कोरोना कहरमा जस्ले स्कुल खोल्ने आँट गरे ।

कृष्ण मल्ल २०७७ अशोज बुटवल

कोरोना महामारीले विद्यालयको पठन पाठन अबरुद्द भएकावेला लुम्विनी प्रदेशका केही स्थानीय पालिकाले तहले भने पठन पाठनको चाजो पाजो मिलाएका छन् । यसले विद्यालयमा लामो समयदेखि रोकिएको प्रत्यक्ष उपस्थितीको पठन पाठनको अवसर दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ लाइ आधार बनाइ ति पालिकाले पठन पाठनको क्रियाकलाप गराएका हुन् ।

निर्देशिकाको दफा नं. ३३ मा सिकाइ सहजीकरण कार्यान्वयन सम्बन्धी बिशेष व्यवस्था गरेको छ । यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै क्षेत्र विशेषमा नियमित विद्यालय संचालन हुन सक्ने अवस्था भएका प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न बाधा पर्ने छैन भनिएको छ ।

बंगलाचुली गाउँपालिका, दाङ

दाङको बंगलाचुली गाउँपालिकाले विद्यालय संचालन गरिसकेको छ । आश्विन ४ गतेबाट पहिलो चरणमा कक्षा १ देखि ५ सम्म विद्यालय खोलेको गाउँपालिकाले दोस्रो चरणमा आश्विन ११ देखि कक्षा ६ देखि १० सम्मको पठन पठन पाठन पनि शुरु गरेको छ ।
पालिकामा कोरोना संक्रमितको संख्या शून्य भएपछि विद्यालयमा पठन पाठन शुरु गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलीले बताए । उनका अनुसार पालिकामा १६२ जना कोरोना संक्रमित देखिएकोमा अहिले एक जना पनि संक्रमित छैनन् ।

पहिलो चरणमा सानो कक्षाको पठन पाठन शुरु गरेर हेर्यौं वलीले भने, त्यसपछि अरु कक्षा पनि चलाउन सकिन्छ भन्ने आँट आयो । विद्यालयका कक्षाहरुमा ३०÷३५ जनाभन्दा कम विद्यार्थी भएका हुँदा कक्षा संचालन गर्न सजिलो भएको उनको भनाई छ ।

विद्यार्थी धेरै भएका कक्षालाई शेक्सन बाँडेर सानो समुह बनाएका छौं उनले भने, घण्टी पनि ३० मिनेटको बनाएका छौं । उनका अनुसार साना कक्षाको पठन पाठन २ बजेसम्म र ठूला कक्षाको पठन पाठन ३ बजेसम्म गर्ने गरिएको छ । विद्यालयमा सकेसम्म कम समय विद्यार्थी राख्दा जोखिम कम हुने ठानेर त्यसो गरिएको वलीले बताए ।

रुरुक्षेत्र गाउँपालिका, गुल्मी

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले पनि विद्यालयमा पठन पाठन शुरु गरेको छ । धेरै विद्यार्थी भएका कक्षामा रोलनम्बर जोर बिजोरका आधारमा विद्यालयमा उपस्थित गराएर र थोरै विद्यार्थी हुने कक्षालाई नियमति रुपमा पठन पाठन गरिएको छ । गाउँपालिकाका शिक्षा प्रमुख रामप्रसाद अधिकारीले विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी विद्यालयमा पठन पाठन शुरु गरिएको जानकारी दिए ।

पहाडी गाउँका विद्यालयमा विद्यार्थी संख्या कम भएको र बस्ती पनि छिरलिएको हुँदा विद्यालयमै पठन पाठन गर्नका लागि सहज भएको उनले बताए । आश्विन १ गतेदेखि नियमित पठन पाठन शुरु गरेको गाउँपालिकाले वडा नं. १ मा कोरोना संक्रमण भेटिएपछि उक्त वडामा भने केही दिनका लागि विद्यालय बन्द गरेको छ । अरु वडाहरुम नियमित रुपमा पठन पाठन भइरहेको छ ।

