कोरोना महामारी रोकथाम रणनीति

विदेशबाट आउनेको खोजी गर्न स्थानीय संयन्त्र प्रभावकारी

सी. पी. खनाल चैत २०७६ बुटवल

टोेल विकास संस्थाले विदेशबाट आउनेको जानकारी लिन्छन् । कुन टोलमा को आयो भन्ने कुरा टोल विकास संस्थाका अध्यक्षले पालिकामा खबर गर्छन् । विकासका कामका लागि बनेका टोलविकास संस्था संकटको बेलामा महामारी रोक्न लडिरहेका छन् ।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी वाग्लुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखियो । त्यही जहाजमा अर्घाखाँची छत्रदेवका बासिन्दा पनि आएका थिए भन्ने हल्ला गाउँभर फैलियो । हल्लासँगै गाउँभर त्रास फैलियो । छत्रदेव गाउँपालिकालाई चिन्ता बढ्यो–ती व्यक्ति कसरी पत्ता लगाउने ? कतार एयरवेजको ‘क्युआर ६५२’ विमानमा आएका कोही भए सम्पर्क राख्न भन्दै गाउँपालिकाले गाउँभर प्रचार ग¥यो ।

गाउँका अगुवा, समाजसेवी, राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी मिलेर ती व्यक्ति को हुन् भन्ने खोजी गरे । टोलटोलमा सोधीखोजी गर्न माइकिङ गरे । दुईजना व्यक्ति सोही जहाजमा सँगै आएका रहेछन् । त्यहीँ उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण भयो । ‘उनीहरुमा कोरोना संक्रमण छ कि छैन भनेर परीक्षणका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइयो, उनीहरुमा संक्रमण देखिएन’, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले भने, ‘उनीहरुमा संक्रमण छ वा छैन भनेर पठाएसँगै त्यही संयन्त्र विदेशबाट आएका अरु व्यक्ति खोज्नमा लाग्यो ।’


शुरुमा विदेशबाट आएकाहरु सम्पर्कमा आउन डराए । क्वारेन्टाइनमा बसेपछि झन् समस्या बढ्छ कि भन्ने चिन्ताले सम्पर्कमा नआएको विश्लेषण गर्दै जब गाउँपालिकाले क्वारेन्टाइन, आइसोलेसनबारे सचेतना फैलायो अनि आफै सम्पर्कमा आउन थाले । गाउँपालिकाको अनुरोधपछि सम्पर्कमा आएका २४ जनालाई नजिकको क्वारेन्टाइनमा राखिएको छ । तीमध्ये विदेशबाट आएको १४ दिन पूरा भइसकेका २ जनालाई घर पठाइसकेको र घरमै सावधानी अपनाउन परामर्श दिएको अध्यक्ष पोख्रेलले बताए । गाउँपालिकाले विदेशबाट आउनेहरु नरोकिएकाले खोजीको काम जारी राखेको छ ।

पाल्पाको निस्दी गाउँपालिकामा पनि सुरुमा यस्तै समस्या भयो । गाउँलेले अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै गाउँपालिकाको विरोध गरे । विदेशबाट आउनेहरुमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने र त्यसले गाउँलाई नै संक्रमण फैलाउन सक्ने जोखिमबारे सन्देश फैलायो,गाउँपालिकाले । त्यसपछि त गाउँपालिकाले एकआपसमा नाकाबन्दीजस्तै गरेर नियन्त्रण गर्न खोज्यो भन्नेहरु नै विदेशबाट आएकाहरुको खोजी गर्न सहयोगी भए । ‘यो नाकाबन्दी जस्तो लडाई हैन, यो रोगसँगको लडाई हो भनेर बुझाउन समय लाग्यो’, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले सुरुवाती अवस्थावारे भने, ‘गाउँलेहरुले त्यसपछि गाउँमा नयाँ मान्छे आएपछि खबर गर्न थाले ।’

गाउँपालिकाले गाउँटोलमा स्वास्थ्यकर्मी खटायो । जनप्रतिनिधिहरु घरघरमा गए । कोरोना भाइरसबारे सबैले मिलेर सचेतना फैलाए, विदेशबाट आएकाहरु खोजे । ¬¬¬¬गाउँटोलमा पुगेर सोधीखोजी गरेपछि लकडाउनपछि पनि गाउँमा ८५ जना विदेशबाट आएका पाइयो । निस्दी गाउँपालिकामा चिन्ता बढ्यो । सुरक्षा र सर्तकता अपनाउनुपर्ने थियो । तर, गाउँपालिकासँग त्यसका लागि पर्याप्त सामग्री र स्वास्थ्यकर्मी थिएनन् ।

गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिन एउटा उपाय निकाल्यो–विदेशबाट आउने जतिलाई थर्मोमिटर दिने र दिनदिनै उनीहरुको तापक्रम लिने । सोहीअनुसार निस्दी गाउँपालिकाले शुरुमा ५५ जनालाई थर्मोमिटर बाँड्यो । थर्मोमिटर नपुगेका व्यक्तिको तापक्रम नाप्न सहयोगमा पाएका २ वटा इन्फ्रारेड थर्मोमिटर प्रयोग गरिरहेको छ । उनीहरु आफ्नै घरमा छुट्टै (होम क्वारेन्टाइन) बस्छन् र कसैसँग भेटघाट गर्दैनन्, सावधानी अपनाउँछन् । तापक्रम बढ्ने र कोरोना भाइरसका लक्षणसँग मिल्ने अरु लक्षण देखिए गाउँपालिकाको क्वारेन्टाइनमा लैजाने तयारी रहेको अध्यक्ष सारुले बताए ।
गाउँपालिकाले नयाँ मान्छे गाउँमा आए कहाँबाट आएको हो, स्वास्थ्य कस्तो छ भनेर जाँच गर्ने अभियान नै चलायो । त्यसको नेतृत्व वडा सदस्यदेखि गाउँपालिका अध्यक्षसम्मले गर्छन् । टोलमा कोही आयो भने त्यहाँका अगुवाले गाउँपालिकामा खबर गर्छन् । ‘भौगोलिक हिसाबले सबैतिर पुग्न पनि गाह्रो थियो, पर्याप्त श्रोतसाधन पनि थिएन’, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले ठाउँअनुसारको उपाय अपनाएको बताउँदै भने, ‘उनीहरुको नियमित स्वास्थ्य जाँच गरेपछि केही समस्या देखिए क्वारेन्टाइनमा राख्ने तयारी गरेका छौं ।’

निस्दी गाउँपालिकाले १२ बेडको क्वारेन्टाइन तयार पारेको छ । प्रदेश सरकारले प्रत्येक वडामा क्वारेन्टाइन तयार गर्न भनेपछि ७ वटै वडामा १५ वटा बेडसहितको क्वारेन्टाइन तयार पार्दैछ, निस्दीले । गाउँपालिकाले अब विदेशबाट आउने थपिए सिधै क्वारेन्टाइनमा लग्छ । विदेशबाट आउनेहरुको खोजीमा गाउँपालिकाले वडास्तरमा टोली खटाएको छ ।

रुपन्देहीको तिलोत्तमाले विदेशबाट आउनेको जानकारी लिन घुम्ती टोली बनाएको छ । तिलोत्तमाका टोेल विकास संस्थाले विदेशबाट आउनेको जानकारी लिन्छन् । कुन टोलमा को आयो भन्ने कुरा टोल विकास संस्थाका अध्यक्षले पालिकामा खबर गर्छन् । विकासका कामका लागि बनेका टोलविकास संस्था संकटको बेलामा महामारी रोक्न लडिरहेका छन् ।

नगरपालिकाले विदेशबाट आएकाहरुको जानकारी होस् र सबैले सतर्कता अपनाउन सकुन् भनेर घरमै ‘होम क्वारेन्टाइन’ लेखेका स्टिकर टाँसेको छ । ‘यसले को विदेशबाट आएको छ भन्ने कुरा अरुलाई पनि थाहा हुन्छ र सावधानीका उपाय अपनाउन सजिलो हुन्छ भनेर घरपरिवारकै सल्लाहमा स्टिकर टाँसेका छौं’, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे भन्छन्, ‘यसले सबैलाई सजिलो बनाएको छ ।’

नगरपालिकाको १ सय ९५ वटा घरमा होम क्वारेन्टाइनका स्टिकर टाँसिएको छ । विदेशबाट आएको १५ दिन नपुगेका व्यक्तिसँग कसरी सर्तकता अपनाउने भनेर घरपरिवारलाई समेत स्वास्थ्यकर्मीले परामर्श दिएका छन् । टोल विकास संस्थाले टोलमा कोही नयाँ व्यक्ति आए नगरपालिकामा खबर गर्छन् । नगरपालिकाका स्वास्थ्यकर्मीले उनीहरुको स्वास्थ्य जाँच गर्छन् । नगरपालिकाको क्वारेन्टाइनमा बस्ने या घरमै क्वारेन्टाइन बस्ने टुंगो लगाउँछन् ।

