कोरोना कहर

खतराको घण्टी बज्दैः परीक्षणको दायरा बढाउ

कृष्ण मल्ल बैसाख २०७७ बुटवल

बुटवलको धागो कारखानामा बनाइएको कोरोना बिशेष (अस्थायी) अस्पतालमा चैत्र १३ गते भर्ना भई उपचारत सैनामैना नगरपालिका–४ सिसौडाँडाँका ३७ वर्षका बाबुराम थापाको मृत्यु भयो । उनको मृत्यु कोरोना भाइरस (कोभिड १९) वा अन्य कारणले भन्ने चिकित्सकले उतिवेलै भन्न सकेनन् ।

बाबुरामको स्वाब परिक्षण रिर्पोट तत्कालै नआएकाले चिकित्सकलाई उनको मृत्युको कारण बताउन जति गाहे भयो, त्योभन्दा बढी बुटवल क्षेत्रका मानिसहरुमा त्रास फैलियो । त्यसो त थापाको मृत्युले अस्पतालका स्वास्थ्यकर्मीदेखि कर्मचारीमा झन् बढी त्रास थियो । मृत्युको भोलीपल्ट मात्रै आएको उनको स्वाब परीक्षणको रिपोर्टले भने थापालाई कोरोना नभएको (नेगेटिभ) देखायो ।

चैत्र १३ गते भर्ना, १६ गते मृत्यु र १७ गते स्वाब परीक्षणको रिर्पोट आउँदा तनाब बेहोर्नुपरेको मृतककी श्रीमती रीता थापा बताउँछिन् । अस्पतालले स्वाब परीक्षणमा ढिलाई गरी लापर्वाही गर्दा आफ्नो श्रीमानको मृत्यु हुन पुगेको उनको आरोप छ । उनका शब सात दिन पुग्दा समेत अस्पतालबाट उठेको छैन । प्राविधिक रुपमा हेर्दा पनि बाबुरामको उपचारमा कमजोरी भएको स्वास्थ्यकर्मी नै स्वीकार्छन् ।

अहिले कुनै विरामी देख्ने बित्तिकै कोरोनाको आशंका गरिनुले पनि सामान्य ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीले उपचार पाउनमा कठिनाई भइरहेको छ । कसैले अकालमा ज्यान गुमाउन समेत पुगेका छन् जसको प्रतिनिधी पात्र हुन्, थापा । बुटवलको कोरोना बिशेष (अस्थायी) अस्पतालमा थापाले उपचार नपाएर ज्यान गुमाउनु परेको आरोप मात्र लागेको छैन, चिकित्सकहरु स्वंय पनि यसमा धेरैथोर स्वास्थ्यकर्मीहरुमा रहेको त्रासले दुखद घटना हुन गइरहेको स्वीकार गर्न थालेका छन् ।

कोरोना भाइरस सक्रमणको परिक्षण गर्ने यन्त्र, चिकित्सक र अन्य स्वास्थ्यकर्मी सुरक्षित रहने सामग्री अभावका कारण स्वास्थ्य संस्थादेखी समाजमा त्रास बढेको हो । सरकारले कोरोना परिक्षणको व्यवस्थापन गर्न नसकेकै कारण नागरिकले सास्ती भोग्नुपरेको मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति गोविन्द खनाल बताउँछन् । शंकाको भरमा स्वास्थ्यकर्मीहरु उपचार गर्नबाट टाढिने गरेको, एम्बुलेन्सहरुले बिरामी बोक्न नमानिरहेको र सीमानामा नेपालीहरु अलपत्र परिरहेको उनको भनाई छ । स्वास्थ्य चेकजाँच गर्ने, क्वारेन्टाइनमा राख्ने र प्रमाणित भएपछि आइसोलेसन अस्पतालमा भर्ना गर्ने काममा ढिलाई गर्न नहुने पनि उनले बताए । ‘त्यसको लागि पहिलो प्राथमिकता भनेको ल्याबको स्थापना छिटोभन्दा पनि छिटो गरी परीक्षणको दायरा बढाउनुपर्छ’, उपसभापति खनालले भने ।

प्रदेश ५ मा अहिलेसम्म ८९ जनाको मात्रै स्वाब परीक्षण गरिएको छ जसमा ७५ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १४ जनाको रिर्पोट आउने क्रममा छ । यो अवस्थामा प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को सर्तकताका लागि ल्याब परिक्षणको दायर बढाउनुपर्ने देखिन्छ । त्यसो त विश्व स्वास्थ्य संगठनले कोरोना रोगको महामारी नियन्त्रणका लागि धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गर्नुपर्नेमा जोड दिदै आएको छ ।