सन्धिखर्क नगरपालिका, अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका विद्यालयहरुले सिकाइ सहजीकरण योजना स्वीकृत गरि शैक्षिक कार्यक्रम अगाडी बढाएका छन् । विद्यालयका योजनामा बालबालिकालाई बोलाई प्रत्यक्ष पठनपाठन गराउनेदेखि टोल टोलमा पुगेर स्वास्थ्य मापदण्ड पूरा गरी सहजीकरण गर्नेसम्मका कार्यक्रम छन् ।

सन्धिखर्क ७ डिहीडाँडामा रहेको चन्द्रप्रभा माविका प्रधानाध्यापक शिवहरि भट्टराइले अघिल्लो हप्तासम्म टोल टोलमा शिक्षक पुगेर विद्यार्थीलाई पठन पाठनमा सहयोग गरेकोमा अहिले विद्यालयमै टोल टोलका विद्यार्थीलाई छुट्टा छुट्टै दिन बोलाएर पठन पाठन शुरु गरिएको बताए । टोल टोलमा शिक्षक पुग्न कक्षागत र बिषयगत शिक्षक नहुँदा सहजीकरणमा अप्ठ्यारो परेको भएपनि अहिले भने विद्यालयमै बोलाउदा सहज भएको बताए । विद्यालयले ६ वटा टोलमा विभाजन गरि विद्यार्थीलाई फरक फरक दिन बोलाउने गरेको छ । एउटै टोलका बालबालिका विद्यालयमा बोलाउँदा अर्को टोलका बालबालिकामा कोरोना संक्रमण कम हुने देखिएको हुँदा त्यस्तो जुक्ति निकालेको प्रधानाध्यापक भट्टराइको भनाई छ ।

तर धेरै जसो विद्यालयका पठन पाठन भने विद्यालयमै उपस्थित गराइ गरिएको छ । कम विद्यार्थी भएका र कोरोना प्रभावित नदेएिका क्षेत्रका विद्यालयमा विद्यार्थीहरु नियमित रुपमा आउने गरेका छन् भने विद्यार्थी धेरै भएका विद्यालयले भने विद्यार्थीको रोलनम्बर जोर बिजोरको आधारमा विद्यार्थीलाई विद्यालयमा बोलाउने गरेका छन् ।

नगरपालिकाका शिक्षा प्रमुख युगल बसेलले विद्यालयहरुले ल्याएका सहजीकरण योजनालाई नगरपालिकाले स्वीकृत गरिसकेका बताए । उनका अनुसार कुनै वडाले वडाभित्र रहेका सबै विद्यालयको एउटै खालको सहजीकरण विधी बनाएका छन् भने धेरै जसो विद्यालयले विद्यालयगत रुपमा सिकाइ सहजीकरण योजना बनाएका छन् । उने थोरै विद्यार्थी भएका विद्यालयले सबै विद्यार्थीलाई नियमित प्रत्यक्ष रुपमा पठन पाठन गरिरहेको र धेरै विद्यार्थी हुने विद्यालयले रोलनम्बर जोर बिजोरमा आधार विद्यालयमा बोलाउने गरी योजना पेश गरेको बताए ।

संगम आ.वि.जयनेटाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सानो समूहमा विद्यालयमै शिक्षण गर्ने योजना बनाएको छ । दुर्गा आ.वि.छापडाँडा, वराहनेटा आधारभूत विद्यालय स्वास्थ्य सतर्कता र सामाजिक दुरी जस्ता मापदण्ड पूरा गरी विद्यालयमा कक्षा सञ्चालन गर्ने योजनाा उल्लेख गरेको छ ।

जनजागृति आ.वि.अँधेरीले स्वास्थ्य सुरक्षाको ख्याल गर्दै विद्यालय हातामै सिकाई प्रकृया अगाडि वढाउने र शिशु कल्याण आ.वि.फलेपतले स्वास्थ्य सम्बन्धी शतर्कता विद्यालयमा शिक्षण सिकाइ बढाइरहेको जनाएको छ । विद्यार्थी सिकाइ योजना विद्यालय पिच्छे फरक छन् ।

अर्घा भगवती आ.वि.

