उपप्रमुखहरूको दावी अब प्रमुखमा

विमला चौधरी २०७९ वैशाख नेपालगञ्ज

अधिकांश उपप्रमुख महिलाहरूले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा प्रमुखको लागि दावी प्रस्तुत गरेका छन् ।

पाँच बर्षअघि बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा दावी गरेकी सुशिला गिरी महिला भएकै कारण उपमेयरमा सिमित हुनुपरेको तितो अनुभव सुनाउँछिन् । आगामीे निर्वाचनमा भने मेयरको उम्मेदार नछोड्ने उनको अडान छ । उपप्रमुख गिरी भन्छिन्, ‘महिलालाई उपप्रमुखको भूमिका दिनुपर्छ भन्ने कहिँ कतै छैन, तर महिलाहरू निर्णायक पदमा नेतृत्व गर्न सक्दैन् भनेर राजनीतिक दलहरूले उपप्रमुखमै सिमित राखे, यो भनेको पितृसतात्मक सोंच हावी हुनु हो ।’ पालिकाको जिम्मेवारी पाए सजिलै आफ्नो भूमिका निभाउन सक्ने उनको जिकिर छ । पाँच बर्षअघि नेपाली काँग्रेस पार्टीको तर्फबाट उपप्रमुखमा निर्वाचित हुन सफल गिरी केही दिन अघिमात्र नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।
बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले पहिलो स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रमुखमा दावी गरे पनि टिकट पुरुषले पाएको बताईन् । पार्टीले पाँच बर्षअघि दिएको आश्वासनअनुसार यसपटक प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा जुटिसकेको उनी बताउँछिन् । आफु १४ बर्षको हुँदा २०५३ सालमा भूमिगत भएर पार्टीमा निरन्तर सक्रिय रहँदै आएको बताउने दहित प्रमुख पदको टिकट पाउनेमा आफु विश्वस्त रहेको बताउँछिन्  । ‘अहिले पनि पार्टीले नेतृत्व नदिए कहिले पाउने ?, अब त पार्टीसँग लडेर पनि नेतृत्व लिन पछि पर्दिन’, उनले भनिन् ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर भने यसअघिको निर्वाचनमा आफ्नो ईच्छाअनुसार नै उपप्रमुखकोे अवसर पाएकोे बताउँछिन् । स्थानीय सरकार सञ्चालनको पहिलो अभ्यासको सुरुवात भएकाले उपप्रमुखमै दावी गरेँ । उनले भनिन्,‘पाँच बर्षसम्म धेरै अनुभव बटुलीसकें, अबको मेरो दावी मेयरको लागि हो ।’ उपमेयर भएपछिको अनुभव र क्षमताको हिसाबले महिलाहरूले मेयरको टिकट पाउन सके कानूनमा व्यवस्था भएअनुसार नेतृत्व विकास र महिला सहभागिताको कुराहरूलाई संस्थागत गर्न एउटा ईट्टा थपिने उनी बताउँछिन् । ‘मेरो उम्मेद्वारी अब मेयरमै हुन्छ’, नेपाली कांग्रेसबाट उपप्रमुख भएकी थापा भन्छिन् ।
खजुरा गाउँपालिकाको उपाध्यक्ष एकमाया बिकले पनि आगामी कार्यकालमा प्रमुखको लागि पार्टीमा निरन्तर लबिङ गरिरहेको बताइन् । महिलाहरू प्रमुख भएको स्थानीय तहहरू पुरस्कृत भएको उदाहरण दिँदै उपाध्यक्ष बिकले यो पक्षलाई मध्यनजर गर्दै राजनीतिक दलहरूले क्षमतावान महिलालाई प्रमुखको जिम्मेवारी दिनुपर्ने बताइन् । ‘महिलाहरू कमजोर होइनन्, महिलाको नेतृत्व स्वीकार गर्न नसकेर उनीहरूलाई पछाडी पारिएको हो,’ उप प्रमुखमा नदोहरीने बताउँदै एमालेबाट उपप्रमुख भएकी विकले भनिन्, ‘संविधानमा व्यवस्था भएअनुसार ४० प्रतिशत महिला नेतृत्व तहमा आउनैपर्छ । त्यस हिसाबले पनि मेरो उम्मेदवारी प्रमुखमा नै हुन्छ ।’

