सीमाका स्थानिय सरकारसँग ज्वरो नाप्ने उपकरण समेत नहुँदा नाकामा हेल्थ डेस्क स्थापना हुन सकेका छैनन् । प्रदेश सरकारसँग आवश्यक ५ सय व्यक्तीगत सुरक्षण उपकरण (पीपीई) मध्ये २५ वटामात्रै उपलब्ध छ ।
रुपन्देहीको दक्षिणी नाका हो–रोहीणी गाउँपालिकास्थित भगवानपुर । भारतमा कोरोना संक्रमण देखिएसँगै स्थलमार्ग भएर आउने यात्रुहरुको स्वास्थ्य जाँच गर्न भगवानपुरमा एउटा हेल्थ डेस्क राखिएको छ । दैनिक ३ हजार जना मानिस ओहोरदोहोर गर्ने नाकामा राखिएको हेल्थ डेस्कमा विश्व स्वास्थ्य संगठनले भनेजस्तो व्यक्तिगत सुरक्षण उपकरण (पीपीई) त परै जाओस्, तापक्रम नाप्न ‘थर्मल गन’ समेत छैन । हेल्थ डेस्कको काम हात धुन र सचेत रहन सिकाउनेमा नै सिमित हुँदा स्वास्थ्य परिक्षणविना नै निर्वाध रुपमा आवतजावत भईरहेको छ । उता दक्षिणी छिमेकमा रहेको उत्तरप्रदेशमा भने हालसम्म २४ जनालाई कोरोना संक्रमण भईसकेको पुष्टी भएको छ ।
भारतसँगै जोडिएको रुपन्देहीकै मर्चवारी गाउँपालिकाको नाकामा त झन् हेल्थ डेस्क नै छैनन् । चहलपहल हुने खयराघाट, जोगियावाजी घाट, चन्नीघाट, जुर्मुहानघाटलगायतका नाकामा हेल्थडेस्क नहुँदा दैनिक करिब २ हजार जना मानिसहरु निर्वाधरुपमा आवतजावत गरिरहेका छन् । गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँ स्वास्थ्य परिक्षणमा खट्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि उपकरण तथा तापक्रम नाप्ने मेसीन नहुँदा हेल्थ डेस्क नै स्थापना हुन नसकेको बताउँछन् । मर्चवारीबाहेक रुपन्देहीका सम्मरीमाई गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिका सबै भारतसँग जोडिएका स्थानिय तहहरु हुन् । तर, यी स्थानिय सरकारहरुले सिमा नाकामा कुनै पनि हेल्थ डेस्क राख्न सकेका छैनन् ।
कोरोनाको सम्भावित संक्रमणलाई रोक्न सिमा नाकामा स्वास्थ्य जाँच हुनुपर्ने भएपनि यी स्थानीय सरकारहरु भने सचेतना र हात धुने जानकारीका लागि माईकिङमा मात्रै भर परेका छन् । यतिसम्म कि दक्षिण देहातका गाउँहरुमा स्थानिय सरकारले मास्क तथा स्यानीटाईजर अथवा सावुनसम्म पनि वितरण गरेका छैनन् । रोहिणी गाउँपालिकाले केही मास्क वितरण गरेपनि अन्य गाउँपालिकाले भने त्यतीसम्म पनि गर्न सकेका छैनन् । मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँ गाउँपालिकाले कोरोना संक्रमणका लागि सचेतनाका मात्रै कार्यक्रमहरु गरेको बताउँछन् । ‘माईकिङ र पम्पलेटहरु बाँड्ने कामहरु गरिरहेका छौं,’ उनले भने ।
त्यसो त सचेतनाका कार्यक्रमको प्रभावकारीतामा पनि प्रश्न उठेको छ । मर्चवारीका स्थानिय अगुवा पत्रकार राजकुमार धवल सिमामा रहेको त्यहाँका स्थानियहरुले कोरोना संक्रमणको जोखीम खटाउने कुनै पनि उपायहरु अवलम्बन नगरेको बताउँछन् । ‘विना कुनै स्वास्थ्य परिक्षण यहाँका स्थानियहरु सिमा वारपार गरिरहेका छन् । भिडभाड तथा हाटबजारहरु बन्द गरिएका छैनन् । न त स्थानीय सरकारहरुले कोरोनाको वास्तविक जोखिमका बारेमा नै स्थानीयहरुलाई बताएका छन्,’ उनले भने ।
कपिलवस्तुमा पनि बाक्लो आवतजावत हुने ३ वटा नाकाहरु छन् । कृष्णनगर, मर्यादपुर र चाकरचौडामा राखिएका हेल्थडेस्क स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरण र थर्मल गन नहुँदा निकम्मा बनेका छन् । नवलपरासीका महेशपुरबाहेकका अन्य साना नाकामा हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मल गन नै छैन । उपकरण त परै जाओस्, सिमानामा रहेका उनीहरुसँग प्रदेश र संघ सरकारले समन्वय नै नगरेको स्थानिय सरकारहरुको गुनासो छ । रोहीणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव कोरोना प्रतिरक्षा तयारीका लागि गाउँपालिका एक्लैले नसक्ने बताउँछन् । उनी हालसम्म यसबारेमा प्रदेश सरकारसँग कुनै पनि छलफल तथा अन्तरक्रिया नभएको बताउँछन् ।
