अक्सिजन विहीन स्वास्थ्य संयन्त्र

न सरकार देखियो, न नागरिक समाज

कृष्ण मल्ल २०७८, वैशाख बुटवल

घटना १

बुधबार बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमण भएका ५ जनाको ज्यान गयो । उनीहरु अक्सिजनको सहयोगमा उपचार लिइहेका थिए । आधा घण्टासम्म अक्सिजन आपूर्ति बन्द भएपछि ति बिरामीको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतम बताउँछन् । लुम्बिनी प्रदेशभरमा बुधबार मात्रै १४ जनाको ज्यान यही कारणले गयो । बुधबारैथप ६ जना कोरोना संक्रमित लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा बिते । उनीहरु उपचारका लागि आईसीयु र एचडीयू बेडको पालो पर्खेर बसेका थिए ।

घटना २

मंगलबार मध्यराति १२ बजे, रुपन्देही जिल्ला प्रशासन कार्यालयको गेटमा छटपटाउँदै, यताउता गर्दै थिए भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका कर्मचारी । अस्पतालमा दुई सय २० जना बिरामीले दुई घन्टापछि अक्सिजन नपाउने अवस्था आएपछि उनीहरु प्रशासनमा आएका थिए । रुपन्देहीका अक्सिजन उद्योगबााट अक्सिजन भर्न नपाएपछि अक्सिजन लिन चितवन पुगेको गाडीलाई चितवन प्रशासनले रोकिदिएपछि पहल गरिदिन भन्दै उनिहरु त्यहाँ पुगेका थिए । ‘रुपन्देही प्रशासनले कोटा तोकिदिएको छ, त्यही पनि आपूर्ति छैन । त्यसैले हामीले गाडी चितवन पठाएका थियौँ । तर, त्यहाँका सिडिओले बाहिर जिल्ला दिन मिल्दैन भनेर गाडी रोकिदिनुभयो । त्यसैले हाम्रा सिडिओलाई गुहार माग्न आएका हौँ,’ अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले भने ।

घटना ३

बुधबार नै लुम्बिनी प्रादेशिक अस्पतालका प्रमख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले सामाजिक सञ्जालमा लेखे, अस्पतालमा अक्सिजनको अभाव छ । अर्थ, पहुँच र बलले सक्नेहरुका घर घरमा भोलि चाहिएला नि भनेर “ब्याक अप“ को लागि सिलिन्डर थन्किएपछि र सामान्य अवस्थाका मान्छेलाई भनेर आइसोलेशनमा बसेकालाई सिलिन्डर पुर्याइदिने गाउँ पालिका÷नगरपालिकाको अभियानले पनि अस्पतालका आइ सी यू र एच डी यू मा अक्सिजनको अभाव भएको छ । अक्सिजनको बारेमा सबै बिज्ञ भएपछि के लाग्छ र ?

डा. खनालले अक्सिजन नभएर अस्पतालको उपचारमा अति नै समस्या आएपछि सामाजिक सञ्जालमा यस्तो गुनासो गरेको बताए ।

माथिका तीन वटा घटनालाई हेर्दा रुपन्देहीका अस्पतालहरुमा अक्सिजन नभएकालेकोरोना संक्रमितको उपचारमा परेको असरको आंकलन सजिलै गर्न सकिन्छ । तर यो अवस्थामा पनि अक्सिजन निरन्तर आपूर्ति गराउन सरकारी सयन्त्रले देखिने गरी काम गरेको देखिदैन । लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले अक्सिजनको माग, उत्पादन र वितरणमा तालमेल नमिल्दा अक्सिजन अभाव भएको बताउँछन् । उनले समय समयमा अघोषित रुपमा विद्युत लोड सेडिङ भएकाले पनि अक्सिजनको उत्पादनमा थप जटिलता देखिएको बताए । त्यसैगरी घरघरमा अक्सिजन राखेकाले बजारमा सिलिण्डर अभाव देखिएको पनि उनको भनाई छ । उनले कुल संक्रमितको कम्तिमा १५ प्रतिशतलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने प्रारम्भिक अध्ययनबाट देखिएको बताए । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा अहिले पनि १९ हजार ४ सय ९४ जना संक्रिय संक्रमित छन् ।

किन भयो त अक्सिजन अभाव ?

