जटिल बन्दै बाल्खैको विवाह !

केशर रोका चैत २०७६ प्यूठान

बढ्दो बालविवाह हुन नदिनका लागि जनताका नजिकका स्थानीय सरकारले चासो देखाएका छैनन् । भौतिक पूर्वाधार निर्माणलाई मात्र स्थानीय सरकारले विकास ठानेका छन् । तर, उनीहरुले सामाजिक सचेतनाको क्षेत्रमा हेल्चक्रयाँई गरेको पाइएको छ ।

नौवहिनी गाउँपालिका २ लिघा प्यूठानमा रहेको अन्धानसक माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी सनी पुनले दश वर्षकै उमेरमा भागेर विवाह गरिन् । गाउँकै १५ वर्षिय कमल केसीसित २०७६ साल मंसीरको पहिलो साता प्रेम विवाह गरेकी सनी त्यसपछि विद्यालय गएकी छैनन् । उनलाई विवाह गर्ने बालक कमलले पनि विद्यालय छाडे । एउटै गाउँका भएपनि कमल अर्कै विद्यालय ज्ञानज्योतीमा पढथे । यति सानै उमेरमा विवाह गर्नेमध्ये उनीहरुको यो नै पहिलो उदाहरण हो । पढ्दा पढ्दै भागेर विवाह गरेका उनीहरुलाई विद्यालयमा ल्याउनतर्फ कसैले पनि चासो देखाएका छैनन् ।

शनी एक वर्षको हुँदा उनका बुवा बले पुनको मृत्यु भयो भने आमा खिमा पुनले उनलाई छाडेर दोस्रो विवाह गरिन् । बुवा आमाको साथ टुटेपछि उनले पढाईमा ध्यान छाड्दै गइन् । भाउजुको हेरचाहमा उनी घरमा बस्दै आएकी थिइन् । ‘बुवा आमा नभएपछि नन्दाको पढाई पनि विग्रदै गयो’,जेठी भाउजु गंगा पुनले भनिन्,‘पढ्नुस भनेको छु, मान्नु हुँदैन् ।’ यता कमलका बुवा ५० वर्षिय बुद्धि केसीले छोरालाई पढ्न भनेपनि नमानेको सुनाए । कमल अहिले छिमेकी जिल्ला अर्घाखाँचीमा मजदुरी गर्छन् । तीन भाईमध्ये उनी माइलो छोरा हुन् । ‘छोराछोरीलाई नियन्त्रणमा राख्न सकिदो रहेन्छ’,उनले भने,‘पढाई छाड्यो । विवाह ग¥यो । अहिले घरै छाडेर काम गर्न बाहिर पुगेको छ ।’

उनी मात्र होइन् । यति सानै उमेरमा विवाह गर्नेहरु अन्धानाशक माध्यमिक विद्यालयमा धेरै छन् । दश जना छात्रा र पाँच जना छात्र गरी १५ जनाले चालु शैक्षिक सत्रको पुसको पहिलो सातासम्म २० वर्ष मुनीकै उमेरमा विवाह गरेका छन् । यीमध्ये पाँच जना छात्रा र एक जना छात्रले पढाई छाडेर घरजम गरेर बसेका छन् । अन्य बालवालिकाहरु विवाह भएपनि विद्यालय गइरहेका छन् । विवाह गर्नेहरुमध्ये कक्षा ३, ७, ८, ९ र १० मा भर्ना भएको प्रधानाध्यापक नेपालसिँह पुरीले बताए ।

प्रधानाध्यापक पुरीले उमेर नपुग्दै विवाह गर्ने बालवालिकाहरुलाई नियन्त्रण गर्न धेरै चुनौती भइरहेको गुनासो गरे । पढ्दापढ्दै विवाह गर्नेहरु वर्षेनी बढ्दै जान थालेको उनको भनाई छ । दुई वर्षजति विद्यालयले बालवालिकालाई मोवाइल ल्याउन प्रतिवन्द्ध लगायो तर यसले कुनै प्रभाव पारेन । ‘दिनमा एकपटक कक्षा ८, ९ र १० मा पाँच मिनेटजति वालविवाहबाट हुने असरका बारेमा बताउछौ’,पुरीले भने,‘तर जति पढाएपनि विद्यार्थीले टेरेनन् ।’ उनले यस विषयमा अभिभावकहरुले अझ बढी चिन्ता लिन आग्रह गरेका छन् । सन्तानको भविष्यमा चिन्ता नगरेमा भविष्यमा यसले दिर्घकालिन असर गर्ने उनको सुझाव छ । विद्यालयको एक्लो प्रयासबाट मात्र बालविवाहलाई नियन्त्रण गर्न नसिकने उनको भनाई छ ।