विद्यार्थीहरुलाइ समूहमा विभाजन गरी विद्यार्थीलाई एकअर्का बीच टाढा राखेर विद्यालयमै शिक्षण गर्ने ।

अर्घा रजस्थल मा.वि.

प्रति बेन्च दुईजना र प्रतिकक्षा २० जना भन्दा वढी विद्यार्थी नहुने गरी स्वास्थ्य मापदण्डको सम्मान गर्दै सिकाई सहजीकरण गर्ने ।

पार्वती आ.वि.पटुवाथुम

विधार्थीलाई दुई समूहहरुमा विभाजन गरी हरेक दिन दुई चरणमा सामाजिक दूरी कायम गरी शिक्षण गर्ने ।

पडेरी आ.वि.हिलेः

सामाजिक दूरी कायम गरी विद्यार्थीको छुट्टाछुट्टै समूह निर्माण गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्दे विद्यार्थीहरुलाई विद्यालयमा पठनपाठन गर्ने ।

समाजकल्याण आ.वि.बसपार्क

भौतिक दूरी कायम राखी स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदै आलोपालो प्राणालीवाट विद्यालयमा सिकाइ सहजीकरण प्रकिया अघि वढाउने ।

युवावर्ष जनता रविचित्र मा.वि.

मास्क र पोसाक लगाएर आएका विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा शिक्षण गर्ने । माथिल्लो भवनमा बस्ने सुरक्षाकर्मीलाई तल्लो भवनमा आग्रह गर्ने । प्रत्येक दिन विद्यार्थी बस्ने बेन्चलाई सेनीटाइज्ड गर्ने तथा शिक्षण गर्दा एक अर्को विद्यार्थीको दूरी कायम राख्ने ।

बाल आ.वि.तुम्कोट

विद्यार्थिहरुलाई विभिन्न समूहमा विभाजन गरी विद्यार्थीहरुको सानो सानो समूहलाई विद्यालयमै शिक्षण गर्ने ।

आदर्श मा.वि.खाँचीकोट

विद्यार्थीहरुलाई छुट्टा छुट्टै विद्यालय, चौर, चौपारी र प्रतीक्षालयमा स्वास्थय सतर्कता अपनाई छुट्टाछुट्टै समय र दिनमा शिक्षण गर्ने ।

नगरपालिकाका ८ वटा वडाहहरुले भने वडाभित्रका विद्यालयहरु सहजीकरण योजना वडागत रुपमा तयार गरेका छन् ।

वडा नं. ११ का सबै विद्यालयमा र टोलमा सिकाइ केन्द्रको रुपमा प्रयोग गरी सिकाइका लागि योजना बनाएको छ । विद्यालयले विद्युतीय संचार माध्यमवाट प्रसारण हुने सामाग्रीहरु ग्रहण गर्न विद्यार्थिहरुलाई शिक्षकले परामर्श दिनेछन् ।

वडा नं. ४ र ५ का विद्यालयहरु सम्बन्धित टोलकै विद्यार्थीले विद्यालयमा पढ्ने हुनाले रोग संक्रमणको भय कम भएको अवस्था हुनाले धेरै विद्यार्थी हुने विद्यालयले आलोपालो प्रणालीवाट र थोरै विद्यार्थी हुने विद्यालयले नियमित रुपले शिक्षण गर्ने ।

वडा नं. ७ का विद्यालयहरु

आधारभूत विद्यालयहरुले बिद्यार्थी बीचको दूरी कायम राखी विद्यालयमै पढाउने । चन्द्रप्रभा मा.वि.ले भने ६ देखि माथिका कक्षाका विद्यार्थीहरुलाई टोल टोलमा पुगेर सहजीकरण गर्ने ।

