- रुपन्देहीको जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पतालले कोरोनाको संभावित जोखिमको तयारीस्वरुप थप जनशक्ति माग गर्दै सूचना जारी ग¥यो । ४ जना कन्सलटेन्ट, ८ जना मेडिकल अधिकृत र १० जना स्टाफ नर्स आवश्यक भएको भन्दै दुईपटकसम्म सुचना जारी गर्दा पनि कन्सलटेन्टमा दरखास्त दिने कोही भएन । मेडिकल अधिकृतमा १ जना र स्टाफ नर्समा ६ जनाले मात्रै निवेदन दिए ।
- दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना बिशेष अस्पतालले सार्वजनिक सुचना जारी गरी बिशेषज्ञ चिकित्सक ३ जना, मेडिकल अधिकृत १२ जना, स्टाफ नर्स १५ जना, सपोर्ट स्टाफ ३० जना र बिएमटि १ जना माग गरेकोमा बिशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत तहमा एक जनाले पनि निवेदन दिएनन् । स्टाफ नर्समा ४ जना र सपोर्ट स्टाफमा १० जना मात्रैले निवेदन दिए ।
- बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालमा स्थापना गरेको आइसोलेसन अस्पतालमा बिशेषज्ञ चिकित्सक १७ जना, मेडिकल अधिकृत २७ जना, स्टाफ नर्स ४२ जना र अन्य स्टाफ ४२ जना माग गरेपनि मेडिकल अधिकृतमा ४ जना, र स्टाफ नर्समा २० जना मात्रैको निवेदन प¥यो । विशेषज्ञ चिकित्सको लागि भने एउटै पनि निवेदन परेन ।
प्रदेश ५ को स्वास्थ्य संस्थाहरुमा चिकित्सकहरुको अवस्थाको यी केही प्रतिनिधीमुलक घटना हुन् जसले एकातिर अस्पतालहरुमा कोरोनाको संभावित महामारीविरुद्ध जुध्न चिकित्सकहरुको कमी भएको देखिन्छ भने अर्काेतिर अस्पतालले चाहेर पनि तत्कालै नयाँ स्वास्थ्यकर्मीहरु पदपुर्ति गर्न नसक्ने अवस्थालाई देखाएको छ ।
प्रदेश ५ सरकारले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, दाङ बेलझुण्डीको आयुर्वेदिक अस्पताल र बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालाई आइसोलेसन अस्पतालको रुपमा तयार पारेको छ । अहिले न्यूनतम बेड संख्याबाट तयारी शुरु गरिएको अस्पतालमा आवश्यक परेको अवस्थामा बेड थप्न मिल्ने गरि योजना गरिएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएपनि ती अस्पतालका बेड संख्या थप्दा स्वास्थ्यतर्फको जनशक्ति भने अभाव हुने देखिन्छ ।
चारवटा आइसोलेसन अस्पतालमध्ये तीन वटा अस्पतालले दोस्रो पटकसम्म सार्वजनिक सूचना गर्दा समेत जनशक्ति पाउन सकिरहेका छैनन् । ती अस्पतालले बिशेषज्ञ चिकित्सक २४ जना माग गरेकोमा एक जनाले पनि आवेदन भरेनन् । मेडिकल अधिकृत ४७ जना माग गरेकोमा ५ जनाले मात्रै आवदेन दिएका छन् भने ६७ जना स्टाफ नर्स माग गरेकोमा ३० जनाले मात्रै आवेदन दिएका छन् । यसले पनि जनशक्ति अभाव हुने प्रष्टै देखिन्छ (हेर्नुस तालिका) ।
तालिकाः आइसोलेसन अस्पतालमा जनशक्ति अवस्था
पद | भीम अस्पताल, भैरहवा, रुपन्देही | आयुर्वेद अस्पताल, बेलझुण्डी, दाङ | क्यान्सर अस्पताल, खजुरा, बाँके | |||
माग गरेको | निवेदन आएको | माग गरेको | निवेदन आएको | माग गरेको | निवेदन आएको | |
बिशेषज्ञ चिकित्सक | ४ | ० | ३ | ० | १७ | ० |
मेडिकल अधिकृत | ८ | १ | १२ | ० | २७ | ४ |
स्टाफ नर्स | १० | ६ | १५ | ४ | ४२ | २० |