बाल्खै उमेरमा विवाह गर्ने मात्र होइन, विवाह भएका धेरैजसोले सन्तान समेत जन्माएका छन् । धेरैजसो दुई सन्तानको आमा बनेर गाउँकै लिघा स्वास्थ्यचौकीमा गर्भजाँच र सुत्केरी हुन पुगेका छन् । स्वास्थ्यचौकीमा कार्यरत अनमी निर्मला चौधरीका अनुसार गत आर्थिक वर्षमा वडाका २० वर्ष मूनिका १७ जना नानीहरु सुत्केरी भइसकेका छन् । यसवर्ष सुरुको चार महिनाको अवधिमा सुत्केरी हुनेको संख्या १४ पुगिसकेको छ । गतवर्षको तुलनामा दोव्वरको संख्यामा सुत्केरी हुने पुग्ने अनुमान गरिएको छ । अनमी चौधरीका अनुसार धेरैजसो बालिकाहरु दुई सन्तानका आमा बनेर सुत्केरी हुन र गर्भजाँच गर्न आउँछन् ।

नौवहिनी गाउँपालिकाकै वडा नम्वर ५ डामृ स्वास्थ्यचौकीमा पनि २० वर्ष उमेर नपुग्दै गर्भजाँच र सुत्केरी हुन आउने नानीहरुको संख्या उस्तै छ । आर्थिक वर्ष २०७५÷०७६ मा यस स्वाास्थ्यचौकीमा नौ जना सुत्केरी भएको र २८ जनाले गर्भजाँच गराएको अनमी विमला विकले जानकारी गराइन् । उनका अनुसार चालु आर्थिक वर्षको सुरुको चार महिनामा दुई जना सुत्केरी र चार जनाले गर्भजाँच गराएका छन् ।

प्यूठानकै गौमुखी गाउँपालिकामा बाल सञ्जालकी अध्यक्ष बसन्ता खड्काले नै २०७६ मंसीर १६ गते मदाने गाउँपालिका गुल्मीका एक बालकसँग प्रेम विवाह गरिन् । १४ वर्षको उमेरमा अभियन्ता बनेकी खड्काले आफै विवाह गरेपछि अन्य बालवालिकाहरु समेत उक्सिए । भृकुटी मावी लिवाङ प्यूठानमा पढ्दै गरेकी खड्काले पढाई भने छाडेकी छैनन् । उनी माइती घरमा बसेर पढिरहेकी छन् । सामाजिक अभियन्ता र प्रहरीले ऐरावती र मल्लरानी गाउँपालिकाको केही गाउँमा हुन लागेको विवाह रोकेका छन् । जिल्ला बाल सञ्जालकी अध्यक्ष मीना सुनारले वितेको ढाई वर्षको अवधिभर प्यूठानमा ६० वटा बालविवाह प्रहरीको सहायतामा रोकिएको बताईन् । जिल्लाका नौ वटै स्थानीय तहमा बाल सञ्जाल गठन गरिएको भएपनि अभियान संचालनमा स्थानीय सरकारको साथ नपाएको उनको गुनासो छ ।

