आचारसंहिता उल्लंघन भएपनि उजुरी पर्ने र स्पस्टीकरण सोध्ने कार्य मात्रै हुने गरेको छ, थप कारवाही भएको छैन ।
गएको कात्तिक १५ गते नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वली र ३ (२) का उम्मेदवार हुकुम बस्नेत पढाई भइरहेको दाङको एक विद्यालयमा पुगे । निर्वाचन आचारसंहिता परिच्छेद २ दफा ४ को उपदफा ‘ग’ अनुसार विद्यालय क्षेत्रको प्रयोग गरि निर्वाचन सम्बन्धी प्रचारप्रसार गर्न पाईदैन । तर, आचारसंहितालाई लत्याउँदै उनीहरू विद्यालयको गेटमा पुगे । त्यसपछि सबै विद्यार्थीहरूलाई गेट बाहिर बोलाएर उनीहरूसंग भोट माग्दै भाषण र नाचगान पनि गरे ।
दाङ बबई गाउँपालिका १ गंगटेस्थित सरस्वति जनता माविमा वली, बस्नेतसहित नेता तथा कार्यकर्ताहरू त्यहाँ पुगेर आफ्ना वुबाआमालाई कन्भिन्स गर्दै एमालेको सूर्य चिन्हमा भोट हाल्न लगाउन विद्यार्थीहरूसंग अनुरोध गरे । त्यतिमात्रै होइन्, विद्यालय परिसरमा गएर उनीहरूले पोष्टर, पम्पलेट पनि दिएको त्यहाँको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए । निर्वाचन आयोगले यो घटनालाई लिएर उम्मेदवरहरूसँग स्पष्टीकरण पनि सोधेको छ ।
प्यूठानमा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य बहादुर थापा क्षेत्रले पनि निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएको भन्दै आयोगले स्पष्टीकरण सोध्यो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।
मन्त्रीबाट पनि आचारसंहिता उल्लंघन
शहरी विकास मन्त्री समेत रहेका दाङ क्षेत्र नं. १ का नेकपा एसका प्रतिनिधिसभा सदस्य उम्मेदार मेटमणी चौधरीले आफ्नो क्षेत्रमा चामल बाँडे । निर्वाचन आचारसंहिता, २०७९ को को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको छ । तर, उनले आफ्नो निर्वाचन क्षेत्रका बाढी पिडितको नाममा चामल वितरण गरे । यो कार्य आचारसंहिता विपरित भएकाले आयोगले स्पस्टीकरण सोध्यो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था पनि छ । तर, उनले आयोगलाई कुनै पनि जानकारी नगराई चामल वितरण गरेपछि व्यापक विरोध पनि भएको थियो । उनी सहभागी कार्यक्रम नेपाल सरकारको वार्षिक कार्यक्रमभित्र नभएको, विपद्का अवस्थामा तत्काल राहात वितरण गर्नैपर्ने अनिवार्यता परेमा नेपाल सरकारको जिल्लामा कायम संरचना जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गर्न सक्ने विकल्प समेत थियो ।
स्थानीय जनप्रतिनिधि पनि प्रचारमा
त्यस्तै स्थानीय जनप्रतिनिधि पनि आफ्नै पालिकाभित्र उम्मेदवारसंगै प्रचारमा खटिए । स्थानीय तहका जनप्रतिनिधिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुँने व्यवस्था छ । तर, आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको प्रचारमा संलग्न हुन पाइने ब्यबस्था छ । तर, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी दाङ क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोख्रेलको प्रचारमा खुलेर हिँडिरहे । ठाउँ–ठाउँमा भाषण गरे ।
त्यस्तै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री पनि दाङ क्षेत्र नंं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक गिरीसंग भोट माग्न गंगटे पुगे । त्यहाँ पुगेर उनले चुनावी सभामै विभिन्न आश्वासन दिए । यसरी जनप्रतिनिधिहरू पनि निर्वाचन आचारसंहितालाई लत्याउँदै भोट मागिरहेका छन् ।
अन्य समयमा कुनै मतलब नगर्ने सडकहरूमा अहिले मतदातालाई प्रभावित पार्न ग्राभेल हाल्नेदेखि टालटुल पर्ने काम पनि भइरहेको छ । घोराही बजारको तुलसीपुर चोकदेखि डिके पेट्रोलपम्पसम्म ग्राभेल गर्ने कार्य भयो । यद्यपी यसअघि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संघ सरकारको क्षेत्राधिकार भएकाले आफूले त्यसमा हात हाल्न नमिल्ने प्रतिक्रिया दिदै आएका थिए ।
