कोरोना खर्च १६ करोड ४३ लाख

गोपाल शर्मा भट्टराई/उमा भण्डारी २०७७ चैत्र दाङ

खर्चको विवरण र सम्बन्धित कार्यलयका कर्मचारीहरको भनाईलाई आधार बनाउँदा क्वारेन्टाइन व्यवस्थापनको खर्चमा स्थानीय तहबाट बदमासी भएको देखिन्छ ।

दाङको राजपुर गाउँपालिकाले क्वारेन्टाइन सञ्चालन व्यवस्थापनका लागि ९० लाख ६८ हजार ९ सय ३८ रुपैया खर्च गरेको छ । कोरोना कहरको समयमा यो रकमले ८ सय ४० जनालाई क्वारेन्टाइनमा व्यवस्थापन गरेको देखाइएको छ । क्वारेन्टाइनकै लागि थप १७ लाख ७८ हजार रुपैयाँको औषधी समेत पालिकाले खरिद गरेको छ । यस हिसावले प्रति ब्यक्ति दश हजार ७ सय ९६ रुपैयाँ खर्च भएको देखिन्छ । १० दिनको क्वारेन्टाइन व्यवस्थापनमा प्रति व्यक्तिको यो खर्च प्रति दिन एक हजार रुपैयाँभन्दा बढी रहेको छ ।

घोराही उपमहानगरपालिकाले क्वारेन्टाइनमा बस्नेहरुका लागि टुथपेष्ट, ब्रस, तौलिया, चप्पलको नाममा २२ लाख ३४ हजार एक सय ३९ रूपैयाँ खर्च गरेको देखाएको छ । वडा तहमा क्वारेन्टाइन व्यवस्थापन गरेका वडाहरूका अनुसार उपमहानगरले किन्दै नकिनेको सामान किनेको देखाएको आरोप लगाएका छन् । साढे चार लाखको खाना मात्र खुवाइएको कुरा तथ्याङकमा देखाइएको छ । तर, घोराहीले सञ्चालन गरेका क्वारेन्टाइनहरुमा सम्बन्धित व्यक्तिका घरबाट नै खाना आउने गरेको थियो । घोराही उपमहानगरका एक स्वाथ्यकर्मीले भने, ‘खाना क्वारेन्टाइनमा पाकेन, सबैका घरघरबाट ल्याइन्थयो, खाना खर्च कसरी राखिएको हामीलाई थाहा छैन ।’ यसरी खर्चको विवरण र सम्बन्धित कार्यलयका कर्मचारीहरको भनाईलाई आधार बनाउँदा क्वारेन्टाइन व्यवस्थापनको खर्चमा स्थानीय तहबाट बदमासी भएको देखिन्छ ।

कोरोना व्यवस्थापनका लागि दाङका स्थानीय सरकारहरुले १६ करोड ४२ लाख ८५ हजार ८ सय १६ रुपैयाँ रकम खर्च गरेका छन् । कोरोना प्रभाव सुरु भएपछि जिल्लाका १० स्थानीय तहले यो रकम खर्च गरेका हुन् । पालिकाहरुले अस्पताल निर्माण, क्वारेन्टाइन ब्यवस्थापन एवं सञ्चालन, सामग्री एवं औषधी खरिद, एम्बुलेन्स सञ्चालन, राहत वितरण, अनुदान, जोखिम भत्ता लगायतका शीर्षकमा कोरोना खर्च देखाएका छन् । केहि स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन सञ्चालनमा समेत ल्याएको विवरण खर्चमा देखाएका छन् । कोरोना महामारी नियन्त्रणका लागि राजपुर गाउँपालिकाले सबैभन्दा धेरै बजेट खर्च गरेको छ भने दंगीशरण गाउँपालिका सबैभन्दा कम खर्च गरेको पालिकाका सूचना अधिकारीहरुले जनाएका छन् । कोभिड–१९ रोकथाम तथा ब्यवस्थापन शीर्षकमा तुलसीपुर उपमहानगरपालिकाले २ करोड ४९ लाख आठ हजार रुपैयाँ खर्च गरेको छ ।