प्रादेशिक स्तरमा खटिएका स्वास्थ्यकर्मीहरुदेखि सर्वसाधारणले समेत कोरोना शंकास्पद व्यक्तिहरुको समयमै स्वाब परीक्षण गर्नुका साथै धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गर्नुपर्नेमा जोड दिन्छन् । ‘समयमा परीक्षण नहँुदा थप उपचारका लागि समस्या पर्ने गरेको छ । परिक्षणमा ढिलाई हुँदा चिकित्सक, घरपरिवारदेखि समुदाय सबैमा त्रास देखिएको छ’, एक चिकित्सकले भने, ‘ल्याब परिक्षण छिटो भएको अवस्थामा अरु कारणले बिरामी भएको भए समयमा उपचार पाउँछन् भने कोरोनाको संक्रमण देखिए त्यसैअनुसार उपचार गर्न सजिलो हुन्थ्यो ।’ साथै कोरोना पोजेटिभ देखिएका बिरामीको सम्पर्कमा भएका व्यक्ति खोजी क्वारेन्टाइनमा राख्दा समुदायमा संक्रमण फैलिने समस्या पनि कम हुने ती चिकित्सकको भनाई छ ।

परीक्षणमा ढिलाई

प्रदेश ५ मा कोरोना भाइरसको स्वाब परिक्षण गर्ने प्रयोगशाला नभएको र लक डाउनका कारण हवाईसेवा समेत बन्द भएकाले विरामीको स्वाब परीक्षणका लागि नमुना (स्याम्पल) पठाउने कार्यमा कठिनाई भएको छ । बिरामीको स्वाब जाँचका लागि बुटवलबाट गाडीमार्फत काठमाडौँ पठाउने गरिएको छ । स्थलमार्गको प्रयोग गर्नुपर्दा रिर्पोट आउनमा ढिलाइ त भएको छ नै साथै नमुना के कसरी लगिएको हुन्छ जसले गर्दा त्यसको नतिजामा समेत विश्वस्त हुन नसकिने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

लकडाउनपछि दिनको १ वटा गाडी स्वाब लिएर प्रत्येक दिन बिहान काठमाण्डौं जाने गरेको छ । गाडी जानुअघि त्यही दिन बिहान नै स्वाब लिइने गरिएको छ । नेपालगञ्जमा भने हवाई जहाजमार्फत काठमाण्डौमा स्वाब परीक्षण पठाउने गरिएको छ । पठाएको तीन दिनभित्र परिक्षण रिर्पोट आउने गरेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापा बताउँछन् । यस हिसावले पनि प्रयोगशाला रिपोर्ट नआउन्जेल न चिकित्सक एवं स्वास्थ्यकर्मीले ढुक्कसँग विरामीको उपचार नै गर्छन्, न परिवारका सदस्यहरुलाई रेखदेख गर्न नै दिन्छन् । यसले गर्दा कोरोना नभएको विरामीको स्वास्थ्य समस्या झनै जटिल बन्ने र त्यसले मृत्युसमेत निम्त्याउने खतरा पनि उत्तिकै छ ।

त्यसैले पनि परीक्षण प्रदेशमा नै गर्ने भनी सरकारले सबै प्रदेशमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरिसकेको छ । प्रदेश ५ को मन्त्रिपरिषद्को बैठकले गत चैत १० गते प्रदेश स्तरीय कोभिड–१९ को प्रयोगशाला भैरहवास्थित बिउबिजन कार्यालयको भवनमा स्थापना गर्ने निर्णय ग¥यो । त्यसको एक हप्तापछि चैत्र १७ गते सोमबार पुनः प्रदेश नं. ५ को मन्त्रिपरिषद् बैठकले उक्त ठाउँसँगै प्रदेशको थप दुई ठाउँ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेको भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्ने निर्णय ग¥यो । तर, उक्त निर्णय कार्यान्वयनमा ढिलाई भएको छ ।

प्रदेश नं ५ को लागि भैरहवास्थित राष्ट्रिय गहुवाली अनुसन्धान केन्द्रभित्र रहेको आवास भवनमा प्रयोगशाला निर्माण भईरहेको छ । अहिले रंगरोगन, टायल विच्छयाउने, वेयरिङ लगायतका मर्मत संहारको काम भईरहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला केही दिनमा संचालनमा आउने र त्यहाँ कोरोना भाइरस (कोभिड १९) को परिक्षण गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालयका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिए । डा. गिरीका अनुसार बायोसेफ्टी क्याबिनेट, पोर्टेबल पीसीआर र रियल टाइम पीसीआर, परीक्षण किट, रिएजेन्ट (रसायन) आई शनिवार साँझसम्म तयारी पूरा भएको छ । संभवत भैरहवाको गहुँबाली परिषरमा स्थापना भएको प्रयोगशाला आज आईतबारबाट शुरु हुदैछ ।