कोहलपुर नगरपालिकामा आधा दर्जन पुरुष आकांक्षीको बीचमा कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी थारुले यसपटक प्रमुखमा दावी गरेकी छिन् । नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्ने मनस्थितिका साथ उपप्रमुख थारु केही समय अगाडिदेखि नै तयारीमा जुटिसकेकी बताउँछिन् । ‘म मेयरको स्वभाविक दाबेदार हुँ, उपमेयर भएर मैले हासिल गरेको अनुभवले मलाई मेयर भएर काम गर्न अझ सहयोग गर्नेछ’, युवा नेतृ थारुले भनिन्, ‘उपमेयरका हैसियतमा मैले खेलेको भूमिकाको पार्टीले अवश्य मूल्यांकन गर्नेछ ।’
यसअघिको निर्वाचनमा पालिकाको प्रमुखमा सम्भावना नदेखेका कतिपय महिलाहरू वडा अध्यक्षको दावी गरेको बताउँछन् । तर, वडामा पनि राजनीतिक दलहरूले पुरुषलाई नै अगाडी सारेपछि पालिकाको उपप्रमुखमा चित्त बुझाउन बाध्य भएको उनीहरूको भनाई छ । दाङको लमही नगरपालिकाकी उपप्रमुख देवका वेलवासेले वडाध्यक्षमा टिकट नपाएर उपप्रमुखमा बस्न बाध्य भएको बताईन् । अब हुने निर्वाचनमा प्रमुखको दावी नछोड्ने उनको जिकिर छ । २०४६ सालदेखि नेपाली काँग्रेस पार्टीमा सक्रिय रहँदै आएकी वेलवासेले भनिन्, ‘क्षमता र पार्टीलाई दिएको योगदानको आधारमा पार्टीले मुल्यांकन गरेमा यसपटक मेयरको टिकट अवश्य पाउने छु ।’ यसरी गिरी, दहित, थापामगर, विक, थारु, वेलवासे मात्र होइनन्, अधिकांश उपप्रमुख महिलाहरूले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा प्रमुखको लागि दावी प्रस्तुत गरेका छन् ।
त्यसो त विगतमा महिला प्रमुखहरू भएको स्थानीय तहले गरेको कामको आधारमा पनि उपप्रमुखहरूको यो दावी जायज छ । लुम्बिनी प्रदेशमै एक मात्र पालिका प्रमुख महिला हुन् कुमारी बराल गौतम । नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी अध्यक्ष गौतमले पाँच बर्षको अवधिमा आफु कुशलतापूर्वक नेतृत्व गर्न सफल भएको बताइन् । ‘महिलाहरूलाई जिम्मेवारी दिएपछि पुरुषभन्दा दोब्बर राम्रो काम गरेर देखाउन सक्छन् भन्ने देशभरीका हामी १८ जना पालिका प्रमुख महिलाले पुष्टि गरिसकेका छौं,’ उनले भनिन्, ‘अब प्रमुख पदहरूमा महिलाहरू नेतृत्व लिनैपर्छ ।’ कोटा पुरा गर्न समावेशी, समानुपातिक तरिकाले केन्द्रमा, प्रदेशमा, स्थानीय तहमा महिलालाई उभ्याउने हिसाबले मात्र नभएर राजनैतिक दलहरूले महिलालाई प्रत्यक्ष निर्वाचन प्रर्णालीमा सहभागी गराउनुपर्ने गौतमको भनाई छ । पार्टीले अवसर दिए आफु फेरी अध्यक्षमा दोहरिने पनि उनले बताइन् ।

फेरी दोहरिने चाहना

कतिपय उपप्रमुख महिलाहरूले चाहिं फेरी पनि उपप्रमुखमै दोहोरिने आकांक्षा पनि देखाएका छन् । ‘अध्यक्षमा पुरुषहरूकै तछाँडमछाड छ, महिलालाई अवसर दिदैनन्’, दाङको राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले भनिन् । उनले अध्यक्षमा अवसर नदेखेर आगामी निर्वाचनमा पनि फेरी उपाध्यक्षमा दावी गर्ने बताईन् । नेपाली काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित यादवले भनिन्, ‘महिलाले अध्यक्षको टिकट पाउने सम्भावना पनि छैन, पहिलो पाँच बर्षे कार्यकालमा कोभिडका कारण राम्रोसँग काम गर्न पनि सकिएन, अब फेरी उपाध्यक्ष हुने अवसर पाएँ भने अधुरा योजना आफैले सम्पन्न गर्नेछु ।’
नेपाली काँग्रेसबाट निर्वाचित बाँकेको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री पनि पार्टीले फेरी उपाध्यक्षको टिकट दिएमा सहजै स्वीकार्ने बताउँछिन् । उनी भन्छिन्, ‘पाँच बर्षमा गरिएका कामको समिक्षा गर्दै अर्को कार्यकाल फेरी उपाध्यक्ष भएर अधुरा योजनाहरू अझ राम्रो ढंगले सम्पन्न गर्ने ईच्छा छ ।’ उपाध्यक्ष पछि अध्यक्षमा दावी गर्नु स्वभाविक भएपनि वर्तमान अध्यक्ष फेरी अध्यक्षमै दोहरिन चाहेकाले आफुले पनि उपाध्यक्षमै रहन खोजेको उनले बताइन् । ‘हामी दुबैजनाले दोस्रो कार्यकालमा उही पदमा दोहरिन चाहेका छौं,’ उपाध्यक्ष खत्रीले भनिन् ।
नवलपरासी सुस्ता पश्चिम, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले पनि फेरी पुरानै पदमा दोहरिन चाहेको बताईन् । ‘हाम्रो कार्यकालमा कोभिड महामारी पनि आयो, पहिलो अभ्यास भएकाले सिक्दा सिक्दै समय बित्यो,’ उनले भनिन्, ‘अब त्यही अनुभवका आधारमा अर्को कार्यकालमा अझ राम्रो काम गरेर देखाउनु छ । आफुले थालेका धेरैजसो योजना अधुरै रहेको र फेरी उपाध्यक्षमा दोहरिएर काम गर्ने ईच्छा भएकाले योभन्दा माथिको पदका लागि सोचेकी छैन ।’

