खिचातानीमा मेयर र उपमेयरका अढाई बर्ष

पार्वती पाण्डे मंसिर २०७६ कपिलवस्तु

“जनप्रतिनिधिका अढाई वर्ष आपसमा तनाव मनमुटाव र आन्तरीक खिचातानीमा वितेका छन । ”

कपिलवस्तुका १० वटा स्थानीय सरकार मध्ये तीन वटा नगरपालिकामा वितेका अढाई वर्ष मेयर र उपमेयरले आपसी विवाद, खिचातानी, तनाव र लडाईमा विताएका छन्। उनीहरु झगडिया जनप्रतिनिधीका रुपमा चित्रित हुन पुगेकाछन् ।

उनीहरु बीचको झगडा कतै उच्च अदालतसम्म पुगेको छ । कतै मेयर र उपमेयरले एकअर्का विरुद्ध हातहतियार लिएर सडकमा प्रदर्शन गराउने गरेका छन् । कतै यस्तो झगडा साम्य पार्न सुरक्षाकर्मीले हस्तक्षेप गर्नु परेको छ । कतै उपप्रमुखले नगरसभा वहिस्कार गरे पछि उपप्रमुखको नेतृत्वमा रहने न्यायीक समितिलाई बजेट दिइएको छैन ।

यसरी झगडा गर्ने प्रमुख र उपप्रमुखहरु कपिलवस्तु नगरपालिका तौलिहवा, कृष्णनगर नगरपालिका कृष्णनगर ,बुद्धभूमि नगरपालिका बुड्ढी कपिलवस्तुका हुन् ।२०३९ सालमा स्थापना भएको कपिलवस्तु नगरपालिका नेपालकै पुरानो मध्येको नगर हो । पछिल्लो पटक यो नगरमा मेयरमा किरण सिंह र उपमेयरमा लक्ष्मी गुप्ता कसौधन निर्वाचित हुनु भएको छ । उहाँ दुबै नेपाली कांग्रेसवाट निर्वाचित हुनु भएको हो । उहाँहरु बीच एक वर्ष सम्म राम्रै सहकार्य थियो । तर एकवर्षपछि उपमेयरले आफ्नो भूमिका कमजोर पारिएको भन्दै असन्तुष्टी जनाउन थाल्नु भयो । असन्तुष्टी बढ्दै जाँदा कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मी गुप्ताले मेयर सिंह, प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्य र नगरकार्यपालिका बिरुद्ध उपमेयरलाई बेवास्ता गरी चलाएको नगरसभा बदर घोषणा गरिपाउँ भनी उच्च अदालत बुटवलमा मुद्दा हाल्नुभयो जसलाई अदालतले केही समय पहिले खारेज गरिदियो ।

मेयर किरण सिंह र कार्यपालिकाको निर्णयको पक्षमा वहश गरेका कपिलवस्तु नगरपालिकाका कानुनी सल्लाहकार एवम अधिबक्ता हुम बहादुर कुवँरले नगर सभाले पारित गरेको बजेट नीति कार्यक्रम तथा नगर कार्यपालिकाले गरेका निर्णयलाई अदालते मान्यता दिएको बताउनु भयो । उपमेयर गुप्ताले नगर सभा बहिस्कार गर्नु भएको थियो ।

उपमेयरले आफ्नो अधिकार छिनिएको विषयमा निरन्तर खवरदारी गर्ने वताउनु भयो । मेयर सिंहले उपमेयरले कसैको उक्साहटमा लागेर हुदै नभएको अधिकार खोजेको बताउनु भयो । “अदालतमा मुद्धा दर्ता गर्नु अघि उपमेयर गुप्ताले मेयरका विरुद्ध नेपाली कांग्रेस, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा हार गुहार माग्नु भएको थियो ” । अझै पनि मेयरले काममा समन्वय र सहकार्य नगरेको उपमेयर गुप्ताले बताउनु हुन्छ ।

कपिलवस्तुको सबैभन्दा पश्चिममा रहेको नगरपालिका कृष्णनगरमा स्वतन्त्र उम्मेदवार रजतप्रताप शाह मेयर र नेकपाका सवनम खातुन उपमेयर निर्वाचित हुनुहुन्छ । उहाँहरु बीच पहिलो नगरपरिषदमा झगडा चल्यो । मेयर र उपमेयरले छुट्टाछुट्टै वजेट वनाउनुभयो । दुबैले आफूले वनाएको बजेट बैध हो भन्दै अलग अलग सभा गरेर घोषणा गर्नुभयो । त्यतिले मात्र नपुगेर मेयरले राखेको बजेट घोषणा सभामा उपमेयर समर्थकले कुर्सी फालेर तोडफोड शुरु गरेपछि मेयर र उपमेयरका समूहका छुट्टाछुट्टै जुलुश कृष्णनगरका सडकमा निस्कीए । दुबैले हतियार समेत प्रदर्शन गरे । जुलुश तितरबितर पार्न शसस्त्र प्रहरी लगाउनुपर्‍यो ।

इलाका प्रशासन कार्यलय चन्द्रौटाका तत्कालिन रुपमा प्रमुख मेघनाथ पाध्यायका अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरीको ब्यापक परिचालन गरेर भिडन्तको रोकाइएको थियो ।

