सवारी दुर्घटनामा बाघ मरेको भाइरल फोटोको तथ्य यस्तो छ

किरण कौशल, उमेश श्रेष्ठ

अन्तर्राष्ट्रिय पुरस्कार ह्विटली अवार्डबाट समेत सम्मानित भइसकेका नेपाली संरक्षणविद्  सोनाम ताशी लामाले मंगलबार बिहान एउटा फोटो ट्विट गरे।

फोटोमा एउटा पाटे बाघ सडकमा पल्टिरहेको देखिन्छ। बाघको टाउको छेउमा रगत देखिन्छ। सडकमा केही दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन पनि देखिन्छ। लामाले फोटोसँगै ट्विटरमा फोटो स्पिक्स अर्थात् फोटो बोल्छ लेख्दै ठाउँ बाँके राष्ट्रिय निकुञ्ज रहेको र फोटो क्रेडिट सोही निकुञ्जलाई दिएको देखिन्छ।

तर हाम्रो तथ्य जाँचमा यो फोटो बाँके राष्ट्रिय निकुञ्जको नभएको भेटियो।

कसरी भयो भाइरल ?

संरक्षणविद् लामाले २०२२ जुलाई २६ बिहान ७ बजेर ५० मिनेटमा गरेको ८ घण्टामा २८ पटक रिट्विट, १३ पटक कोट ट्विट र ४१ लाइक भएको देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क।

यो फोटो नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइन संस्करणमा पनि २०७९ साउन ९ गते सोमबार प्रकाशन भएको देखिन्छ।

‘बाँके राष्ट्रिय निकुञ्जमा एक वर्षमा ४० वन्यजन्तु सवारीसाधनको शिकार’ शीर्षकको समाचारमा राखिएको यो फोटोमा ‘तस्बिर सौजन्य : बाँके राष्ट्रिय निकुञ्ज’ लेखिएको छ।

हेर्नुस् अर्काइभ लिङ्क।

नयाँ पत्रिकाको फेसबुक पेजमा सेयर गरिएको यो समाचारमा २१ घण्टामा ३ सय भन्दा बढी रियाक्सन, २३ कमेन्ट र सात सेयर देखिन्छ।

नेपालगञ्जबाट सञ्चालित गोचालीखबरमा पनि ‘सडकमा असुरक्षित बाँके निकुञ्जका वन्यजन्तु’ शीर्षकको समाचारमा यही फोटो ‘सौजन्यः बाँके राष्ट्रिय निकुञ्ज’ लेखी प्रकाशन गरेको देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क।

के हो तथ्य ?

बाँकेको नेपालगञ्जमा बसेर पत्रकारिता गरिरहेका  शंकरप्रसाद खनालले भाइरल फोटो बाँके निकुञ्जको नभएको जानकारी दिए। ‘खासमा यो बाघ बाँकेमा मरेकै थिएन’, उनले भने।

नयाँ पत्रिकाको समाचारमा पनि चरिबाघ मरेको उल्लेख छ पाटेबाघ होइन। समाचारमा बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत शेरबहादुर थापालाई उद्‍धृत गर्दै एक वर्षमा सडक दुर्घटनामा ४० वन्यजन्तुको मृत्यु भएको जसमा पाँच चित्तल, १० बाँदर, सात बँदेल, चार रतुवा र तीन चरिबाघ भएको उल्लेख छ।

खनालले फोटो पर्सा राष्ट्रिय निकुञ्जको भएको जानकारी दिए।

उनले दिएको जानकारीका आधारमा खोज्ने क्रममा नागरिक दैनिकमा २०७७ पुस २५ गते शनिबारको अङ्कमा उपेन्द्र लामिछानेको बाइलाइनमा कसले कसको बाटो काट्यो शीर्षकमा प्रकाशित समाचारमा यो फोटो भेटियो। समाचारमा यो घटना पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्डको भएको उल्लेख छ।

हेर्नुस् उक्त दिन प्रकाशित नागरिक दैनिकको इपेपरको अर्काइभ

हामीले पत्रकार उपेन्द्र लामिछानेसित यो फोटोको बारेमा थप जानकारी माग्यौँ। उनले भने, ‘यो फोटो बाँकेको होइन, पर्साको हो। इश्वी संवत् अनुसार न्यु इएर २०२१ मनाएर हामी पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगञ्ज-पथलैया सडक खण्डमा गाडीमा जाँदै थियो। बिहानको समय थियो। ट्राफिक जाम भइरहेको थियो। के रहेछ भनेर बुझ्दा बाघलाई हानेको रहेछ। त्यसपछि गाडीबाट झरेर मोबाइल ग्यालेक्सी एस नाइन प्लसबाट त्यो फोटो खिचेको थिएँ।  फोटो खिच्ने क्रममा मलाई सुरक्षाकर्मीले बाघ मरिनसकेको भएकोले धेरै नजिक नजानू भनेका थिए।’

नागरिक दैनिकको सहप्रकाशन रिपब्लिकाको सप्लिमेन्ट माइसिटीमा पनि यो फोटोको क्रेडिट आफ्नो नाममा दिएर प्रकाशन भएको उनले जानकारी दिए।

हामीले खोज्ने क्रममा हाल भाइरल भएको रगत छोपिएको फोटो माइरिपब्लिकामा जुलाई २९, २०२१ मा प्रकाशन भएको भेट्टायौँ। अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

बाघको मृत्यु भएको समाचार हामीले अरु स्रोतमा पनि भेट्टायौँ। बीबीसी नेपालीमा २०२१ जनवरी २ मा प्रकाशित समाचारमा ‘शनिवार बिहान हेटौँडा-पथलैया सडक खण्डमा एउटा झन्डै १० वर्षको पोथी बाघको कारको ठक्करबाट मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन्’ लेखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क। 

त्यसैगरी अन्नपूर्ण पोस्टमा पनि २०७७ पुस १८ गते कारको ठक्करबाट बाघको मृत्यु शीर्षकमा समाचार प्रकाशित छ। त्यसमा लेखिएको छ-त्रिभुवन राजपथअन्तर्गत निकुञ्ज क्षेत्रमा पर्ने बाराको पथलैया-अमलेखगञ्ज सडकखण्डको आधाभार नजिकको जंगलमा कारले ठक्कर दिँदा पोथी पाटे बाघको मृत्यु भएको हो। हेटौंडाबाट सर्लाही जाँदै गरेको बा१६च ८११ नम्बरको कारको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेको बाघको केही समयमै मृत्यु भएको थियो। हेर्नुस् अर्काइभ लिङ्क। 

तथ्य जाँच

दावी : सडक दुर्घटनामा बाघ मारिएको फोटो बाँके राष्ट्रिय निकुञ्जको हो।

दावी गर्ने : संरक्षणविद् सोनाम ताशी लामा, नयाँ पत्रिका, गोचालीखबर।

तथ्य : भ्रामक सूचना । भाइरल भएको फोटो बाँके राष्ट्रिय निकुञ्जको नभएर पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत अमलेखगन्ज-पथलैया सडक खण्डमा २०७७ पुस १८ गते भएको दुर्घटनाको हो।

नेपाल: तथ्यजाँच संगको सहकार्य

Sharing is caring!