प्रयोगशालालाई भविष्यमा प्रदेशस्तरको बीएसएल लेभल–२ स्तरको बनाउन सकिने पनि डा. गिरीले बताए । प्रदेशस्तरको प्रयोगशालामा एक दिनमा १५÷१६ वटा स्याम्पल परिक्षण गर्न सकिने छ ।

नेपालगञ्जमा पनि ल्याबको तयारी शुरु गरिएपनि कहिलेदेखि संचालन आउने भन्ने निश्चित भइसकेको छैन । प्रदेश मन्त्रीपरिषद बैठकले गरेको निर्णयअनुसार भेरी अस्पतालमा प्रयोगशाला निर्माणको काम शुरु गरिएको अस्पतालका मेसु डा. प्रकाश थापाले बताए । बुधवार अस्पतालले प्रयोगशालाको सामाग्री खरिदका लागि टेण्डर आह्वान गरेको छ भने प्रयोगशालामा एसी जडान लगायतका काम भइरहेका छन् ।

दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याबको स्थापना गर्ने भनिएपनि प्रारम्भिक काम समेत शुरु भएको छैन । प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाश देवले ल्याव खोल्ने विषय सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट थाहा पाएको तर निर्णय नआइसकेको बताए ।

तीन स्थानमा स्थापना गरिने ल्याबमध्ये भैरहवामा स्थापना हुने ल्याब सबैभन्दा कम क्षमताको छ । पोर्टेबल ल्याब भएको हुँदा क्षमता कम भएको र प्रदेश सरकारले एक÷दुई दिनमै ठूलो क्षमताको ल्याबको लागि अर्को टेण्डर गर्न लागिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । नेपालगञ्जको ल्याबले भने दैनिक १५० जनासम्मको परिक्षण गर्ने उनको भनाई छ । भैरहवाको ल्याब केही दिनभित्र र नेपालगञ्जको ल्याब हप्ता दिनभित्र संचालनमा आउने भएपनि दाङको ल्याब संचालनमा भने केही समय लाग्नसक्ने मन्त्री बरालले बताए । बाँकेबाट अहिलेसम्म कोरोना परीक्षणका लागि नमुना २५ जनाको नमूना पठाएकोमा सबैको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।

जनशक्तिको समस्या

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रदेश ५ का लागि पठाएको तीनजना विज्ञहरु भैरहवा, नेपालगञ्ज र दाङमा एक÷एक जनाका दरले रहने सामाजिक विकास मन्त्रालयले जनाएको छ । भैरहवाका लागि थप ४ जना जनशक्ति माग गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्रकुमार गिरीले बताए । तर, दाङ र नेपालगञ्जमा भने प्रदेशले जनशक्ति पठाएको छैन ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएका व्यक्तिहरुको अगुवाईमा सम्बन्धित ठाउँमा रहेका अस्पतालमा रहेका प्रयोगशालाका जनशक्तिले सहयोग गर्ने बताएको छ । तर, कोभिड १९ को ल्याब जटिल र फरक खालको भएको हँुदा मन्त्रालयको यो योजनाअनुसार काम हुन नसक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरु नै बताउँछन् । त्यसैले पनि प्रदेश ५ मा प्रयोगशाला स्थापना भएपछि जनशक्तिको समस्या पर्न सक्ने संभावना पनि उत्तिकै छ । स्वाब परीक्षणको स्याम्पल लिनका लागि भने प्रदेश ५ मा ४८ जना जनशक्ति तयार भएका छन् । काठमाण्ठौंबाट ३ जनाले तालिम लिएर आएकामा प्रदेश ५ ले बुटवलमा १३ जना, दाङमा १५ जना र नेपालगञ्जमा १७ जना स्वास्थ्यकर्मीलाई तालिम दिएको थियो । यससँगै स्वाबको नमूना लिनका लागि जनशक्ति सबै जिल्लामा पुगेको प्रदेश ५ को स्वास्थ्य निर्देशनालय बताउँछन् ।