घोराही उपमहानगरपालिकाले २ करोड ४७ लाख ८९ हजार दुईसय ९ रुपैयाँ खर्च गरेको छ । राजपुर गाउँपालिकाले दुई करोड ८३ लाख ५९ हजार ६ सय ३४ रुपैयाँ, बंगलाचुली गाउँपालिकाले एक करोड आठ लाख रुपैयाँ बजेट खर्च गरेका छन् । यस्तै बबई गाउँपालिकाले एक करोड २५ हजार ३८, राप्ती गाउँपालिकाले एक करोड ३९ लाख ५५ हजार चारसय सात रुपैयाँ, दंगीशरण गाउँपालिकाले ३८ लाख ८३ हजार दुईसय १५ रुपैयाँ र लमही नगरपालिकाले एक करोड सातलाख सात हजार ६ सय ९ रुपैयाँ बजेट खर्च गरेको छ । शान्तिनगर गाउँपालिकाले १ करोड ९२ लाख ५ हजार ८ सय ७७ रुपैया खर्च गरेको देखाएको छ । गढवा गाउँपालिकाले १ करोड ७६ लाख ५१ हजार ८ सय २७ रुपैया खर्च गरेको छ ।

क्वारेन्टाइनमा बढी रकम

पालिकाहरुले कोभिड–१९को प्रकोप नियन्त्रण अन्र्तगत सबैभन्दा बढी रकम क्वारेन्टाइन सञ्चालन व्यवस्थापनमा खर्च गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा लागि मात्रै एक करोड ४५ लाख ३९ हजार रुपैयाँ बजेट खर्च गरेको छ । यस्तै घोराही उपमहानगरपालिकाले क्वारेन्टाइन निर्माण, क्वारेन्टाइनमा आवश्यक सामाग्री, खाद्यान्नलगायतको शीर्षकमा २६ लाख ७६ हजार पाँचसय ४५ रुपैयाँ, लमही नगरपालिकाले वडास्तरीय क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन शिर्षकमा ३४ लाख ६६ हजार सातसय ३२ रुपैयाँ, राप्ती गाउँपालिकाले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनमा ४२ लाख ४२ हजार ६ सय १८, दंगीशरण गाउँपालिकाले ९ लाख ८१ हजार ७ सय ४७, बंगलाचुली गाउँपालिकाले क्वारेन्टाइन तथा आइसोलेसन सामग्री शिर्षकमा २५ लाख रुपैयाँ, राजपुर गाउँपालिकाले ९० लाख ६८ हजार ९ सय ३८ रुपैयाँ बजेट खर्च गरेका छन् । बवई गाउँपालिकाले विषयगत रुपमा नभई एकमुष्ठ रुपले एक करोड २५ हजार तीनसय ३८ रुपैयाँ खर्च गरेको गाउँपालिकाले जनाएको छ । शान्तिनगर गाउँपालिकाले ३५ लाख खर्च गरेको छ ।

आवश्यकता र अवस्थाअनुसार कोरोना व्यवस्थापनमा खर्च गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए । उनले कोरोना रोकथाम मात्रै नभएर नगरले विपन्नहरुको लागि विशेष कोरोना प्याकेज ल्याएर यसको व्यवस्थापन गरिएको बताए । ‘हामीले कमभन्न्दा कम कोरोनाको प्रभाव परोस भनेर यो अबधीमा काम गरेका छौ’, उनले भने, ‘धेरै हदमा हामी सफल भयौं । क्वारेन्टाइन व्यवस्थापनले नै संक्रमणलाई न्यूनीकरण गरेको उपमहानगरका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । शान्ति नगर गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगीले चाहिं गाउँपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि पूर्णरुपमा कोरोना केन्द्रित हुदा केहि बढी बजेट खर्च हुनु स्वभाविक रहेको बताए ।

एउटै शीर्षकमा दोहोरो खर्च

कोरोना नियन्त्रण तथा व्यवस्थापनका नाममा कतिपय पालिकाहरुले दोहोरो बजेट खर्च गरेको पाइएको छ । राजपुर र दंगीशरण गाउँपालिकाले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनको शीर्षकमा दोहोरो खर्च गरेका छन् । दंगीशरण गाउँपालिकाले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि ९ लाख ८१ हजार सात सय सात रुपैयाँ बजेट खर्च भएको जनाएको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि खरिद सामग्रीको शीर्षकमा ४ हजार पाँच सय, क्वारेन्टाइन सञ्चालनका लागि ज्यालावापत ८८ हजार पाँच सय २० रुपैयाँ खर्च गरिएको गाउँपालिकाकाका सुचना अधिकारी विनोद अधिकारीले जानकारी दिए ।