अन्य | ६ | ६ | ३० | १० | ४२ | ४२ |
स्रोतः सम्बन्धित अस्पतालहरु
भीम अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. नवीन दर्नालले दुई पटकसम्म सूचना जारी गर्दा पनि कन्सलटेन्टमा दरखास्त दिनेको संख्या शून्य भएको बताए । बजारमा जनशक्ति भएपनि कोरोनाको डरले दरखास्त नपरेको हुनसक्ने डा. दर्नालले बताए । प्रदेश ५ सरकारले कोरोना बिशेष अस्पतालको रुपमा स्थापना गर्ने भनेकाले यो अस्पतालमा अरु सेवा बन्द गरी १ सय बेडसम्म बनाउन सकिन्छ । तर, त्यसरी बेड संख्या बढाउदा जनशक्ति र अस्पतालजन्य सामग्री सहज उपलब्ध हुने अवस्था भने छैन ।
डा. दर्नालका अनुसार १ सय बेड बनाउने अवस्थामा कन्सलटेन्ट डाक्टर १५ देखि २० जना, मेडिकल अधिकृत २० देखि ३० जना, स्टाफ नर्स ३० देखि ४० जनासम्म थप्नुपर्ने हुन्छ । भीम अस्पतालमा अहिले ३५ बेडको आइसोलेसन छ जहाँ ५ बेड आइसियू छ भने तीमध्ये तीनवटामा चाहिं भेन्टिलेटर छ । अहिले उक्त अस्पतालमा कन्सलटेन्ट ६ जना, मेडिकल अधिकृत २ जना र स्टाफ नर्स १५ जना मात्रै छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा आइसियू ८, भेन्टीलेटर ४ र साधारण ४९ गरी ६१ बेड संचालनमा छ जहाँ ९ जना बिशेषज्ञ, ६ जना मेडिकल अधिकृत र १६ जना स्टाफ नर्सले काम गरिरहेका छन् । बेडमा सुधार र संख्या थप्दै जाँदा जनशक्ति पनि थप्दै जानुपर्ने अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापा बताउँछन् ।
दाङको बेलझुण्डीमा स्थापना गरेको बिशेष अस्पतालमा अहिले १ सय बेडको तयारी गरिएको छ । त्यसमध्ये ३ वटा भेन्टिलेटर, ५ वटा आइसियू बेड छन् । अहिलेको अवस्थामा त्यहाँ ६० बेडका लागि पुग्ने जनशक्ति मात्र छ । अस्पतालमा अहिलेसम्म सबैभन्दा बढी ४७ बेडसम्म प्रयोगमा आएको छ । उक्त अस्पताललाई अहिले राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले प्राविधिक रुपमा हेरिरहेको छ । स्वास्थ्य निर्देशनालयबाट अस्पतालमा खटिएका स्वास्थ्य सुपरभाइजर कौशल भण्डारीका अनुसार त्यसभन्दा बढी बेड संचालन गर्नुपर्ने अवस्थामा जनशक्ति पुग्दैन ।
यो अस्पतालमा संघीय सरकारले २ जना बिशेषज्ञ चिकित्सक पठाएकोबाहेक थप स्वास्थ्यकर्मी थपिएका छैनन् । भण्डारीका अनुसार दाङमा सघन कक्ष भएका अस्पताल नभएका कारण सघन कक्षमा उपचार गर्ने स्वास्थ्यकर्मीहरु समेत छैनन् । कर्मचारी माग हुँदा उपलब्ध नभएपछि आवश्यक परेको अवस्थामा गाउँपालिकामा रहेका नर्सिङ कर्मचारी र निजी अस्पतालका चिकित्सकबाट परिपूर्ति गरि काम गर्न खोजिएको भण्डारीले बताए ।
बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालमा स्थापना गरेको आइसोलेसन अस्पतालमा ८ आइसियू बेड, २ वटा भेन्टिलेटर र ४० साधारण बेड छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले बिशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अभाव रहेको बताए । आगामी दिनमा तत्कालै थप जनशक्ति आवश्यक परेको अवस्थामा नेपालगञ्ज र कोहलपुरमा रहेको निजी अस्पतालका बिशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत परिचालन गर्ने सोच बनाएको पनि डा. थापाले बताए ।
