प्राकृतिक अथवा मानव सिर्जित विपत्ति र त्यसबाट मानिस, समुदाय र देशमा परेको असरलाई
सुसूचित र सन्तुलित ढंगले रिपोर्टिङ गर्न पत्रकारलाई सहयोग पुगोस् भनेर यो किताब तयार गरिएको हो । यसमा रिपोर्टिङका लागि पत्रकारले अपनाउनुपर्ने विधिका साथै मानवतावादी सहयोग गर्ने मुख्य संस्थाका कार्यक्षेत्र, भूमिका र कार्यशैलीका बारेमा उल्लेख गरिएको छ ।
यहाँ पत्रकारले आप्mना कामका सिलसिलामा उपयोग गर्न मिल्ने जानकारी, सल्लाह, उदाहरण र
स्रोतसाधन दिइएका छन् । यिनको उपयोग गरेर पत्रकारले विपत्तिबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले असर परेका आप्mना अडियन्स अथवा विपत्तिले पारेका असर घटाउन फिल्डमा काम गरिरहेका व्यक्ति वा नीति निर्मातालाई उपयोगी सूचना दिन सक्छन् । उनीहरूले सही र पूर्ण सूचना बेलैमा पाएका खण्डमा मानिसको ज्यान बच्न सक्छ, मानिसको दुःख घट्न सक्छ ।
विपत्ति आएका बेलामा रिपोर्टिङ गर्दा तत्कालको संकटमा मात्र ध्यान दिने चलन छ । संकटको
बृहत् परिदृश्य बताउने चलन त्यति छैन । ठूला विपत्तिका बारेमा रिपोर्टिङ गर्दा विपत्तिका इतिहास, विश्लेषण, त्यससँग सम्बन्धित शैक्षिक जानकारी, आप्mनो अनुसन्धानबाट प्राप्त जानकारी र अनुभव समेत समेट्नुपर्छ । सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, राष्ट्रसंघीय निकाय, स्थानीय संस्था, प्रभावित समुदाय लगायतका थरीथरीका स्रोत र सरोकारवालाबाट जानकारी लिनुपर्छ ।
विपत्ति आइलागेका बेलामा पत्रकारको भूमिका संकटको विवरण टिप्ने र प्रस्तुत गर्नेमा मात्र सीमित हुनुहुँदैन । आप्mनो काममा प्रतिबद्ध र जिम्मेवार रिपोर्टरले वास्तविक अवस्थाको चित्रण गरिदिन्छ जसले गर्दा आम मानिसले ज्ञान पाउँछन् । यो पत्रकारको सामान्य भूमिका भयो । पत्रकारले योभन्दा ठूलो भूमिका निभाउनुपर्छ । त्यो होः संकटमा परेका मानिसले भोग्नुपर्ने जोखिम, खतरा र उनीहरूका लागि उपलब्ध सहयोग सम्बन्धी उपयोगी जानकारी संकलन गरी प्रचारप्रसार गर्नु जसले गर्दा विपत्तिमा परेका मानिसलाई फाइदा पुग्छ ।
नेपालले मानव निर्मित र प्राकृतिक दुवै खालका मानवीय संकट भोग्नुपरेको छ । नेपालले तिब्बती
र भुटानी शरणार्थीलाई शरण दिएको छ । द्वन्द्वका बेलामा आप्mनै देशभित्रका नागरिक घरबारविहीन भएको पीडा भोगेको छ ।
अहिले नेपालले भोग्नुपरेको ठूलो भुइँचालो जस्ता प्राकृतिक विपत्तिमा धेरै मानिसको ज्यान जान्छ, ठूलो मात्रामा विनाश हुन्छ । सञ्चार माध्यमले राजनीतिक र मानवीय संकटका विषयमा रिपोर्टिङ त गर्छन् तर यस्ता विपत्ति र तिनले पार्ने प्रभावका बारेमा रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा पत्रकारले उति तालिम पाएका हुँदैनन् ।
पत्रकारको रिपोर्टिङ क्षमता बढाउनु र यस्तो खालको रिपोर्टिङ गर्दा आइपर्ने जटिलताका बारेमा उनीहरूको ज्ञान बढाउनु जरूरी छ । यसो भएका खण्डमा आपतकालीन सहयोगका बारेमा गरिने
रिपोर्टिङ प्रभावकारी हुन्छन् ।