विदेशबाट आएर सीमामा अलपत्र परेका नागरिकलाई समेत क्वारेन्टाइनमा राखेको नगरपालिका प्रमुख घिमिरे बताउँछन् । ‘सीमामा अलपत्र परेका केही व्यक्तिलाई समेत हामीले क्वारेन्टाइनमा राखेका छौं’, उनले भने, ‘अन्यत्र क्वारेन्टाइन नभएकाले बाग्लुङ, परासी, बर्दिया, सुर्खेतका व्यक्तिहरु क्वारेन्टाइनमा हुनुहुन्छ, उहाँहरुको खानपिनदेखि दैनिक आवश्यक पर्ने टुथपेष्टसम्मका सामान हामीले दिएका छौं, कसैलाई असहज नहोस् भन्ने हिसाबले सबै काम गरेका छौं ।’

शहरमा एउटा घरका धेरै कुरा अर्को घरमा थाहा हुन्नन् । तर, गाउँमा त्यस्तो छैन । वडाध्यक्ष वा वडा सदस्य गाउँका प्रत्येक घर परिवारसँग परिचित हुन्छन् । कसको घरमा को आयो भन्ने कुरा जनप्रतिनिधिले थाहा पाउँछन् । रोल्पा नगरपालिकामा चिनजान हुनुको फाइदा संकटको बेलामा उपयोगी भएको छ । चुनाबका बेला भोट माग्न घरदैलोमा हिडेकै शैलीमा जनप्रतिनिधीहरु यतिवेला गाउँमा विदेशबाट आएका व्यक्तिको खोजीमा निस्किएका छन् । रोल्पा नगरपालिका वडा नं. ४ का अध्यक्ष नवराज आचार्य विदेशबाट आउनेहरुलाई खोज्न गाउँलेहरुले साथ दिएको बताउँछन् । ‘हामीहरु आफैले पनि चिनजानका हुने भए, गाउँलेहरुले पनि हामीहरुलाई नयाँ व्यक्ति आए खबर गर्नुहुन्छ’, उनले भने ।

रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार महामारी फैलिनसक्ने जोखिम रोक्न जनप्रतिनिधिको भूमिका प्रभावकारी देखिएको छ । ‘स्थानीय सरकार र जनप्रतिनिधि नभएको भए जोखिमको बेला यसरी सजिलोसँग काम गर्न सकिदैनथ्यो, स्थानीय सरकारको महत्व यो विपदको बेलाले बुझाएको छ, यसले जोखिम न्यूनीकरण गर्न सहज भएको छ’, उनले भने ।
रोल्पा नगरपालिकाले बनाएका क्वारेन्टाइनमा विदेशबाट आएका ४१ जना छन् र १ जना आइसोलेसनमा छन् । नगरपालिकाले उनीहरुको नियमित स्वास्थ्य परीक्षण गर्छ । वडाहरुमार्फत कोही नयाँ व्यक्ति आएमा जाँच गरेर क्वारेन्टाइनमा राख्छ । तर, लकडाउनको अवधि लम्बिदै गएपछि भारतका साथै देशभित्रकै अन्य शहरहरुबाट पैदल आउनेको संख्या दिनदिनै बढिरहेको छ । स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्नुपर्न भएकाले स्थानीयहरु रातीमा आउन थालेका छन् जसप्रति स्थानीय तहहरु बढी सजग भएको जनप्रतिनिधीहरु बताउँछन् ।

रातीमा पैदल आउन थालेपछि पाल्पाको तानसेन नगरपालिकाले घरघरै गएर सोधीखोजी गर्न थालेको छ । ‘लकडाउनको अवधि लम्बिएपछि हिडेरै आउनेहरु बढिरहेका छन्‘, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही भन्छन्, ‘दिउसोमा आए क्वारेन्टाइनमा बस्नुपर्छ भनेर रातीमा आएको थाहा पायौं, त्यसपछि स्वास्थ्यकर्मीसहितको टोली घरघरमै गएर सोधीखोजी गर्ने र स्वास्थ्य परीक्षण गर्ने गरिरहेका छौं ।’ यसमा वडास्तरबाट अगुवाई भइरहेको र टोलहरुलाई पनि सक्रिय गराएको शाहीले बताए । पाल्पामा मात्रै चैत्र ११ पछि विदेशबाट आउनेहरुको संख्या १ हजार २ सय ४० पुगेको छ (हेर्नुस तालिका) ।

यसरी असहजताका बीच प्रदेश ५ का १ सय ९ वटै स्थानीय तहले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको सावधानी अपनाउन आफुसँग भएका परम्परागत संयन्त्र प्रयोग गरिरहेका छन् । यो संकटको बेलामा टोलविकास संस्था, सामाजिक अभियन्ताहरु, समाजसेवी, राजनीतिकर्मीहरु संकटसँग लड्ने बलियो संयन्त्रको रुपमा क्रियाशील छन् । यो विपदको बेलामा स्थानीय तह र जनप्रतिनिधि सक्रिय भएकै कारण सम्भावित जोखिमविरुद्ध लड्न सहज भएको छ ।

