केन्द्र विवादको अलमलमा स्थानीय तह

टोपलाल अर्याल चैत्र २०७६ गुल्मी
  • मदाने गाउँपालिकाको कामकाज वडा नं ६ पुर्कोटदहबाट भइरहेको छ । केन्द्रको बिषयमा जनप्रतिनिधीबीच दुई गुट देखिएका छन् भने केन्द्रका लागि पुर्कोटदह र म्यालपोखरी चर्चामा रहेका छन् । केन्द्र विवादका कारण भौतिक पुर्वाधार विकास अन्यौलमा परेको छ ।
  • इस्मा गाउँपालिकाको केन्द्र पनि अझै टुङ्गो लागेको छैन । व्यक्तीको घर भाडामा लिएर गाउँपालिकाको कार्य संचालन गरिएको छ । केन्द्र बिबादले गाउँपालिकाको भौतिक निर्माण कार्य अलपत्र छ ।
  • मालिका गाउँपालिका केन्द्रको विषय त झन् अदालतसम्म पुगेको छ । राजपत्रमा मालिका गाउँपालिकाको केन्द्र साविक अर्खबाङ्ग गाविस कार्यालय भनी प्रकाशित गरियो जहाँ अहिले वडा कार्यालय मात्रै छ । गाउँपालिकाको प्रशासनिक कार्य वडा कार्यालयभन्दा पाँच सय मिटर टाढा बहुउदेश्य सभाहल निर्माण गरेर संचालन गरिएको छ ।
  • गत बर्ष पाल्पाको रम्भादेवि र माथागढी गाउँपालिकाले केन्द्रको बिबादकै कारण काम नगर्दा प्रशासनीक भवनको लागि प्रदेश ५ बाट बिनियोजन भएको ६० लाख फिर्ता गर्नुप¥यो ।

अहिलेसम्म गुल्मी र पाल्पाका छ स्थानीय तहमा गाउँपालिकाको केन्द्र बिबाद कायमै रहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा निर्वाचन सकिएको छ महिनाभित्र बहुमतले स्थानीय तहको नाम र केन्द्रको टुंगो लगाउनुपर्ने उल्लेख छ । तर, प्रदेश ५ का कतिपय स्थानीय तहमा अझै केन्द्र बिवाद हुँदा विकास निर्माण, प्रशासनिक कार्य संचालनदेखि बिषयगत कार्यालय प्रभावित भएका छन् । आम नागरिकले केन्द्रलाई हेरेर बनाउने व्यावसायीक योजना पनि अन्यौलमा देखिएको छ ।

गुल्मीका तीन गाउँपालिकाले अझै आफ्नो केन्द्र टुङ्गो लगाएका छैनन् । जिल्लाको निर्वाचन क्षेत्र नं २ का इस्मा, मालिका र मदाने गाउँपालिकाको केन्द्र बिबाद साढे दुई बर्षदेखि सल्टिएको छैन । मदाने गाउँपालिकामामा दुई तिहाई मत नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) का जनप्रतिनिधीकै पक्षमा छ । तर, त्यहाँ पुर्कोटदह वा म्यालपोखरी भन्ने बिषयले केन्द्र टुङ्गो लागेको छैन । मदाने गाउँपालिका अध्यक्ष प्रेम केसीले विवादभन्दा पनि जग्गाको समस्याका कारण केन्द्र टुंगो नलागेको बताए । ‘पुर्कोटदहसंगैको संभावना म्यालपोखरी हो, सभाहल पनि बनाएका छौ तर जग्गा छैन,’ केसीले भने, ‘जनप्रतिनिधीको केहि मतभेद भएपनि छलफलबाटै निकास निकाल्छौ ।’

इस्मा गाउँपालिकामा पनि वडा नं ५ चाँपटारी र साविक कार्यालय रहेको स्थान चर्चामा छन् । तर, अहिले अन्यत्र पनि बहस हुन थालेको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बताए । उनले सवैको भावना समेटन खोज्दा ढिला भएको बताउँदै समाधानका लागि कार्यदल गठन गरिएको बताए । त्यसका लागि अझै पनि संवाद र छलफल भइरहेको बताए ।

इस्मा गाउँपालिकामा छ वडा छन् । वडा नं १ बाहेक सवै वडामा नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) नै बिजयी भएको छ । मतको हिसावले पनि नेकपाकै जनप्रतिनिधीमा मत नबाझिए केन्द्र समस्या हल हुन्छ । नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) इस्मा गाउँपालिका इन्चार्ज दल बहादुर विकले मत र विवाद नेकपाकै जनप्रतिनिधीभित्र भएको बताए ।

