाउनुहुँदैन भनेर सूचना चुहाउनेहरूको अकाल नभएकाले अलिकति नैतिक दृढता, साहस र लगनशीलता हुने हो भने खोज पत्रकारिता गर्न त्यति असजिलो पनि छैन ।
भूमि उर्वर भए पनि खोज पत्रकारिताको बाली भने त्यस अनुरूप लाग्न सकेको छैन । खासगरी विषयवस्तु बारेको अस्पष्टता, कार्यप्रक्रियाको अज्ञान वा अल्पज्ञान र काम गर्ने वातावरणको कमी यसको अवरोधका रूपमा देखिएका छन् । खोज पत्रकारिता केन्द्र (खोपके) डेढ दशकदेखि यस्तै अवरोधलाई कम गर्दै तालीम, अभ्यास, फेलोशिप, छलफल, प्रकाशन आदिका माध्यमबाट नेपालमा खोज पत्रकारितालाई अघि बढाउन क्रियाशील रहँदै आएको छ । यसै क्रममा खोज पत्रकारिता के हो र कसरी गर्ने भन्नेबारे एक दशकअघि, २०५८ सालमा ‘खोज पत्रकारिता’ नामक पुस्तक प्रकाशित गरेको थियो भने खोज पत्रकारिताको अवधारणा, उद्देश्य र कार्यशैलीबारे थप गहिराइतफ डो¥याउने ध्येयले यो पुस्तक तयार पारिएको हो ।
खोज पत्रकारिताको अध्ययन, अभ्यास र प्रशिक्षण तीनै पक्षतर्फ गहिरो दखल राख्ने मोहन मैनालीको कलमले यस पुस्तकलाई उपयोगी मात्र होइन, रोचक पनि बनाएको छ । नेपाली पत्रकारिताको सेरोफेरोबाट घतलाग्दा उदाहरण प्रस्तुत गर्दै तिनको माध्यमबाट विषयवस्तुका केस्रा केलाउने क्रममा उनी पाठकलाई कुत्कुत्याउँछन्, हँसाउँछन्, छड्के व्यंग्यको प्रयोगले ठाउँठाउँमा खुत्रुक्कै पार्छन्, थाहै नपाई गम्भीरबनाउँछन् र कुराको चुरो सहजै छर्लंग पारिदिन्छन् । सैद्धान्तिक गफ रपण्डित्याइँको वमन–वेदान्त अनि कटपेस्ट–मास्टरी दुवैसँग गोरु बेचेको साइनो पनि राख्न नरुचाउने मैनालीले खोज पत्रकारिताको अवधारणा, विषय छनोट, स्टोरीको तयारी, सूचना–सामग्री संकलन र प्रस्तुतिबारे आफ्नो ज्ञान, अनुभव र ‘अब्जर्भेशन’ को सार खिचेर पुस्तकलाई स्वादिलो एवं सुपाच्य बनाइदिएका छन् । साथै हामी खोज पत्रकारिता ‘कसरी’ र ‘कस्तो’ गरिरहेका छौं भन्ने ताजा नमूना समेत राखिदिएरसिद्धान्त र व्यवहारबीचको दूरी एवं निकटता पहिल्याउन पनि सजिलो पारिदिएका छन् । खोज पत्रकारिता बुझ्न–गर्न चाहने र गरिरहेका पत्रकारहरूका लागि पुस्तक असल मार्गदर्शक बन्ने कुरामा हामी विश्वस्त छौं । यसनिम्ति खोपके मोहन मैनालीप्रति हार्दिक आभार व्यक्त गर्दछ । साथै पुस्तक प्रकाशनमा सहयोग पु¥याउने फाउन्डेसन ओपन सोसाइटी (OSI-ZUG) स्वीट्जरल्याण्डप्रति धन्यवाद ज्ञापन गर्दछ