स्थानीय सरकारले देखाएनन् चासो

बढ्दो बालविवाह हुन नदिनका लागि जनताका नजिकका स्थानीय सरकारले चासो देखाएका छैनन् । भौतिक पूर्वाधार निर्माणलाई मात्र स्थानीय सरकारले विकास ठानेका छन् । तर, उनीहरुले सामाजिक सचेतनाको क्षेत्रमा हेल्चक्रयाँई गरेको पाइएको छ । ‘बाटो खन्नेलाई मात्र विकास ठान्ने सोँचको विकास भयो’, जिल्ला बाल कल्याण समितिका पुर्व अधिकृत अभिवक्ता यादव खनालले भने,‘स्थानीय तह आएपछि यस्ता गतिविधि अझ बढ्नुपर्ने हो तर खै किन ठप्प भए ?’ गाउँ तथा नगरपालिकाले बालवालिकाको क्षेत्रमा समेत बजेट न्यून छुट्याएका छन् । साविक जिल्ला विकास समिति हुँदा बालवालिकाको क्षेत्रमा न्यूनतम दश प्रतिशत बजेट विनियोजन गर्नुपर्ने कानुनी बाध्यता थियो । तर, स्थानीय तह आइसकेपछि बजेटको सिमा नतोकिदिँदा यसतर्फ चासो नदेखिएको पाइएको छ । सामाजिक जागरणको क्षेत्रमा स्थानीय जनप्रतिनिधी बढी जिम्मेवार हुनुपर्ने खनालको सुझाव छ ।

नौवहिनी गाउँपालिका प्यूठानको लिघामा बालविवाह नियन्त्रणसम्वन्धी वडाले गरेको एक दिने गोष्ठीले निष्कर्ष निकाल्यो, ‘बालविवाह रोक्नका लागि पहिलो अभ्यास विद्यालय स्तरबाट थालनी गर्नुपर्छ ।’ तर, उक्त कार्यक्रम वडामा संचालनमा रहेका तीन वटा विद्यालयमध्येबाट कसैले पनि प्रतिनिधित्व जनाएनन् । विद्यालयलाई खवरै गरिएन । सरोकारवाला निकायको अनुपस्थितीमा गरिएको कार्यक्रमले नतिजा हात पार्न सकेन । सानै उमेरमा विवाह गर्नेहरु अझ बढेर गए । अन्धानसक मावीका प्रधानाध्यापक नेपालसिँह पुरीका अनुसार गाउँमा हुने यस्ता कार्यक्रममा विद्यालयलाई खवरै हुँदैन ।

सामाजिक सचेतनाको अभावले गर्दा सानैमा विवाह गर्नेहरु वर्षेनी बढ्दै जान थालेको नौवहिनी २ का वडा अध्यक्ष गोपीराम घर्तीमगरले अनुभव सुनाए । विगतका वर्षमा भन्दा यसवर्ष बालविवाह गर्नेको संख्या बढेको उनको भनाई छ । ‘जनप्रतिनिधीहरुलाई बालविवाह रोक्न निकै चुनौती देखिएको छ’,उनले भने,‘सवैका हात हातमा मोवाइल छन् । फेसबुक छन् । फोनै फोनमा कुरा गरेर विवाह हुन्छ । कसरी रोक्नु ?’ उनले यसबारेमा सवैभन्दा पहिला अभिभावक नै सजग हुनुपर्ने बताए । सानै उमेरमा गरिएको विवाहले बालवालिकाहरुमा मानसिक असर, पढाईप्रति ध्यान नदिने, शारीरिक रुपमा अस्वस्थ हुने खतरा बढ्दै जान थालेको पुरीको भनाई छ ।

स्थानीय सरकारले बालविवाह गर्नेहरुलाई कडा कारवाहीको दायरामा ल्याए यसलाई कमी गर्न सकिने नौवहिनी–२ का अध्यक्ष गोपीराम घर्तीको छ । बालविवाह विरुद्धको अभियान र कानुनी सचेतनाका कार्यक्रम संचालन गर्न गौमुखी गाउँपालिकाले यसवर्ष तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी गराए ।

साविकको जिल्ला बालकल्याण समिति प्यूठानले आर्थिक वर्ष २०७१÷०७२ मा प्यूठानभर गरेको सर्वेक्षण अनुसार समग्र विवाहको ४५ प्रतिशत बालविवाह हुने गरेको तथ्यांक निकालेको छ । तथ्यांक अनुसार प्यूठानका दुर्गम र जनजातीको बाहुल्यता रहेको गाउँमा बालविवाह हुने गरेको छ । तथ्यांक सार्वजनिक भएपछि सन् २०२० सम्म बालविवाहलाई ९ प्रतिशतमा लैजाने जिल्लाले लक्ष्य लिइपनि त्यसतर्फ जिल्लामा सुधार भएको देखिदैन ।