द्धन्दका कारण तत्कालिन अर्खाबाङ्गको गाविस कार्यालय थिएन । शुरुमा मालिका गाउँपालिका कार्यालय वडा नं ४ ठुलीचौरको महिला समुहको भवनबाट गाउँपालिका संचालन गरियो । भवन अभावका कारण अदालतमा मुद्धा बिचराधिन भएपनि गाउँपालिकाले बहुउदेश्यीय सभाहल निर्माण गरेर प्रशासनीक कार्य संचालन गरेको प्रवक्ता शोभाखर गिरीले बताए ।

आफ्नै पार्टीका जनप्रतिनिधीको खिचातानीले रम्भादेवि गाउँपालिकाकाको केन्द्र बिवाद कायमै छ । रम्भामा एक वडाबाहेक सवैमा नेकपाको बहुमत छ । तर, आफैमा बिभाजित भएका कारण अहिलेसम्म केन्द्रको समस्या समाधान भएको छैन । गत गाउँ सभामा केन्द्र निर्माणसम्बन्धी प्रस्ताव समेत पेश भइसकेकाले सहमति वा चुनावी प्रक्रियाबाट अब आउने हिउँदे गाउँ सभामा गाउँपालिकाको केन्द्र टुङ्गो लगाउने गाउँपालिका प्रमुख बिष्णु प्रसाद भण्डारीले बताए । अहिलेसम्म वडा नं ३ को पिपलडाँडामा गाउँपालिकाको अस्थायी कामकाज संचालन भएको छ । रम्भाको हुमीन, बगचौर, हुँगीको च्याङलीङ लगायतका गाउँलाई केन्द्र पायक पर्दैन । त्यसैले जनप्रतिनिधि बिभाजित देखिएका छन् । ‘गाउँपालिकाका दुई÷तीन स्थानमा केन्द्र राख्न वडाध्यक्षहरुबाट आआफ्नै प्रस्ताव आएकाले सहमति भएन,’ उनले भने, ‘आउने सभामा सहमति वा प्रक्रियाबाट केन्द्र टुङ्गो लगाउनुको बिकल्प छैन ।’ अहिलेसम्म सर्वसम्मत बनाउन खोज्दा समय लागेको प्रमुख भण्डारीले बताए ।

पाल्पाकै माथागढी गाउँपालिकामा समेत केन्द्र बिवाद कायम छ । सवै जनप्रतिनिधी कांगेसकै छन् । जनप्रतिनिधी निर्वाचित भएको ६ महिनाभित्रै वडा नं १ का गाउँ सभा सदस्यले केन्द्रको प्रस्ताव ल्याएका थिए । तर, बहुमत ल्याउने अवस्था नभएकाले पछि प्रस्ताव फिर्ता लिएको गाउँपालिका प्रमुख सन्तोष कुमार थापाले बताए । अहिले गाउँपालिका वडा कार्यालयको भवनबाट संचालन हुँदै आएको छ । माथागढी गाउँपालिकाको केन्द्र अहिले झडेवा फाँटमा पर्दछ । तत्कालीन प्राविधिक समितिले निर्धारण गरेको केन्द्रमा झडेवा र रुप्से छ । केन्द्रको विषयमा अहिले वडाका प्रतिनिधीहरु नै दुई कित्तामा वाँडिएका छन् । वडा नम्बर १, २, ३ का जनप्रतिनिधी एवं स्थानीयले रुप्सेकै दद्रा र वडा नं ५, ६, ७ र ८ का जनप्रतिनिधीका साथै स्थानीयको माग झडेवामै राख्नुपर्ने देखिएको छ ।

त्यस्तै बगनासकाली गाउँपालिका अहिले अस्थायी केन्द्र गाप्तुङ्गबाट संचालनमा रहेको छ । तत्कालिन अवस्थामा चिलाङदी केन्द्र तोकिएको थियो । अहिलेसम्म जग्गा बिबादका कारण केन्द्रको टुङ्गो लागेको छैन । बगनासकाली गाउँपालिका प्रमुख कृष्ण प्रसाद बस्यालले बिगतमा जग्गाको बिषयमा केहि दलीय मतान्तर देखिएका कारण समस्या भए पनि सहमति नजिक पुगेकाले केन्द्र टुङ्गो लाग्ने बताए । बगनासकालीमा पनि गाउँपालिका प्रमुख कांग्रेस र उपप्रमुखसहित नेकपाको कार्यपालिकामा बहुमत रहेको छ । अहिलेसम्म धेरै पटक केन्द्र निर्धारणको लागि सर्वदलिय र सर्वपक्षीय बैठकहरु बस्ने गरेपनि समस्या समाधान भएको छैन ।

Sharing is caring!