एउटै शीर्षकले सम्वोधन गर्ने शीर्षकहरुको दोहोरो शीर्षक बनाएर खर्च गरिएको छ । जस्तै क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन एउटै विषय र आशय भएपनि दोहोरो शीर्षक बनाएर खर्च गरिएको छ । क्वारेन्टाइन संचालन तथा व्यवस्थापन शीर्षकमा ९० लाख ६८ हजार ९ सय ३८ रुपैयाँ बजेट खर्च भएको राजपुर गाउँपालिकाका सुचना अधिकारी महेश थापा ठेडीले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक सामग्रीको खरिदका लागि थप ३१ लाख ५७ हजार रुपैयाँ बजेट खर्च गरिएको छ ।

कर्मचारीलाई पेश्की

दंगीशरण गाउँपालिकाले आफ्ना कर्मचारीलाई पेश्की स्वरुप चारलाख १७ हजार आठसय २६ रुपैयाँ बुझाएको दंगीशरण गाउँपालिकाका सुचना अधिकारी विनोद अधिकारीले जानकारी दिए । क्वारेन्टाइन तथा राहत व्यवस्थापनका लागि स्टोर प्रमुख मस्तवीर चौधरीलाई एकलाख २० हजार ६ सय ८१ रुपैयाँ पेस्की दिएको अधिकारीले बताए । हेकुली क्वारेन्टाइन व्यवस्थापनका लागि हेल्थ असिस्टेन्ट अनन्त चौधरीलाई दुईलाख ५४ हजार ९ सय २० रुपैयाँ पेस्की दिईएको बताए । यस्तै वडा नं.७ का वडा सचिव दिपक केसीले श्रीगाउँ क्वारेन्टाइनमा खाजा खानाको लागि ४२ हजार दुईसय २५ रुपैयाँ पेस्की खर्च दिइएको बताए ।

प्रभावित किसानहरुलाई अनुदान

कोरोना प्रभावित नागरिकहरुका लागि पालिकाहरुले खाद्यान्न तथा अन्य सामग्रीहरु राहतका रुपमा वितरण गर्दै आएका छन् । तर, राजपुर गाउँपालिकाले भने किसानहरुलाई राहतसंगै धानको विउ अनुदानमा बितरण गरेको छ । गाउँपालिकाले ४४ लाख ३२ हजार ४ सय ७० रुपैयाँ धानको बिउ अनुदानमा खर्च गरेको छ ।

पालिकाहरुको कोरोना खर्चमा भने आम नागरिकले आंशका व्यक्त गरेका छन् । उनीहरुले लामो समयसम्म कोरोना खर्च विवरण सार्वजनिक नगर्नुले आशंका बढाएको हो । अझ अहिले सार्वजानिक गरिएको खर्च अस्वभाविक भएपछि स्थानीय तहको खर्चको विषयमा प्रश्न उठ्न थालेको छ । दंगीशरण गाउँपालिकाका स्थानीय प्रकाश डाँगीले कोरोनाको खर्च अस्वभाविक रुपमा बढी देखिएको बताए । तुलसीपुरका देवा बस्नेतले कोरोनाका नाममा पालिकाहरुले जथाभावी खर्च गरेको र त्यस्तो रकममा अनियमितता भएको बताइन् ।

पालिकाहरुको खर्च विवरण

तुलसीपुर उपमहानगरपालिका

क्र.सं.खर्च विवरणखर्च रकम
क्वारेन्टाइन सञ्चालन१४५३९०००
खाद्य लगायत सामाग्री खरिद८९३२०००
गाडी भाडा भुक्तानी२९९०००
विमा शुल्क भुक्तानी५८२०००
विविध खर्च२५४०००
हेल्पडेस्क खर्च१५४०००
मर्मत खर्च१४८०००
१०जम्मा खर्च२४९०८०००

घोराही उपमहानगरपालिका

क्र.सं.खर्च विबरणखर्च रकम
अस्पताल निर्माण तथा व्यवस्थापन१७८००००
प्रयोगशाला निर्माण तथा स्तरोन्नती 
क्वारेन्टाईन निर्माण÷सामग्री खरिद तथा खाना खर्च२६७६५४५
आइसोलेसन निर्माण वा तयारी , व्यवस्थापन खर्च,खाना तथा खाजा खर्च३१९५५६५
आइसोलेसन वा क्वारेन्टाइनमा औषधी खर्च२०२१२
औषधीजन्य सामग्री तथा स्वास्थय उपकरण  एवं शव व्यवस्थापन सामग्री५१६०९७६
राहत वितरण१८२०७४७
संक्रमणकालिन अवस्थामा खटिएका कर्मचारीहरुलाई जोखिम भत्ता८५१७३५६
अल्पत्र यात्रुहरु उद्धारका लागि यातायात  खर्च९८१२००
१०अन्य८२०१९
११जम्मा खर्च२४७८९२०९.६