अभाव हुनुका धेरै कारणहरु हुन सक्छन् । त्यसमध्ये लुम्बिनी प्रदेशमा कमी हुनका केही कारणहरु यस्ता देखिएका छन् ।

घटनापछि मात्रै योजना

बैशाख १३ गते लुम्बिनी प्रदेस सरकारले बुटवल, नेपालगंज, दाङ र भैरहवामा अक्सिजन बेड बनाउन त्यहाँ रहेका कोभिड अस्पतालहरुलाई १ करोड ७५ लाख उपलब्ध गराउने निर्णय गर्यो । कोभिड १९ का बिरामी बढ्न गई अस्पतालमा बेडको अभाव भएपछि प्रदेश सरकारले अक्सिजन सहितको बेड बनाउन पहल गरेको प्रदेश सरकारले बताएको थियो । तर बिरामीका लागि कति अक्सिजन चाहिने हो ? बेडमा अक्सिजन कसरी र कहाँबाट उपलब्ध गराउने हो ? भन्ने तयारी भने प्रदेश सरकारले गरेको देखिएन । न त त्यसको तयारी के भइरहेको छ भनेर सोधी खोजी नै गर्यो ।

अर्कोतिर अक्सिजन नभएकाले संक्रमितको उपचार हुन नसकेको विषयमा लगातार समाचार प्रकाशित भएपछि मात्रै रुपन्देहीमा बुधबार अबेर सेनाको हेलिकप्टरबाट ४१ सिलिण्डर अक्सिजन झारियो ।ती अक्सिजन सिलिण्डर भैरहवाको भीम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाइ भरथेग गरिएको छ । रुपन्देहीका प्रजिअ अस्मान तामाङका अनुसार रुपन्देहीको उत्पादनले धान्न नसकेपछि तत्काल समस्या समाधान गर्न अक्सिजन सिलिण्डर ल्याइएको हो ।

बैशाख २३ गते बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजन सक्किने अवस्था आएपछि हारगुहार गरेको थियो । अस्पतालमा केही घण्टाका लागि मात्र पुग्ने अक्सिजन रहेको र अक्सिजन आइनपुगे उपचार सेवा प्रभावित हुने अस्पताल प्रशासनले जनाएको समाचार प्रकाशित भएपछि त्यसदिनलाई मात्रै अक्सिजनको व्यवस्थापन गरिएको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले २२ गते नै अक्सिजनका लागि पहल गरिदिन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिवलाईसमेत अनुरोध गरेका थिए । तर स्थानीय प्रशासन र प्रदेश सरकारले त्यसतर्फ पहल गरेको देखिएन ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार मात्रै घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिण्डर अस्पतालमा बुझाउन अनुरोध ग¥यो । त्यो पनि अक्सिजन नपाएर संक्रमितको ज्यान गएपछि ।

घर घरमा अक्सिजन सिलिण्डर, पालिका पालिकामा अक्सिजन सहितको आइसोलेसन

कोरोना संक्रमितहरु आफनै घरमा पनि बसिरहेका छन् । विभिन्न पालिकाहरुले घरघरमै अक्सिजन पुर्याउने अभियान चलाउनुका साथै अक्सिजन सहितको आइसोलेसन चलाएका छन् । यसले एकातिर नागरिकलाई सहज भएपनि अर्कोतिर अस्पतालमा रहेर उपचार गराइरहेका बिरामीका लागि भने अक्सिजन अभाव भएको छ ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनाल भन्छन्, घरघरमा अक्सिजन सिलिण्डर नराखौँ, पहिले अस्पतालमा अप्ठ्यारोमा परी उपचारमा रहेकालाई बचाउन अक्सिजन सिलिण्डर अस्पताल पुर्याउ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले पनि घर घरमा भोली चाहिएला कि भनेर सिलिन्डर राख्दा र पालिकाहरुले सिलिण्डर अभियान चलाउँदा अस्पतालका आइ सी यू र एच डी यू लाई अभाव भएको बताउँछन् । उनले अक्सिजन प्रयोग गर्ने तरिका नजान्दा घरमा आइसोलेसनमा रहेका बिरामीका लागि बढी अक्सिजन खर्च भएको हुनसक्ने बताए ।

अक्सिजन उद्योगमा अकस्मात चाप

लुम्बिनी प्रदेशमा रहेका अक्सिजन उद्योगबाट दैनिक करिब २ हजार ठूलो सिलिण्डर अक्सिजन उत्पादन भइरहेको लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा करिब १ हजार ४ सय ८० अक्सिजन सिलिण्डर अपुग हुने देखिएको प्रवक्ता पौडेले बताए ।

उनले कोरोना महामारीपछि एक सय प्रतिशत भन्दा बढी माग बृद्धि भएको हुदा उद्योगहरुले अक्सिजन पुर्याउन नसकेको बताए । अक्सिजनको माग बढेपछि केही दिन अघि मात्रै दाङको अक्सिजन उद्योग ६ बर्षपछि संचालन गरिएको थियो ।

महामारीमा राजनैतिक खिचातानी

कोरोना महामारीको पहिलो लहरको लक डाउन अघि नै स्वास्थ्य सम्बन्धि विभिन्न तयारी गरेको लुम्बिनी प्रदेश सरकार यस पटक भने चुपचाप जस्तै छ । गत बर्ष प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार बनाउने, स्थानीय सरकारलाई बजेट उपलब्ध गराउने, जिल्ला समन्वय समितिलाई क्रियाशिल गराउनेदेखि किसानलाई ढुवानी र उत्पादनमा सघाउने खालका कार्यक्रम संचालन गरेको थियो ।