बालविवाह हुन नदिनका लागि कानुनले तोकेको कुरालाई जनस्तरसम्म फैलाउन सक्नुपर्ने सामाजिक विकास मन्त्रालय प्रदेश ५ मा कार्यरत प्रमुख महिला विकास अधिकृत शारदा बस्याल बेल्वासेले बताइन् । यसका लागि प्रदेशले १०९ वटै स्थानीय तहका उपप्रमुखहरुलाई भेला गराएर बालविवाह विरुद्धको रणनीति बनाउँन थालेको उनले जानकारी गराइन् । ६ वटै सामाजिक विकास डिभिजन कार्यालय मार्फत जिल्लाहरुमा कार्यक्रम गरिने समेत उनको भनाई छ । बेल्वासेका अनुसार रुपन्देहीको मर्चवारी क्षेत्र, कपिलवस्तु, बाँके, रुकुम पूर्व, गुल्मी र प्यूठान बालविवाह बढी हुने जिल्लामा पर्दछन् । किशोर, किशोरी र उनका अभिभावकहरुलाई सचेतीकरण नगर्दासम्म सानैमा हुने विवाहमा कमी नआउने उनको बुझाइ छ । बालविवाह भएपछि प्रहरीमा उजुरी गर्ने बानीको समेत विकास गर्नुपर्ने देखिएको उनी बताउँछिन् । १२ वटै जिल्लामा जिल्ला बालकल्याण समिति गठन गर्ने तयारी समेत मन्त्रालयले थालेको बेल्वासेले जानकारी गराइन ।

कानुनले पनि रोकेन बालविवाह

मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष उमेर नपुग्दै विवाह गरेमा तीन वर्षसम्म कैद, ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । विवाह गर्ने केटाकेटी, घरपरिवारको सहमतीमा विवाह भएको भए उनका अभिभावक वा उक्त विवाह गराउन उक्साउने जो कसैलाई पनि कारवाही हुने काुननी व्यवस्था छ । तर, ऐनले पनि बालविवाहलाई नियन्त्रण गर्न सकेको छैन ।

गाउँघरमा बालविवाह भएको देख्ने सवैभन्दा नजिकको निकाय स्थानीय तहका जनप्रतिनिधी हुन् । तर उनीहरु ‘कानमा तेल हालेजस्तै’ गरेर बसेका छन् । गाउँकै छर छिमेकमा भएको बालविवाहलाई उनीहरु विवादित बनाउन चाहादैनन् । सकभर जनप्रतिनिधीनै यस्तो विवाहलाई गाउँमै गुपचुप राख्न इच्छुक देखिन्छन् । जनप्रतिनिधीलाई बालवालिकाको भविष्यभन्दा चुनावमा मत खुम्चिने चिन्ता छ । त्यसैले पनि बालविवाह रोक्नका लागि स्थानीय सरकारले प्रभावकारी कदम चालेका छैनन् ।

प्रहरीमा पुग्दैन उजुरी

धेरैजसो बालविवाह गाउँमै गुपचुप हुन्छन् । प्रहरीमा उजुरी पुग्दैनन् । ५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रदेशभरीमै आर्थिक वर्ष २०७६÷०७७ को मंसीरसम्म ३ वटा मात्र वालविवाहका मुद्दा दर्ता भएको छ । प्यूठान, अर्घाखाँची र कपिलवस्तुका एक÷एक वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी जवान सूर्यप्रकाश पाण्डेले बताए । उजुरी पनि प्रहरीमा नआएको उनले बताए ।
प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीका अनुसार गाउँमा सामाजिक सचेतनाकै कमीका कारण बालविवाहको उजुरी प्रहरीसम्म नआएको बताउँछन् । गाउँ गाउँमा भएका सरकारका अन्य संयत्रले पनि प्रहरीलाई बालविवाह विरुद्धको अभियानमा साथ दिन उनले आग्रह गरे । प्रहरीलाई उजुरी नपर्दासम्म बालविवाहको विषयमा खोजीनिती गर्ने अधिकार आफूहरुलाई नहुने उनको भनाई छ ।

Sharing is caring!