छत्रदेव गाउँपालिकाका अध्यक्ष पोख्रेल भन्छन्, ‘विदेशबाट आउनेहरु दिनदिनै बढिरहे, तर हामीसँग स्वास्थ्यका सामग्री पर्याप्त थिएनन्, बुटवल, काठमाडौं कतै पनि स्वास्थ्यका सामग्री नपाएपछि विदेशमा रहेका हाम्रा साथीभाई, शुभेच्छुकहरुसँग सहयोग माग्यौं, हामी पनि भारतको गोरखपुर गएर सामान लिएर आयौं ।’ विदेश र शहरबाट गाउँ फर्किनेहरुको संख्या बढेसँगै गाउँमा जोखिम बढेपछि ग्रामीण क्षेत्रका स्थानीय तह बढी सर्तक भएका हुन् ।

सीमित श्रोतसाधनका¬¬¬¬¬ बीच सम्भावित जोखिमको पूर्वतयारीमा जुटेका छन्, स्थानीय तह । नेपालमा विदेशबाट आउने ८ जना र उनीहरुको सम्पर्कमा रहेका १ जनामा कोरोना संक्रमण देखिएका कारण पनि विदेशबाट आउनेको तथ्यांक संकलन गरेर उनीहरुलाई छुट्टै राख्ने र संक्रमण फैलिन नदिने उपाय स्थानीय तहहरुले अवलम्बन गरेका हुन् । प्रदेश ५ का सबै स्थानीय तहले विदेशबाट आउनेको खोजी गर्ने, स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइन बनाएर आवश्यक व्यक्तिलाई राख्ने, नियमित स्वास्थ्य जाँच गर्ने काम गर्दै आएका छन् ।

प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार प्रदेश ५ का १२ जिल्लामा विदेशबाट आएका र शंकास्पद व्यक्तिलाई निगरानीमा राख्नकै लागि २ सय ९६ स्थानमा ५ हजार ५ सय बेडका क्वारेन्टाइन बनेका छन् । यस्तै ३३ स्थानमा ५ सय ४ बेडका आइसोलेशन तयार छन् । तर क्वारेन्टाइनमा बस्नेको संख्या भने थोरै छ । २ हजार ३ सय ५१ जनाबाहेक धेरैजसो ‘होम क्वारेन्टाइन’मा बसेका छन् । अधिकांश स्थानीय तहमा सबैभन्दा धेरै भारत, दुबई, कतार, मलेसियालगायतका मुलुकबाट आउनेहरु छन् । भारतबाट आउनेको संख्या दिनदिनै बढिरहेको छ ।

स्थानीय तहहरुले यसरी गरिरहेको काममा समन्वय, सहकार्य र सुझाव दिने काम गर्छ प्रदेश सरकारले । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबै जिल्लाहरुमा रहेका क्वारेन्टाइन, आइसोलेशन, विदेशबाट आउनेहरुको संख्या, उनीहरुको स्वास्थ्य अवस्था जस्ता विवरण तयार पारेर सम्भावित जोखिम न्यूनीकरणको तयारीका लागि रिर्पोट तयार गर्छ । मुख्यमन्त्री शंकर पोखरेलले नियमित रुपमा स्थानीय तहहरुसँग सम्पर्क गर्छन् र जानकारी लिन्छन्, सुझाव दिन्छन् । नियमित संवादका क्रममा उनले विदेशबाट आएकाहरुको विशेष निगरानी गर्न स्थानीय तहहरुलाई सुझाइरहेका छन् ।

‘यो अवस्थामा स्थानीय तहले राम्रो भूमिका निर्वाह गरे भने कोरोना संक्रमण फैलिनबाट बच्न सकिन्छ’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी भन्छन्, ‘प्रदेश सरकारले स्थानीय तहको भूमिका प्रभावकारी होस् भनेर समन्वय, सहकार्य र सुझाव दिने, समस्या परेको भए समाधान गर्ने र संघ सरकारसँग समेत समन्वय गर्ने काम गरिरहेको छ ।’

जिल्ला चैत  ११ पछि नेपाल आउनेको संख्या
पाल्पा १२४०
गुल्मी १७२४
अर्घाखाँची १९५७
रुपन्देही ५२३
कपिलवस्तु ३७०
दाङ १०२

श्रोत : जिल्लास्थित सूचना केन्द्रहरु, चैत २१

Sharing is caring!