तर अहिले भने प्रदेश सभामा रहेका दलहरु सत्ताको खेलमाअल्झिए । कोरोनाको दोस्रो लहरसँगै लुम्बिनी प्रदेशमा सत्तामा रहेको दलका साथै प्रतिपक्षमा रहेको दलले बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल बिरुद्द अविश्वासको प्रस्ताव दर्ता गर्यो । बैशाख १६ गते लुम्बिनी प्रदेशको रुपन्देहीमा निषेधाज्ञा दिइयो । सँगसँगै प्रदेश लुम्बिनी प्रदेश सरकारभित्रै मन्त्रिमण्डलमा रहेका दलहरु एकले अर्कालाई सिध्याउने खेलमा लागे । प्रतिपक्षी नेपाली काग्रेस, जनता समाजवादी पाटी र राष्ट्यि जनमोर्चा पनि सरकार गिराउने र टिकाउने खेलमा लागे ।

कहाँ छन् दल र नागरिक समाज ?

सरकारले कोरोना महामारीका समयमा स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरे पनि मापदण्ड उल्लखंघन गरेर राजनैतिक र सामाजिक कार्यक्रम भइरहे । अहिलेको महामारीका बेला सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसरी प्रतिक्रिया दिनेमा राजनैतिक दल र नागरिक समाजका प्रतिनिधीहरुको संख्या पनि कम छैन ।

तर त्यसरी सामाजिक सञ्जालमा देखिने दल र समाजका प्रतिनिधीहरु महामारी रोक्ने काममा भने खटिएकाछैनन् । यसले पनि कोरोना महामारीको उपचार र उपचारका लागि आवश्यक सामग्री जुटाउन समस्या परेको बताउँछन् बुटवलका स्थानीय हरिप्रसाद अर्याल । उनले आफ्नो कर्तव्य पूरा नगर्ने तर महामारीको समयमा साझा धारणा नबनाई सामाजिक सञ्जालमा सुझाव सल्लाह दिनुको अर्थ नहुने बताए । महामारीको समयमा सरकारको मात्रै मुख ताक्न नहुने उनको भनाई छ । महामारीमा साथ दिने हाम्रो पनि दायित्व हो बुटवल उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहेका अर्यालले भने, सरकारको मुख ताकेर मात्रै महामारीको पार लाग्दैन ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. खनाल पनि महामारीसँग जुध्नका लागि नागरिक सयन्त्र हुनुपर्ने बताउँछन् । उनले सरकार र अस्पतालको मात्रै मुख ताक्दा सानातिना समस्यामा आफुहरु अल्झिनुपरेको बताए । महामारीमा खटिएका स्वास्थ्कर्मीलाई हौसला दिदै काममा ठिक समयमा ठिक तरिकाले खटाउने समयमा बेड थप्नुपर्ने, अक्सिजनको व्यवस्थापन गर्नुपर्ने, सामग्री अभाव झेल्नुपर्ने अवस्था छ, यसले काम गर्ने ‘स्पीड’ मा ‘ब्रेक’ लाग्ने गरेको छ ।

भारतमा केही पहिलेदेखि कोरानाले जस्तो विध्वंश मच्चाएको थियो त्यस्तै विध्वंश नेपालमा मच्चिन्छ भन्ने निश्चित थियो । त्यसलाई रोक्न सक्ने एउटै मात्र प्रभावकारी उपाय थियो संक्रमण फैलन नदिनू । त्यसका लागि आवश्यक सजगता अपनाउन नागरिक समाज असफल भयो ।

के तयारी गर्दैछ त प्रदेश सरकार ?

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडलका अनुसार, अक्सिजन आपुर्तिका लागि प्रदेश सरकारले तीन वटा विकल्प अगाडी बढाएको छ । पहिलो, भारतबाट लिक्वूड अक्सिजन ट्यांक ल्याउने प्रक्रिया शुरु गरिएको छ । दोस्रो पर्सा, विराटनगरतर्फबाट अक्सिजन सिलिण्डर ढुवानी गर्न थालिएको छ । तेस्रो, नयाँ अक्सिजन प्लान्ट जडान गर्न समय लाग्ने हुँदा अस्पतालमा बिग्रीएर रहेका अक्सिजन प्लान्टलाई तिनलाई चलाउने काम गर्न लागिएको प्रवक्ता पौडेलले बताए ।

तर यीमध्ये कुनै काम सजिलो भन्ने बित्तिकै हुने देखिँदैन । ती काम भएर अक्सिजनको आपूर्ति भइञ्जेलमा कतिको ज्यान जाने निश्चित छ ।

Sharing is caring!