वडा सदस्यहरू वडा अध्यक्ष र उप प्रमुखको दाबेदार

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ की वडा सदस्य इन्दिरा शाही आगामी निर्वाचनमा वडा अध्यक्षको दाबेदार हुन् । वडा सदस्य हुँदा सबैभन्दा सक्रिय भएर काम गरेकाले कयौं पटक अध्यक्ष नभएको समयमा कार्यबहाक वडा अध्यक्षको जिम्मेवारीमा काम गरिसकेको उनको अनुभव छ । अब कार्यकारी पदमा आएर नमूना वडा बनाउने लक्ष्य रहेको उनी बताउँछिन् । पहिलो निर्वाचनमा राप्रपाबाट चुनाव जितेकी शाहीले आगामी निर्वाचनमा वडा अध्यक्षको टिकट पाउने कुरामा आफु विश्वस्त रहेको बताइन् ।
कतिपय वडा सदस्य महिलाहरूले सिधै पालिका उपप्रमुखमा दावी गरेका छन् । राप्ती सोनारी गाउँपालिका–८ की वडा सदस्य तारा वि.क, नैनी खत्री तथा वडा नम्बर –९ की वडा सदस्य मिना विष्टले पालिकाको उपाध्यक्षमा दावी गरेका छन् । यसअघि नेपाली काँग्रेसबाट वडा सदस्यमा निवाचित भएका तिनै जना आगामी निर्वाचनमा उपाध्यक्ष बन्ने दाउमा छन् । वडा अध्यक्षमा धेरै पुरुषहरू अगाडी सरेको र पार्टीले पनि महिलालाई टिकट दिने सम्भावना नदेखिएकाले गाउँपालिका उपाध्यक्षमा दावी गरेको उनीहरूको भनाई छ ।
पालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा संविधानले महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी जम्मा १०९ स्थानिय तहमा हाल एक जना महिला मात्र प्रमुखको जिम्मेवारीमा छन् । लुम्बिनी प्रदेशमा रहेका ७३ गाउँपालिकामा ७२ जना पुरुष अध्यक्ष र एक जना मात्रै महिला अध्यक्ष छन् भने उपाध्यक्षमा ४ जना पुरुष र ६९ जना महिला रहेका छन् (विस्तृत विवरणको लागि हेर्नुस तालिका १) । यस प्रदेशमा रहेका ४ उपमहानगरपालिका र ३२ वटा नगरपालिका सबैको प्रमुखमा पुरुष रहेका छन् भने उपप्रमुखमा महिला ३१ जना र पुरुष ५ जना रहेका छन् (विस्तृत विवरणको लागि हेर्नुस् तालिका २) ।

तालिका १ः लुम्बिनी प्रदेशमा लैगिंक आधारमा अध्यक्ष र उपाध्यक्षको अवस्था

राजनैतिक पार्टीपुरुष अध्यक्षमहिला अध्यक्षपुरुष उपाध्यक्षमहिला उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी -(निर्वाचन हुँदाको नेकपा एमाले र माओवादी केन्द्र)४०४४
नेपाली कांग्रेस२४ १८
संघीय समाजवादी फोरम नेपाल  
राष्ट्रिय जनमोर्चा  
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक   
राष्ट्रिय प्रजातन्त्र पार्टी   
नयाँ शक्ति पार्टी   
स्वतन्त्र   
जम्मा७२६९
स्रोतः निर्वाचन आयोग

तालिका २ः लुम्बिनी प्रदेशमा लैगिंक आधारमा मेयर र उपमेयरको अवस्था

राजनैतिक पार्टीप्रमुख  पुरुषउपप्रमुख  पुरुषउपप्रमुख महिला
नेपाल कम्युनिष्ट पार्टी -(निर्वाचन हुँदाको नेकपा एमाले र माओवादी केन्द्र) २३२०
नेपाली कांग्रेस१०१०
संघीय समाजवादी फोरम नेपाल  
स्वतन्त्र  
राष्ट्रिय प्रजातन्त्र पार्टी  
जम्मा३६३१
स्रोतः निर्वाचन आयोग

Sharing is caring!