लमही नगरपालिका

क्र.सं.खर्च विबरणखर्च रकम
आइसोलेसन अस्पताल बेलझुण्डी नगद हस्तान्तरण१०००००
आइसोलेसन अस्पताल लालमटीया नगद हस्तान्तरण१००००००
नगरपालिका र अस्पताल परिसरमा स्यानिटाइजिङ टनेल जडान र रिफिलिङ२५८९९२
कोभिड–१९सम्वन्धी सचेतनामुलक सामग्री छपाई तथा प्रचारप्रसार६४४००
हेल्थडेस्क व्यवस्थापन खर्च३३२७५
औषधी तथा औषधीजन्य सामग्री खरिद७६०९६०
वडास्तरीय क्वारेन्टाइन निर्माणतथा व्यवस्थापन (१९ वटा)३४६६७३२
विपन्न बर्गहरुलाई राहत बितरण खर्च३७७१७८६
जम्मा खर्च१०७०७६०९

बंगलाचुली गाउँपालिका

क्र.सं.खर्च विबरणखर्च रकम
क्वारेन्टाइन तथा आइसोलेसन सामग्री२५०००००
औषधी÷उपकरण२२०००००
खाद्यान्न सामग्री व्यवस्थापन खर्च३३०००००
लत्ताकपडा व्यस्थापन५०००००
सरसफाई तथा स्वाथ्य सुरक्षा सामग्री२३०००००
जम्मा खर्च१०८०००००

राप्ती गाउँपालिका

क्र.सं.खर्च विबरणखर्च रकम
राहत वितरण४७६७०८६
क्वारेन्टाइन आइसोलेसन व्यवस्थापन खर्च१८८२४६७
यात्रु ओसारपसार÷भाडा÷ईन्धन तथा अन्य यातायात२९८२५६
क्वारेन्टाइनमा बस्नेहरुकाको खाजा÷खाना खर्च२३६०१५९
स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापन खर्च२५२३२२६
स्वास्थ्यकर्मी÷कर्मचारी प्रोत्साहन खर्च१८५१२६३
क्वारेन्टाइन व्यवस्थापनमा प्रयोग भएका एम्वुलेन्स÷गाडी मर्मत१६७८९२
जम्मा खर्च१३९५५४०७

दंगीशरण गाउँपालिका

क्र.सं.खर्च विबरणखर्च रकम
दुई चरणमा राहत वितरण४४७१९२
क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन खर्च९८१७४७
औषधी र औषधीजन्य उपकरण९५९२१३
सचेतनामुलक सुचना प्रकाशन तथा व्यानर छपाई४१०००
श्रीगाउँ क्वारेन्टाइनमा खाजा खाना खुवाएको७३७९९५
हेंकुली क्वारेन्टाइनमा मेश संचालनका लागि  ज्याला८८५२०
श्रीगाउँ क्वारेन्टाइनमा पानी र विद्युत महशुल१६८४७
क्वारेन्टाइन व्यवस्थापनका लागि केराउ र चना४५००
स्वाव तथा व्यवस्थापनमा खटिने कर्मचारीलाई दैनिक भ्रमण खर्च भुक्तानी३६००
१०क्वारेन्टाइन व्यवस्थापनकालागि स्टोर प्रमुख मस्तवीर चौधरीलाई पेश्की र पेफ१२०६८१
१२हेअ अनन्त चौधरीले हेंकुली क्वारेन्टाइन व्यवस्थापनका लागि गरेको पेश्की र पेफ२५४९२०
१३श्रीगाउँ क्वारेन्टाइनमा खाजा खाना व्यवस्थापनका लागि वडा नं. ७ का सचिव दिपक केसीले लगेको पेश्की र पेफ४२२२५
१४कोरोना विशेष अस्पताललाई सहयोग५००००
१५नागरिकहरुको उद्धारका लागि यातायात खर्च१५०००
१६कर्मचारी र जनप्रतिनिधीको कोरोना विमा खर्च८५८००
१७जम्मा खर्च३८८३२१५

नोटः– बवई गाउँपालिकाले भने क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन शिर्षकमा एकमुष्ठ १ करोड २५ हजार ३८ रुपैयाँ खर्च भएको जनाएको छ ।

Sharing is caring!