प्रश्न र आशंका

प्रयोगशालाको परिक्षण शत प्रतिशत सफल नहुने त्यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी बताउने गर्दछ । स्वास्थ्यकर्मीका अनुसार डेगुको परीक्षण गर्दा प्रयोगशालाको नतिजा ६०÷४० रहने गर्दछ । ४० प्रतिशत असफल हुने भन्ने भनाईले कोरोनाको ल्याब परीक्षणमा पनि त्यसरी शंका गर्ने ठाउँ रहन्छ । तर विश्व स्वास्थ्य संगठनले ल्याब परिक्षणमा प्रयोग हुने सामग्रीहरुको मापदण्ड तोकिए अनुसार हुने हुदा ति सामग्री प्रयोग भएको अवस्थामा विश्वसनिय नै हुने स्वास्थ्यकर्मी तर्क गर्छन् । तर स्वास्थ्यकर्मीहरुले शत प्रतिशत नै ठोकुवा गर्न भने सक्दैनन् । अहिलेको अवस्थामा यो कुरा नगरौं र गर्नका लागि हतार हुने उनिहरुको तर्क छ । अर्कोतिर स्वाको स्याप्पल लिदा ठिक तरिकाले लिन नसकेको अवस्था पनि कोरोना परिक्षणमा फरक पर्न सक्ने अर्को संभावना छ । यि र यस्तै कारणले गर्दा स्वाब लिने र प्रयोगशाला परीक्षणमा दोहोर्याउने मात्र होइन तेश्रो र चौथो पटक पनि स्वाब परिक्षण हुनु बढी भरपर्दो देखिन्छ ।

डा. सुदर्शन थापाको भनाईले पनि यो पुष्टि गर्छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्श थापा ल्याब परीक्षणमा स्वाबको नतिजा नेगेटिभ आएपनि उनमा देखिएको लक्षणहरुका कारण भन्ने हो भने उनमा कोरोना छैन भनेर ढुक्क हुने अवस्था नरहेको बताउँछन् ।

पहिले देखि नै उहाँको पृष्ठभूमी हेर्दा उहाँ दुवई देखि नै ज्वरो खोकी लिएर आउनुभएकोले मृत्युको कारण छुट्याउन गाहे भयो । ‘अब आजपनि रिर्पोट नेगेटिभ आइसकेपछि अब यही नै हो भनेर ठ्याक्कै किटान गरेर भन्न सकिने अवस्था पनि रहेन ।’ डा. थापाले भने, फेरी कोरोना होईन भनेर सय प्रतिशत निश्चित हुन सक्ने अवस्था पनि रहेन । ढुक्क हुन नसकिने कारण खोल्दै उनले भने, ‘किन भनेदेखि लक्षण हेर्दाखेरी सबै मिल्दोजुल्दो देखियो, उताबाट पनि आको बिरामी हुनुभयो ।’

अबको बाटो

सरकारले शनिबार साँझ मात्र मुलुक लकडाउनसँगै प्रदेश, जिल्ला र अन्तरपालिकामा आवत जावतमा कडाई गर्ने निर्णय गरेको छ । अर्कोतिर सरकारले नै कैलाली, कञ्चनपुरमा नयाँ बिरामी भेटिएसँगै कोरोनाको दोश्रो चरणमा प्रवेश गरेको बताएको छ । त्यसकारण लकडाउनले मात्रै कोरोना संक्रमण रोकिने अवस्थामा देखिएको छैन् । भारतबाट आएका व्यक्तिमा समेत भेटिनु र बाहिरबाट संक्रमित भई आएको व्यक्तिबाट नेपालभित्र रहेको व्यक्ति संक्रमित भएको घटनासँगै अब सरकारले शंकास्पद बिरामीको स्वाब परिक्षणको संख्या र क्षेत्र बढाउनुको बिकल्प देखिदैन । सरकारले अवका दिनमा परीक्षणको दायरा बढाएर दोस्रो चरणको कोरोना बिरुद्दको अभियान शुरु गर्नका लागि ढिलाई नर्ग नहुने स्वास्थ्यकर्मीको सुझाव छ । स्वाब लिने र प्रयोगशाला परीक्षणमा दोहोर्याउने अभ्यास मात्र अहिलेको अभ्यास हो । अब यतिले मात्रै नपुग्न सक्छ त्यसैले तेश्रो र चौथो पटक पनि स्वाब परिक्षण हुनु बढी भरपर्दो देखिन्छ ।

त्यसैगरी क्वारेन्टाइन स्थलमा राखेका व्यक्तिहरु र आइसोलेन बेडमा रहेका व्यक्तिहरुको दैनिक स्वास्थ्य जाँच गर्नुपनि उत्तिकै आवश्यक देखिन्छ । अन्तर प्रदेश, अन्तरजिल्ला र अन्तरपालिका आवत जावतमा कडाई गरेको निर्णयले मात्रै पनि कोरोना सक्रमणको सावधानी अपनाएको हुनेछैन् । त्यसका लागि सयन्त्र पनि बनाउनु आवश्यक छ । त्यसैगरी नेपाल भारतबीच खुल्ला सीमा हुदा सीमाबाट लुकुछिमी नेपालीहरु नेपाल प्रवेश गरिरहेको अवस्थामा अन्तर प्रदेश, अन्तर जिल्ला र अन्तर पालिकामा आवतजावत कसरी सफल होला ? प्रश्न उठेको छ ।

Sharing is caring!