उपपमेयर सवनम खातुन भन्नु हुन्छ मेयर रजत प्रताप शाहले नगर आफ्नो मात्रै हो भन्ने ठान्नु भएको थियो ।नगर उहाँको एकलौटी हैकम चल्ने थलो होइन भन्ने बुझाउने प्रयास हामीले गरेका थियौँ ।

एकअर्कालाई निषेध गर्ने राजनीति सफल नभएपछि केहि महिना यता उहाँहरुले छलफल गरेर अघि वढ्ने प्रयास गर्नुभएको थियो । फलस्वरुप त्यसपछिको वजेट वनाउदा मेयर उपमेयर बीच छलफल भएको कुरा मेयर शाहले बताउनु भयो । मेयर शाह भन्नु हुन्छ— मेयर र उपमेयरका फरक फरक अधिकार छन् । मिलेर काम गर्ने कुरामा सहमत भएका छौ. ।

उपमेयर खातुन भन्नुहुन्छ— “अहिले मैले गर्नुपर्ने काममा मेयरवाट कुनै हस्तक्षेप हुने गरेको छैन । अहिले मेयर उपमेयरबीचको समस्या समाधान हुदै गएको छ , काममा समन्वय र सहकार्य अगाडि बढेको छ । ” बुद्धभूमि नगरपालिकामा निर्वाचित मेयर केशव कुमार श्रेष्ठ र उपमेयर मिरा चौधरी एउ६ै पार्टी नेपाली कांग्रेसवाट विजयी हुनु भएको हो । चुनाव जितेर आएपछि काम गर्ने क्रममा उपमेयर चौधरीले मेयर श्रेष्ठले आफूलाई महत्व नदिएको महशुस गर्न थाल्नु भयो । मिरा भन्नुहुन्छ, उपमेयरलाई चुपचाप कार्यालयमा आउने जाने वाहेक केहि गर्न नपाउने जस्तो वनाइयो । यही कारण सुरु भएको मनमुटाव बढ्दै जादा नगरको तेश्रो नगरसभामा वजेट वनाउने र प्रस्तुत गर्ने काममा मेयर केशव कुमार श्रेष्ठले उपमेयर मिरा चौधरीलाई कुनै कुनै भूमिका दिन चाहानु भएन ।
वजेटकालागि भएका विभिन्न चरणका छलफलमा समेत उपप्रमुखलाई सहभागि नगराएपछि उपमेयर चौधरीले ९ असार २०७६ भएको नगर परिषद (नगरसभा)को बहिस्कार गर्नु भयो । उहाँसंगै ४ जना वडाध्यक्ष सहित २३ जना जनप्रतिनिधीले सभा वहिस्कार गरे । उपमेयरले भन्नु भयो, वजेट वनाउने र प्रस्तुत गर्ने अधिकार स्थानीयतह सञ्चालन निर्देशिकाले उपप्रमुखलाई दिएको छ ।

स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्र्दशन २०७४(परिमार्जित)को दफा ५.७ मा गाउँ वा नगर सभावाट वजेट तथा कायक्रम स्वीकृत सम्बन्धि ब्यवस्था गरिएकोछ । जसको उपदफा ५.७.१ मा वजेट तथा कायक्रम प्रस्तुती शिर्षकमा यसो भनिएको छ —‘गाउँ वा नगर कार्यपालिकावाट स्वीकृत भएको वजेट तथा कार्यक्रम उपाध्यक्ष वा उपप्रमुख वा निजको असमर्थतामा कार्यपालिकाले तोकेको कुनै सदस्यले गाउँ तथा नगर सभामा बजेट पेश गर्नेछन्। ’ उपमेयर चौधरीले बजेट वनाउन नदिने गरी मेयर श्रेष्ठले अनुचित हस्तक्षेप गरेकाले वहीस्कार गर्नु परेको दावि गर्नु भएको छ ।

मेयर श्रेष्ठले प्रस्तुत गरेको बजेट सामान्य बहुमतबाट पारित भयो तर सो गरेको वजेटमा उपप्रमुखले नेतृत्व गर्ने न्यायीक समितिका लागि वजेट राखिएन । न्यायीक समिति भनेर नाम लेखिएको छ तर वजेट कोलममा सून्य राखिएको छ । यस्तो हुनु आपत्तिजनक र खेदजनक रहेको उपमेयर मिराले बताउनु भयो ।

नगरसभा यताका बैठक उपमेयरले बहिस्कार गर्नु भएको छैन । तर छलफलमा उपप्रमुखको धारणालाई बेवास्ता गरिएको उहाँको भनाइछ । मेयरले आफूलाई दवाएको कुरा आफूले आफ्नो पार्टी नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र राज आचार्यलाई राखेको तर पार्टीले पनि आफूलाई न्याय नदिएको कुरा उहाँले बताउनु भयो । मिराले अगाडि भन्नु भयो , “विगतमा ठुलो समस्या नै थियो तर अहिले समस्या छैन , राम्रो हुदै गएको छ । ”

यी घटना क्रमलाई नियाल्दा के भन्न सकिन्छ भने कपिलवस्तुका तीनवटा स्थानीय सरकारका जनप्रतिनिधिका अढाई वर्ष आपसमा तनाव ,मनमुटाव र आन्तरीक खिचातानीमा वितेका छन् । आआफ्नो अधिकार उपयोग र कर्तब्य पालना नगर्दा यस्तो भएको हो ।

Sharing is caring!