चिकित्सकको भनाइमा कोरोना भाइरस श्वासप्रश्वास सम्बन्धी रोग भएकाले संक्रमितमध्ये पाँचदेखि १० प्रतिशतसम्म बिरामीलाई सघन उपचार आवश्यक पर्नसक्छ । तर, प्रदेश ५ मा आईसीयू र भेन्टिलेटरको अभाव छ । प्रदेश ५ मा आइसोलेसन अस्पतालको रुपमा तयारी गरिएका ४ वटा अस्पतालमा जम्मा २३० बेड क्षमता रहेको छ । ती अस्पतालमा आसियु बेड २६ र भेन्टिलेटर संख्या १२ वटा मात्रै छन् । अहिले ५ जना शंकास्पद बिरामी भर्ना छन् ।
प्रदेश नं. ५ मा कोरोना बेड स्थापना गरेका अस्पतालको संख्या ४८ र बेड संख्या ३०९ छ जहाँ ७ जना भर्ना भएका छन् । ३१७ वटा क्वारेन्टाइन रहेकोमा त्यहाँ ६४५३ बेड क्षमता छ । ती क्वारेन्टाइनमा १८४२ व्यक्ति अहिले पनि बसिरहेका छन् । २०० जनाका स्वाबको नमूना संकलन गरिएकोमा सबै नमूनाको रिर्पोट नेगेटिभ आएको छ । त्यसैगरी ८८५ जनाको दु्रत परिक्षण गरिएको र सबैजनाको रिर्पोट नेगेटिभ देखिएको प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरीले बताए । अहिलेसम्म प्रदेश ५ मा कोरोना भारइरस (कोभिड १९) को बिरामी देखिएको अवस्था छैन । तर, कोरोनाभाइरस संक्रमण फैलिए प्रदेश ५ मा सघन उपचार सेवाका लागि दक्ष जनशक्तिको निकै अभाव हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । प्रदेश सरकारले तीन जिल्लाको चार ठाउँमा स्थापना गरेको कोरोना आइसोलेसन अस्पतालमा देखिएको जनशक्तिको अवस्थाले त्यसलाई प्रष्ट पारेको छ ।
प्रदेश ५ का सामजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सक कम भएको अवस्थामा निजी अस्पतालका चिकित्सकलाई उपचारका लागि परिचालन गरिने बताए । मन्त्री बरालकाअनुसार जनशक्तिको बिषयमा स्वास्थ्य निर्देशनालयले तथ्यांक संकलन गरिरहेको छ । प्रदेशको अवस्थालाई हेर्ने हो भने अहिलेको तयारी अझै अपुग नै छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र खनालले सेवा थप गर्नुपर्ने अवस्थामा बिशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरुको समस्या पर्न सक्ने बताए । ‘अहिलेको अवस्थाका लागि त ठिकै छ’, डा. खनालले भने, ‘बदलिएको अवस्था र अस्पतालमा सेवा थप्नुपर्ने अवस्थामा जनशक्तिको बिषयमा सोच्नुपर्ने हुन्छ ।’
प्रदेश ५ मा अन्य प्रदेशको तुलनामा सरकारले पूर्वाधार विकासका साथसाथै जनशक्ति व्यवस्थापनमा केही सतर्कता गरेको भनिएपनि अहिलेको अवस्थामा भने त्यसलाई अझै बढाउनुपर्ने देखिएको छ । प्रदेश ५ को सीमामा रहेको भारतीय गाउँमा कोरोना भाइरसका संक्रमित बिरामी देखिइसकेको र खुल्ला सीमा रहेको अवस्थाले सघन उपचार कक्ष र त्यहाँ काम गर्ने जनशक्ति बढाउनुपर्ने देखिएको हो । प्रदेशको १२ जिल्लामध्ये ६ जिल्ला भारतसँग जोडिएका छन् । २०६८ सालको जनगणनाअनुसार प्रदेश ५ मा ८ लाख ८४ हजार ७ सय ५७ घरपरिवार संख्या रहेको छ भने कूल जनसंख्या ४४ लाख ९९ हजार २ सय ७२ रहेको छ । भारत लगायत बैदेशिक रोजगारमा जानेको संख्या अत्यधिक छ । अहिले भारततर्फ रोजगारीमा गएका अधिकांश व्यक्ति नेपाल फर्किएका र फर्किने क्रममा रहेकाले पनि संभावित जोखिमको लागि तयारी गर्नुपर्ने देखिन्छ ।