घोराहीकै वडा नं. १२ हापुर र वडा नं. १६ जोड्ने बाहुनडाँडा सडकमा पर्ने पुल पनि यसअघि अलपत्र थियो । जब गाउँ–गाउँमा चुनावी सभा भए । जनताले आफ्ना समस्या राख्न थाले । त्यसपछि आचारसंहिताको धज्जी उडाउँदै पुल निर्माणका लागि बालुवा ओसार्ने कार्य भयो । यसको स्थानीयले विरोध समेत गरे ।
जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधान ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ व्यवस्था छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले यस्तो अभिव्यक्ति दिएका हुन् ।
आचारसंहिता उल्लंघन गर्नेमा प्राध्यापकहरू पनि रहेका छन् । गुल्मीको महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालय, मुसिकोटका प्रधानाध्यापक अनन्तलाल भण्डारीले नेकपा एसको प्रचारमा हिड्दै उम्मेदवारलाई भोट मागेपछि निर्वाचन आयोगले स्पस्टीकरण सोधेको छ । उनी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा समेत रहेका छन् ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन भन्ने प्रावधानका साथै निजहरूले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने व्यवस्था पनि उल्लेख छ ।
आचारसंहिताको दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । आचारसंहिताको सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था छ ।
कसरी भइरहेका छन्, आचारसंहिता उल्लंघन
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा पनि निर्वाचन आचरसंहिता उल्लंघन हुने क्रम बढिरहेको छ । सबैभन्दा बढी उम्मेदवारले आचारसंहिता उल्लंघन गरेका छन् । आचारसंहिता उल्लंघन भएपनि उजुरी पर्ने र स्पस्टीकरण सोध्ने कार्य मात्रै हुने गरेको छ, थप कारवाही भएको छैन ।
साँझ ७ बजेपछि निर्वाचन सम्बन्धित उम्मेदवारले कार्यक्रम गर्न मिल्दैन । तर, रातिराति कार्यक्रम भइरहेका छन् । बजारमा ठूला–ठूला आवाजमा डिजेबाट भोट मागिरहेका छन् । जनप्रतिनिधिहरू आफ्नै स्थानीय तहमा भोट माग्दै हिडिरहेका हुन्छन् । निर्वाचनकै बेला सामदाम, दण्ड भेद प्रयोग हुन्छ । अनावश्यक फजुल खर्च हुने गरेका छन् । नागरिक समाज दाङका संयोजक केवी मसालले कुनै पनि राजनीतिक दलहरूले आचारसंहिता पालना नगरेको बताएका छन् । ‘आचारसंहिता खाली कागजमा मात्रै सीमित भयो । राजनीतिक दलहरू नारा जुलुसमा बालबालिको प्रयोग गरेका छन्, रातीमा पनि आम सभा गरिरहेका छन् । त्यसैमा समाचार बनाउँदा होस् या पार्टीको कार्यक्रममा गएर पत्रकारहरूले आचारसंहिता उलङ्घन गरेका छन्’, उनले भने ‘जनप्रतिनिधीहरूले भोट माग्ने र भोट दिने कुरा तालमेल नमिलेको जस्तो लागेको छ ।’
निर्वाचन आयोग लुम्बिनी प्रदेश कार्यालयका निर्वाचन अधिकारी नारायण भण्डारीले चाहिं निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको बताए । ‘आचारसंहिताको पालना भएको छ । आचारसंहिता अनुगमन समितिले पनि राजनीतिक दल, उम्मेदवारहरू सचेत गराउनुका साथै र सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने काम भई रहेकोले आचारसंहिता उल्लंघन कम भएको हो’,उनले भने ।
उजुरी परेकाहरूलाई स्पस्टीकरण सोध्ने र अन्य सामान्य प्रकृतिका उल्लंघनलाई फोन गरेरै सचेत बनाउने काम भइरहेको उनले बताए । अहिलेसम्म स्पस्टीकरण सोधिएकाहरूबाट चित्त बुझ्दो जवाफ आएकाले थप कारवाही अगाडी नबढेको उनले बताए । अहिले निर्वाचनमा बालबालिका प्रयोग गरेको, आमसभा भन्दा बाहिर माईक बजाउने, सार्वजनिक स्थल घरहरूमा पोष्टर टास्ने, चामल खाद्यान्न वाँडेको भन्ने उजुरी परेका छन् ।