नेपाल परिचय

नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपालमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता रहेका छन् । यिनै विविधताले नै नेपाललाई विश्वमै पृथक एवं मौलिक पहिचानका रुपमा स्थापित गरेको छ । विश्वमा नेपाल सगरमाथाको देश, भगवान गौतमबुद्धको देश, वीरहरूको देश, शान्तिको भूमि, मन्दिरै मन्दिरको देशका नामले पनि चिनिन्छ । विश्व सम्पदा सूचिमा नेपालका दश स्थान समावेश छन् । ती ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय, राष्ट्रिय निकुञ्ज अन्तर्गतका सम्पदा हुन् । नेपाल एक विविधताले भरिपूर्ण सुन्दर देश हो । नेपालमा हिमाल, पहाड र तराईको भौगोलिक समिश्रण छ भने संस्कृतिमा पनि उत्तिकै विविधता छ, त्यो विविधतामा एकता छ । समयक्रमसँगै नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक आदि पक्षहरुमा परिवर्तन र सुधार हुँदै गएको र नेपालको स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता थप मजबुत बन्दै नागरिक हक हितको रक्षा मार्फत “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा हाँसिल गर्नमा थप योगदान हुनेछ ।