‘पीपीई तथा स्वास्थ्य परिक्षणका लािग आवश्यक अन्य उपकरणसमेत हामीलाई दिईएको छैन । भएको विपद् व्यवस्थापन कोषबाट ३ हजार थान मेडिकल मास्क भने वितरण गरेका छौं । हामीले कोरोना संक्रमण फैलिन नदिन गरेको यति नै हो,’ उनि भन्छन्,‘जोखिम न्यूनीकरण गर्न संघीय र प्रादेशिक सरकारको सहयोग कुरीरहेका छौं ।’
प्रदेशमै पनि छैनन् उपकरण
सिमामा रहेका स्थानिय सरकारमात्र होईनन्, सिंगो प्रदेश ५ सरकार आवश्यक उपकरण बिना नै कोरोना प्रतिरक्षाको तयारीमा जुटेको छ । केही हप्ताभित्रै ३ सय ७० बेडसहित विभिन्न आईसोलेसन कक्ष तथा अस्पतालहरु सञ्चालनमा ल्याउने तयारीमा रहेको प्रदेश सरकारसँग जम्मा २५ वटा मात्रै व्यक्तीगत सुरक्षण उपकरण (पीपीई) छन् । मन्त्रालयका अनुसार प्रदेश सरकारले तयार गरेको आईसोलेसन बेडहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न ५ सय वटा पीपीईको आवश्यक पर्छ ।
चैत्र ८ गतेसम्म प्रदेश सरकारले १९ वटा नीजि र सरकारी अस्पताल गरेर १ सय १० वटा आईसोलेसन बेडहरु तयारी अवस्थामा राखेको छ । तीबाहेक रुपन्देहीको भिम अस्पतालमा ५ आईसियुसहितको ३० बेड, दाङको बेलझुण्डीको आयुर्वेदिक अस्पतालमा एक सय बेड, बाँकेको शुशील कोईराला क्यान्सर हस्पीटलमा ३० बेडको तयारी थालेको छ । भिम अस्पतालमा आईसोलेसन बेडहरु सञ्चालनको प्रक्रियामा छन् । बेलझुण्डीको आयुर्वेदिक अस्पतालमा चैत्र ८ देखि र बाँकेको क्यान्सर अस्पतालमा चैत्र ९ देखि आईसोलेसन बेड निर्माण सुरु भएको छ । त्यस्तै बुटवल उपमहानगरपालिकाको समन्वयमा बुटवलकै धागो कारखानामा सय बेडको कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरिएको छ । यी अस्पतालहरुमा कोरोनाका आशंका गरिएका र पुष्टी भईसकेका व्यक्तीहरुलाई मात्र राखेर उपचार गरिन्छ ।
स्वास्थ्य निर्देशनालय रुपन्देहीका प्रवक्ता रोशनलाल चौधरीका अनुसार तयार रहेका आईसोलेसन कक्षमा एक सिफ्टमा कम्तीमा दुई–दुई जनाको दरले मेडीकल अफिसर, स्टाफ नर्स, वार्ड ऐटेन्डेन्ट र सरसफाई गर्ने कर्मचारी रहने छन् । त्यस्तै आईसियुमा प्रति कक्ष एक सिफ्टमा एक कन्सल्टेन्ट चिकित्सक, दुई जना मेडिकल अफिसर, दुई जना स्टाफ नर्स, एक जना वार्ड एटेन्डेन्ट र सरसफाईै गर्ने कर्मचारी एक जना रहने छन् । यसरी हेर्दा हालसम्म तयार रहेका आईसोलेसन कक्षामा एक हजारभन्दा धरै स्वास्थ्यकर्मी तथा प्राविधिक टोली खटीनुपर्ने देखिन्छ । तर, सरकारसँग रहेको २५ वटा पीपीईले चिकित्सकहरुको सुरक्षामा नै चुनौती देखिने निश्चित छ । सरकारसँग रहेका पीपीईमा २५ वटा ईन्फ्रारेड थर्मो गन (ज्वरो नाप्ने मेसीन), १ हजार पञ्जा, ४० वटा एन–९५ मास्क र २ वटा मात्रै भाईरस ट्रान्सपोर्ट मिडियम अर्थात् भाईरसलाई ल्यावसम्म पु¥याउने माध्यम रहेको छ ।
हाललाई उपकरणहरुको कमी देखिएको भएपनि त्यसको जोहोमा प्रदेश सरकार जुटीरहेको स्वास्थ्य निर्देशनालयको तर्क छ । प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले आवश्यक उपकरणहरुको जोहो गरिरहेको बताउँदैं कोरोनाको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश सरकारको योजना सक्षम रहेको स्वास्थ्य निर्देशनालयको दावी छ । ‘हामीसँग उपकरणहरु निकै कम छन् । तर, अहिले कोरोना संक्रमित पनि देखिएका छैनन् । संक्रमित भेटीनुभन्दा अगावै उपकरणहरुको व्यवस्थापन भईसकेको हुनेछ,’ उनले भने ।
फोटो क्याप्सनः
बुटवलको धागो कारखानामा बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालन गर्न लागिएको आईशोलेशन कक्ष । तस्वीरः थाहाखबर
फोटो क्याप्सनः
कपिलवस्तुको तौलिहवास्थीत महेन्द्र आधारभूत विद्यालयमा बनाईएको क्वारेन्टाइनमा विना कुनै सुरक्षा कोरोना संदिग्ध व्यक्तीलाई जाँच गर्दै स्वास्थ्यकर्मी । तस्वीरः थाहाखबर