वडा नं. ८ का विद्यालयहरु

विद्यार्थीहरुलाई आवश्यक संख्याको समूहमा विभाजन गरी सामाजिक दुरी कायम राख्दै र स्वास्थ्य सतर्कता अपनाउँदै सिकाइ प्रकृया अगाडि वढाउने ।

वडा नं. २ का र १० का विद्यालयहरु

जनज्योति मा.वि.वाट क्वारेनटिन हटाई डिस्इन्फेक्टेन्ट छर्कने । थोरै विद्यार्थी हुने विद्यालयले विद्यालय वा अन्यत्रका सिकाइ केन्द्रमा पठन पाठन गर्ने र धेरै विद्यार्थी हुने विद्यालयले अनलाइन वा अन्य वैकल्पिक विधिवाट अध्यापन गर्ने ।

वडा नं. ६ का विद्यालयहरु

विद्यालयमा विद्यार्थी बोलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरि विद्यालयमै पठनपाठन गर्ने ।

ज्ञानप्रकाश मा.वि. र १२ नं. वडाका विद्यालयहरु

विद्यालयमा विद्यार्थीहरुको समूह विभाजन गरी सिकाई प्रकृया अगाडि वढाउने ।

माडी गाउँपालिका, रोल्पा

रोल्पाको माडी गाउँपालिकाले पनि पठन पाठन शुरु गरेको तीन हप्ता पुग्न थालेको छ । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले अवस्था अनुसार विद्यालयमै पनि पठन पाठन गर्न सकिने व्यवस्था गरेपछि विद्यालय खोलिएको गाउँपालिकाका शिक्षा प्रमुख परशुराम ढकालले जानकारी दिए ।

उनले विद्यालय अनुसार फरक फरक तरिकाले पठन पाठन भइरहेको बताए । उनका अनुसार कुनै विद्यालयले हप्ता दिनसम्म नियमित पठन पाठन गरि विद्यार्थीलाई हप्तादिनपछि गृहकार्य सकेर बोलाउने गरेका छन् भने कतिपयले हप्ताको दुई दिन विद्यार्थीलाई विद्यालय बोलाउने गरेका छन् । थोरै विद्यार्थी हुने विद्यालयले भने नियमित रुपमा पठन पाठन गरिरहेको ढकालले बताए ।

सियारी गाउँपालिका, रुपन्देही

रुपन्देहीको सियारी गाउँपालिकाले विद्यार्थीका लागि अभ्यास तथा परियोजना कार्यको सामग्री तयार गरि पठन पाठनलाई अगाडी बढाएको छ ।

गाउँपालिका कक्षा ६ देखि १० कक्षाका विद्यार्थीका लागि लक्षित गरि सामग्री तयार गरिएको गाउँपालिकाका शिक्षा प्रमुख सुधिर पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालयका बिषयगत शिक्षकलाई ति शिक्षकहरुबाट सामग्री तयार गरिएको हो ।

शिक्षा प्रमुख पौडेलका अनुसार दुई हप्ताको एक चक्र मानी सामग्री तयार गरिएको छ । उक्त परियोजना कार्यका लागि दुइ हप्तामा दुइ दिन पालो गरि विद्यार्थीलाइ विद्यालयमा बोलाइ गरिने गरेको छ ।

पालिकामा रहेका पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिलाराम खनालले परियोजना कार्यपछि विद्यार्थीमा पठन पाठन गर्ने बानीका विकास भएको बताए । परियोजना कार्यमा अभिभावकको भूमिका पनि राखिएको हुँदा प्रभावकारी भएको उनको दाबी छ । प्रत्येक परियोजना कार्यमा अभिभावकको सहभागितालाई ३० अंकभारमध्ये ५ अंकभार दिइएको उनको भनाइ छ ।

कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि भने समुदाय र विद्यालयमा सिकाइ केन्द्र स्थापना गरि गाउँपालिकाले जनाएको छ । अनलाइन कक्षामा पहुँच नभएको र विद्यालयमा नियमित कक्षा संचालन गर्न सक्ने अवस्था नभएका कारण विद्यालयका साथै समुदायको चौपारी, पौवा, प्रतिक्षालय, सार्वजनिक भवनका साथै व्यक्तिको घरको बरण्डालाई सिकाइ केन्द्रको रुपमा प्रयोग गरिएको शिक्षा प्रमुख पोडेलले बताए । सियारी गाउँपालिकामा २५ वटा सामुदायिक, ३ वटा मदरसा र १५ वटा संस्थागत विद्यालय छन् ।

सुनवल नगरपालिका, नवलपरासी

नवलपरासीको सुनवल नगरपालिकाले पनि विद्यार्थीका लागि स्वःअध्ययन सामग्री तयार गरी पठन पाठन शुरु गरेको छ । बालविकास केन्द्रदेखि कक्षा १० सम्म विद्यार्थी स्वःअध्ययन सामग्री बनाइएको नगरपालिकाका शिक्षा प्रमुख बिष्णु गोतामेले बताए ।

गोतामेका अनुसार बिषयगत शिक्षकको समुह बनाई कक्षागत रुपमा सामग्री तयार गरिएको हो । सामग्रीमा ५० प्रतिशत अंक आन्तरिक मूल्याकंन गरि दिने व्यवस्था राखिएको छ ।
नगरपालिकाले महिनादिनका लागि अभ्यास पुग्ने गरी सामग्री बनाइएको उनले जानकारी दिए । भदौ १ गतेदेखि शुरु भएको स्वःअध्ययन सामग्री मार्फतको सहजीकरणको चक्र पूरा भएपछि दोश्रो चरणको प्रक्रिया शुरु भएको र पहिलो चरणको परिक्षा लिन विद्यालयले तयारी गरेको उनले बताए ।

सामग्रीमा कक्षाकोठामा शिक्षकले बोल्ने कुरा राखिएको छ । त्यस आधारमा विद्यार्थीले पढ्ने, अभ्यास गर्ने र दोहोर्याउने गरेको उनले बताए । पहिलो चरणको सामग्री वितरण अभिभावकमार्फत गरिएको भएपनि दोश्रो चरणको स्वःअध्ययन सामग्री विद्यार्थीलाई समुहगत रुपमा बोलाइ निर्देशन दिइ दिइएको उनले बताए ।

महाकवि देवकोटा मावि, सुनवलका प्रधानाध्यापक खेमलाल शर्माका अनुसार स्वःअध्ययन सामग्रीले पठन पाठनमा सहयोग गरेपछि अभिभावक उत्साहित छन् । हामी दुई पटकसम्म अभिभावकसँग बस्यो उनले भने, स्वःअध्ययन कार्यक्रमलाई निरन्तरता दिने सुझाव आएको छ । उनका अनुसार अभिभावकले समुदायसम्म टोल सिकाइ केन्द्र स्थापना गर्नका लागि समेत सुझाव दिएका छन् । महामारीको समयमा विद्यार्थीलाई विद्यालयबाट टाढा भएका समुदायबाट त्यस्तो माग आएको हो ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले समुदायमा रहेका वा रहने सिकाइ केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दुरी कायम गरी बसाइ व्यवस्था मिलाई पाठ्यपुस्तक, स्व अध्ययन सामग्री वा छपाइका सामग्रीहरु प्रयोग गरी शिक्षक वा स्यमसेवक मार्फत सिक्ने, सिकाउने व्यवस्था गर्न सकिने व्यवस्था छ ।

त्यसैगरी निर्देशिकामा भौतिक पूर्वाधार र विद्यार्थी संख्याका आधारमा भौतिक दुरी कायम राखी कार्यक्रम संचालनमा सहजीकरण गर्ने व्यवस्था गर्र्ने भनि स्थानीय तहको भूमिकामा उल्लेख छ ।

Sharing is caring!